उस्तैः एक प्रयोग कथा

  • by


काठमाडौँ शहर घरहरूको जङ्गलले छोपिएको थियो। जबरजस्ती तन्किएका साँघुरा सडकमा साना ठूला गाडी एकसाथ चिप्लिएका थिए। किसिमकिसिमका एकएकवटा अनुहार बोकेका मानिसहरू गाडी जति छिटो त चिप्लिएका थिएनन् तर स्थिर थिएनन्। उनीहरू मनजस्तै अस्थिर खुट्टा लिएर कतै गइरहेका देखिन्थे।

सडकमा मान्छेका खुट्टामात्र चलमलाएका थिए। ‘मान्छेको खुट्टा एकै ठाउँ स्थिर भयो भने, अम्मनीजी ?’, उसले चिन्ता र चासो एकैसाथ व्यक्त गर्‍यो―’तर स्थिर त के पो छ र ? यो पृथ्वी पनि घुमिरहेको छ। त्यसैले कहिलेकाहीँ पूर्व हिँडेको मानिस पनि पश्चिम पुगिरहेको हुन्छ। ग्यालिलियोले भनेजस्तै पृथ्वी गोलाकार मान्ने हो भने यहाँ पूर्व पश्चिम हुन्छ र पश्चिम पूर्व हुन्छ। त्यसो भए अन्तर के भो त ? म अहिले पश्चिम फर्किएको छु कि पूर्व ?’

उसलाई लाग्यो ग्यालिलियोलाई सही मान्ने हो भने घाम पश्चिमबाट उदाएर पूर्व अस्ताउँछ। यसमा के अन्तर चाहियो ? जता अस्ताए पनि अँध्यारो भएकै छ। जताबाट उदाए पनि उज्यालो आएकै छ।

कुरो सही हो।

पसल्नीले गिलासमा चिया फिटी। चम्चाको आवाज टड्कारो आयो। उसले टेबुलमा पछारिएको अखबारको पानामा आँखा दौडायो।

‘यी अखवारहरू किन छापिइरहेका छन्, अम्मनीजी ?’, होर्डिङबोर्डजस्तो अखबारको पन्ना पल्टाएर ऊ बोल्यो―’यसबाट पर्यावरण विनास भइरहेको छ। यी कुनै उपलब्धिपूर्ण चिज होइनन्। सबैमा बासी कुरा छन्। त्यसो त यहाँका मान्छेहरू नै बासी भइसकेका छन्। कसैसँग नयाँ विचार छैन। यी सब नयाँ समयका पुराना मानिस हुन्। अब यिनको कुनै आवश्यकता र अर्थ छैन। यी सबै पर्यावरण विनास गरेर बसिरहेका छन्। यो प्रश्न मैले तपाईँलाई गर्नु ठीक छैन। छाप्नेलाई नै गर्नुपर्छ। सम्पादकलाई पनि के गर्नु ? ऊ पनि विचरा कामदार न हो। साँच्चि यो साधारण दोधारमा हामी हाम्रो उर्जाशील समय किन खर्चिरहेछौँ हँ ?’

‘म के जानूँ ? त्यो पनि भरखर देखिएको मान्छेलाई मनमा के लाग्छ र उसले भनेको सही हो वा गलत कसरी म सहमतिमा स्वर निकालूँ वा टाउको हल्लाऊँ ?’, यो मान्छेको टाउकाको पेच अलिकति खुकुलो भएको हुनुपर्छ भन्ने उसले ठान्यो―’नत्र ऊ मलाई किन अम्मनीजी भनेर सम्बोधन गरिरहेको छ ? कुनै चिरपरिचित साथीलाई जस्तो। जब कि म कुनै कोणबाट पनि उसले भनेको अम्मनी होइन।’ तर टाउकोको पेच खुकुला भएकाहरू त यति कसिलो कुरा गर्दैनन् भन्ने कुरो पनि उसको दिमागमा नाच्यो !

त्यो पत्रिका साँच्चै पुरानो थियो थिएन मिति देखिएन। पाचौँ पृष्ठमा छापिएको सम्पादकीय र विचारहरू पल्टाएपछि उसको मनमा पनि केही विचार पलायो कि ?

ऊः ‘सुन्नु भो, मेरो विचार धेरै पहिला मरिसकेको छ नि।’

उसले ठानेको अम्मनीको मनः(छेवैमा बसेको मान्छेले आवाज निकालेर बोलेको छ किन नसुन्नु ?)

उसले ठानेको अम्मनीजीः ‘विचार मर्‍यो भन्ने विचार त व्यक्त गरिरहनु भएको छ नि ?’

‘विचार मर्‍यो भन्ने मेरो विचार पुरानो हो। म पुरानो हुँ। मसँग पुरानी पत्नी थिई। मसँगै सुत्थी। उसले मलाई त्याग्ने नयाँ विचार गरी र मलाई त्यागिदिई। शायद ऊ अहिले कतै नयाँ विचार बनाउँदै छे। तर मैले नयाँ विचार बनाउने विचार त्यागिदिएँ। यसकारण कि मसँग विचारका बारेमा विचार गर्ने कुनै विचार नै थिएन।’

उसले ठानेको अम्मनीजीः ‘त्यसो भए सबै पुरानो ?’

‘देखिएका भनिएका यी केही नयाँ होइनन्। म मिति गुज्रिसकेको अखबार हेरिरहेको छु कसरी म नयाँ हुन सक्छु ? यो अखबार कसरी नयाँ हुन सक्छ ? तपाइँ यो पुरानो भट्टीमा पुरानो चिया खाने मान्छेलाई पहिलो भेट हो भन्दैमा म कसरी आफूलाई नयाँ भनूँ ? (खासमा यो भट्टी थिएन। मात्रै चिया पसल थियो) मसँग नयाँ केही छैन। कोहीसँग पनि नयाँ केही हुँदैन। म कुनै हालतमा नयाँ हुन सक्दिनँ। मान्छेसँग दर्शन पुरानो छ। प्रेम पुरानो छ। प्रेमीका अभिव्यक्तिहरूमा कुनै नयाँ पन छैन। घण्टाघर पुरानो छ। त्यो घडीको सुई पुरानो छ। मान्छेको गिदी, मृगौला, फोक्सो, मुटु, त्यसमा बग्ने रगत र प्लाज्माहरू सबै पुराना भइसकेका छन्। अब मात्रै अखबारमा कसरी नयाँ कुरा आउन सक्छ ? पुरानो मुटुबाट कुनै हालतमा नयाँ र उत्तरआधुनिक प्रेम पैदा हुन सक्दैन। त्यस्तै पुरानाहरूबाट कसरी नयाँ समाचारको अपेक्षा गर्न सकिन्छ ? त्यसो भए नयाँ भनेको के हो र अम्मनीजी !’

उसले ठानेको अम्मनीजीः’……………………………………………….’

त्यसपछि ? न प्रश्न भयो न उत्तर आयो।

त्यसपछि ? सडकमा प्लेकार्ड बोकेका स्वास्नीमानिसहरूको जुलुस देखियो। जहाँ बिहेवारी भएका सम्भ्रान्त घरका षोडसीहरू बढी थिए। जसका ओठमा महँगा र टल्किने लिपिस्टिक लत्पतिएका थिए भने गालामा पाउडरको फुस्रो। गालाको चार्मिङ बिग्रिने डरले हुनुपर्छ उनीहरूले एकएक थान छत्रे टोपी पनि लगाएका थिए।

त्यसपछि ? ऊ पनि जुलुस नियाल्न तिर लाग्यो। टेबुलमा चिया आइसकेको थियो।

त्यसपछि ? उसले अम्मनीजीसँगको संवाद बन्द गर्‍यो। तर चिया पनि पिइरहेको थिएन।

त्यसपछि ? ऊ र त्यो जुलुसमा देखिएकी एउटी महिलाबीच केही क्षण चिया पसल बाहिर यस्ता संवाद भए―

ऊः कृपया म तपाइँको नाम जान्न सक्छु ?

स्वास्नीमानिसः मैले मेरो पुरानो नाम त्यागिदिएँ। मेरो नयाँ नाम मैले भेटेकी छैन। अब कसरी मबाट तपाइँ मेरो नाम जान्न सक्नुहुन्छ ? बरु मेरो काम जान्न सक्नु हुनेछ। तपाइँले मेरो नाम किन सोध्नु भयो, कृपया कारण जान्न सक्छु ?

ऊः मेरो सोझो प्रश्न जम्मामा यौटा मात्रै छ, यो ट्राफिक जाम हुने गरी जुलुस निकाल्नु पर्ने आवश्यकता किन पर्‍यो ? कारण यति हो। मेरो कुरालाई कारण मान्नोस् नमान्नोस्, तपाईँ नाम नबताई यसको औचित्यबारे प्रष्ट पारिदिन सक्नुहुन्छ।

स्वास्नीमानिसः नाम खोज्न। मात्रै नामको खोजीको जुलुस हो यो। तपाईँ हेर्दा अनपढ र गवाँरजस्तो त लाग्दैन तर कसरी तपाइँले हाम्रो प्लेकार्ड पढ्न भ्याउनु भएन ? यो हाम्रो नाम खोज्ने जुलुस हो। त्यो प्लेकार्डमा लेखिएको छ―हाम्रो नाम फिर्ता देऊ।’

ऊः अब जुलुस कता जानेछ ? आमसभा पनि हुन्छ सहिद मञ्चमा ?

स्वास्नीमानिसः यो जुलुस जता पनि जान सक्छ। पुरुषहरू बस्ने घर, चोक, दोबाटो जता पनि। हामी सिंहदरबार, राजदरबार, बीर अस्पताल अघिल्तिरको महाबौद्धको सडक पेटी, रत्नपार्कको शौचालय जहीँ पनि पुग्न सक्छौँ। हामी हाम्रो नाम हराएको सबै तिर आफ्नो नाम खोज्दै छौँ। त्यतै जान्छौँ।’

त्यति भनेर त्यो आइमाई पर पुगिसकेको जुलुस भेट्न लम्किई। कुद्‌नु अघि उसले आफ्नो हातको दुई पाने पर्चा पनि दिएर गई। पर्चाको सिरानमा काला ठूला अक्षरमा लेखिएको थियो―’मुक्तिका लागि घोषणा-पत्र। अर्थात् बकपत्र।’

त्यसपछि ऊ आफैँले नबुझ्ने गरी केही बोल्यो र आफैँ चुप रह्यो।

त्यसपछि ऊ अगि टेबुलमै थचारेको अखबारको पाचौँ पृष्ठ र भरखरै पाएको पर्चा घोरिएर पढ्न थाल्यो। पत्रिकामा घोषणा पत्रको सम्पादित अंश थियो। र हातमा चाहिँ त्यसैको मूलप्रति थियो।

त्यसपछि आफ्नो टाउकोको भार विस्तारै बढेको अनुभव पनि गर्दे गयो।

«

त्यो दिन उसको मुड खराब भयो।

साँझचाहिँ ऊ भट्टीमा पस्यो। र हाम्रो कथा अगाडि बढ्यो।

«

फ्ल्यास ब्याक

बाहिर अन्धकार गुजुल्टिएको थियो। र कोठाभित्र असन्तुष्टिको राप विस्तारै छताछुल्ल हुँदै थियो। कतिसम्म भने रात नसकिँदै नोरा त्यो घरबाट बाहिरिएकी थिई। घर भनौँ वा त्यो नाटक घर थियो। बिजुलीको चहकिलो किरण ऊ निस्किनु अघि मूल दैलातिरै गएको थियो। कसरी भने नोरा निस्कँदा नोराभन्दा अघिअघि नोराको छाया देखिन्थ्यो, मानौँ छाया नोरालाई पछिपछि आउन आह्वान गरिरहेको छ। ऊसँग एउटा कालो झोला थियो। त्यसलाई उसले दाहिने हातमा गह्रौँसँग बोकेकी थिई। उसको रमरम गन्ध बोकेको मखमलको पछ्यौरी र उसका तीन सन्तान मध्यरातको चकमन्नतामा त्यही मझेरी र कोठामा शान्त थिए। ऊ चाहिँ मनमा हुँडलिएको विद्रोह र अशान्तिलाई लिएर घरबाट बाहिरिई। त्यसपछि उसले त्यो कोठामा रहुन्जेल आफ्नो ठानिएका विश्वास, चञ्चलता, त्यो भन्दा पनि नजिकको सधैँ एउटै ओछ्यानमा सुत्ने लोग्ने, आफ्नै शरीरबाट निस्किएका भ्रूणहरू सबैलाई चटक्कै बिर्सिदिई। ऊ मध्य रातको अँध्यारोमा उज्यालोजस्तो लाग्ने अँध्यारो कोठाबाट अँध्यारोजस्तो लाग्ने उज्यालो बाहिरी संसारमा पहिलो पटक एक्लै र आफ्नो निर्णयमा निस्किई। निस्कँदै गर्दा उसलाई रुसोको ‘मानव स्वतन्त्र जन्मिन्छ र सर्वत्र बन्धनमा जकडिएको हुन्छ’ भन्ने भनाइ एकदम ठीक लाग्यो।

भित्तै छेड्ने गरी निस्किएको त्यो तीखो किरणको आडमा मूल दैलोको संघार नाघ्दै गर्दा उसले बिहे नगर्दै चञ्चले उमेरमा खुशीले नाचेका दिनहरू सम्झी। बिहे नगरुन्जेलको प्रेमी र त्यस पछिको लोग्ने भनेर उसले पुजेको हेमन्त जोसँग छिल्लिएर चल्थी―लाई अनुभव गरी। रातभर हेमन्तसँग जेलिएर शिथिल निदाएका प्रत्येक क्षण पनि उसका आँखाअघि आए। थाहै नपाएर बिस्तारै उसलाई एकतर्फी मन पराउँदै गएको यौटा पात्र डा. राणालाई पनि उसले झल्याँस्स विचार गरी। उसका अगाडि केदार थियो जसले उसको लोग्ने हेमन्तको उपचारमा ठूलो आर्थिक गुन लगाएको थियो र त्यही सहयोगले उसलाई पीडा पनि दिएको थियो। र अन्ततः त्यही सहयोग उसका लागि समस्या र मानसिक त्रास भएर आएको थियो। यसो भनौँ एउटा साहस पनि।

उसलाई लाग्यो आफूलाई जन्म दिने बाबु, हेमन्त, केदार वा डा. राणा यी सबै पुरुष यो समाजका प्रतिनिधि पात्र हुन्। पुरुषको आकृतिमा देखिएका यिनीहरू हैकमबादी, स्त्रीलम्पट र निरङ्कुश मात्र हुन्। यो उनीहरूको वास्तविक रूप होइन। यिनीहरूको रूप अरु नै कुनै छ―जुन देखिएको छैन। उसले ठानी केटीको रूपधारीहरूलाई मान्छे गन्न पर्‍यो भने उनीहरू निकै दुःखी हुन्छन्। स्वास्नी मानिसले लोग्ने मानिसको अनुमतिबिना गरेको राम्रो काम पनि उनीहरूका लागि राम्रो हुँदैन।

यो संसारमा आफ्नो भन्नु केही छैन भन्ने उसलाई लाग्यो। गणनामा बाँकी रहेको उमेर र देख्‍नै नसकिने तर ऊसँगै रहेका दुःखहरू सम्झी। उसले सोची के अब मेरो आफ्नो भन्नु बाँकी रहेको मेरो आयु र दुःख मात्रै हो ? के म जन्मिँदैदेखि खाली थिएँ ? मेरो खास र आफ्नो परिचय थिएन ? के कुनै पनि स्वास्नीमान्छेको आफ्नो छुट्टै अस्तित्व र परिचय हुँदैन ? के मेरो आफ्नो खास परिचय नभएकै कारण म यो घर छाड्दै छु ? साँच्चै मेरो आफ्नो नाम छैन ? कि स्वास्नी मान्छेहरूको आफ्नो नाम हुँदैन ?

«

मन्थन

मेरो बाबु जसले मेरा बैँसालु दिनहरूसम्म मलाई आफ्नो नाममा झुण्ड्याएर राख्यो र भन्यो―यो मेरी प्यारी छोरी (बिहे नगरुन्जेल छोरीहरू बाबुकै थरमा हुन्छन् )। कुनै दिन मजस्तै राता गाला, छिनेको कम्मर र चौडा नितम्ब भएकी बैँसालु मेरी आमालाई सधैँ आफ्नी दासी बनाएर राख्यो र भन्यो ―यो मेरी प्यारी पत्‍नी। मेरी आमा बाबुका लागि सन्तान पैदा गर्ने कारखाना मात्र भई। उनको काम रातभर मेरो बाउको इच्छाअनुसार सुतेर बिहान शिथिल उठ्नु, आलस्य जीउ तन्काउनु र रातभरका असरल्ल कपडा सबै मिलाइदिनु, बिहानभरको घरधन्दासहित खुवाइपियाइ गर्नु वा भाँडा माझेर घरधन्दामा मात्र यौटा उर्जाशील दिनको सूर्यलाई बिदा गर्नुबाहेक केही भएन।

बाबुको कामचाहिँ बिहान अबेर उठेर आफ्ना चिम्सा आँखाले पत्रिका खौरिनु, आमाले पकाइदिएको भात भुँडीसम्म ओरालेर अघाएको सन्तुष्टि डकार्नु, टोल, गाउँ-छिमेकमा पुगेर आफ्ना पङ्गु गफ छाँट्नु मात्रै भयो। अँ, प्रत्येक दिन लगाएका लुगाहरू फेर्नु र आमालाई लुगा धुन दिनु, अधिकारबारेका बहसहरूमा भाग लिनु पनि उनको दैनिकी थियो।

मेरी आमा जसको अहिले पनि आफ्नो नाम र परिचय छैन-ले बाबुको छायामा आफ्नो सही परिचय हराइन्। उनले खोजिनन् पनि। समाजमा उनी मेरी बाबुकी स्वास्नीका नामले पुकारिन थालिन्। म जन्मिएपछि उनी मेरो नामकी आमाका नामले बोलाइन थालिन्। मान्छेहरू मेरी आमालाई भन्थे― यिनी फलानाकी जहान वा फलानीकी आमा। जसरी मैले हेमन्तसँग बिहे गरेपछि आफ्नो कुमारीत्वसँगै गुमाएको थिएँ, मेरो प्रष्ट परिचय र अस्तित्व पनि। मलाई पनि मान्छेहरू आमालाई जस्तै भन्थे― यिनी हेमन्तकी अर्धाङ्गिनी। बिहे गरेपछि म नोरा रहिनँ मात्रै हेमन्तकी स्वास्नी भएँ। मेरी आमा पनि कहिल्यै आफू भइनन् जस्तो म पनि अहिले छु।(सबै स्वास्नीमान्छेहरू यही अवस्थामा छन्।)

म अहिले मेरी आमाको सङ्घारमा उभिएकी छु। मेरी आमाजस्तै म पनि परिचयबिहीन भएकी छु । तर म मसँग जोडिएका प्रत्येक नाम मेटेर मात्रै स्वास्नीमान्छे नोरा बाँच्न चाहन्छु। आकृतिमा स्वास्नी मानिस भएर म मेरी आमा उभिन चाहन्नँ।

जतिबेला म योनी आकृति लिएर जन्मिएँ त्यसपछि मेरो बाबुले नैराश्यको ओठ लेप्र्यायो। म बढ्दै जाँदा गुडिया भएँ र धेरैकी प्यारी भएँ। म अरुले ल्याइदिएको उपहार खेलौनासँग खेल्ने वा मेरो बाबुको चोरऔँलाको सहारामा हिँड्ने भएँ। स्कुल भर्ना भएपछि म बुढो मास्टरकी विद्यार्थीमा परिणत भएँ। जतिबेला म बैँसालु हुँदै गएँ धेरै पुरुषको आँखामा कामुक आइमाई मात्र देखिएँ। मैले छमछम नाचेका दिनमा मलाई धेरै पुरुषगन्धले पछ्याए। धेरै मास्टरहरूले स्याबासी दिने नाममा मेरो तातो बढ्दै गएको शरीर छोएर सन्तुष्टि लिए। यी कुनै बेला म आफू रहिनँ। मात्रै म बैँसालुमा दरिएँ। कुनै दिन फलाना बाबुकी छोरी, कुनै दिन फलानो नर्तकी, कुनै दिन फलानाकी प्रेमिका मात्रै भएँ। जस्तो म अहिले नोरा होइन हेमन्तकी स्वास्नीमात्र दरिएकी छु।

घरको संघार काट्नु अघि उसले त्यो अँध्यारो साँझ मनमा यस्तो मन्थन गरी ―

‘मसँग कसैको नाम जोडिनु हुन्न। म मेरै नाममा बाँच्नुपर्छ। हिजो म ऊ बाबुकी छोरी थिएँ। बैँसालु भएपछि हेमन्तकी प्रेमिका भएँ र पछि उसकी श्रीमती। छोराछोरी जन्माएपछि म उनीहरूकी आमा भएँ। के म अर्काकै नामबाट बाँचूँ ? के स्वास्नीमानिसहरू सधैँ अरुकै नाम नजोडी पूरा हुन सक्दैनन् ? स्वास्नीमानिसहरूको आफ्नो नाम हुँदैन ?’ उसलाई लाग्यो स्वास्नीमानिसहरू अरुसँग नाम जोडिएकैले कमजोर भएका हुन्। अब उनीहरू आफ्नै नाममा बाँच्नु पर्छ। म पनि नोरामात्रै भएर बाँच्न चाहन्छु। म कसैकी प्रेमिका, कसैकी छोरी वा कसैकी आमामात्रै भएर आफूलाई सङ्कीर्णताको घेरामा राख्‍न चाहन्नँ।

यस्तै सोचाइका लम्बाइहरू बढ्दै गएपछि ऊ मन दुखेजस्तो भई। कालो झोला दाहिने हातले गह्रौँसँग उचाली। खरायोका रहर लाग्दा बच्चाजस्ता छुनमुन गर्ने केटाकेटीलाई चटक्कै बिर्सिदिई। लोग्नेको अनुनय-विनय केही सुनिन र ऊ त्यो घरबाट बाहिरिई।

त्यसपछि उसको लोग्नेसँग नोराको पुरानो गन्ध बाहेक केही बाँकी रहेन। उसले शून्य बन्दै गएको त्यो कोठामा उड्दै र हराउँदै गरेका नोराका स्त्री गन्धहरूलाई पच्छ्‌याउने एक्लो प्रयास गर्‍यो र नोराले सङ्घार काट्नु अघि भनेका कुराहरू सम्झिरह्यो―

‘बिहे हाम्रा लागि सम्झौतामात्र भयो। अब आजकै मितिबाट त्यो सम्झौता भङ्ग भयो। माफ गर, म मेरो प्रतिकूलताबीच हाम्रो सम्बन्धलाई निरन्तरता दिन सक्दिनँ। म मेरो हराएको परिचय खोज्ने महान् यात्रामा निस्कन्छु। मेरो बाटो नछेक’ सङ्घार काट्नुअघि आँटिलो मनले उसले भनेकी थिई―’थाहा छ, म फेरि कुमारीत्व फर्काउन सक्दिनँ। म फेरि छिनेको कम्बर, गोला र कसिला स्तन, सपक्क मिलेको चौडा नितम्बको कुनै हालतमा बन्न सक्दिन। यी सब इतिहास भए। हिजोका घटना केही भएकै थिएनन् भन्ने ठानेर बस्नु बाहेक अरु केही बाँकी छैन। अब हामी प्रेमी रहेनौं। म तिम्री प्रेमिका थिइनँ। यी केटाकेटी मेरो योनीबाट निस्किएका होइनन्, यस्ता कुनै भ्रूण मेरो पेटमा रहेनन्। भ्रूण पालेर मेरो भुँडी कहिल्यै अस्वाभाविक रुपमा फुलेन। इतिहासमा धेरै थोक भएको छ। त्यसैको पछि लागेर बस्नु हुन्न। म मेरो स्वाभिमान बाँच्न चाहन्छु। म मेरो परिचय बाँच्न चाहन्छु। सबै स्वास्नी मानिसहरू अहिले त्यही चाहिरहेका छन्। अब प्रत्येक स्वास्नीमान्छे यसैगरी परिचय खोज्न निस्कनेछन्।’

नोराका कुरा उसले कम बुझ्यो वा सबै, त्यसको अनुमान गर्न सकिएन। कुरा सुनेर ऊ रन्थनियो भन्ने चाहिँ उसको निधारमा आएको हल्का पसिना र फुलिएर देखिएका नसाले प्रष्ट पार्थ्यो। नोराले सङ्घार काट्नु अघि उसले छोराछोरी, परिवार, समाज, इज्जत, नाता-कुटुम्ब सबैको कुरा सुनाएर इमोसनल ब्ल्याकमेल गर्न खोज्यो तर त्यसमा ऊ असफल बन्यो। उसले आफ्नो टाउको जहाँ बुद्धि नामको गिदी भरिएको हुन्छ – लाई दुवै हातले बेस्सरी समायो। तर नोराले ती कुनै कुराको वास्ता गरिन। त्यो रात उसलाई त्यस्ता कुनै कुराले छोएन।

त्यस पछि त्यो मध्यरात नोरा त्यो घरबाट निस्की। निस्के पछि नोरा कहाँ गई न हेमन्तले पत्ता लगायो, न केदारले फेरि नोरालाई खोज्यो, न चुरोटको अम्मली र बुढो दमको खोकीको पोको डा. राणाले प्रेमप्रदर्शन गर्न आवश्यक ठान्यो। न उसकी साथी लीनाले फेरि उसलाई सम्झी। नोरालाई नाटक-अनुवादक र निर्देशक सुनील पोखरेल, अङ्ग्रेजी साहित्य पढाउने डा. अभि सुवेदी, उत्तरआधुनिक गुरु डा. गोविन्दराज भट्टराई, तबलामा ताल दिने सरिता मिश्र, कलाकारहरू सौगात मल्ल, भोला सापकोटा, वसन्त भट्ट कसैले भेटेनन्। हेमन्तले स्वास्नीले घर छोडेर हिँडेको कुरा आफ्नो प्रतिष्ठामा आँच आउने डरले कुनै अदालत, अन्तर्राष्ट्रिय वा राष्ट्रिय मानवअधिकारवादी सङ्घ-संस्था वा मानव अधिकारकर्मी, प्रहरी प्रशासन कसैलाई पनि भनेन। जानकारी नपाए पछि खोजीमा लाग्ने चासो उनीहरूको भएन पनि। कसैले पनि नोरा गुरुकुलको त्यो नाटकबाट निस्के पछि कहाँ लागी भन्ने पत्तो पाएनन्।

«

(मेरो अनुमान―

त्यहाँबाट निस्केपछि नोरा धेरैतिर भौँतारिई। सडकमा उसका लागि बस्ने ठाउँ थिएन। फुटपाथ मिनिस्टरमा जस्तै ऊ सडक नायिका त भइन किन पनि भने ऊ केही पढेलेखेकी थिई।

ऊ महिला अधिकारका पक्षमा वकालत गर्ने एनजिओमा छद्म नाममा काम गर्न थाली। ऊसँग नागरिकता थिएन। परिचयपत्र थिएन। उसले आफ्नो परिचयलाई नयाँ बनाई। ऊ अर्कै नामले चिनिई। (तपाईँले देखिरहेका र सुनिरहेका नामहरू खास नाम नहुन सक्छन्)

पैसाको समस्या भएन। छुट्टै फ्ल्याट लिएर बसी। उसलाई कुनै पनि कुराले छोएनन्। ऊ कठोर र निष्ठुरी भई।

कार्यक्रम /मिटिङ उसका दैनिकी भए। सायद यसैगरी उसकेा दिन बित्यो)

«

घोषणा अर्थात् बकपत्र

समय रोकिएन। घडीले आफ्नो सुई घुमाइरह्यो। दिनपछि दिनहरू आइरहे। क्रमशः पुराना दिनहरू चैतका रङ जसरी खुइलिँदै पनि रहे।

आकस्मिक रूपमा केही वर्ष पछि नोराको बकपत्र देशको प्रतिष्ठित पत्रिकामा छापियो। बकपत्र नोराको एक्लो थिएन। त्यसमा अरु केही नोराहरू थिए। नोरा १, २, ३, ४, ५, ६, ७, ८, ९…..आदिआदि अर्थात् नोराहरू। उनीहरूले नामको खोजीमा आफूलाई घोषण गरे― ‘हामी चरित्रहीन चेली हौँ।’

त्यतिबेला उनीहरू सबै आफ्नो सही नामको खोजीमा भूमिगत थिए।

उनीहरूको बकपत्रको प्रकाशित नभएको पहिलो पृष्ठ यस्तो थियो―

‘म नोरा अर्थात् हामी नोराहरू। उही हेमन्त अर्थात् हेमन्तहरूको घरबाट विद्रोह गरेर हिँडेका स्वास्नी मान्छेहरू हौँ। उमेर चालीस वर्ष। वर्ण विविध। हाम्रो मोटाइ, उचाइ, स्तनको आकार, कम्मरको चौडाइ, भुँडीको बढाइ, हाम्रा आँखीभौँ, काखीको गन्ध सबै समान छ।(केही तलमाथि हुन सक्छ तर सरदर बच्चा जन्माइसकेका नेपाली नारीहरू शारीरिक रुपले पनि एकै छन्)। आफ्नो खास ठेगाना छैन। खास ठेगानाको खोजीमा छौँ। अहिलेसम्म हाम्रो खास नाम छैन। हामी आफ्नो खास नामको खोजीमा छौँ।

डल्स हाउस नाटकमा विद्रोही भएर छुटि्टएपछि हामीले उज्यालो संसारमा पुगौँला भन्ने ठानेका थियौँ। इब्सेनले त्यो नाटक घरबाट बाहिर निकाले पछि पीडित स्वास्नीमान्छेका पक्षमा उनीहरूको नाम खोज्ने अभियानमा उनले पनि सघाउलान् भन्ने ठानेका थियौँ। तर त्यो सोच सही निस्केन। एउटी नोरा नाटकघरबाट निस्के पछि हामी नोराहरू घरबाट निस्केर सडकमा जम्मा हुन बाध्य भयौँ। हामीसँगका समस्या समान थिए। त्यो नाटकमा नोराले खेपेको पीडा उनको एक्लो थिएन। त्यो हामी सबैको पीडा थियो। त्यसैले हामी नोराहरू साहस बटुलेर आआफ्नो घरबाट बाहिरियौँ। र निकै पछिसम्म पटकपटक इब्सेनलाई भेट्ने कोसिस गर्‍यौँ तर सफल भएनौँ। सुन्यौँ त्यसपछि उनी अर्को नाटकको तयारीमा लागे। डल्स हाउसमा नोरालाई विद्रोही बनाएर उनी महिलाबादी कहलिए तर हाम्रो समस्या सुध्रिएन। उनले नोरा अर्थात नोराहरूलाई विद्रोही बनाउनुको अर्थ हामीले भेटेनौँ। हामी हेमन्त अर्थात् हेमन्तहरूलाई छाडेर बेठीक गर्‍यौँ भन्ने पक्षमा अहिले पनि छैनौँ। विद्रोही बनाएर एक्लै छाडेको भनेर इब्सेनसँग पनि कुनै दुखेसो छैन। कम्तीमा उनले हामीलाई विद्रोह गर्न सडकसम्म ल्याइदिएका छन्। यद्यपि इब्सेन हेमन्तकै एउटा रुप हुन्। उनी पनि पुरुष थिए जो जतिसुकै आदर्शका कुरा गरे पनि फेरि भोग्न चाहन्थे त्यही नारीलाई। स्वतन्त्रताका कुरा गर्दै विद्रोही बनाउँथे र फेरि कमजोर मौकाको फाइदा उठाउन चाहन्थे स्वास्नीमान्छेहरूबाट।

यी सबै पुरुष हेमन्त अर्थात् हेमन्तहरू भन्दा फरक छैनन्। सबैसँग मात्रै कामवासनाले आतुर काला ओठहरू छन्। यी सबै स्वास्नी मान्छेका लुगा आँखाको अङ्कुसेले उधिनेर आफू स्खलित हुन चाहन्छन्। तर हामी स्वतन्त्र बाँच्न चाहन्छौँ। हामी आफ्नो नामअघि आउने हेमन्तहरूको नाम हटाएर आफ्नै नाममा स्थापित हुन चाहन्छौँ। हामी आफ्नो स्वतन्त्र नामको खोजीमा छौँ। हामी हाम्रो शरीर आफ्नो तरिकाले उपभोग गर्न चाहन्छौँ। कतिसम्म भने प्रत्येक हेमन्तसँग सुतेर सन्तुष्ट र शिथिल हुन चाहन्छौँ, यौटा हेमन्तसँग सुतेर होइन (पुरुषहरू जतिसँग पनि सुत्छन् महिलाहरूलाई छेकबार किन ?)।

पुरानो ढर्राको विद्रोहबाट हामी थाकिसकेका छौँ। प्लेकार्ड बोकेर, हाते माइकले भाषण गरेर, कुनै मन्त्रालय, विभाग वा दरबार घेरेर प्रदर्शन गर्नु समयको बरबादी बाहेक केही होइन भन्ने हामीले ठान्यौँ। बरु त्यसले हाम्रो फोक्सो, आँखा र हाम्रो कोमल देखिने छालालाई प्रदूषित मात्र गर्छ। भूमिगत रहेर (भूमिगत बसाइ हाम्रै घरको सङ्घार भित्र पनि हुनसक्छ) गर्ने यो हाम्रो लडाई गुरिल्ला रणनीतिमा हुनेछ। हाम्रा शत्रुहरू त्यसका प्रत्यक्ष शिकार हुनेछन्।’

मुक्ति घोषणाको आफ्नो अभियानलाई युद्धस्तरमा अगाडि बढाउन नोरा अर्थात् नोराहरूले आफूहरूलाई भूमिगत रुपमै ‘चरित्रहीन चेली’ घोषणा गरेका थिए। नोरा अर्थात् नोराहरू अर्थात् चरित्रहीन चेलीको ‘मुक्ति घोषणा’को खास बकपत्र चाहिँ यस्तो थियो ―

‘हामीभन्दा अघिका, हामीसँगका र भविष्यमा आउने सबै विद्रोही नारीको सम्मानमा खराब हौँ भन्न हामीलाई लाज लाग्दैन (त्यसैले आफूलाई चरित्रहीन भन्यौँ)। असल भन्ने शब्दले पुरुष प्रधान समाजलाई सधैँ उँचो बनाइरहेको छ। त्यसैले चरित्रहीन भन्न पाउँदा हामीले गर्व महसुस गरेका छौँ। पितृसत्ताले नारीका लागि सोच्न, बोल्न र गर्न तोकेका सीमित विषयको परिधि हामी तोड्दै जानेछौँ। हामी मन, वचन र कर्मले कुनै पनि बेला कुनै पनि कुरो सोच्न, बोल्न र गर्न सक्छौँ। सबैतिरका ‘खराब’ र शोषित नारीको साथ दिन्छौँ। गम्भीर तथा अर्थपूर्ण विषय, अधिकार र सत्यताबारे अब हामी संसारलाई भिन्न र वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्छौँ। सबै नारी ( आइमाई, स्वास्नीमान्छे, स्त्री, महिला, तरुनी, बालिका) हरूको हितका निम्ति हामी निम्न अनुसारको घोषणा गर्छौँ’ : ―

(यहाँ बकपत्रको महत्वपूर्ण अंशमात्र राखिएको छ)

हामी नारीहरू म भएर बाँच्नु पर्छ भन्ने मान्यता राख्छौँ। कुनै एजेन्डा बनाउनु/नबनाउनु हाम्रो खुसी र स्वतन्त्रताको कुरो हो। कुनै पनि एजेन्डा हामी हाम्रो इच्छा र आवश्यकता अनुसार बनाउँछौँ, कसैले लादेको भार बोक्दैनौँ। यातिखेर हामी भूमिगत छौँ किनभने यहाँ ‘मुनि’धेरै रमाइलो छ। हामी तपाईँको आसपास, गल्ली, कार्यालय र तपाईँको घरमा समेत छौँ। याद गर्नुस् तपाई हाम्रो निगरानीमा हुनुहुन्छ। हामी भारीका भारी सोत्तर ओसार्छौँ, कम्ब्याट बुट लगाउँछौँ, पालिसले नङ रङ्गाउँछौँ, कपाल छोट्याउँछौँ, टाटे-पाङ्ग्रे ब्रा र पेन्टी लगाउँछौँ वा ब्रा र पेन्टी नलगाई पेटिकोटमात्रै लगाउन पनि सक्छौँ अर्थात् हामीले लगाउने जुत्ता, कपडा, हाम्रो केस-शैली, हाम्रा गहना र हाम्रो प्रत्येक श्रृङ्गार हाम्रो आफ्नो आनन्द र सुविधाका लागि हुनेछन्। अतः त्यसरी हिँड्ने सबै नारीहरू यो आन्दोलनमा सहभागी छन्।

हाम्रा विचार स्वतन्त्र छन्। हामी मधुर र सुरिलो स्वरमा बोल्न चाहन्छौँ। हामी चिच्याउन, चर्किन, झर्किन, हाहाहुहु गरेर गर्जन पनि चाहन्छौँ। हामी ठूलो स्वरमा हाँस्न चाहन्छौँ, डाको छोड्न चाहन्छौँ, सुसेली मार्न र गुन्गुनाउन चाहन्छौँ, खुलस्त कुरा गर्न चाहन्छौँ। हामी कसैले चाहेको बेला चुप लगाउन नसक्ने बन्न चाहन्छौँ। हामी हाम्रा लागि कसैसँग दयाको भीख माग्न चाहँदैनौँ। हामी सार्वजानिक ठाउँमा पान चपाएर हिँड्न चाहन्छौँ, डिस्को जान चाहन्छौँ। हामी पनि परपुरुष च्यापेर डान्सबारमा रमाउन चाहन्छौँ र आवश्यक परे कसैलाई पनि मुक्का प्रहार गर्न सक्ने सामर्थ्य राख्छौँ। हामी खुलेआम परिवारनियोजनको कुनै पनि साधन किन्न चाहन्छौँ, त्यसो गर्दा कुनै पनि महिलालाई घुरेर हेरेको सहने छैनौँ। मनले चाहे अनुसारको मद्यपान, धुम्रपान जेसुकै सेवन गर्न चाहन्छौँ (यदि पुरुषले आफ्नो त्यो कामलाई निरन्तरता दिइराखे भने)। यसमा हामी आफू बाहेक कसैबाट नियन्त्रित हुन चाहँदैनौँ। हाम्रो कुनै पनि भाषा हामी आफैँ बोल्न चाहन्छौँ।

हामी पारिवारिक भूमिकालाई पुनर्परिभाषित गर्छौँ। हाम्रो पहिचान बाबुकी छोरी, लोग्नेकी स्वास्नी, दाजुभाइकी दिदीबहिनी, छोराकी आमा वा नातिनातिनाकी बज्यै हुनुमा मात्र सीमित छैन। हाम्रो पनि आफ्नो बेग्लै पहिचान छ। आफ्नै नाम र परिचय छ। हामीसँग पुरुषहरूले देखिरहेका स्तन, योनी, भगाङ्कुर र पाठेघर, कामुक नितम्ब मात्र होइन मृगौला, कलेजो, फोक्सो, पेट, मुटु, पाचनग्रन्थी, आन्द्रा, औँला र नङ, पाखुरा, खुट्टा, गुप्ताङ्गका रौँ, छाला, आँखा, मुख, नाकको प्वाल, ओठ, जिब्रो, कान पनि छन्। पुरुषसँग नमिल्ने भन्दा मिल्दाजुल्दा धेरै अङ्ग हामीसँग पनि छन्। सबैभन्दा महत्वपूर्ण सबै मान्छेहरूमा हुने स्वतन्त्र मस्तिष्क, भावना, करुणा र आत्मा हामीसँग पनि रहेको जानकारी गराउन चाहन्छौँ। त्यसैले हामीलाई कसैले दोस्रो दर्जामा राखेर हेर्न खोजे तत्काल त्यसको प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौँ।

आफ्नो यौनसाथी (वा जीवनसाथी) छनौट गर्न नारीहरू स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छौँ (केटाहरू चाहेको बेला कुनै पनि केटीसँग नाङ्गै सुत्‍न जान्छन्)। यौन सुख प्राप्त गर्नु हाम्रो वैयक्तिक अधिकारको कुरा हो। श्रीमान् हुने वित्तिकै चाहना बेगर ‘सम्बन्ध’ गाँस्ने प्रयासको हामी घोर निन्दा गर्छौँ र बलात्कारको कोटीमा राख्छौँ। ‘नाईँ’ भनेको नाईँ नै हो। पुरुषहरूलाई यो कुरा थाहा छैन भने लुकाएर कन्डम राख्‍ने पर्समा सँगै शब्दकोश पनि राख्‍नुपर्छ भन्ने मान्यतामा हामी छौँ। स्त्रीले भनेको नाईँ पक्कै समस्या परेरै हो त्यसैले त्यतिबेला पुरुषको हात कन्डमको प्याकेटमा होइन मायालु भएर स्त्रीको निधारमा होस् भन्ने हामी चाहन्छौँ (स्त्रीहरू चाहिँ त्यसै गर्छन्)।

कुन महामूर्खले मुलुकी ऐन बनायो ? र कुनकुन महामूर्खले यसलाई चिरस्थायी बनाए ? दश महिना पेटमा बच्चा पाल्ने आमा―नागरिकताको हकदार बाबु ? नारी मार्फत पनि उसको लोग्ने र छोराछोरीलाई नागरिकता प्राप्त हुनु पर्छ। बाबुबिहीन बच्चाहरू, धर्मपुत्र-धर्मपुत्री, कृत्रिम गर्भाधानबाट जन्मेका बच्चाहरू, टेस्ट्युब नानीहरू र हाम्रो डिम्ब वा क्लोनिङबाट जन्मेका बच्चाहरू सबैलाई नागरिकता प्रदान गर्नुपर्छ। पितृसत्ताले सधैँ ठूलोसानो भन्ने तहगत मान्यतालाई निरन्तरता दिन्छ। हामी सबै खाले सामाजिक विभेदलाई अस्वीकार गर्छौँ। यहाँ कोही ठूलो कोही सानो, कोही उँच, कोही नीच छैन भन्नेमा हामी प्रष्ट छौँ। सबै समान रहेको यस धर्तीमा भएका व्यक्तिहरूसँग हामी समानता र मैत्री भावनाका लागि हाम्रो विद्रोहमा सहयोग गर्न आह्वान गर्छौँ।’

उनीहरूले घोषणापत्र अर्थात् त्यो बकपत्रमा बोक्सी र किचकन्नीप्रति ऐक्यवद्धता जनाएका थिए। आधा सरकारी पदमा नारीका लागि आरक्षित गर्नु पर्ने माग गरेका थिए। सबै सन्तानलाई समान व्यवहार गर्न, सार्वजनिक यातायात, सार्वजनिक स्थल वा कुनै पनि कार्यालयमा हुने सबै खाले यौनदुराचार रोक्न, विना अवरोध बालिकाहरूलाई शिक्षा दिन र महिलालाई पनि मन्त्री, न्यायाधीश, प्रधान-सेनापति, ट्याक्सी-ड्राइभर, शल्य-चिकित्सक, मेकानिक, सिकर्मी, पुजारी इत्यादि जे सुकै बन्न अवसर पाउनु पर्छ भन्ने मान्यता राखेका थिए।

«

उस्तै

सुनियो नोरा अर्थात् नोराहरू अर्थात् चरित्रहीन चेलीहरूको यो पहिलो बकपत्र छापिएपछिको पहिलो बैठकमा उनीहरूवीच आपसमा गम्भीर विवाद सिर्जना भयो। पुरुषसँगको समान अधिकारको खोजीमा हराएको आफ्नो नाम खोज्न घरभित्र विद्रोह गरेर निस्केका नोराहरूबीच नै सुरु भएको विवादले चरम रुप लियो। विवाद बढे पछि असन्तुष्ट भूमिगत चरित्रहीन चेलीहरू मध्येबाट विभाजित कट्टरपन्थी नोराहरूले काठमाडौँको एउटा भट्टी पसलमा छुट्टै वैठक गरेर माउ सङ्गठनले नाम खोज्ने काममा ‘पर्याप्त खराब कार्य’ नगरेकोमा कडा आलोचना गरे। यो गद्दारीले महिलाहरूको जित असम्भव रहेको निष्कर्ष पनि निकाले। र जारी विद्रोहलाई अगाडि बढाउन आफूहरू तयार रहेको भन्दै असन्तुष्ट विद्रोही नोराहरूले नयाँ सङ्गठनको घोषणा गरे―’हामी झन् चरित्रहीन चेलीहरू हौँ।’ उनीहरू वीच फाटो आयो। आफ्नो नामको खोजीमा पनि उनीहरू एक हुन सकेनन्।

असन्तुष्टहरूको गम्भीर आरोप चाहिँ के थियो भने नाम खोज्ने विद्रोह सफल नभएसम्म ‘सेक्स बहिस्कार’को आह्वान गरिएको थियो। आफ्नो इमोसनलाई काबुमा राख्‍न गरिएको ह्वीपलाई माउ सङ्गठनका जिम्मेवार पदाधिकारीहरूले नै कडाइका साथ पालना गर्न सकेनन्। विद्रोहका लागि ‘सेक्सबिहीन’ भएर आन्दोलनलाई उनीहरूले ऊर्जा दिन सकेनन्। उनीहरूको मुख्य गद्दारी के थियो भने कामुकता थाम्न सकेनन् र जसका विरुद्ध आन्दोलन सुरु गरिएको हो उनीहरूसँग नै भूमिगत रुपमा लुकीछिपी यौन आनन्दमा लीन भए। उनीहरूले आइमाईको मूल कमजोरी भन्ने पुरुषहरूको आरोपलाई सच्याउनै सकेनन्। सुनिन्थ्यो उनीहरूले बाहिर फ्ल्याट लिएर छुट्टै पुरुष साथी राखेका छन् र आफूलाई सन्तुष्ट बनाए बापत उसलाई मासिक तलब भुक्तानी गर्छन्।

असन्तुष्ट पक्षले त्यसको तीन वर्ष पछि फेरि नयाँ सङ्गठनको झन् क्रान्तिकारी घोषणापत्र तयार गरेको थियो। म देशको प्रतिष्ठित पत्रिकाको सम्पादक यतिखेर ‘झन् चरित्रहीन चेली’का नाममा आएको नोरा अर्थात् नोराहरूको अर्को बकपत्र सम्पादन गरिरहेको छु। मलाई थाहा छैन आफ्नो नामको खोजीमा घरबाट कलिला केटाकेटीलाई चटक्कै बिर्सेर निस्केकी नोराचाहिँ यतिखेर कुन समूहमा छिन् ?

पत्रिका भोलि छापिनेछ।

थाहा छैन भोलि ऊ त्यो मैली चिया पसल्नीकोमा आउँछ कि आउँदैन ? वा आए पनि यो अखबार हेर्छ कि हेर्दैन ?

म भोलि त्यो पसलमा पुग्छु कि पुग्दिन ?

फेरि स्वास्नी मानिसहरू पर्चा छर्दै जुलुस निकाल्छन् कि निकाल्दैनन् ?

ऊ आयो भने उसले अवश्य सोध्नेछ―’अम्मनीजी यी अखबारहरू किन छापिइरहेछन्। यसबाट पर्यावरण विनास भइरहेछ नि।’ (यदि भेट्यो भने उसले मलाई अम्मनीजी नै ठान्नेछ। किनभने उसले मसँग खास परिचय गरेकै छैन। मेरो नाम अनमोलमणि नै थाहा पाएर अम्मनी भनेको हो कि ? वा मलाई उसको कुनै पुरानो साथी ठान्यो!)

यदि फेरि ऊसँग भेट भए उसलाई भन्नेछु―’पर्यावरण विनास गर्ने यो अखबारको सम्पादक मै हुँ। ओ मित्र! म अम्मनी होइन, अनमोलमणि हुँ। कतै तिमी मध्यरातमा नोराद्वारा छाडिएको हेमन्त त होइनौ ?’

«

काठमाडौँ सहर घरहरूको जङ्गलले छोपिएको थियो। जबरजस्ती तन्किएका साँघुरा सडकमा साना-ठूला गाडी एकसाथ चिप्लिएका थिए। किसिमकिसिमका एकएकवटा अनुहार बोकेका मानिसहरू गाडी जति छिटो त चिप्लिएका थिएनन् तर स्थिर थिएनन्। उनीहरू मनजस्तै अस्थिर खुट्टा लिएर कतै गइरहेका देखिन्थे।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *