Skip to content


शरीरमा टाँसिएका यी भुँडीहरू
ढिँडो र ब्यञ्जन कोच्ने थैलाहरू मात्रै होइनन्
जाँड र माड भर्ने घैँटाहरू मात्रै होइनन्
बैध—अबैध भ्रुणको ओथारो काढ्ने गुँड मात्रै होइन
मानवीय महत्वकाङ्क्षाका सारथी पनि हुन्
जसको पूजासामग्री जुटाउन
मानिसहरुले नैतिक—अनैतिक सबै कर्म गरे
पाप—धर्म दुवैको मर्मलाई लोपारे
साम, दाम, दण्ड र भेदको कान निमोठे
र त यो महान लाद्रो
सर्वजयी छ, सर्वलोकप्रिय छ
वैधता—अवैधता अनि सुकर्म—कुकर्मका अपक्षपाती
यो तटस्थ र समानुपातिक भोजनधोक्रो
अनि निरपराध शिशुबीजको भ्रुणघर
बहुआयामिक र बहुरूपी अवतार लिएर
बलात्कृत कुमारी आमाको बिरुवालाई पनि ओत दिन्छ

कुलीन,खानदानी उत्तराधिकारीलाई पनि बास दिन्छ
अनिकाले दाउरेको शरीरभित्र दाउरिन्छ
बाध्य लाहुरेसँग टाँसिएर लाहुरिन्छ
सर्वहाराको अङ्कमालले चाउरिन्छ
राजशी ब्यञ्जन बोकेर गम्किन्छ
बिजुलीपानी भरेर चम्किन्छ
अनि उल्फाको झुसी भकारी हसुरेर गम्किन्छ
भोकयुद्धको मैदानमा कयौं भुँडीहरू शहीद भए
प्रेमयुद्धको डबलीमा सयौँ कुमारीहरू आमा भए
परिस्थितिको दाश आन्द्रानाथ यो भोजनघ्याम्पो
अनिकालमा आतिन्छ
मस्तीमा मातिन्छ
अनि बिना भोक गलागित्त घिच्दा पातिन्छ

जीवन सञ्चालनका अवयवहरुको अथक भरिया
अभीष्टसिद्धि मार्गका आज्ञाकारी करिया
जीवनको रङ्गमञ्चमा कहिले घ्याम्पे बन्छ
परिस्थितिको दाश भई कहिले दाम्ले हुन्छ
खाद्य अखाद्य सबै भोजनका तिमी बिसौनी
थुतुनोमार्गबाट छिर्ने भोजनका त तिमी अभिस्ट सङ्गिनी
कतै बिडम्बना कतै मामाको घोडा मेरो हैं हैं
यहाँ भुँडीभरण र सातपुष्ता पोषणका लागि
सयौँले मातृभूमिमा बहने नदी बेचेर तुर्केझोल पिए
हजारौँले हरियो बनलाई पोइला पठाएर दाइजो निले
धेरैले गोप्य फाइल र कमिसन चपाएर डकारे
र त तिमी सर्व्प्रिय छौ हे भुँडीदेव !
तिमीलाई मेरो जोडी करको सलाम छ
पेट, लाद्रो,भोजनभकारी छन् तिम्रा कयौं उपनाम
हे भुँडी ! तिमीलाई गर्छु म कोटी कोटी प्रणाम
सर्वप्रिय, सर्वब्याप्त अनि साम्यवादी छौ तिमी सर्वगुणी
मेरो कोटी कोटी नमन छ तिमीलाई हे अङ्गश्रेष्ठ श्रीभुँडी

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *