हर्के र सपना घनिष्ट बालसखा थिए । सपना होक्से गाउँकी सम्पन्न जमीन्दारकी एक्ली छोरी र टुहुरो हर्के सपनाको घरको जूठोमुठो खाने गाईगोठालो थियो । हर्केका बाबुआमा दश वर्षअघि इलामको सुन्तले गाउँबाट काम खोज्दै मधेश झरेका थिए । त्यही सिलसिलामा उनीहरू होक्सेका बराल थरी जमीनदारकहाँ हलीगोठालो बसेका थिए । त्यहीं हर्केको जन्म भएको थियो । हर्के पाँच वर्षको हुँदा उसका बाबुआमालाई हैजाले लागेको थियो र ऊ टुहुरो भएको थियो । हर्के जन्मेकै वर्ष बरालको घरमा पनि पुत्रिरत्नको आगमन भएको थियो र तिनै रत्न थिइन् सपना । लामो समयसम्म बरालनीको कोख उजाड थियो । छोरीको आगमनले सन्तानप्राप्तिको सपना पुरा भएकोमा बराल दम्पतीले छोरीको नाम सपना राखेका थिए । आफ्नो नूनको सोझो गर्ने गोठालागोठालीको अकाल मृत्यु भएकाले टुहुरो हर्केलाई लालनपालन गर्ने जिम्मा बराल दम्पतीको भयो ।

हर्के र सपना दौन्तरी भएकाले एउटै कक्षामा गाउँ नजिकैको नमुना प्राथमिक विद्यालयमा पढ्थे । उनीहरूसँगै स्कुल जान्थे, सँगै खेल्थे रसँगै घर फर्कन्थे । घर आएपछि सपना खाजा खाएर गृहकार्य गर्न बस्थी भने हर्के गाईको लागि घाँस काट्ने, भकारा सोहोर्ने र जुठो भाँडा माझ्ने काम गर्दथियो र सम्पूर्ण काम सकेपछि राती अबेरसम्म बसेर आफ्नो गृहकार्य पुरा गर्दथियो । सपना बिहान अबेरसम्म सुत्थी तर हर्के सबेरै उठेर स्कुलको पाठ घोक्थ्यो । हर्केले बिहान गाईबस्तुको सम्पूर्ण काम सकेर खाना खान्थ्यो र सपनासँगै स्कुल जान्थ्यो । बालदौन्तरी भए पनि बरालकहाँ सपना र हर्केमाथि गरिने व्यवहारमा आकाश जमिनको फरक थियो । कहाँ महलकी राजकुमारी सपना र कहाँ टुहुरो गोठाले हर्के । आमाबाबु सानै छँदा खसेकाले गर्दा हर्केलाई माया के हो भन्ने कुरा राम्ररी थाहै थिएन तथापि कहिलेकहीं गाईगोठ माथिको मचानमा सुतेको हर्केको बालमस्तिष्कमा टुहुरो र गरिब हुनुको पीडाले तीखो प्रहार गर्दथियो र ऊ मनमनै रुने गर्दथियो । नमूना विद्यालयमा डेढ महिनाको लागि हिउँदे बिदा भयो । डेढ महिना स्कुल जानु नपर्ने भएकाले सपना फुरुङ्ग थिई । तर हर्केलाई स्कुल छुट्टी हुँदा कता कता नरमाइलो लाग्यो । स्कुलमा मोजाको भकुण्डो खेल्न पाइने, टिफिन समयमा नजिकैको दामा खोलामा पौडी खेल्दै खोलाको डिलैमा फलेका फ्याक्रे र अमला खान पाइने भएकाले उसलाई स्कुल जान नै रमाइलो लाग्थ्यो । घरमा बस्दा ऊ बिहानभरी घरको काम र दिनभरि नजिकैको बिरिङ खोलाको चौरमा गाई बस्तु चराउन जान्थ्यो ।

एकदिन रहरै रहरमा हर्केसँगै सपना पनि गाईबस्तु चराउन बिरिङ खोलाको चौरतिर गर्ई । सपनाले झोलामा भुटेको मकैभटमास र अम्बा बोकेकी थिई । गौचरणमा हर्के र सपनाको बालक्रीडाको लहर खहरेको बाढी झैँ उर्लिएर आयो । तीनतले भिरको काखमा बसेको अनि दामा र बिरिङ खोलाको माला लगाएको होक्से गाउँलाई हिउँदको मन्द मन्द न्यानो घाममा कुनै स्वर्गको टुक्रानै आकाशबाट झरेको हो कि भन्ने प्रतित हुन्थ्यो । उनीहरुले चौर नजिकैको दहमा खुब रमाएर पौडी खेले । खोलाकै डिलमा फलेको बेल फुटाएर मिठो मानी मानी खाए । खुल्ला चौरमा निस्फिक्री चोरपुलिस र डण्डीबियो खेले । उनीहरुले हाँस्दै नाच्दै घरबाट ल्याएको अम्बा र भुटेको मकैभटमास खाए, गीत गाए, नाचे, उफ्रे । त्यो रमणिय पलमा हर्केले आफूलाई टुहुरो र गोठालो भएको पनि बिर्सियो अनि सपनाले थाहा पाई कि उसको लागि हर्के जस्तो आत्मीय साथी र प्रकृति जस्तो सुन्दर बस्तु अरु केहिरहेनछ । महलको कृतिम आनन्दभन्दा धेरै गुणा बढी खुशी प्रकृतिमा रहेछ । उनीहरुको निश्चल खुशी देखेर प्रकृति पनि रमाएको प्रतित हुन्थ्यो । निष्कपट बालक्रीडाको भरमग्दुर आनन्द लिन आकाशमा सूर्य पनि अस्ताउन चाहदैनथियो तर रातलाई पालो दिनको लागि दिन ढल्नै थियो । साँझ पर्यो र उनीहरू आफ्नो गाईबस्तुको बथान अघि अघि लगाएर घर फर्के ।

लामो स्कुल छुट्टीको मौकामा सपना आफ्ना बाबुआमासँग बिदा मनाउन लण्डन गर्ई । लण्डनमा उसले लण्डन ब्रिज, चिडियाखाना, टावर, वेस्टमिनिस्टर एबी आदि ठाउँ घुमी । त्यहाँको आधुनिकता र मानिसको जीवनशैली देखी । सपना दिनभरिको लण्डन घुमाईले लखतरान भएर बेलुकी होटलमा चाँडै निदाइ । उसले सपनीमा बिर्खेसँग गाईबस्तु चराएको, खोलामा पौडी खेलेको, खोलाको बगरमा लुकाछुपी खेलेर रमाएको देखी । सपनीमा उसलाई बिर्खेले रुखमा चढेर खोलाको डिलमा फलेको बेल टिपिदिँदै थियो, अचानक बिर्खे रूखको हाँगा भाँचिएर बगिरहेको खोलामा झर्यो । सपना कहालीएर “बिर्खे“ भन्दै निद्रामै झस्की । सपनाका बाबुआमाले उसलाई काखमा लिँदै ढाढस दिए । आधुनिक युरोपेली शहर लण्डनको झिलिमिलि उसलाई त्यति रमाइलो लागेन जति बिरिङ खोलामा हर्केसँग गाईगोठालो जाँदा ऊ रमाएकी थिई । उसको बालमस्तिष्कपटमा हर्केको हँसिलो अनुहार, ऊसँग खेलेका पलहरू नाच्न थाले । उसले लण्डनबाट घर फर्किन हतार गर्न थाली । कहिले घर पुगेर हर्केसँग प्रकृतिको काखमा खेलौं भन्ने चाहना सपनामा जागृत हुन थाल्यो । “ आमा ! अब घर फिरौं“ भन्दै सपना रुन थाली । सपनाको बालमस्तिष्कले लण्डनको रिमझिमभन्दा होक्से गाउँ र बिर्खेसँगको बालक्रीडाको मज्जा नै आनन्ददायी ठान्यो । छोरीको बालहठसँग हार मानेर सपनाका बाबुआमा लण्डनको घुमाई छोट्याएर घर फर्के ।

यता बीचरो बालक हर्के दिनभरि बिरिङ खोलाको चौरमा गाईबस्तु चराएर थकित भई गाईग्वाली माथिको बाँसे मचानमा भुसुक्कै निदायो । औंशीको कालो रातमा हिउँदे चिसो सिरेटोले हर्केले ओडेको धुस्नो सिकरकभित्र पनि चिहाउदै थियो । टुहुरो बालक हर्केले सपनीमा आफ्ना आमाबाबुलाई देख्यो । उसका बाबुले हर्केलाई नजिकैको बुधबारे बजारबाट पाउरोटी र चकलेट किनेर ल्याइदिए । उ बाबुको काखमा बसेर यी खानेकुराहरू बडो मिठो मानी मानी खाँदैथियो । आमाले उसलाई आफ्नो काखमा राखी सारीले छोपेर न्यानो पारेर सुताउदै थिइन् । सपना र हर्के स्कुल नजिकैको नमूना चोकमा लिङ्गेपिङ्ग खेल्दै रमाइरहेका थिए । टुहुरोपन र गरिबीले आक्रान्त हर्केको बालचाहनाले क्षणिक र अस्थायी आनन्दप्राप्तिको लागि सपनी रोज्यो । बिपनाका असहायहरुलाई सपनीले सहायता गर्छन् । बिहानीपख एक्कासि मचानमुनी बाँधेको गोरु डुक्रेको आवाजले हर्केको निद्रा भङ्ग हुन्छ । मिठो सपनाबाट यथार्थको बिपनामा झर्दा हर्के झस्कन्छ र भक्कानिएर रुन्छ । बीचरो लाचार र टुहुरो बालकको रुवाईमा हिउँदको झिसमिसे बिहानीमा झरेका शीतका थोपाहरू पनि तपतप गर्दै रोइदिन्छन् । लण्डन घुमाइसकेर सपना पनि बाबुआमासहित घर आइपुगी । सपनाले हर्केलाई बिदेशबाट ल्याएको एउटा राम्रो कलम र मिठो चकलेट दिई । हर्के पनि सपना आएपछि खुशी भयो । हिउँदे छुट्टी सकिएपछि हर्के र सपनासँगै स्कुल जानथाले । आजकल सपना हरबखत हर्केसँगै खेल्न र स्कुलको गृहकार्य गर्न थाली । प्रकृतिले पनि बालक्रीडा र बालप्रेमलाई पवित्र बनाइदिएको हुन्छ, बालहठमा आनन्दको सागर उर्लिन्छ र त बालकबालिका ईश्वरका प्रतिमूर्ति मनिन्छन् । समयको बहावसँगै हर्के र सपनाको फेरि स्कुलको एकमहीने बर्खेछुट्टी सुरु भयो ा हिउँदे बिदामा झैँ हर्के र सपना फेरि बिरिङ खोलाको चौरमा गाईबस्तु चराउन जान थाले ा उनीहरू फेरि पौडी र चोरपुलिस जस्ता खेलमा रमाउन थाले । एकदिन चरागाह नजिकैको एउटा सानो दहमा हर्के र सपना बेल खाँदै निर्बस्त्र पौडी खेलमा रमाउदै थिए । उनीहरू बर्खे मौसममा छिनछिनमा बदलिने वातावरणबारे बेखबर थिए । बर्खाको बेला चरणभूमिमाथि पर्ने माटे र शान्तिपुर गाउँ माथिका आकाश कालोनीलो हुँदै आयो । एकछिनमा अप्रत्यासित घनघोर वर्षा भयो र बिरिङ खोलामा ठुलो बाढी आयो । अचानक आएको बाढीबारे बेखबर ती बालद्वयलाई बाढीले बगायो ।

दिन ढल्ने बेलासम्म मुसलधारे पानी परिरहेको थियो । गाउँमा सपना र हर्के गाईबस्तु चराएर साँझसम्म घर नफर्किदा गाउँमा हल्लीखल्ली भयो । बरालनी पीरले कोकोहोलो मच्चाउन थालिन् । गाउँलेहरू घुम र छाता ओढ्दै हातमा पुल्ठो र टर्चलाइट लिएर सपना र हर्केलाई खोज्न बिरिङ खोलातिर लागे । बर्खे झरीमा बहुलाएर आएको बाढीमा ती बालक र गाईबस्तु भेट्नु असमभव लाग्थ्यो । मध्यराततिर निराश भएर गाउँलेहरू तिनीहरुलाई भेट्ने झिनो आशाको साथ खोलाको तिरैतिर भएर घर फर्कन थाले । अलिक तलतिर खोलाको तिरैमा रहेको एँडीगाउँमा एउटा ठुलो सालको रुख थियो जसको जरा खोला बग्ने बाटोतिर फैलिएको थियो र जसको फेदैमा एउटा पहाडतिरबाट झर्ने बटुवा र ढाक्रेहरू बिसाउने चौतारी थियो । गाउँलेहरुले जुनको उज्यालोमा रूखको जरामा बाढीले बगाएर अड्किएका दुईवटा ससाना मानवाकृति देखे । ती आकृति सपना र हर्केका लाशहरू थिए । ती लाशहरू देखेर गाउँलेमा रुवाबासी चल्यो । बरालदम्पति त मूर्छा नै परे ।

भोलिपल्ट गाउँलेहरुले त्यही चौतारीको छेउमै हर्के र सपनाका मृत शरीरको दाहसंस्कार गरे । तेह्रौँ पुण्यतिथिको दिन पारेर उनीहरुको सम्झनामा चौतारीमा बर र पीपलको बोट रोपियो र ती बरपीपलको बिधिपूर्वक विवाह गरियो । आजकल इलामको सुन्तले गाउँबाट बुधबारे बजारमा डोको र थुन्से बेच्न झरेका ढाक्रेहरू त्यही चौतारीमा थकाई मार्न बिसाउँछन । चौतारीलाई शीतलता र ओत दिने ती जोडी बरपीपलले हर्के र सपनाको निष्कपट बालापनको झझल्को दिन्छन् । बिहानीको शीतले तप तप गर्दै हर्के र सपनाको वियोगमा बारपीपलका पातहरुबाट आँसुका थोपाहरू खसाल्छन् । ती बरपीपलका हाँगा र डालीहरुमा ढुकुर र चखेबाका जोडीहरुले सुरिला गीत गाउँदै हर्के र सपनाका निश्चल बालप्रेमको झझल्को दिन्छन् ।

इति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *