कक्रिएको ढुकुर

ChetanNeupane


बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।

बिहेगरेको ४ वर्ष भो । छोराछोरी छैनन् । बुढी छे राम्री र कामकरीली । घरधन्दामा ब्यस्त हुन्छे । गाई पनि पालेको छ एउटा । चियाबारीमा पनि काम पनि गर्छे । बिनोदेले किन हो आफ्नो नाम मनन परेर हो या आमिर खानको फ्यान भएर हो आफ्नु नाम बिनोद नभनेर राजा राखेको छ । राजा हिन्दूस्थानी रिलिज भएपछि राखेको नाम । घरको अगाडिपट्टि रंगीन बोर्डमा पनि लेखेको छ “राजा टेलर्स”।

खासमा भन्ने हो भने, अल्छीको चै राजा छ । सुत्ने । काम नगर्ने । गाउँ डुलिरहने आदि । कसैले लुगा छेकाएर गएको छ भने २ महिनामा पनि उसको लुगा रेडी हुदैन । रक्सी कति खान्छ भने – बिहानै उसकोमा पुग्यो भने एकहातमा बिंडी र अर्को हातमा सिसाको ग्लासमा हल्का सेतो पन्चामृत त हुन्छ नै । “के हो बिनोद दाइ बिहानै शुरु गरिएछ त !” भन्यो भने “त्यो मु* दिलकुमारेकोबाट हिजो सुंगुर ल्याएर खाको कस्तो पेट बिग्रियो भने… त्यै भ’र हल्का लाको,” भन्थ्यो ।

बुढी संधै किचकिच गर्थी । अल्छे भो, काम ढिलो गर्यो या त कामै गरेन भनेर । काम नगरे पनि बिनोदे मिठो मसिनो खानुपर्ने मान्छे । तर कमाइ छैन । खाने बेलामा जैल्यै बुढीसँग सोध्थ्यो, “के पकाइस् सब्जी आज?”

“के हुनु उही गुन्द्रुक ।”

“दिक्क लाउँछे, खालि गुन्द्रुक नपका त ।”

“कमाऊ न राम्रो, गीतै मात्र सुनेर नबस । दिनैपिछे मासु खान पाउँछौ ।”

“लु भो भो, नकरा, भित्र जा ।”

सधैं जस्तो हुने बार्तालाप हो यो । चर्को स्वर सुनिए पनि माक्क मुक्क चै भएन त्यो घरमा ।

एकदिन त्यसै गरी बिनोद बिहानै उठ्यो पसलपट्टि छिर्यो, आँङ तान्यो, पाद्यो र गीत लगायो – ”यारा ओ यारा मिल्ना हमारा जाने क्या रंग लाएगा …।”

जाडो जाडो दिन थियो । एकछिन केके सोच्यो अनि लाग्यो गाउँतिर । चिया ढुक्न । डम्म हुस्सु लागेर यीं को तिँ नदेखिने भएको थियो ।

गाउँ पसेर डेसरेको बाउकोमा चिया खायो । रक्षाको बाउकोबाट एक दुई वटा पुराना लुगा खुट्न भनेर बोक्यो र त्याँ पनि दुधको चिया खायो । १/२ घन्टा ओल्लो घर पल्लो घर गरेरै बितायो । २ घराँ हल्का मदिरा पड्कायो । बिहानै मदिरा हान्छ भन्ने थाहा पाएकाले नसोधी खान दिन्छन् । बदलामा ऊ लुगा खुट्दिन्छ ।

‘आजलाई भयो’ भनेर सुसेल्दै बाटो लाग्यो, बिनोद ।

जाडो उस्तै थ्यो । हुस्सु लागेकै थियो । यस्सो हिंड्दै थियो अलि मास्तिर गोलाईमा एउटा ढुकुर नचट्पटाई निदाए जस्तो भएर बसेको देख्यो । टक्क अडिएर एक छिन हेर्यो अनि सानु आवाजमा “हा” भन्यो । ढुकुर चल्मलाएन । फेरि अलि साह्रो आवाजमा “हा…” गर्यो । ढुकुर जाडोले कक्रिएको थियो, चल्मलाएन ।

‘मरेको त हैन’ सानु आवाजमा बोल्दै बिनोदेले एउटा सानु ढुङ्गा टिपेर फ्याट्ट हान्यो र फेरि “हा…” गर्यो । हल्का एउटा खुट्टा उठाएर यस्सो जीउ मात्रै हल्लायो ढुकुरले ।

बिनोदेले “यस्किमा…” भन्दै खुरुरुरु कुदेर ढुकुर टपक्क हातमा टिप्यो । च्याप्प काखीमा च्याप्यो र फेरि सुसेल्दै लाग्यो घरतिर । घर नपुग्दै वरैबाट करायो बिनोदे –
”कल्पना… ए कल्पना… !”

घरतिरबाट उत्तर आएन । फेरि चिच्यायो, ”ओए कल्पना, तेस्कीमा कल्पे ओई कल्पे…!”

झ्यालबाट एस्सो मुन्टो निकालेर बुढीले हेरी र कराई, “किन मोर्न खोज्छौ ए, के भो ?”

“भात सब्जी पकाइस्?”

“अँ पकाएँ । तिम्लाई गाउँ डुल्दै ठिक छ । म चै के घराँ के कोट्याएर बस्नु नि ?”

“नकरा ! भो, सब्जी के पकाइस् ?”

“तिम्ले बंगुर ल्याईदेका छौ होला नि,मिठो खानलाई त ।”

“बढी नबोल्, सब्जी के पकाइस् त्यो भन् ।”

“के पकाउनु र उही गुन्द्रुक ।”

“त्यसो भए त्यो फ्याँक् ।”

“गुन्द्रुक फ्याकेर चै के खान्छौ नि फेरि?”

“फ्याँक् भनेपछि फ्याँक् न ।”

“ल हेर के भो आज बुडोलाई?”

“म आऊँ कि फ्याँक्छस् ए”

परै देखि कराउँदै कराउँदै अब बिनोदे घरको आँगनमै पुग्न लागेको थियो । बुढोले क्यै शिकारै पो गरेछ कि क्याहो भनेर बुढीले गुन्द्रुक झ्यालबाट मल खाडीतिर हुत्त पारी । अनि नजिकै आइपुगेको बुढोलाई सोधी, “खै के ल्यायौ र गुन्द्रुक फ्याँक्न लायौ?”

बिनोदेले काखीमा च्यापिराखेको ढुकुर हत्केलामा राखेर देखायो
“यी हेर्! ढुकुर,” ढुकुर भुर्रर उँड्यो ।

जाडोले कक्रिएर बाटोमा बसेको ढुकुर बिनोदेले काखी च्यापेर ल्याउँदा काखीको न्यानोले तंग्रेछ । पंख फड्फडाएर उँड्यो । बिनोदे खिस्रिकै भयो र लामो निस्वास फ्याँक्दै सानु र नम्र स्वरमा भन्यो- “बुढी! गुन्द्रुक फ्याँकी नै सकिस्?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *