सिंहको मुखबाट पानी झरिरहेको देश


बिहानको ४:३० बजे सिंगापुर ओर्लेका थियौ । भाइ बृहद पहाडी र म । कालो रातले अँझै सिंगापुरलाई ढाकी राखेको थियो । जुनको महिना हप्प गर्मी थियो त्यति बिहान पनि । हामीसँग बजेट कम र घुम्नुपर्ने दुई देश (सिंगापुर र इन्डोनेसिया) । त्यसमा महङ्गो देशमा पर्थ्यो सिंगापुर । हुन त लगभग कहाँ कहाँ जाने, कुन माध्यमबाट र कम बजेटमा धेरै ठाउँ घुमेर रमाइलो गर्ने भन्ने पहिला नै एउटा आइटेनेरी तयार पारेको थिए ।

भाइ र म छेउमै रहेको सानो पार्कमा गएर आआफ्ना सामान र आफूलाई बिसायौ । अँझै अन्धकार नै थियो । पार्कसँगै रहेको मस्जिदबाट बिस्तारै मान्छेहरू आउने जाने गरेको देखे मैले । सिंगापुरमा पनि मस्जिद देख्दा अनौठो लागेको थियो । संसारकै सफा देश र त्यहाँ बाटोमा थुकेमा समेत जरिवाना तिर्नुपर्छ भनेर सानै देखि सुन्दै आएको थिए । हामी दुई निद्राले लठ्ठ थियौ । र हामीलाई जानुपर्ने ‘लिटल इन्डिया’ थियो । जुन त्यहाँबाट पैदल हिँडेर जान टाढा थियो । ट्याक्सी लिएर जान सकिन्थ्यो तर पनि एकछिन् रेस्ट गरेर हिँडेर नै जाने भनेर योजना बनायौं । ‘दाइ एक छिन् यही चौरमा सुतौं अनि जाउँला’ भनेर बृहदले जिद्धी गर्न थाल्यो । फेरि पार्कमा सुतेको देखेर पुलिसले समात्ने पो हो कि भन्ने डर एकातिर थियो भने एकछिन् चौरमै ढल्किन पाए हिँड्नलाई तागत आउँथ्यो भन्ने अर्को विचार आइरहेको थियो । यी दुई विचारको द्वन्द्वमा कति खेर निदाएछु पत्तै पाइन । एक्कासि मस्जिदबाट ‘नवाज’ पढेको आवाजले झलास्स ब्यूँझिन्छु । भाइ बृहद अँझै पार्कको मेचमा सुती राखेको थियो ।

सूर्यको प्रकाशमा सिंगापुर झलमल्ल शृगांरिएर हामी दुईलाई स्वागत गरिरहेको थियो । चौरमै बसेर चारैतिर आँखा डुलाए । बिहानको तुलनामा मान्छेहरू बाक्लिदै गएका थिए । हातमा सानो सिंगापुर शहरको नक्सा बोकेर लाग्यौ ‘लिटल इन्डिया’तिर । सफा ठुला बाटाहरू र हरियाली छरिरहेका बोटविरुवाहरुलाई हेर्दै पुग्यौं ‘लिटल इन्डिया’ । पुरी तरकारीको बास्ना सोझै मेरो नाकमा पस्यो । पसलहरुमा कुमकुमको माला र कजराहरू बेच्न राखेको देख्दा हिन्दी मुभीको याद आइरहेको थियो । निधारमा चन्दनका टीका र लुङ्गी माथि सारेर पुरुषहरुले बनाई राखेका मिठाईहरू हेर्दै होटल खोज्न थाल्यौ । लगभग आधा घन्टाको खोजाई पछि एउटा ‘होस्टेल’ भेट्यौं । त्यसपछि हतार हतार फ्रेस भएर निस्क्यौं पेट पूजा गर्ने तर्फ । मोबाइलमा अफलाइन म्याप डाउनलोड गरेर र इन्डियन नास्ता खाएर बिस्तारै लाग्यौ सिंगापुरलाई थप जान्नको लागि ।

