भक्तपुर सहरलाई मुलुकको एकमात्र जीवित खुला संग्रहालयको रूपमा लिने गरिन्छ । विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक, प्राचीन वास्तुकला, मूर्तिकला, हस्तकलाका अनुपम नमुना त यहाँ छँदैछन्, यो सहरमा सांस्कृतिक सम्पन्नताको पनि प्रचुरता छ । जात्रैजात्राले नेवारी संस्कृति सिंगारिएको छ । भक्तपुरमा प्रसिद्ध जात्रामध्ये बिस्केट जात्रा पनि एक हो । यो जात्रा आदिम संस्कृतिअन्तर्गत पर्छ । करिब एक लाख जनसंख्या रहेको भक्तपुर नगरमा ९५ प्रतिशत नेवार जाति रहेका छन् । नेवार समुदायले मनाउने सबैभन्दा ठूलो जात्रा बिस्केट हो ।
बिस्केट जात्रा हरेक नयाँ वर्षको चार दिनअघि सुरु हुन्छ । जात्राप्रतिको मोह मनोरञ्जनमात्र होइन धार्मिक आस्था पनि हो । प्रकृतिलाई खुसी तुल्याउनु, सुखद जीवनको कामना गर्नु भक्तजनहरूको धारणा हो । बिस्केट जात्राका निम्ति तौमढीमा तान्त्रिक विधिविधानअनुसार प्यागोडा शैलीमा दुई रथ तयार गरिन्छन् । रथको बीचमा ‘बेतासी’ राखिएको हुन्छ । रथलाई कलात्मक तोरण, टुँडाल, सा टीका झाया, छानामा सुनौलो गजुर राखी श्रृंगारपटार गरिन्छ । रथ तान्न तान्त्रिक विधिमा निर्मित डोरीलाई दस नारी, दस पिंगल भन्ने गरिन्छ । हजारांै दर्शकमाझ रथ तानिन्छ । रथ तान्नु नेवार समुदायमा सामान्य हो तर बिस्केटको आफ्नै महत्त्व छ ।
तल्लो टोल र माथिल्लो टोलमा विभाजित पुजारी, श्रद्धालु, स्थानीय युवा, वृद्धवृद्धा सबैले आफूतिर रथ तानेर लैजान होस्टेहंैसे गर्छन् । यो क्रम एक दिन होइन नौ दिनसम्म चल्छ । टाढा-टाढा पुगेका छोरीचेली र अन्य सदस्यहरू भोज खान र जात्रा मनाउन भक्तपुर र्फकन्छन् ।
स्थानीय बासिन्दाले मौलिक पहिरनमा भैरव, भद्रकालीलगायत नगरमा रहेका सम्पूर्ण मठमन्दिर शक्तिपीठहरूको दर्शन तथा पूजा अर्चना गर्छन् । यसैगरी दाफा, भजनगुठी, मण्डलीहरू परम्परागत बाजागाजासहित अहोरात्र नगरपरिक्रमा गर्छन् । सयभन्दा बढी देवदेवी नाचहरू हरेक चोक, गल्ली र डबलीहरूमा प्रदर्शन गरिन्छ । कतिपय नाचहरू दिनमा प्रदर्शन गर्न नमिल्ने तथा जोसुकैले हेर्न नहुने धारणामा मध्यरातमा सीमित व्यक्तिलाई मात्र देखाइने परम्परा रहेको छ ।
बिस्केट जात्राको पहिलो दिन भैरव र भद्रकालीको रथ तौमढीबाट माथिल्लो टोलकाले आफूतर्फ तान्न सके क्वाछे, साकोथा, दुरुत्व द्यो, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रयसम्म पुर्याई फेरि तौम्ाढी फर्काइन्छन् । त्यही रथलाई तल्ला टोलकाले तान्न सफल भएमा बालुचा, नासंना, बंशगोपाल, तेखापुखुसम्म पुर्याई तौमढी नै फर्काउने परम्परा रहेको छ । दुवै तर्फकाले फर्काएका रथको जोडी तौमढीसँगै दक्षिणतर्फ गःहिटीटोलमा अड्याई पहिलो दिनको जात्रा स्थगित गरिन्छ ।
दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खालोटोल अजिमा द्याछेमा पुर्याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्याः को त्याः को भन्निछ ।
यो जात्रा आजभन्दा पन्ध्र सय वर्षअघि सुरु भएको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ । सातांै शताब्दीका शासक अंशु बर्माको समयताका विश्वजात्राको रूपमा यो लोकपि्रय रहेको प्रमाण पाइएको छ ।
किंवदन्तीअनुसार भक्तपुर राज्यकी राजकुमारीसँग विवाह गर्नेलाई राजगद्दी सुम्पन्ने प्रस्ताव राखिएको थियो । विवाह गर्ने धेरै पुरुषले पहिलो रातमै ज्यान गुमाउनुपरेको थियो । यसै क्रममा एक शिकारीसँग उनको विवाह भयो । भोलिपल्ट मलामी गुठीका सदस्य लास उठाउन जाँदा राजकुमारी जीवित पति पाएर खुसी भइरहेको पाइयो । राजकुमारीको नाकभित्र बसेका एकजोडी नागनागिनीलाई मारेर शिकारी जीवित बचेका थिए । त्यसपछि सम्पूर्ण देशवासी खुसी भई ती जोडी नागलाई सहरभरि देखाउँदै हिँडेको दिनको सम्झना स्वरूप बिस्केटजात्रा मनाइने प्रचलन सुरु भयो ।
संस्कृतिविद् लीलाभक्त मुनाकर्मीको कृतिअनुसार लिच्छविकालमा सर्प अथवा नागलाई बिः भनिन्थ्यो । सर्पले टोक्दा ‘कयात’ ले मार्यो भन्ने अर्थ लगाइन्छ । ‘बि कयात’ अपभ्रंश भई ‘बिस्केट’ भनिएको हो । जात्राका निम्ति करिब ११ लाख रुपैयाँ गुठी संस्थानले खर्च गर्छ भने स्थानीय गुठीहरूले परम्पराअनुसार भोजभतेर गरी परम्परा कायम गर्दै आएका छन् । यस जात्राप्रति युवापुस्ताको चासो रहनु सकारात्मक मानिन्छ । तर रथ तानातान गर्ने क्रममा माथिल्लो र तल्लो -थने र क्वने) टोलबीच विगत केही वर्षयता ढंुगा हानाहान हुनु दुःखद पक्ष हो । जात्रा शान्तिपूर्ण तरिकाले मनाउन भक्तपुरवासी लागिपर्नुपर्छ । ढुंगामुढा हुने अवस्था आउन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्नुपर्छ ।
