आफ्नै बथानबाट धपाइएको पशु झैँ म
आफ्नै घरबाट घोक्र्याइएको सन्तान म
आफ्नो जन्मघर छोडेर
पारचक्रीघरमा नाता जोडेर
अतीतका याद अनि मात्रिभुमीको मायाले
आँसुका घुट्काहरु पिउँदै बाँचिरहेछु
पराईको भिक्ष्याजन्य आथित्यसत्कारमा
देखावटी क्षणिक खुशीको अभिनय गर्दै
हाँसिरहेछु रोदनमिश्रीत रुन्चे हाँसोमा
घस्रिरहेछु सरीसृप झैँ जीवन जिउने मोडहरुमा
अन्ततोगत्वा पुनः जन्मघरको दलीन टेक्ने सपनाको घुट्को पिउँदै
अनिश्चितता भित्र आशारूपी वस्त्रलाई सपनाको सियोधागोले सिउँदै
म क्रुर राक्षसको क्रुर साम्रज्यको बजारू बेश्या र मुल्यहीन रखौटी
मात्रीप्रेमको दलिनमा कुचोले बडारिएको कसिंगरको बेकामे धरौटी
म क्रूरताको शिकार अनि आस्थाको बन्दी
आमाको काखबाट गलहत्याइेएको निर्बल शरणार्थी
जीवन सम्झनाले दुख्छ
स्वाभिमान आत्मबोधले चर्कन्छ
भाग्य हिनताबोधले बिझाउँछ
अनि आत्मा क्रोधले लर्खखराउँछ
अतितका मिठा कल्पनाको सागरमा डुब्दै
आत्माको पानामा रुन्चे मुटुको धड्कन कुँद्दै
अनिश्चितताको भुमरीमा आशा समातेर घुम्दै
पीडकलाई श्रापको ज्वालामुखीय रापले पोल्दै
शरणदातासँग नमस्तक हुँदै अनि
शरणार्थी जन्मदातालाई सत्तोसराप गर्दै
बाँचिरहेछु म जिउँदो लाशको जिन्दगी
नाचिरहेछु म पराधिन कठपुतली नर्तकी
स्थिर र बडारिएको तन घेराबन्द शिविरभित्र थुनिए पनि
अस्थिर र गतिशील मन चारकिल्ला नाघेर
आमाको काखमै बसेर मात्रीलाम्टा चुस्न पुग्छ
परदेशको मेवाले यो बिरोधी जिब्रोलाई नाक लागेर
आफ्नै कोठेबारीमा मौलाएको सिस्नुको साग माग्न थाल्छ
शरणदायक भुमीको अत्तरको गन्धले वान्ता भएर
यो हरुवा नाकले मात्रिभुमीको माटोको सुगन्ध सुँघ्न खोज्छ
शरणघरको झिलिमिलीबाट तर्सिएर यी मजबुर आँखाहरु
आफ्नै जन्मदाताको मलिन अनुहार हेर्न आतुर हुन्छन्
बुलन्दीमा उठेका र निरन्कुशताले भाँचिदिएका यी हातहरु
मात्रिभुमीका च्यतिएका अनुहारहरुको मलमपट्टी गर्न जुर्मुराउँछन्
शोषण र दमनका महाभुतहरुको चीतामा आगो ठोस्न ब्यग्र हुन्छन्
तर म मजबुर शरणार्थीको आत्मा
परभुमीमा चारदीवारभित्र कैद छ
नेल ठोकिएको आवाजभित्र चञ्चल र जुझारू दिल छ
पखेटा काटिएको बाध्यताभित्र
उडेर गुँडमा फर्किएर बास बस्ने चाहनारूपी नभचर छ
पराधीन दरवार त्यागेर स्वाधीन झुप्रोमा राजा बन्ने रहर छ
रावणको बिरुद्दमा रामध्वनिको शंखनाद गर्दै
हिंशाको बिरुद्दमा गांधीध्वनिको बिगुल फुक्दै
हाम्रो उजाडिएको गुंडलाई अनि बिछोडिएका आमाका सन्तानहरुलाई
पुनर्जीवित र पुनर्मिलन गराउनु छ
बाध्यताभित्रको अबाध्य परिस्थिती जन्माएर
जन्मभूमीको निर्मल र पवित्र गगनमाथी
स्वतन्त्रताको पखेटा फर्फराएर उड्ने
निर्भय पंछी बन्ने रहर छ
देशप्रेम, शान्ति,स्वतन्त्रता अनि समृध्दीको
शरणार्थी हुने इच्छा छ ।
इति