चर्को घाममा दुई दाजुभाइ हिँडिरहेका थियौं । समय प्रशस्त थियो हामीसँग । त्यसैले हतार नगरी घुम्न थाल्यौ । कुनै पनि देशलाई जान्न बुझ्नका लागि सबैभन्दा पहिला त्यहाँको धर्म संस्कृति, रीति रिवाजको बारेमा बुझ्नुपर्ने हुन्छ जस्तो लाग्छ । जसको लागि त्यहाँका मठमन्दिर, कला संस्कृति आदि भएका ठाउँमा जानु उत्तम हुन्छ । जस अनुरुप हाम्रो पहिलो गन्तव्य थियो ‘द नेशनल म्युजियम अफ सिंगापुर’ ।

सिंगापुरको सबैभन्दा पुरानो म्युजियम थियो । १८४९मा बनेको सेतो दरबार जस्ते ठुलो तथा भव्य भवन जसमा सिंगापुरको इतिहासको बारेमा धेरै जानकारी राखिइएको थियो । ठुलो पर्दामा इमेज र फिल्म प्रोजेक्टरको माध्यमबाट पनि हेर्न मिल्ने रहेछ । ठुला ठुला हलहरू जसमा विभिन्न संस्कृति झल्किने प्रदर्शनीहरू राखिएका थिए । अपाङ्गहरुको लागि भनेर लिफ्टको पनि व्यवस्था थियो । त्यहाँ जुन स्वागत योग्य काम थियो । दुई घन्टा जति घुम्दा पनि सबै ठाउँमा राखिएको बस्तुहरू हेर्न भ्याइराखेका थिएनौ । त्यसैले दुई भाइको सल्लाह गरेर त्यहाँबाट निस्क्यौ ।

‘सिंगापुर आर्ट म्युजियम’ १९९५मा स्थापना गरिएको समकालीन आर्टहरुको अदभुत संकलन थिए भित्र । त्यहाँ घुम्दै जाँदा सिंगापुरको आर्टहरू मात्र नभएर रसियाको अन्य देशहरुका पनि चित्रहरू त्यहाँ राखिएका थिए । समय समयमा विभिन्न देशका चित्रकारहरुले त्यहाँ चित्र प्रदर्शनी गर्ने गरेका रहेछन् । राम्रो ज्ञान नभएता पनि जब जब चित्र प्रदर्शनी भएको स्थलमा पुग्छ मनलाई शान्त भएको अनुभव गरेको छु । जुन कुनै भोज वा हल्ला भएको ठाउँमा पाउँदिन म ।

हुन त मलेसियामा छँदै ‘ओ बाइक’ को प्रयोग गरिसकेका थियौ हामीले । तर सिंगापुरमा आएपछि ‘ओ बाइक’भन्दा पनि ‘इ–स्कुटर’ र ‘ओभर बोर्ड’ को प्रयोग बढी भएको देखे त्यहाँका युवाहरुले । सफा चिल्ला रोड, फुटपाथ पनिसम्म भएकोले पनि ‘इ–स्कुटर’ र ‘ओभर बोर्ड’ को प्रयोग गर्न सजिलो भएको हुनुपर्छ । ‘मरिना बे’ को एरियातिर त पसलहरू नै रहेछन् ‘इ–स्कुटर’ र ‘ओभर बोर्ड’ भाडामा दिने । हामी दुई भाइ तयार भयौ पनि २ घन्टा जति भाडामा लिएर ई–स्कुटर चढेर ‘मरिना बे’ घुम्ने भनेर तर त्यसको लाग्ने शुल्क सुनेर आफ्नो इच्छालाई त्यसै दबाएका थियौं । मध्ये घाममा पैदल हिँड्दै सिंगापुरलाई चक्कर लगाउन थाल्यौं । बाटोमा हिँड्ने यात्रुलाई गर्मी नहोस भनेर हरिया लहरा बोटहरुको छत जस्तो बनाई दिएको । ठाउँ ठाउँमा लामो हिँड्नु पर्ने ठाउँमा ‘एक्सालेटर’ को व्यवस्था भएको । कुनै फोहोर थिएन । ठाउँ ठाउँमा सफा गर्ने मान्छेहरू भेटिन्थे ।

