जोईपीडित पोइको बिलाप
हे मेरी सासुकी छोरी !
बिर्सियौ नि बिवाह पूर्वका बाचाहरुलाई ?
कुल्चियौ नि हाम्रा प्रतिज्ञाहरुलाई ?
भन्थ्यौ त ! हामी दुखमा ढिँडो र झुपडीमा रमाउँला
साथै रूउँला, साथै हाँसौला
सँगै मरौंला , सँगै बाचौंला
आज ती बाचाहरु भुलेर तिमी म माथी हाँस्छौ
मेरो मजबुरी र बाध्यतामाथी छमछम नाच्छौ
बधाई छ तिम्रा कुटिल मुस्कानहरुलाई
धिक्कार छ मेरो पीडामिश्रित पोईको बिशेषणलाई
हे मेरी आमाकी बुहारी !
दिनान्तमा धन्दापातको सेवा हाजिर छ
तिमी श्रृंगार पटारले सजिई राख
दीवा सिनेमा र संध्याकालीन बिहारमा रमाई राख
फेसबुक च्याट र टेलीफोनको कलमा मस्की राख
तिम्रा बृद्द सासुससुरा भोकप्यासले तड्पिरहेछन्
तिमी स्न्याक्स चपाउँदै टीवी सीरियलमा डुबिराख
तिम्रा रोगी सासुससुरा औसधी मागिरहेछन्
तिमी लालीपाउडर घसी ऐना अघी मुस्काई राख
छोराछोरी स्कुलबाट फर्किने बेला भयो
तिमी पल्लाघरे नखरमाउलीसँग पार्लर गईराख
हे कलीयुगीन अप्सरा ! तिमीलाई साधुवाद
हे अवैतनिक गृह महालेखापाल ज्यू !
मशान्तमा महिना भरिको तलव
अनि श्रृंगारका आधुनिक बिज्ञापने उत्पादनहरु
तिम्रा श्री चरणकमलमा चढाएकै छु
छोराछोरीका स्कूलका फिस बाँकी राखेर
अनि बिरामी बाबुआमाका औषधीहरु थाँती राखेर
तिम्रा चाहना पुरा गर्न आफुलाई नङ्ग्याएकै छु
म रोएर तिमीलाई हँसाउछु
म मरेर तिमीलाई बचाउँछु
हे कलियुगीन रङ्गमञ्चकी खलनायिका
तिमीलाई प्रणाम छ
हे ब्युँझीेएर निदाए झैँ गर्ने अघोषित तानाशाह !
पीडाका तीरहरु हानि राख मेरो लाचार छातीमा
दर्द लुकाएर म मुस्काई रहुँला
शकुनी मुस्कानले छेकिराख मेरा प्रतिकारहरुलाई
म तिम्रो लागि मरी मरी बाँचिरहुँला
आखिर म तिमीलाई सुखी र खुशी राख्ने
साथै रुने, साथै हाँस्ने भिष्मप्रतिज्ञामा बन्दी छु
तिमीले प्रतिज्ञा र बाचाहरु भुले पनि
मेरो छाती कुल्चेर स्वप्ननगरी डुले पनि
तिमी बिजयी, म हरुवा
तिमीलाई लाचारवस असमर्थनजन्य बधाई छ
हे म लाचार पोइकी बिन्दास जोई !
हे हाम्रा भुराभुरीकी खाँटी माउ !
धन्य छ तिम्रो पुर्पोरोलाई
सलाम छ तिम्रो आत्मविश्वासलाई
अनि तिम्रा कर्महरुलाई
तिमी यो नर्कमा पनि अप्सरा झैँ नाच्न सक्छौ
यो जिउँदो लाशमाथी टेकेर पनि मुस्काउन सक्छौ
मेरा भोका आकांक्षाहरु माथी पनि परेड खेलेर डकार्न सक्छौ
आर्तनादबिच पनि मुस्कान सहित गुन्गुनाउन सक्छौ
तिमीलाई मेरा बत्तीसदन्ते तोपको सलामी छ
युद्द पछी उजाडिएको भुमी झैं मेरो हुरुवा छाती
अनि रस चुसेर फालिएको उखुको खोस्टारुपी मेरो जीवन
मरणोपरान्त तिम्रो सेवाको लागि हाजिर छ ।
इति
