कसले केके भन्छन् यहाँ
सबको आफ्नै मन
एउटा कुरा भन्छु म त
तिमी राम्रो बन ।
बोली फरक विचार फरक
सबको आफ्नै भावना पनि
स्वीकार गर सबैसबैलाई
थरीथरीका फूल ठानी ।
सुनी राख बोली राख
हिँड अनि आराम गर
जेजे गर्छौ राम्रो गर
सारा संसार तिम्रै घर ।
कहिले रुन्छ कहिले हाँस्छ
यस्तै त हो नि मन
सबै जाती देख्छौ तर
तिमी राम्रो बन ।