टाढैबाट भएतापनि ‘आर्ट साइन्स म्युजियम’ जुन लोटस फूल आकारमा बनेको भवन र ‘मरिना बे’ होटलमा मेरो नजर परिहाल्यो । अर्को पट्टी थियो ‘मरलियोन’ यी तिनै चिज सिंगापुरको गौरव थियो । एक छेउमा ब्याग राखेर दुई भाइले पालैपालो फोटो खिच्न थाल्यौ । एक घन्टाको गर्मीमा हिँड्दा हामी पुरै गलिसकेका थियौं । त्यसैले हाम्रो एउटै विकल्प थियो कहीं गएर केही समय सुस्ताउने । जसअनुरुप हामी ‘मरिना मल’ भित्र पस्यौ । हामीलाई त्यहाँ कुनै सामान किन्नु थिएन न ती सामानलाई हेर्ने इच्छा नै । सिंगापुर जस्तो ठाउँमा हामीलाई पुरै आरामका साथ बसालेर छानी छानी पेय पदार्थ खुवाउने त्यो पनि बिना पैसा तिरि, त्यस्तो एक मात्रै स्थान थियो ‘क्यासिनो’ । सेक्युरिटी चेक गराई र आफ्नो पासपोर्ट बुझाएर लाग्यौ तीन तल्ले भव्य क्यासिनो तर्फ । नेपालका प्राय सबै र मलेसियाको पनि क्यासिनो घुमिसकेको मैले त्यहाँ अँझ बढी ठुलो र व्यवस्थित लाग्यो । आफूलाई मन परेको पेय पदार्थ पिउँदै घुम्न थाल्यौ तल माथि गरेर । मान्छेहरू कोही जितेर रमाइरहेका त कोही हारेर जित्ने आशामा खेल्दै थिए । तर हामीलाई मात्र थकाई मार्नु थियो शरीर भित्र र बाहिरको । एक घन्टा जति बिताएर निस्क्यौ क्यासिनोबाट ।

‘मरिना मल’बाटै लोटस फूल आकारमा भएको ‘आर्ट साइन्स म्युजिम’लाई हेर्दै त्यहाँ भित्र जान नपाएकोमा क्षमा माग्दै ‘मरिना बे’ होटल तर्फ लाग्यौ ।

‘मरिना बे स्याड’ होटल २०१०बाट संचालनमा आएको ५५ तले भवन । तीन अग्ला भवनका माथि डुंगा आकारमा एउटा लामो पार्क जसमा ‘स्वीमिङ्ग पुल’ रहेको थियो । उक्त स्वीमिङ्ग पुलमा पौडिदै पुरै सिंगापुरको दृश्य हेर्न सकिन्थ्यो । यस होटलको मूख्य विशेषता भनेकै यही ‘स्वीमिङ्ग पुल’ र ‘क्यासिनो’ रहेको रहेछ । अनेकौं विशेषताहरू रहेको उक्त होटल भित्र जाने सौभाग्य नमिलेता पनि बाहिरैबाट हेरेर चित्त बुझाउँदै लाग्यौ ‘गार्डेन बाई द बे’ तर्फ ।

१०१ हेक्टर क्षेत्रमा फैलिएको ‘गार्डेन बाई द बे’ जसलाई तीन भागमा छुट्याइएको रहेछ । तीन मध्ये सबैभन्दा ठुलो र त्यसै भित्र पर्ने सिसाको ठुलो भवनभित्र बनेको ठुलो बगैंचा । एउटा पुरै सिसाद्धारा बनेको गोलो भवनभित्र पुरै जंगल जस्तो हरियाली थियो । मान्छेहरू आआफ्नै तालमा डुलिरहेका थिए ।

अब अर्को भागतिर लाग्यौ हामी । दुइृ तल्ला भवन माथि लिफ्टको माध्यमबाट जाँदा एउटा ठुलो फुटबलको मैदान जत्रो चौर थियो । मान्छेहरू साँझ पख त्यहाँ आएर परिवारसँग रमाइरहेका थिए । चौरको छेउमा गएर बस्यौ हामी पनि । जहाँबाट अस्ताउन तरखर गर्दै गरेको सूर्य । जसको किरणले ‘मरिन बे स्याण्ड’ होटलमा पर्दा त्यस होटल चम्किरहेको थियो । अर्को तर्फ समुद्रको छेउमा बास बस्न आइ पुगेका ठुला ठुला पानी जहाज ।

हामीले बोकेर लगेको खानेकुरा झोलाबाट निकाले खान थाल्यौ । त्यही बसिरहदा हामीसँगै रमाइलो गरिरहेका सिंगापुरे नेपाली लाहुरेका परिवारहरूसँग एकछिन कुरा गरेर लाग्यौ अन्तिम भागतिर ।

‘सुपर ट्रि लाइट’ ठुला ठुला रुखका आकारमा बनेका फलामे रुख । जसमा पुरै बत्तीहरू जडान गरिएको थियो । साँझको दुई पटक ७:४५ र ८:४५मा विभिन्न संगीतको धुनमा विभिन्न रङ्गका बत्तीहरुको प्रदर्शन हेर्नलाई हजारौंको संख्यामा भीड जम्मा भएका थिए । उक्त प्रदर्शन हेर्नलाई कुनै प्रवेश शुल्क नलाग्ने रहेछ । आधा घन्टा जति उक्त प्रदर्शन हेरेर लाग्यौ मुख्य गन्तव्यतिर ।

‘मरलियोन पार्क’ सिंगापुरको सबैभन्दा मुख्य आकर्षण भएको स्थान । सिंहको मुखबाट पानी झरिरहेको ठुलो मूर्ति । जसलाई हेर्नकै लागि यहाँ लाखौं मान्छे विदेशबाट आउने गर्छन । ‘मरलियोन’ अर्थात ‘मर’ को अर्थ हुन्छ समुद्र र ‘लियोन’ को अर्थ सिंह । ‘मरलियोन’ को टाउको सिंहको रहेको थियो जसले सिंगापुरको खास नाम ‘सिंग्गापुरा’ अर्थात सिंहको शहर भन्ने बुझिन्छ । अर्को ‘मरलियोन’ को शरीर पुरै माछाको रहेको थियो, जसले परापूर्व कालमा ‘माछाको गाउँ’ भनेर रहेको विश्वास रहेछ । हामी त्यहाँ पुग्दा राती भइसकेको थियो । पर्यटकहरू वियरको चुस्की लिँदै त्यहाँ फोटो खिच्दै थिए । गगन चुम्बी भवनहरुमा बालिएका बत्तीहरू र ‘मरिना बे स्यान्ड’ होटल अनि पानीमा तैरिरहेका डुंगाहरुले झन मादकता प्रदान गरिरहेको थियो त्यस साँझलाई । बृहद र म सकेको फोटो खिच्दै रमाई राखेका थियौं । घडीको सुई बन्द भई दियोस र त्यही ती सब दृश्यहरू हेरिरहन पाए झन कति रमाइलो हुन्थ्यो होला भन्दै गर्दा भाइले फर्कने जिद्दी गर्न थाल्यो ।

त्यहाँबाट आफूलाई डोराएर ‘मेट्रो ट्रेन’मा बसालेर रात बिताउने ठाउँमा ल्याई पुर्याए । हामी दुई कति थाकिसकेका थियौं भन्ने कुनै सीमा नै थिएन । होस्टलसँगै रहेको चाइनिज रेस्टुरेन्टमा गएर चिसो बियरको साथमा चाइनिज खाना खाँदै त्यस दिनलाई त्यही बिट मार्यौ ।

अघिल्लो दिनको गलेको शरीर बिहान उठ्दा सन्चो नहोला जस्तो भई दुखी राखेको थियो । घडी हेर्दा घडीको सुईले धेरै नै बजाइसकेको रहेछ । भाइलाई उठाएर फ्रेस भई चाँडो चाँडो नास्ता खाएर लाग्यौ ‘सन्तोसा आइल्याण्ड’तिर ।

‘सन्तोसा बीच’ जाँदै गर्दा बाटैमा पर्ने ‘युनिभर्सल स्टुडियो’ को मुख्य प्रवेशद्वारमा बसेर फोटो खिच्यौं । जापानको ओसाकामा रहेको ‘युनिभर्सल स्टुडियो’ घुमिसकेको हुँदा फेरि घुम्ने रहर थिएन । एकछिन् त्यहाँ वरिपरिरहेको दृश्यलाई हेरी लाग्यौं अगाडि । घामले हाम्रो बोसो धेरै पगालिसकेको भन्ने अनुमान शरीरबाट निस्केको पसिनाबाट लगाउन सकिन्थ्यो । भाइ बृहद समुद्रको किनारामा गएर पौडी खेल्न आतुर भइरहेको थियो ।

त्यहाँ पर्ने ‘पालावान बीच’, ‘सिलोजो विच’ र ‘ताङजोङ्ग बीच मध्ये सबैभन्दा राम्रो र सफा रहेको ‘पालावान बीच’ तर्फ लाग्यौं । मान्छेहरू कमै देखिन्थे त्यहाँ पुग्दा । भएकाहरू आआफ्नै धुनमा रमाइरहेका थिए । भाइ हतार हतार लुगा फुकालेर दौडी हाल्यो पानी तर्फ । मेरो जिम्मामा भाइलाई पठाउनु भएकोले गर्द पनि केही होलाकी भन्ने डर लागिरहेको थियो । भाइलाई धेरै पानी भएको ठाउँमा नजान भन्दै आफू पनि पानीमा डुबुल्की मार्न थाले ।

के.एफ.सीमा बसेर पेट पूजा गरेर लाग्यौं ‘अरचर्ड रोड’तिर । सिंगापुरको व्यस्थ र व्यवस्थित एरिया । जहाँ ठुला महल र भवनहरू रहेका थिए । बाटाहरुमा राखिएका चाइनिज सि फुड तथा पोलेका मासुहरुले हामीलाई तानिरहेका थिए । अब हाम्रो पालो थियो सपिङ्ग महलहरुमा घुम्ने । सबैभन्दा पहिला लाग्यौं ‘इयोन अरचर्ड’ मलतिर । खासै अब मलाई सपिङ्ग महलले त्यति आकर्षण नगरेता पनि केही क्षण आराम तथा ‘रेस्ट रुम’ प्रयोग गर्नका लागि भए पनि जाने गर्छु म । भाइले केही इलेक्ट्रोनिक सामान किन्ने इच्छा देखाएको कारण महल भित्रै समय बितायौ ।

आफ्नो देशका जनतालाई दु:ख नहोस भनेर ससाना कुराहरू विचार गरेका र हरेक सेवामा तत्पर रहेका त्यहाँका नेताहरू सम्झदा देख्दा शिर झुकाउन मन लागेको थियो । एउटा असल अभिभावक भएमा सन्तानहरुले राम्रो कदम चाल्छन् भन्ने सिंगापुरले राम्ररी देखाएको थियो ।

बिस्तारै इन्डोनेसियाको ‘बाटम’ जानलाई ‘टर्मिनल’ तर्फ लम्क्यौं । केही दिनपछि फेरि फर्कने वाचा गर्दै दुई दाजुभाइले बिदा गर्यौं सिंगापुरलाई ।

फेरि एकपल्ट सिंगापुरमा आफूलाई पाउँदा आनन्द लागिरहेको थियो । दोश्रो पटक सिंगापुरको भूमिमा टेक्दा अलिक पुरानो भएको आफूलाई अनुभव गरे । त्यहाँका भवनहरू र बाटाहरू आफ्नै लागिरहेको थियो हामीलाई । हामीसँग पुरा एक दिनको समय थियो । त्यस एक दिनलाई कसरी अविस्मरणीय बनाउने भनेर हामी सोच्न थाल्यौं । जाने ठाउँ धेरै तर समय एकदिन मात्र । त्यसैले सबैभन्दा पहिला छनौट गर्यौं ‘बोटानिक गार्डेन’लाई ।

१७० वर्ष पुरानो तथा युनेस्कोद्वारा ‘वल्र्ड हेरिटेज साइट’मा राखेको गार्डेनमा डुलाउन थाल्यौ आफूहरुलाई । जति लेखे पनि कमै हुन्छ होला त्यस गार्डेनको सुन्दरताको बारेमा । विभिन्न भाग भाग गरेर नामाकरण गरिएको रहेछ त्यहाँ । जस्तै: ‘जिन्जर गार्डेन’, ‘जाकोव बल्लास चिल्ड्रेन गार्डेन’, ‘भि.आई.पि. अर्चिड गार्डेन’ आदि थुप्रै थिए । र मलाई विशेष राम्रो लागेको चाहिं ‘भि.आई.पि. अर्चिड गार्डेन’ थियो । मलाई मात्र राम्रो लागेको नभई विभिन्न् हस्तिहरुले पनि त्यहाँ आएर तारिफ गरिसकेको कुरा उल्लेख थियो । उदाहरणमा ‘प्रिन्सेस डायना’, मार्गारेट थेचर’हरू । दिनभरि घुमे पनि नसकिने ठुलो गार्डेन थियो त्यो । जतिकै पीडामा भएता पनि त्यहाँ पुगेमा सब बिर्सेर त्यही वातावरणमा हराइन्थ्यो भन्ने लागेको थियो मलाई ।

‘हजी लोन’ एकदम कम नाम सुनिएको तर त्यहाँ पुग्दा छुट्टै अनुभव मिल्ने खालको थियो त्यस ठाउँ । यस ठाउँको नाम कसरी ‘हजी लोन’ हुन गयो भने पहिले अरबबाट धर्म प्रचारको लागि आउने क्रममा यहाँ मुस्लिमहरुले आएर ‘हज’ गर्ने गरेका रहेछन् । जसअनुरुप नै पछि ‘हजी लोन’ भनेर चिनिदै गएछ । विभिन्न रङ्गले पोतिएका साना घरहरु, सुभिनियरका पसलहरु, मस्जिद भएको शान्त, सफा र मनमोहक थियो ‘हजी लोन’ । अरुभन्दा पनि ‘ग्राफिटी’ मलाई मनपर्ने भएर पनि त्यहाँ घरका भित्ताहरुमा ‘ग्राफिटिङ्ग’ले मलाई तानिरहेको थियो । अहिले नेपालको ठमेल तथा लाजिम्पाट तिरका पर्खालहरुमा देख्न पाइन्छ ‘ग्राफिटि’हरू ।

समय बिस्तारै सकिदै थियो । टाढा जानलाई समय अपुग भएकोले गर्द पनि त्यसै सडकतिर तथा सपिङ्ग महलतिर डुल्न थाल्यौ । रातको ११ बजेको टिकट थियो मलेसिया जानलाई । सिंगापुरको बारेमा जति सुनेको र बुझेको थिए, त्योभन्दा कयौं गुणा बढी पाए । थोरै दिन भएतापनि खुब रमाइलो गर्ने मौका मिलेको थियो सिंगापुरमा हामीलाई जुन नाम राख्न सफल भएको छ सिंगापुर, अँझ आगामी दिनहरुमा झन झन उचाईमा पुग्दै जावोस भन्ने शुभकामना दिँदै लाग्यौं मलेसियातिर ।

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *