Skip to content

भुर्र चरी (बालकविता)


चारो टिप्न कुखुरा त्यो दौड्यो हेर खुर्र
कुखुरा’ नि चरी नै हो उड्छ भुर्र–भुर्र

चरीजस्तै उड्न पाए जहाज किन चाहिन्थ्यो ?
एकै छिनमा गइन्थ्यो कतै एकै छिनमा आइन्थ्यो
चरीले झैँ गाउन सके गीत गाउँदै हिँड्थेँ
चरी तिम्रो लय–भाका किन्न पाए किन्थेँ

कोइली गर्छ को–हो, को–हो परेवाले घुर्र
कोइलीजस्तै परेवा’ नि उड्छ भुर्र–भुर्र

सुगालाई मैनालाई पिँजडामा थुन्न
हुन्न साथी दुःख दिन अत्याउन हुन्न
चरीले’ नि हाँस्नुपर्छ नाच्नु–गाउनुपर्छ
चरीको’ नि अधिकार छ उड्न पाउनुपर्छ

‘गोपी’ भन्दै सुगा हाँसोस् मैना नाचोस् फुर्र
सुगाजस्तै मैना पनि उड्छ भुर्र–भुर्र ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *