वनवासका अनुभूतिहरुः संक्षिप्त परिचय
‘वनवासका अनुभूति’ नामक कविता कृतिका साथ कवि दुष्यन्त भट्टराई पछिल्लो चरणका सशक्त कविका रुपमा उदाएका छन् । श्री बुद्धिप्रसाद घिमिरेको छैंटौं पुण्यतिथिको छेक पारेर गरिएको ‘कोकप्रतिभा निकुञ्ज काव्यगोष्ठी’ को अवसरमा आधुनिक महाकवि रमेश खकुरेलद्वारा इलाममा १९ गते कार्तिकमा विमोचित उक्त कृतिमा ६ दर्जन कविताहरु समेटिएका छन् । छन्दअभियन्ता डा देवी नेपालद्वारा भूमिका लेखिएको र कविका पिताबाट शुभाशीर्वादका रुपमा लेखिएको अग्रअंश पछि लेखकको केही कथनका साथ कविताको क्रम सुरु भएको छ ।
कवि दुष्यन्त पाण्डवहरु वनवास बसे जसरी नै नेपालबाट बेलायतमा एक युग वा दिव्य बार वर्ष बसेर स्वदेश फिरेका हुन् । यसरी स्वदेश र स्वजनलाई छोडेर विदेश बस्नु पर्दाका पीडाहरु, बेथा र छट्पटीहरु यसमा समेटिएका छन् यो कुरा कविताहरुमा देखिएको छ ।
कविता भनेको लय नै हो । लयको अर्को नाम छन्द हो । नियमित होस् वा खुला होस् लय रहेन भने कविता नै हुन्न । गजल त झन् गेय भएन भने गजल नै हुन्न । नेपाली कविहरुको पङ्क्तिमा पछिल्लो चरणमा सशक्त ढंगले उदाएका र “प्रतिभा निकुञ्ज” बाट दीक्षित भट्टराईमा कविताचेतना अहिले प्रबल छ । दैनिक जसो प्रतिभा निकुञ्जको अभ्यासमा कविताका लागि समय दिनु निजको दैनिकी भएको छ । यसैको परिणाम हो ‘वनवासका अनुभूति’ ।
डा देवी नेपालले कवि दुष्यन्तको काव्ययात्रा र उनका कवितामा उपलब्ध हुने विषय र भावनाको यसै कृतिको लामो भूमिकामा गहिरो गरी छानविन गरेका छन् । निजले भनेजस्तो कवि दुष्यन्तका रचनाहरुमा देशभक्तिको भावना प्रखर रहेको छ । साथै देशमा आएको नैतिक सांस्कृतिक विषयहरुको विचलन सामाजिक विकृति र विरोधाभास आदिमा कविको गहिरो चासो छ । नैतिकताको विचलन देखेर भट्टराई अचम्म परेका छन् र नैतिक र देशभक्तिमा तलमाथि भएकोमा कवि दुर्वासा बन्नु पर्ने अडानामा छन् । अत्मिक प्रेमका कुराहरु, प्रणय वा मायाका कुराहरु, युद्ध र शान्तिका कुराहरु, संस्कारका सन्दर्भहरु, कला र साहित्यको महत्वबाहेक दैहिक स्नेह मानवीय प्रेम स्वजनबाट टाढा रहनु पर्दाका छटपटीहरु, घुमाइफिराइ धेरै कविताहरुमा पोखिएका छन् । युवाहरुलाई देश बनाउन आह्वान छ, मातापिता वा ज्येष्ठनागरिकमा सम्मानको खाँचो बोध गरेका छन् । आमा र मातृभूमि दुर्लभ हुन्छन् भन्ने भाव छ । जीवनलाई जीवन जसरी बाँच्ने सल्लाह छ । भाषासेवी साहित्यकार कलाकारहरुको महिमाबारे कवि कन्जुस्याइँ गर्दैनन् । शुद्ध हार्दिक कविताहरु पनि यसमा छन् ।
अनि कतिपय कविताहरुमा कवि आक्रोशित भएका पनि देखिन्छन् । यसैले यदाकदा कवि तीब्र व्यङ्ग्य पनि पोख्छन् । देशको अस्मितामा खलल भएकोमा कविलाई चिन्ता छ । भद्रो हेरेर बस्नु नहुने कुरा उनले व्यक्त गरेका छन् । वनवासमा बाध्यतावश बार वर्ष गुजार्नु परेको पीडा निकै कविताहरुमा व्यञ्जित छ ।
कविले गएको तिन वर्षमा नै छन्दमा सफलता हात पारेका छन् । धेरै कविताहरु छन्दमा निर्दोष रुपमा रचिएका छन् । भाव र लयको मेललाई उनले सन्तुलन गरेर पेस गरेका छन् । वर्णन मात्र कविता हैन भन्ने कुरा कविले बोध गरेको देखिन्छ । रसका रुपमा हेर्दा वीर, शान्त र शृङ्गार रसप्रधान कविताहरु पाइन्छन् । उपमा र रूपक अलङ्कार अलिक बढी आएका छन् । अभिधा र लक्षणाबाट नै उनले काम गरेका छन् । कवितामा विम्ब र प्रतीकको चमत्कार भने कम पाइन्छ । सूक्ति र दृष्टान्तहरु कता कता मात्र भेटिन्छन् । माधव घिमिरेको आशीर्वाद पाएका भट्टराईको यो दोस्रो कृति हो । लगभग डेढ दर्जन जति छन्दहरूमा लेखिएको यो कृतिबाट कवि दुष्यन्तको काव्ययात्रा उज्ज्वल भएको बोध भइरहेको छ । सुन्दर बाहिरी आवरणले सजिएको सबै गरेर जम्मा ११६ पृष्ठ र मूल्य रू २०० राखिएको यो कृति नेपाली कविताको यात्रामा एक स्तम्भ हुने ठहर छ ।
अन्तमाः यो एक साधारण परिचय मात्र हो । यस कृतिबारे गम्भीर अध्ययन हुनु आवश्यक छ । अहिलेलाई कविमा हार्दिक बधाई !!
होम सुवेदी
