Skip to content

पद्याङ्कन कविता कृतिको भूमिका

सामग्री गद्यका केही पद्यबद्ध गरूँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
सोही लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।
मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यहाँ भिन्न कुरा परे
यसैले यसका मर्म माथि केही चिरा परे ।
मैले यो जे गरें गर्नु पर्ने काम थिएन कि ?
केही सौन्दर्य थप्ला कि भन्थें, कामै दिएन कि ?
काव्यको घरमा यौटा इटा यो थपियो भने
मलाई धन्य मान्नेछु यस्ले काम दियो भने ।
मेरै लहड हो मेरै इच्छा हो यो यसै गरें
यसमा जे गरें मैले म आफ्नै भरमा परें ।
आँटैले मात्र यो काम के हुन्थ्यो सजिलो बसी
यसैमा भासिनु पर्ने अहोरात्र घुँडा धसी ।
कसै गर्दा घुँडा धस्न सकिएन म ठान्दछु
जे भयो त्यो जुठो हाल्नु जस्तो मात्रै म जान्दछु ।
बरु मौलिक लेखिन्छ आँटेर सजिलैसँग
ढाँटेर लेख्न पाइन्न यसलाई कसैसँग ।
हम्मे हम्मे प¥यो धेरै पद्यबद्ध गराउन
मूलको भावनाभित्र थाल्थें आफू हराउन ।
मैलाई त्रास यो हुन्छ औंलो उठ्दछ मैतिर
मूलको जे थियो भाव हरायो कि सबैतिर ।
जे भयो जे भयो भैगो जे हुन्थ्यो त्यो भएनछ
राम्रो पार्ने थियो सोच सजिलै यो रहेनछ ।
दाउ पक्का थियो पार्ने कच्चै माल भएछ कि
भित्रको गुदी छाडेर बोक्रै पो उक्किएछ कि ?
माफ माग्छु दुबै हात जोडेर तिनका सँग
जसका कृतिमा मेरा हात नाचे मजासँग ।
गर्व गर्नेछु यो काम राम्रै हो भन्नु भो भने
तान्नुहोस् कन्सिरी मेरा नगर्ने काम हो भने ।

छन्दका बारेमाः
अनुष्टुप् छन्दका नाना भेद छन् उपभेद छन्
टुप्पा छन् त्यसका केही त्यसका केही फेद छन् ।
अन्य छन्दहरूभित्र हुन्छ लेख्ने मिठो क्रम
यसमा सूत्रको धागो नहुँदा हुन्छ विभ्रम ।
यसैले यसमा केही तलमाथि छ निश्चय
जसले यो बुझेका छन् उनको होस् सधैं जय ।।

लेखनबारे केहीः
हलन्त नाम वा सर्वनामको गर्नु हुन्न यो
दृढता यसमा मेरो रहन्छ प्रण नै छ यो ।
बाध्यतामा परे्र केही थोरै शब्द हलन्तिए
बाँकी शब्द नपाएर हलन्तै शब्द लम्किए ।
चाहन्थें निख्खरा शब्द कोरा शब्द यहाँ छरें
राम्रा शब्द नपाएर सारै मुस्किलमा परें ।
निख्खरा शब्दको खोजी गर्दागर्दै ढिलो भएँ
भाव बोक्ने मिठा शब्द खोज्दैमा थङ्थिलो भएँ ।
शब्दको कमीले गर्दा कुनै शब्द मुठारिए
रुखबाट नपाकेकै आँपका फल झारिए ।
तेलको बदला पानी हालेर दीप बल्छ र ?
सुकेको वृक्षमा आँप भन्दैमा मात्र फल्छ र ?
मैले यो काममा यौटा व्यर्थैको धृष्टता गरें
पानीसम्म नछोएर पारिपट्टि यसै तरें ।
जे सकें जे गरें मैले म आफ्नै भरमा परें
बालुवा माथि उम्रेला भनेर कनिका छरें ।
यहाँ प्रस्तुत गर्नेछु पाकेको स्वादिलो फल
भन्ने मेरो थियो सोच फल्न गो अमिलो फल ।
रसिला फलका दाना अर्पने दाउमा थिएँ
कहाँ पाक्नु यसै मैले काँचा काफल अर्पिएँ ।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *