मझेरीका गजलको लघु समीक्षा


आज लगभग एक महिनासम्म लगाएर मैले मझेरीका ३४५ पृष्ठका कमसे कम पाँच हजार जति गजल पढें । गजल निकै मार्मिक र ओजले भरिएका रहेछन् । प्रसिद्ध गलकारहरू र मोतीराम भीमनिधि तिवारीका गजलसमेत रहेछन् । बढीमा २५०० जति पाठकले पढेका र घटीमा दस बिसले मात्र पढेका पनि देखिए । राम्रो गजलका पाठक धेरै र कमजोरका पाठक कम नै देखिए । यसैले पाठकले राम्रो रचनाको अध्ययन गर्दो रहेछ भन्ने सिद्ध भयो ।

मझेरीले गजलमा निकै योगदान गरेको देखेर मलाई हर्ष लाग्यो । यसै गरी अरु अरु विधाहरुमा पनि मझेरीबाट योगदान भइरहेको छ । कुमारजीलाई यसको सम्पूर्ण श्रेय छ । उहाँ बधाईको पात्र पनि हुनुहुन्छ । नेपाली साहित्यमा उहाँबाट पुगेको योगदानको सराहना गर्नै पर्छ ।

अँ गजलबारे नै केही भन्नु छ । वास्तवमा गजल भनेको गेय हुनै पर्छ । यसैकारण गजल वहरमा लेखिने चलन थियो । तर अहिले स्वतन्त्र रुपमा लेखिन थालेको छ । गजल वास्तवमा नारीको परिधिमा प्रेम विरह वा रोमान्समा लेखिने वस्तु थियो । तर अब यसले विषयक्षेत्र व्यापक ओगटेको छ । जतिसुकै व्यापक भए पनि गजल गेय हो । गाउन सकिएन भने त्यो गजलको लक्षणबाट तल झर्यो भने भो । यहाँका सबै गजल हेर्दा गेयताको लक्षण पालन गरेका कम देखिए । यसैले यहँका गजलगोहरुले गेयतालाई ध्यान दिनु पर्यो ।

बहरमा लेखिएका गजल ता एक दुई पनि पाइएनन् । यसको मत्लब बहर जान्ने गजलगोको अभाव रहेछ मझेरीमा । सबै मित्रहरुले बहरमा लेख्न पनि अभ्यास गर्नु पर्छ । यो अनुभव भयो । रुक्नहरुको ज्ञान हुनु जरुरी देखें । जे देखे त्यो लेखें । अन्यथा हैन ।
धन्यवाद ।

एउटा बहरको इतर नारीक्षेत्रमा केन्द्रित गजलः

आतङ्क बेइमानी यो संविधानमा छन्
संस्कारका अनेकौं ठेली चिहानमा छन् ।
तिर्खा छ भोग गर्ने उन्मत्त छन् हजारौं
हाम्रा दिदी र बहिनी सर्वत्र घानमा छन् ।।
धारा दफाहरुमा भिन्नै छ लेखिएको
भित्री अदृश्य धारा यस्का विधानमा छन् ।।
सत्रौं हजार मार्दै ल्यायौं विधान किन्तु
सर्वत्र देश चुस्ने यस्कै मुहानमा छन् ।।
खोज्दै विधान जस्ले सर्वस्व नै गुमायो
त्यस्ता सिपाही आफ्ना थोत्रे मतानमा छन् ।।
उत्सर्ग जिन्दगानी गर्ने छ भोक भोकै
छट्टू रजाइँ गर्दै यो देश खानमा छन् ।।
ज्यामी मिली हजारौं दर्बार जो बनाए
त्यस्ता हजार ज्यामी त्यस्कै रछानमा छन् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *