कहिले यो आत्मालाई, छलेर हेर्छु
अस्ताउँदो घामसङ्ग, ढलेर हेर्छु
पीडा व्यथाले जब, गला समाउँछ
प्याला र बोतलसङ्ग, चलेर हेर्छु
म हिउँ समाउँछु, बनिदिन्छ आगो
अब जिउँदै चितामा, जलेर हेर्छु
मेरो यो मनलाई, चट्टाननै ठान्यौ
कुहिएको स्याउ जस्तै, गलेर हेर्छु
अमृत फलाइदिएँ,भन्छ्यौ रुचेन
अब बिष वृक्षमा म, फलेर हेर्छु