फूलैफूलले घेरेको
लहराले बेरेको
चियाएर पुतलीले
आँखा डुलाई हेरेको
सानो भाइ आएर
फूलबारीमा टेकेछ
फूल हो कि पुतली
उस्तै–उस्तै देखेछ
रङ्गीचङ्गी फूलमा
पुतलीका हुलमा
आँखा त्यतै टाँसेर
नाच्यो भाइ हाँसेर
भुर्र उड्यो पुतली
भाइसँग डरायो
एकै छिनमा पुतली
आकाशमा हरायो
‘भो भो तिमी नडराऊ
अन्त कतै नजाऊ
बोलाउँदै भाइले
भन्यो तिमी यतै आऊ
कता बस्छौ के खान्छौ ?
माथि माथि गएर
बसौँसँगै रहेर
साथी साथी भएर
फूल टिपी भाइले
राखी आफ्नो हातमा
डाक्दै भन्यो ‘यतै आऊ
बस मेरो साथमा’ ।
– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
