Skip to content

बार छोरा तेर नाति

आलै छ मेरो अझसम्म घाउ
हे दैव चाँडो अब पार लाऊ
छन् बार छोरा अझ तेर नाति
धोक्रो छ मेरै अझ काँधमाथि ।।१।।

छोरी छ सानै अझ सानु छोरो
भन्दै बित्यो जीवन आज मेरो
दुख्दो छ मेरै अझसम्म छाती
धोक्रो छ मेरै अझ काँधमाथि ।।२।।

सम्पत्ति लाखौं ढुकुटी भरेको
रैतीहरूका शिरमा छरेको
उठ्ती अझै शेष छ लाख पाथी
धोक्रो छ मेरै अझ काँधमाथि ।।३।।

जम्मा गरें वैभव लाख जानी
खाँदै नपाएर बित्यो जवानी
चल्दैछ ऐले दुःखको खलाँती
धोक्रो छ मेरै अझ काँधमाथि ।।४।।

भोको हुँदै याम बिताइएछ
थुप्र्याउनै मात्र चिताइएछ
भागे हराए किन आज साथी
धोक्रो छ मेरै अझ काँधमाथि ।।५।।

के गर्नु राम्रो अब खानुहुन्न
जम्मा गरें त्यो सब लानुहुन्न
निद्रा हरायो न त लाग्छ राती
धोक्रो छ मेरै अझ काँधमाथि ।।६।।

खैरेहरूको घरमा गएर
ढोके सुसारे सरिका भएर
छोरा र नाति अझ छन् पनाति
धोक्रो छ मेरै अझ काँधमाथि ।।७।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *