Skip to content


“ए नकच्चरो ! हेर्दा त तँ लाउनेखाने नै देखिन्छस त । तैंले मलाई भिखारी सम्झिस कि क्या हो ? सक्छस भने सय रुपियाँको एउटा हरियो गैंडा दे न मलाई किन यति जाबो दश रुपैयाँमा टार्छस ? थुक्क कञ्जुस मोरा तँलाई हैजाले लान नसकेको ! तेरो हातमा स्याउँस्याउँ किरा परिजाओस ।”

मैले श्रद्धावश दिएको दस रुपियाँको नोट मेरै मुखमा फालेर देब्रे हातले लोपार्दै एउटी माग्ने जस्ती देखिने बुढी आमा मुखमा आएजति फलाकेर भुतभुताउन थालिन् । म नवआगन्तुक बटुवा किङ्कर्तव्यमुढ हुँदै रातो मुख लगाएर त्यहाँबाट हिंडे । एउटा सानो घुम्तीपसललाई आफ्नो घर बनाएर बसेकी ती असहाय जस्ती देखिने बुढीआमालाई दया लागेर यथासक्य सहयोग गर्दा लज्जित हुनुपरेको पीडाले मलाई रातभर खटपटी भयो । म कुनै काम विशेषले दुईचार दिन बिराटनगरमा आफन्तकहाँ बसेको थिएँ । म बसेको टोल नजिकै एउटा चौबाटोमा ती आमा नाङ्ले पसल चलाउन मिल्ने साँघुरो काठे घुम्तीघरमा एक्लै बस्थिन् ।

मलाई ती बुढीआमाबारे केही जान्ने कौतुहलता जाग्यो । भोलिपल्ट बिहान म नजिकैको चोकबाट त्यही बाटो भएर आफन्तकोमा फर्कदै थिएँ, ती आमा बसेको घुम्ती नजिकै एउटी मधेशी मुलकी आइमाई भक्का बनाउँदै बेच्दै रहिछ । मैले पनि चामलको पिठोले बनेको दुईवटा भक्का बडो मिठो मानी मानी खाएँ र दुईवटा भक्का बोकेर ती आमा बस्ने घुम्ती नजिकै पुगेँ । फेरि पनि बुढीआमाले सराप्लिन भनेर मैले तिनी बसेको घुम्तीभित्र डराई डराई चिहाएँ । उनी एउटा सानो ठाउँमा च्यातिएको गुन्द्रीमाथि मैलो धुस्नो सिरक ओढेर सुतिरहेकिरहिछिन् । छेवैमा एउटा भुसेचुलीमाथि काला कटकटिएका भाँडाकुँडा राखिएका थिए । उठ्दा टाउको ठोकिने र घुम्दा ढाड ठोकिने त्यो अँध्यारो र साँघुरो घुम्ती नै तिनीको सम्पूर्ण संसार थियो । एकछिन त घुम्ती भित्रबाट आएको पिसाब र ढुसीको गन्धले मेरो मथिङ्गल नै रन्थनायो । “आमा ! ए आमा !” भन्दै मैले डर मिश्रित आवाजले उनीलाई बोलाएँ । गनाउने मैलो झुत्रो कपडाले कुप्री परेको शरीर ढाकेर शिरमा लट्टे केश फिँजाई सिँगानले कटकटिएको चाउरी परेको अनुहारबाट उनका कचेरे जोडी आँखाहरुले मतिर एकटक हेरिरहे ।

“ए नकच्चरो ! तँ लफुङ्गो बिहान बिहानै यहाँ मसँग इत्रिन आको ?” छेवैमा राखिएको एउटा जुठो कचौराले मेरो टाउकोतिर ताक्दै उनी फेरि फत्फताउन थालिन् ।

म पनि अक्क न बक्क भएर अघि उनको लागि किनिदिएको भक्का उनैतिर फालिदिन्दै त्यहाँबाट कुलेलम ठोङ्कें । मैले उनको मप्रतिको व्यवहार र बिनाकसुर गालीलाई सजिलै पचाउन सकिन् । रातभर उनीप्रतिको जिज्ञासाले मेरो निद्रा नै कच्पटियो । यो बुढेसकालमा असहाय भएर उनी किन एक्लै बस्छिन् ? उनी किन प्रेम दर्साउने र सहानुभूति राख्ने मानिसहरुप्रति बिनाकाम खनिन्छिन् ? आदि जस्ता प्रश्नहरुले मेरो दिमाग नै खायो । मलाई उनको बारेमा केही जान्ने उत्सुकताले अँझ बढी पिरोल्न थाल्यो । मैले म बास बसेको घरका मेरा आफन्तलाई उनको बारेमा जानकारी लिने निर्णय गरें ।

एक साँझ मैले उनको बारेमा मेरा बासदाता आफन्तलाई केही जानकारी दिन अनुरोध गरें । मेरो प्रश्न सुन्ने बित्तिकै सबैजना गललल हाँसे । सायद ती आमाले मलाई गालीगलौज र सत्तोसराप गरेको उनीहरुले थाहा पाएछन् भन्ने ठानेर म लाजले रातोपिरो भएँ ।

“बाबुलाई त ती बौलाई बुढीको सारै माया लाग्यो कि के हो ? लगेर पाल्नू नि !” भन्दै घरमुली आमै मतिर फर्केर अट्टहास गर्न थालिन् ।

“दाइले त ती बुढीको छोरी भए त सासू बनाउनु हुन्थ्यो होला नि ?” यसो भन्दै घरमुलीकी छोरीले मतिर ब्यङ्गात्मक हाँसो प्रहार गरिन् ।

मेरो बुढीआमाबारेको जिज्ञासामा मेरो बासघरको पल्लाघरे छिमेकी दिदीले पनि “त्यो छाडा गलगाँडे फोहोरी बुढीको कुरा नगर्नुहोस् बाबु । बाटो हिंड्ने जो कोहीलाई पनि त्यो असती र अलच्छिनी बुढीले निहुँबिना नै निशुल्क सरापेर हैरान पार्छे,“ भन्दै ओठ लेपारिन् ।

मेरो अनुत्तरित जिज्ञासा र ती बुढीप्रतिको तिनीहरुको धारणाको हाँस्य माहौलमा पिल्सिएर म अक्क न बक्क भएँ । म सारमा सार मिलाउँदै र सङ्कोचमिश्रित नाटकीय मुस्कान छर्दै आफ्नो सयनकक्षतीर लम्किएँ । मध्यरात्रिसम्म अनजान जिज्ञासाको भारमा थिचिएर रातको अन्तिम प्रहरमा निद्रादेवीको काखमा भुसुक्कै लुट्पुटिएँछु ।

बिराटनगरको पाहुना हुञ्जेल म पनि तातो भक्काको स्वादमा रमाउन थालें । एकदिन साँझपख आफन्तकहाँ फर्किदा म त्यही भक्का बनाउने ठाउँको बाटो हुँदै फर्कदै थिएँ, मानिसहरू भक्कावाल्नीको चौबाटे पसलमा भक्का खान तँछाड मछाड गर्दै थिए । मैले पनि मन थाम्न सकिन र दुईवटा भक्का किनेर खाएँ र अरु दुईवटा भक्का कागजमा बेरेर बोकें ।मेरा गह्रौं पाइलाहरू तिनै बुढीआमाको घुम्तीघरको बाटो अगाडि बढ्दै थिए । म उनी बस्ने घुम्ती नजिक पुग्छु र मेरा जिज्ञासु आँखाहरुले घुम्तीका खुल्ला ढोकाबाट भित्रतिर चिहाउँछन् । भित्र टुकीको मधुरो रोशनीमा बुढीआमाको अस्पष्ट आकृति देखा पर्छ । “आमा ! ए आमा !” म डराई डराई मधुरो आवाजले उनीलाई बोलाउँछु । कुप्रिएको ढाडले जुरुक्कै उठ्न असजिलो मान्दै ती बुढीआमाले “को हो हँ?” भन्दै हात कमाउँदै घुम्तीको ढोका अलिकति उघार्छिन् ।

म बिनाकासुर गाली खाने डरले बिस्तारै “म हुँ आमा तपाईंलाई भक्का दिन आएको” भन्छु । मेरो आवाजले उनको तन्द्रा टुटेछ क्यार उनीले ढोकाबाट धमिला आँखाले मतिर चिहाएर हेरिन् ।आज किन हो कुन्नि सधैं बिनाकसुर अरुमाथि खनिने बुढीआमाको अनुहार मलिन देखिन्थ्यो । उनको असहाय अनुहारमा बिरक्ती र असक्तताको झल्को प्रष्टै देखिन्थ्यो । उनीले मतिर थरथर कामेका हातहरू बढाइन् अनि मैले उनको हातमा भक्काको पोको राखिदिएँ । उनका आँखाहरू आँसुले टल्पलाइरहेका थिए अनि भक्कानिएर गलामा अट्किएको आवाज बाहिर आउन सकिरहेको थिएन । त्यो आकस्मिक परिस्थितिमा म किङ्कर्त्व्यमुढ बनें र भारी पदचाप सहित त्यहाँबाट फटाफट निस्कें ।

आफ्नो बिराटनगरको काम सकिएकाले म भोलि नै काठमाण्डू फिर्दै थिएँ । ती बुढीआमा रातभर मेरो मनस्पटलमा नाच्न थालिन् । म बिस्तरामा पल्टिएर सोच्न थाल्छु । बहुरूपी नारी जाती पूज्य र आदरणीय हुन्छ । एउटी नारी कसैकी आमा,कसैकी छोरीचेली अनि कसैकी आफन्त हुन्छिन् । तर किन उनी गाउँलेहरुबाट हाँसोको पात्र हुन्छिन् ? उनी किन छिमेकीहरुबाट यति बिघ्न उपेक्षित हुन्छिन् ? यस्तो आदरणीय बुढ्यौली उमेरमा पनि किन उनी असहाय छिन ? जस्ता मेरा लागि अनुत्तरित र अथाह प्रश्नहरुले मेरो निद्रा तालिका नै तहस नहस भयो । रातभर मेरो दिमाग सोचहरुको कुस्तीले थकित भएर म रातको अन्तिम प्रहरमा मात्रै भुसुक्कै निदाएँछु । भोलिपल्ट म काठमाडौतिर लागें ।

समय आफ्नो वेगमा दौडदै गयो । म एक वर्षपछि फेरि काम विशेषले उनीको लागि एउटा खास्टो उपहार बोकेर बिराटनगर आएँ । मनको कुनामा लुकेको ती आमाको लुप्त मायाले मेरा पाइलाहरू भक्कापसलको बाटो हुँदै तिनकै घुम्तीघर नजिक गएर टक्क रोकिए । घुम्ती सुनसान थियो । मेरो मुटु अञ्जान भयले धक् धक् धड्किन थाल्यो । शङ्का आशङ्काका कालो बादलहरू मेरो टाउको वरिपरि मढारिन थाले ।

”आखिर उनी कहाँ गइन् त ?” मैले घुम्ती नजिकै रहेको एउटा घरकी बुढी हजुरआमासँग उनीको बारेमा सोधें ।

“बाबु ! ती बुढी तपाईकी नातेदार हुन् ? मरेपछि भेट्न आउनु भाको ? उनी त छ महिना अघि नै मरिसकिन् त । बिचरी विधवा बुढीले यही घुम्तीमा तरकारी पसल थापेर र अर्काको घरमा जुठो भाँडा माझेर दुईवटै छोरालाई पढाएर बिदेश पठाइन् । बिदेशिएका छोराहरुले न कहिले आमालाई सम्झे न फर्किएर नै आए । मनमा अति नै पीडा भएपछि बुढीको दिमाग खुस्कियो र असहाय नै भएर मरिन । उनको एउटा छोरा अष्ट्रेलियामा पि. आर पाएर उतै बस्छ रे । अर्को छोरो अमेरिकामा डी भी परेर उतै सपरिवार बस्छ रे । बिचरी बुढी त्यही घुम्तीमा मरिछन् । मरेको तीन दिनपछि लासबाट दुर्गन्ध आएको थाहा पाएर गाउँलेहरुले त्यही परको खोलामा लगेर उनीको लाशलाई जलाए । बिचरीको काजकृया गर्ने पनि कोही भएनन् । धिक्कार छ उनीका ती पापी छोराहरुलाई ।”

ती हजुरआमाको कुरा सुनेर र उनीबारेको जिज्ञासाको उत्तर पाएपछि मेरा आँखाबाट आसुँ बग्न थाले । म उनकै लागि ल्याइदिएको त्यही खास्टोले श्रद्दाञ्जलीको आसुँ पुछ्दै त्यही घुम्तीघरको बाटो हुँदै गन्तव्यतिर लागें।

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *