कल्पनाको क्यानभासमा निकै समयदेखि सजिएको सुन्दर बन्दीपुरलाई अन्ततः भेट्न जाने यात्राको सुरूवात भएरै छाड्यो २०६६को जेठ महिनाको एक बिहान । त्यो बिहानी सदाझैं सामान्य भए पनि मेरा लागि अलि बिशेष थियो, कारण म धेरै समयदेखि यसै दिनको प्रतीक्षामा थिएँ । मनमनै गद्गद् हुँदै गोङ्गबु बसपार्कबाट यात्रा आरम्भ भयो मेरा केही मित्रहरूसँग । थानकोटको डाँडातिर पुग्दाखेरि नै काठमाडाँैको कोलाहलबाट निकै टाढा भइसकेको आभाष पाइसेका थिए मेरा कानहरूले । नागढुङ्गाका नागबेली ओह्रला, नौविसे, मलेखु हुँदै पृथ्वीराजमार्गका अनगिन्ति ठाउँहरू छिचोल्दै अनि हाम्रो बेगसँगै साथ दिँदै गरेको महेश खोला अनि त्रिशुलीलाई साथै अगाडि बढाउदै हामी आँबु खैरेनीमा बिसाउन पुग्यौँ केही क्षणका लागि । डुम्रे बजार भन्दा दक्षिणतिरको अलि माथि थुम्कोमा रहेको सुन्दर बन्दीपुरले हामीलाई स्वागतका हात हल्लाइरहेका थिए । मेरो मन आतुर हुँदै थियो यो मिलनका लागि ।
करिब १०३० मिटर उचाइमा रहेको बन्दीपुरलाई भेट्न डुम्रेबाट उकालो नागबेली बाटो समाउने बित्तिकै म बन्दीपुरको वस्तविक सुन्दरतासँग साक्षात्कार भएँ । पहाडी इलाका, सुन्तलाका हरिया बगैँचाहरू, त्यो सुन्दर घुम्ती, लोभलाग्दा पहाडहरू, अनि ढुङ्गाले छाएका चिटिक्क परेका घरहरू जो कोहीलाई पनि मोहित पारिदिन सक्ने खालका थिए । उचाइ बढ्दै जाँदा डुम्रेको तातो हावाबाट टाढा हुँदै हामी बन्दीपुरको चिसो बताससँग नजिकिँदै थियौँ । यो भयङ्कर सुन्दर छटामा आँखाहरू खेलाउदै गर्दा मित्र कवि गीता त्रिपाठीको फोनले मलाई झनै बढी खुसी तुल्यायो । मैले सुन्दर बन्दीपुरको वर्णन गर्दै गर्दा आफू आउन नपाएकोमा थकथक मान्दै हुनुहुन्थ्यो उहाँ । लगभग ४ बजे बन्दीपुर पुग्दा म त्यहाँको ढुङ्गाले छापेको सडक, चिटिक्क परेका घरहरू र राम्रा रेष्टुरेन्टहरू देखी निकै चकित भएँ । उन्नाइसौँ शताब्दीमा भक्तपुरका नेवारहरू गई बसी व्यापार सुरू गरेपछि एक प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापना भएको यस ठाउँ अग्लो थुम्कोमा रहेको कारणले हावापानीको हिसावले ज्यादै राम्रो रहेछ । नेपालका धेरै पुराना बजारहरू मध्येको बन्दीपुर आफनो छुट्टै कला र संस्कृति बोकी बाँचेको सहर हो । साथै यो उर्वर भूमिले धेरै कला साहित्य पारखी र स्रष्टाहरूलाई जन्माएको रहेछ । नेपालका बरिष्ठ साहित्यकार प्रेमबिनोद नन्दन यहीँको मनोरम प्राकृतिक छटाहरूसँग खेल्दै हुर्कनु भएको हो । यहीको सिर्जनशील हावा पानीले गर्दा उहाँले ‘ यो गाउँको ठिटो म कान्छा मेरो नाउँ…….’ जस्तो ज्यादै सजिव सिर्जना दिन सक्नु भएको छ । उहाँको सरल व्यक्तित्व र उत्कृष्ट सिर्जनाका पछाडि थानी माई र खड्ग देवीको आशीर्वाद पक्कै पनि छ ।
बन्दीपुर बजारबाट पश्चिमपट्टि ५०० मिटरको थुम्कोमा रहेको थानी माईको दर्शन गर्न जाँदा करिब आधा घण्टा ठाडो उकालो हिड्दाको पीडा त्यहाँको मनोरम शान्त ठाउँले एक्कै पटकमा बिर्साइदियो । थानी माई एक तपस्वी झैं त्यो टाढाको थुम्कोमा बसेकी रहेछिन् वरपरको चट्टानी पहाडहरूसँग रमाउँदै । त्यो उचाइबाट तल हेर्दा बन्दीपुर बजार सार्है चिटिक्क नवदुलही जस्तै देखिँदोरहेछ । चट्टान कहिलेकाहीँ कति डरलाग्दो र भयावह देखिन्छ तर थानी माइको वासस्थानमा रहेको यस चट्टानहरूमा पनि जीवन र कोमलता मुस्कुराइरहे झैं लाग्दै थियो ।
लगभग ८० बर्षअघि बनेको घरलाई होटलको रूप दिइएको रहेछ, बन्दीपुर गेष्ट हाउस हाम्रो बस्ने प्रबन्ध त्यहीँ भयो । काठका झ्यालहरूमा सार्है राम्रा बुट्टा कुँदिएका र राणाकालीन दरबारको शैलीमा बनेको त्यस घरले कयौँ घाम पानी सही इतिहासका धेरै कुराहरूको साक्षीको रूपमा उभिएको पाएँ । बन्दीपुरलाई अझ नजिकबाट नियाल्न दोस्रो दिन सबेरै बजारबाट पूर्वपट्ट िरहेको तीनधाराको कलकल मुलको पानीसँग खेल्न पुग्यौँ र त्यही नजिकै रहेको तीनधारा महादेवको दर्शन पनि गर्यौँ । त्यसपछि हामी बजारको उत्तरपट्ट िरहेको खड्ग देवीको दर्शनतिर लाग्यौँ । किंवदन्ती अनुसार पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनको खड्गमा देवीले बास बसेपछि त्यही खड्गलाई त्यहाँ स्थापना गरी पुज्न थालिएको रहेछ । किंवदन्ती जे भए पनि ती मन्दिरहरू आस्थाका धरोहर हुन् । त्यहाँका नेवार, मगर, बाहुन, क्षेत्री र दमाई सबै जातिलाई एउटै सूत्रमा बाध्न सक्ने यही हाम्रा धर्म र संस्कृतिहरू नै हुन् । खड्ग देवीको दर्शन पछि हाम्रो निकै चुनौतिपूर्ण यात्रा तय भयो सिद्ध गुफाको । बन्दीपुर बजारको उत्तरपूर्वी दिशाको ठूलो पहरामा रहेको यस गुफालाई बि.सं २०४४मा पत्ता लगाइएको रहेछ । बजारबाट उत्तरपूर्वपट्ट िलगभग एक घण्टा जति ठाडै ओरालो झरेपछि त्यहाँ पुगिने रहेछ । यो यात्रा मेरा लागि निकै चुनौतिपूर्ण रहृयो । धेरै समयदेखि सहरको सुविधामा अभ्यस्त भएको मेरो शरीरलाई यो हिँडाइ ज्यादै असहज लागिरहेको थियो । पातलो हरियो जङ्गलै जङ्गल झर्दा मन रमाए पनि खुट्टाहरू लगलग काम्दै थिए । आखिर मेरा खुट्टाहरूले साथ नदिई धरै पाएन आत्मबलका सामु । फेरि हिमाली क्षेत्रकै सबैभन्दा ठूलो त्यस गुफामा पुगेपछि त अघिको असिनापसिना, खुट्टा दुखाइ र सकस आफँै भागिहाल्यो । झन् बढी आश्चार्य त गुफाभित्रको विशाल ठाउँ, अनौठा र अनेक आकार प्रकारका आकृतिहरूले पार्यो । साँच्चै नै प्रकृतिको यो अद्भुत संरचनाका अगाडि मैले घुँडा टेकेँ । त्यो डरलाग्दो तर ज्यादै सुन्दर गुफाभित्रको लगभग एक घण्टे डुलाइपछि बाहिर निस्कदा त कुनै छुट्टै संसारबाट पृथ्वीमा आइपुगे झैं लाग्यो । मेरा अन्य मित्रहरूले पनि त्यस्तै अनुभव गरेका रहेछन् । म भने एकतमासले एकोहोरिँदै थिए । केही क्षणपछि यो सुन्दर बन्दीपुरलाई छाड्नुपर्ने कुराले म पिरोलिदै थिएँ सायद ।
बन्दीपुर सार्है सुन्दर रहेछ , मेरो कल्पना जस्तै । हरिया पाखा, पखेरा, सुन्दर बन र मध्यम हावापानीले राम्ररी सिंगारेकी रहेछिन् प्रकृतिले यस ठाउँलाई । प्रकृति खुलेर हाँसेको यस ठाउँमा मेरो मनले पनि सार्है आनन्दको अनुभव गर्यो । बन्दीपुर गेष्ट हाउसका हँसिला साहुजीले दिनुभएको स्नेह पनि मनमा उत्तिकै ताजा छ । आखिर दिन सक्ने र हामीले बाँड्न सक्ने भनेकै यही माया र सद्भाव त हो ।
बन्दीपुर एउटा छुट्टै इतिहास बोकी स्वाभिमानी भई त्यो थुम्कोमा उभिएको छ । फरक कला, संस्कृति र जीवनशैलीलाई आत्मसात गर्दै बर्षौदेखि उभिएको छ बन्दीपुर । ‘प्रत्येक सहरको आफनो आत्मसम्मान हुन्छ ।’ भनी प्रसिद्ध लेखक निर्मल वर्माले भने झैं बन्दीपुर आत्मसम्मानकासाथ झरी, बादल, शिशिर र बसन्त खेप्दै अडिग भइरहेको छ । बन्दीपुरको त्यही स्वाभिमानी आकृति त्यहाँबाट मिलौ टाढा काठमाडाँैमा आइपुगेका मेरा आँखाभरि पौडिरहेका छन् ।

Beautiful artical.
Ghanashyam
Beautiful artical.
Ghanashyam Shrestha