घाम डुबिसकेको छ
पूर्णिमाको रातमा चन्द्रग्रहण छ
शून्यतामा विलुप्त छ
प्रकृतिको शाश्ख्त अभिशाप
आस्थाका बगैचाबाट
स्नेहका फूलहरू चुडेर
असन्तुष्टिका झ्याउहरू उमारेर
सेता परेवाहरू घुम्ने ठाउँमा
विरूप काला कागहरूको हाहाकारले
गाइनेले आफ्नै पेटको सारंगी रेटे जस्तो
कठोर कालगृह भित्र जीवन ऐंठन जस्तो
सुनको पिंजराको सुगालाई
दासत्वको दुर्गन्ध जस्तो
धुवाँधुवाँको विषाक्त आकाशमा
समयको आङ चढी
झुक्याउँदै मृत्युलाई पटक-पटक
अपेक्षित अवहेलित जीवन जिउँदै
मान्छेको जंगलमा मान्छे खोजिरहेछु।
