घण्टीको मूल्य (बाल लघुकथा)


हरिप्रसाद एक किसानको छोरा थियो । प्रशस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रीबाट आम्दानीको स्रोत बलियो बनाउने उद्देश्यले भैंसी पनि पालेको थियो । परिवारका अन्य सदस्यहरू खेतीपातीमा काम गर्थे भने हरिप्रसाद दिनहुँ बिहानैदेखि भैंसी चराउन बनमा जान्थ्यो ।

सबै भैंसीहरुको घाँटीमा एकै प्रकारको घण्टी बाँधिएका थिए । एउटा उन्नत जातको धेरै दूध दिने चिल्लो राम्रो भैंसीको घाँटीमा अरुकोभन्दा फरक महँगो घण्टी बाधिएको थियो ।

एक दिन सबै भैंसीहरू घण्टी हल्लाउदै हरियो चौरमा चरिरहेका थिए । हरिप्रसाद रुखको ओझेलमा बसेर सुसेली बजाउँदै थियो । यत्तिकैमा एउटा बटुवाले हरिप्रसादलाई बोलाउँदै झस्काइदियो । बटुवा चिल्लो भैंसीको घण्टी देखेर लोभिएको रहेछ ।

“त्यो घण्टीको मूल्य कति हो ? म किन्छु,” बटुवाले प्रश्न गर्यो ।

“पचास रुपियाँ ,” हरिप्रसादले जवाफ फर्कायो ।

“मात्र पचास ? म तिमीलाई यो घण्टीको सय रुपयाँ दिन्छु,” बटुवाले भन्यो ।

सय रुपैयाँको सुनेर हरिप्रसाद निकै खुशी भयो र तुरुन्त घण्टी निकालेर बटुवालाई दियो अनि पैसा आफ्नो गोजीमा राख्यो ।

अब त्यो भैंसीको घाटीमा कुनै घण्टी थिएन । घण्टीको आवाजले हरिप्रसादलाई थाहा हुन्थ्यो, कि भैंसी कहाँ चरिरहेको छ । एकै छिनमा भैंसी चर्दै चर्दै धेरै टाढा पुगिसकेछ । त्यसै मौकाको फाइदा उठाउदै त्यही बटुवाले भैंसीलाई लिएर हिडिरहेको पो रहेछ ।

हरिप्रसाद रुँदै रुँदै घर आयो र सबै घटना बुवालाई सुनायो, “मलाई कत्ति पनि अनुमान थिएन कि घण्टीको मूल्य यति धेरै दिन्छ भनेर, मलाई ठग्यो भनेर ।”

बुवाले भने, “ठगीको सुख धेरै खतरनाक हुन्छ । सुरुमा त हामीलाई खुशी दिन्छ, पछि धेरै दुख । तसर्थ हामीले पहिले नै सुख खुशी लिनु हुँदैन । लोभ लालचमा फँसेर मानिसलाई कहिल्यै सुख मिल्दैन ।”

कल्पना पौडेल “जिज्ञासु”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *