Skip to content

नागार्जुन देवताको पौराणिक गाथा


नागार्जुन गाथा एवम धार्मिक आस्था

प्राचिन समयदेखि अहिलेसम्म हाम्रा धार्मिक महत्व बोकेका देवस्थलहरुमा विशेष पुजाआजा गर्दै श्रद्धा पूर्वक मानिसहरूले आध्यात्मिक एवम आत्मिक चिन्तन गरिआएको पाइन्छ, जसअन्तर्गत मठ, मन्दिर, गुम्बा, चैत्य अथवा धर्म अनुसार पूजा आराधना स्थल रहेका छन् । जेसुकै भएपनि पुजाआजा लगायतको चिन्तन युक्त कार्यले ध्यान केन्द्र जागरण गरेर मानिसलाई संयमी एवम नैतिक रुपमा वफादार तुल्याउछ ।

नागार्जुन देवतालाई “नङरौ” देवता भनेर प्रायः पूजा गरिदै आएको पाइन्छ । पाण्डव वंशका अर्जुन र उनका पुत्र प्रति नतमस्तक रुपमा नागार्जुन देवता को पूजा गरिदै आएको कुरा बुढापाकाहरू बताउँछन् जो शिव रुपमा पुजिन्छन । किम्वदन्ती अनुसार –

१) भगवान शिवलाई खुसी पार्न तपस्या गरेर गाण्डिव धनुष प्राप्त गरेका अर्जुनले देवरुप धारण गरेका थिए । अर्जुनका बुवा देवराज इन्द्र थिए । अर्जुनका छोरा भने बभ्रुवाहन थिए । बभ्रुवाहन कि पत्नी को नाम उलुकि हो भनेर बताइन्छ । तिनै बभ्रुवाहन को पूजा को रुपमा नागार्जुन देवतालाई पूजा गरिदै आएको बताइन्छ ।
२) धार्मिक जागरहरुमा “इन्नरका पूत” भनेर नागार्जुन देवतालाई सम्झिने गरिन्छ ।
३) स्कन्दपूराणको मानसखण्ड (अध्याय २७ )मा रथवाहिनी नदीको बाँयापट्टि नागार्जुन पहाड रहेको, दाँया पट्टि असुर पर्वत रहेको बताइएको छ । जहाँ अर्जुन छन् त्यस ठाउँमा नाग हुनेछन् अर्थात नागार्जुन हुनेछन् र त्यहाँ शिवको पूजा हुनेछ भनी बताइएको छ ।
४) बुढापाकाहरूको भनाइ, लोकोक्ति, जनश्रुतिका आधारमा महाकाली नदी तटको भर्रा क्षेत्रमा नागार्जुनको उत्पत्ति भएको बताइन्छ जसमा “भर्रा” (ताल, घाडी)बाट नागार्जुन देवता उत्पत्ति भएको हो, अहिलेसम्म पनि “शिर शिलङा, धड भर्रा” भन्ने कथन प्रचलित छ । नङरौघाट भर्रा तीर्थमा “लिङ्ग कि झेडि “लाई गोप्य रुपले राखिएको र उत्पत्ति स्थल विश्वास गरिएको स्थान को रुपमा मानिन्छ ।
५)एउटा फरक मत अनुसार मानस क्षेत्रका १६०० सिद्धहरुले स्थापना गरेका चौरासि सिद्धहरू मध्ये एक महत्वपूर्ण शिव अंश प्राप्त स्थापित देवता नागार्जुन भएको पनि बताइन्छ । जुन विषय थप अनुसन्धान को विषय रहेको छ ।

नागार्जुन देवताका मन्दिरहरू नेपाल र भारतका थुप्रै स्थानमा रहेको पाइएका छन् जसमध्ये

१) नागपुर, महाराष्ट्र को नागार्जुन मन्दिर
२) गौरिहाट भारतको नागार्जुन मन्दिर
३) दानेश्वर, नागार्जुन मन्दिर बैतडी
४) सतपालि

यसबाहेक पनि भारतका अन्य स्थानमा पनि नागार्जुन मन्दिर रहेका छन् । महाकाली वारि सतभैया नङरौ को रुपमा प्रचलित नागार्जुन मन्दिरहरू निम्न स्थानमा रहेका छन् ।

१) महाकालि तटीय क्षेत्र भर्रा, सेरा (भारत र नेपाल दुवै पट्टि)
२) सनकोट नागार्जुन मन्दिर
३) कुलाउ नागार्जुन मन्दिर
४) पुडिल नागार्जुन मन्दिर
५) जमरसौँ नागार्जुन मन्दिर
६) बास्कु नागार्जुन मन्दिर
७) कुँड नागार्जुन मन्दिर

कुलाउ को नागार्जुन मन्दिरका बारेमा भने देवल त्याडि भनिने एक व्यक्ति को समयमा पानीको तालमा गाईले दुध दुहाएर जाने गर्दा के रहेछ भनी पानी हटाइ हेर्दा लिङ्ग फेला परेको र त्यसैलाई सारेर मन्दिर बनाई हाल पूजा गर्ने गरिएको जनश्रुति छ । फुटलिङ्गलाई तिवारीले चोट दिएको, अपमान गरेको भनी तिवारी को पानी मन्दिरमा नचल्ने, प्रयोग गर्ने नगरिएको परम्परा भने हालसम्म पनि छ । पश्चात कारण विशेष कन्ना र शैलोडामा पनि नागार्जुन को छुट्टै पुजाआजा गर्ने गरिएको छ ।

नेपालका विभिन्न स्थानमा अवस्थित यी नागार्जुन मन्दिरहरुमा विशेष श्रद्धा साथ पुजाआजा गर्ने गरिएको छ । घाडि महाकाली नदीको तटीय क्षेत्रमा अवस्थित मुख्य तीर्थस्थलमा भने प्रायः विशेष हुलापर्वको समयमा गँगास्नान (स्थानीय भाषामा गङनान भन्ने गरिएको) चैत्र महिनाको नवरात्र सुरु हुनु अगावै औशीको दिन भणारु बोकेर बाजागाजासहित देवता को जयजयकार सहित देउरो लैजाने, स्नान गर्ने, नोयाउने अनि पुजाआजा गरेर जल सहित फर्केर मन्दिर भएको स्थानमा नवरात्रमा विशेष पुजाआजा गर्ने गरिन्छ । कहीं कतै ५ दिनसम्म मात्र पुजाआजा हुन्छ भने कतै ७ दिनसम्म पनि जागरण रहने गर्दछ । सोही प्रकृया असोज महिनाको नवरात्रमा पनि हुने गर्दछ । माघेसङ्क्रान्ति को अवसरमा रतेडि र दिसेडि गरी गङनान मेला लाग्ने गर्दछ जसमा नेपाल भारतको सीमाना क्षेत्रका श्रद्धालु भक्तजनहरू आउने गर्दछन्, भारत र नेपाल को बाटोबाट यहाँसम्म आवतजावत गर्न नदी तटसम्म नै सडक सुविधा छ, नदी पार गर्न भने डुङ्गा चढेर जानुपर्छ । डेउडा, झाँकि, मेला विशेष मनोरञ्जन, घोडे नाच यस मेलाको प्रमुख आकर्षण हो । लिङ्ग कि झेडिमा रहेको लिङग दर्शन गर्न यो झाडि को दर्शन गर्ने गरिन्छ । जसभित्र को रुख, स्याउला काट्न बर्जित छ । यस भर्रा तीर्थ को माथि पूर्व दक्षिण पट्टि समथर फाँट रहेको छ त्यसै फाँटको पश्चिम कुनोमा मसानघाट समेत छ जुन “खाँडको चेडो” नामले प्रसिद्ध छ । पर्यटन प्रवर्द्धन हेतु किनारमा रहेको महत्वपूर्ण तीर्थस्थल को रुपमा यस क्षेत्रलाई विकास गर्न सकिनेमा कुनै शङ्का रहदैन ।

नङरौ देवताको पूजा आजा गर्नाले मनले सोचेको पुरा हुने, सङ्कट हट्ने र रक्षा गर्ने देवताको रुपमा विशेष मानिदै आइएको छ । टाढाटाढाबाट पनि भक्तजनहरू आउने र स्या: गर्ने, देउरा लैजाने गर्दछन्, निम्नानुसार भेटी चढाउने प्रचलन रहेको छ ।

१) थालको भेटी – धामि विशेष
२) अखण्ड को भेटी – धामि विशेष
३) गातको भेटी – पुजारी विशेष
४) भणारु भेटी – भणार विशेष

आफ्नो करको रुपमा धुप, पोखलो चढाउने दर्शनपश्चात तिलक प्रसाद ग्रहण गरी आशिष पाएकोमा ढुक्क महशुस गरी खुसी पूर्वक “जय बोलो नङरौ बाबा कि जय” भनेर सामुहिक रुपमा ठुलो स्वरमा कराएर भित्री स्पन्दन प्रकट गर्दछन् । च:लो गएको बेला नेजा, ध्वजा, शङ्ख घण्टी सहित परिक्रमा गर्दछन्, आवश्यक ठानिएमा सीमाना तोकेर “किलौन” गरेर आफूलाई सो भित्र सुरक्षित महशुस गर्दछन् र नागार्जुन को गाथा गाउने गर्दछन् ।

नागार्जुन देवता को विशेष अनुकम्पाले नै शरणागत महशुस गर्दछन् सोही नामले आफूलाई घरमा, चाडपर्वमा, लग्नमा, व्यापार, शुभ कार्यमा सवारि साधनमा (गाडी, मोटर, ट्रकमा) समेत “नागार्जुन देवताको अनुकम्पा”, “नागार्जुन कृपा”, नागार्जुन दर्शन” जस्ता शब्दले समेत आफूलाई सुरक्षित महशुस गर्दछन् र साँच्चै शरणागत भक्तवत्सल भएको प्रमाणको स्व पुष्टि गर्दछन् भन्ने कुराको अनुमान समेत गर्न सकिन्छ । कुनै मानिस मन्दिर क्षेत्र भित्र प्रवेश गर्दै गर्दा उसले आफूलाई सुरक्षित ठान्दछ र आफूलाई अलर्ट राखेर शुद्धता पूर्वक जानुपर्ने कुरामा निम्नानुसार चिन्तन गर्ने गर्दछ ।

१) मैले मन्दिर भित्र सफा, शुद्ध, पवित्रता साथ प्रवेश गर्नु पर्दछ । के म अपवित्र त छैन ?
२) मैले मन्दिर भित्र पाप मन लिएर जानु हुँदैन ।
३) मैले मन्दिर भित्र जाँदा जुत्ता, चप्पल फुकालेर जानुपर्दछ । के म त्यतिकै त गइरहेको छैन ?
४) मैले मन्दिर भित्रबाट फर्केर आँउदा कुसंस्कार अन्त होस्, प्रगति होस्, धनवान, सम्पत्ति वान, पुत्रवान, सुखी बन्ने प्रार्थना गरेर आऊनेछु ।
५) मैले मन्दिर भित्र गएपछि दर्शन गरेपछि, टीका, प्रसाद ग्रहण गर्नेछु ।

त्यसैले मन्दिर लगायतका धार्मिक स्थलले मानिसहरूलाई सत्मार्गमा डोर्याउन मार्ग देखाँउछ, गलत बाटो छोड्न स्वयंलाई प्रेरित गर्दछ, आध्यात्मिक शान्ति एवम जागरण गराँउछ । नागार्जुन देवतालाई यसरी शिव रुपमा पाण्डव वंशको रुपमा पूजा गर्ने लोकोक्ति छ, । नेवारहरूले पनि भिमसेनको पूजा “भिन्द्यौ” को रुपमा गर्ने गर्दछन् । भिमसेनको पुत्र घटोत्कचको “श्रीघटाल” को रुपमा पुजाआजा गर्ने गरिन्छ । भारतका केही स्थानहरुमा युधिष्ठिर को पुजाआजा गर्ने गरी मन्दिरहरू पनि सत्यको अनुसरण गर्ने विम्ब को रुपमा निर्माण गरेको पाइन्छ ।
एक्काइसौं शताब्दीको विज्ञान र प्रविधिको यस युगमा वैज्ञानिकहरु, मनोवैज्ञानिकहरुले पनि मन्दिर लगायतका धार्मिक स्थलहरू जसले मनोचिकित्सा प्रणालि को कार्य गरेको, आध्यात्मिक शान्ति कायम गरेको, नैतिकवान बन्न सत्मार्गमा डोर्याउन मार्ग देखाएको, कुमार्गबाट हट्न सिकाएको, ध्यान केन्द्र जागरण गराएको, अन्तस्करण प्रस्फूटित गर्न ज्ञान केन्द्र सक्रिय पारेको, तनाव र कुण्ठाग्रस्त अवस्थाबाट शान्ति को बाटोमा ल्याउन समेत महत्वपूर्ण भूमिका खेलेको ठहर गरेका छन् र यसलाई शरिर विज्ञानसँग जोडेर चिन्तनको लागि आवश्यक महशुस गरेका छन् ।

त्यसैले धार्मिक आस्था बोकेका हाम्रा यी धार्मिक, पौराणिक गाथा युक्त दिव्य धामहरुको विशेष महत्व रहेको छ, यस्ता सम्पदाहरुको संरक्षण र संवर्धनका लागि सबैले जुट्नु पर्ने देखिन्छ । यसमा सम्बन्धित सबै को ध्यान जाओस्, अहिलेसम्म चर्चामा नरहेका यी स्थानहरुमा पनि विशेष महत्व बोकेका गाथाहरू छन्, खोज अनुसन्धान को कमिले पनि ती स्थानहरुले स्थान प्राप्त नगरेको हुन सक्ने भएकोले पनि हाम्रा यी सम्पत्ति को रक्षा गर्न सबैले एकजुट भई संस्कृति संरक्षण अभियानमा लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

-शिवराज कलौनी
२०७६/०७/२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *