Skip to content


शब्दप्रयोग र आफैंमा विवादास्पद लेखनाथको खुट्टा नकाट्ने सन्दर्भ

(युनिकोडमा शब्दका माझमा खट्टा काटिएका शब्दलाई अर्द्धाक्षर देखाउने हुँदा बुझिदिनु हुन अनुरोध छ ।)

मन्ले यस् तनले र द्रव्य दलले प्रेम्ले वडा जुक्तिले
विन्तिका करले र अश्रुजलले जूले जगत् जालले ।
कल्छल्ले सलले सले कलमले गुन्ले र जावन्तले
कस्कस्ले मनले भजेर कमले यस् ओष्ठका निम्तिले ।
– मोतीराम भट्ट, मनोद्वेग प्रवाह: द्वितीय खण्ड: श्लोक ११९

क्वै कस्ता धनि छन् भने नउनिधि सप्पै खनिज् छन् कि झैं
छन्छन् देखि सुनिन्न केही घरमा दान् गर्नमा कर्म झैं
यस् भन्दा पनि लोकले त कहिन्या यत्ती छ यौटा अहो !
कस्तो छाती फरक् उदार जनको मानों टुडिखेल् न हो ।।
– ऐजन, द्वितीय खण्ड: श्लोक ६९

यो पाञ्चायनको स्तुति जउन जन् पढ्छन् घरैमा बसी
तिन्का दु: ख विनास् गरी सुख दिनन् ई देव कम्मर् कसी
यी पाञ्चायनका चरण् कमलमा शिर्लाई पैले धरी
विस्तार् गर्छु म भक्ति श्री हरिजीको श्लोक् बद्ध भाषा गरी ।
– रेवतीरमण न्यौपाने, ‘पाञ्चायन स्तुति–६, ’हरिभक्त नवपानीय, (सं),
मोतीराम भट्टका उपलब्ध ग्रन्थावली, नेराप्रप्र,२०४५, पृ. १९०

कतिपय प्राथमिक कालीन कविहरूका तथा माध्यमिक कालको रसिकमण्डलीका नायक मोतीराम भट्ट र उनका समकालीन अन्य कविहरूका माथि उल्लेखित उदाहरणका जस्ता कविताहरू देखेर नै लेखनाथ पौड्यालले सम्भवत: ‘ऋतुविचार’ मा तलको किसिमको पङ्तिमा व्यङ्ग्य गरेका होलान् ।
हेरि नसकनु पारी परखाल बडे बडे
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ।
– वर्षा विचार, श्लोक ९७

लेखनाथले यो व्यङ्ग्य कसेको बेला कविता लेख्नु भनेकै छन्दको प्रयोग गर्नु थियो । छन्दविहीन किसिमका कविताको कल्पनासम्म पनि थिएन । नेपाली भाषाको स्थिरताका लागि हिज्जेप्रणालीको व्यवस्थितता थिएन । आदर्श लेखनको कुनै मेसो बसेको थिएन । भाषिक लेखनमा एकरूपताको कुनै खाका थिएन । कुन ठाउमा कस्ता शब्दहरू ह्रस्व र कस्ता शब्दहरू दीर्घ लेख्ने भन्ने कुराको पनि कुनै निचोड थिएन । अनि हलन्त कहाँ र अजन्त कहाँ भन्ने कुराको हेक्का नहुनु पनि स्वाभाविकै थियो । छन्दका लागि ह्रस्व पार्दा मिले त्यसै र दीर्घ पार्दा मिले त्यसै गरिन्थ्यो । खुट्टा नकाट्ने स्थिति परे त्यसै र काट्नु परे त्यसै गरिन्थ्यो । नेपाली भाषाको व्याकरण लेखनका प्रयास सुषूप्त अवस्थामै थिए । संस्कृत भाषा पढेका पण्डितहरूले संस्कृत भाषाकै नियममा र उहींको हिज्जेप्रणालीको अनुसरण गर्दथे । तर नेपाली भाषाका रचनाहरूको हिज्जेप्रणालीको नियम नै नभएकोले लेखनमा कुनै नियमतिता थिएन । लेखन र प्रकाशनकै पनि बाक्लो स्थिति थिएन । जसले जे जसरी लेख्थ्यो त्यो सामग्री प्रकाशन गर्न मन भए त्यसै गरी छापिन्थ्यो । यस्तो हुनुपर्छ भन्ने आदर्श नै नभएको बेलामा कसले कस्तो कुरा उठाउने ? त्यसैले मोतीरामले माथिको जस्तो पद्य लेखेका हुनन् । उनीबाहेकका लेखनाथका समकालीन र उनका पूर्ववर्ती तथा उत्तरवर्ती कविहरूका रचनाहरू पनि यसै लेखनशैलीका हुन्थे । आज पनि पुराना सामग्रीहरू पल्टाउँदा हामी यस खालका उदाहरण पर्याप्त पाउन सक्छौं । १९६३ सालपछि भाषिक लेखनमा सचेतता आउन थाल्यो र १९६५ सालपछि त यसले हलन्त बहिष्कार गर्ने आन्दोलनकै रूप लियो । १९६९ सालपछि भाषिक एकरूपताका लागि आदर्श नियमका रूपमा गुरुराज हेमराज पाण्डेको ‘गोरखा व्याकारण बोध चद्रिका’ निस्किएपछि भाषिक एकरूपताका प्रसायहरू व्यापक रूपमा हुन थाले । यसपछि हलन्त बहिष्कारका मध्यमबिन्दुमा बसेका गुरुको व्याकराण् नै आदर्श हुन गयो ।

यो प्रयास वर्णनात्मक व्याकरण लेखनका लागि प्रथम तथा उत्तम प्रयास थियो र हेमराजको पँहुच माथिसम्म भएका कारण राष्ट्रले यसको अनुसरण गर्न आरम्भ गरेको बुझिन्छ । लेखनाथ पनि यसैका आडमा अडिन पुगेका देखिन्छन् । एक अर्थमा लेखनाथलाई साँखुल्ले पनि भन्न सकिन्छ । अर्का अर्थमा लेखनाथलाई ‘जता मल्खु उतै ढल्कु’ को धेरथोर स्वभाव भएका कविका रूपमा पनि लिंदा पाप लाग्दैन । माध्यमिक कालमा पर्याप्त मात्रामा श्रृङ्गारिक कविता लेख्नु, ‘सूक्तिसिन्धु’ पर्व (१९७३) पछि श्रृङ्गारिक मोह नदेखाउनु, रामणिको हलन्त बहष्किारलाई र हेमराजको व्याकरणलाई आड लिँदै अरू कवित/लेखकहरूलाई खुट्टा काटेर लेखेकोमा छुस्क्याउनु, १९९० सालपछि फेरि तत्कालका सामाजिक मान्यतालाई बुझेर सोइपरीका कविता लेख्नुले मल्खुढल्कुको धेरथोर बानीबेहोर भएका कवि मान्न सकिन्छ । यो विषय अर्कै हो । यहाँ त्यसबारे विशेष छलफल गर्न खोजिएको पनि होइन । यहाँ त कवितामा खुट्टा नकाट्ने मान्यता बोकेका लेखनाथ अफू कुन हदसम्म आफ्नो सिद्धान्त पालन गर्न समर्थ छन् भन्ने खोजी गर्नेचाहिँ प्रमुख विषय हो ।

यहाँ सन्दर्भ विशेषमा केही पृथक् प्रसङ्गहरू आए पनि वास्तवमा, कवितामा वर्णहरूको खुट्टो काटेको देखेर नेपाली कविहरूमाथि निकै कठोर व्यङ्ग्य गर्ने लेखनाथले आफूले चाहिँ उक्त नियमलाई कति पालन गरेका छन् भन्ने प्रश्नमा केन्द्रित रही अन्य पक्षमाथि पनि केही चर्चा परिचर्चा गर्ने अठोट राखिएको छ ।

यस प्रयोजनका लागि लेखनाथका सम्पूर्ण कृतिहरू पर्घेल्नु बुद्धिमत्ता हुन्थ्यो तापनि अनेक कृतिहरूका शब्दशब्द केलाउन सकिएन । यस प्रयोजनलाई लेखनाथको एउटै मात्र कृतिलाई आधार बनाएर यो विषयलाई लाने अठोट छ । परिणाम गलत नहोला भन्ने ठनोट छ तर गलत भए त्यसका लागि अग्रिम रूपमा क्षमाप्रार्थना गर्न कर्तव्य ठानिन्छ ।

आधार मानिएको कृति : बुद्धिविनोद
निस्किएका परिणाम:
१. लेखनाथ तत्सम शब्दको पूर्ण शरणमा परेका छन् ।
२. नेपाली भाषालाई संस्कृतमय बनाएका छन् ।
३. आफूले गरेको व्यङ्ग्य आफैंतर्फ पनि खन्याएका छन् ।
४. हलन्त वर्णलाई अजन्त गर्ने काम व्यापक रूपमा गरेका छन् ।

१९९० भन्दा पहिले नेपाली भाषामा गद्यमा कविता लेखिएकै थिएनन् । यो कुरा लेखनाथलाई राम्रो गरी थाहा थियो । संस्कृतको लयविधान वा वर्णमात्रिक छन्दहरूमा कविता लेख्ने हो भने छन्दको विधानलाई प्राथमिकता दिनैपर्छ । छन्दका नियमलाई कठोरतापूर्वक पालन गर्नपर्ने नियम पुरानो हो । ‘छन्दमा कविता लेख्ता ‘मास’ शब्द लेखिँदा छन्द भङ्ग हुने भयो र त्यसका ठाउँमा बरु ‘मस’ पार्दा मिल्ने भयो भने ‘मस’ बनाऊ तर छन्दभङ्ग नगर’ भन्ने जस्तो छन्दशास्त्रीय नियमको कठोरता छन्दवादी आचार्यहरूको छ । यही सुविधा देखेर होला हाम्रा पुराना कविहरूले तलको श्लोकमा ‘मास’ लाई ‘मस’ पारेझै गरेका छन्–

ढोका बन्द खुल्या अरी सब भूल्या खेल्दै गया बाटमा ।
कालिन्दी जलले महार्जन गरी गोकूल् पुग्या रातमा ।।
(बाबुराम आचार्य, संपा. पुराना कवि र कविता, छैटौं संस्करण: श्री कृष्णचरित्रको पद्य २)

तर संस्कृत भाषामा काव्य कवितालाई ‘मास’ का ठाउँमा ‘मस’ पार्नपर्ने खण्ड कतै पनि आाएजस्तो देखिँदैन । अजन्तलाई हलन्त, हलन्तलाई अजन्त तथा ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व पारेर छन्दको अनुशासन पालन गर्नपर्ने स्थिति पनि त्यहाँ पर्दैन । यस्तो नपर्नको मूल कारण संस्कृत भाषामा भएका शब्दहरूको पौल हो । पर्यायवाची शब्दको भण्डार भएकाले, समास, सन्धि आदिका तगडा नियम भएकाले उहाँ खुट्टा काट्ने ता होइन ‘मास’ लाई ‘मस’ पार्ने स्थिति पनि लगभग देखिन्न । एउटा शब्दले छन्द बिग्रन आँट्यो भने त्यही अर्थको अर्को शब्दमध्ये कुनचाहिँ त्यहाँ मिल्छ, त्योचाहिँ लिएर काम गरिन्थ्यो, छन्दलाई जिवन्त राखिन्थ्यो । प्रयोगवैशिष्ट्य, कथनका नानाविध ढाँचा, उक्तिका अनेक प्रक्रियाहरूलाई आधार मानेर छन्दको गरिमालाई सजीव पारिन्थ्यो । यसबाहेक वाक्यान्तरण, आत्मने वा परस्मैपदी कथन आदिको ढाँचाबाट वाक्यात्मक कथनलाई कसो पार्दा उत्तम हुन्छ र छन्दको स्वरूप खज्मजिँदैन त्यसै गरिन्थ्यो । छन्दको स्थिति वा नियमलाई पालन गर्नलाई सहायक तत्वका रूपमा संस्कृतमा सन्धिप्रक्रिया र समासप्रक्रिया बढो सहायक हुन्थे । अर्कोतर्फ पर्यायवाची शब्दहरूको भण्डारले गर्दा त्यहाँ छन्दोभङ्ग नगर्नलाई विकल्पका अनेकौं साधन थिए । यसैले गर्दा त्यहाँ छन्दोभङ्ग नगर्नलाई विकल्पका अनेकौं तइ बाटाहरूको अवलम्बन गरिन्थ्यो । सन्धि र समासप्रक्रिया नहुँदा हुन् त तलको पङ्क्ति अनुष्टुप छन्दमा निर्माण हुनै सक्तैनथ्यो :

सूर्येन्द्राग्न्यनिलेन्दूनाम् यमस्य वरुणस्य च
अन्येषां चाधिकारान् स स्वयमेवाधितिष्ठति ।।
-सप्तशती चण्डी : अध्याय २, श्लोक : ६)

यसको सन्धिप्रक्रिया :
सूर्य+इन्द्र=सूर्येन्द्रगुण सन्धि ।
सूर्येन्द्र+अग्नि=सूर्येन्द्राग्निदीर्घ सन्धि ।
सूर्येन्द्राग्नि+अनिल=सूर्येन्द्राग्न्यनिलयण सन्धि ।
सूर्येन्द्राग्न्यनिल+इन्दु=सूर्येन्द्राग्न्यनिलेन्दुगुण सन्धि
(‘आम्’ षष्टी विभक्तिको बहुवचन भएकोले ‘दू’ दीर्घ भई= ‘सूर्येन्द्राग्न्यनिलेन्दूनाम्’ भएको हो ।)
अन्येषां च+अधिकारान् स= अन्येषां चाधिकारान् स दीर्घ सन्धि ।
स्वयमेव+अधितिष्ठति= स्वयमेवाधितिष्ठतिदीर्घ सन्धि ।

यस्ता सुविधाहरूको उपयोग गरेर छन्दलाई आफ्नो आकार निर्माण गराउन र छन्दोभङ्ग हुनबाट बचाउने काम गरिन्थ्यो । नेपाली भाषामा यो सुविधा छैन । पर्यायवाची शब्दको संख्या पनि त्यति छैन । यसैले छन्दमा कविता लेख्दा नानाथरीका समस्या आइलाग्छन् । एकातिर सन्धिप्रक्रियाबाट शब्दको छोट्करी रूप लेखेर छन्दलाई मिलाउन कठिनाइ हुन्छ अर्कातिर समासप्रक्रियाका आधारमा शब्दलाई छोट्याउन पनि यस भाषाका आफ्नै विशेषताहरूले गर्दा कठिन पर्दछ । एकातिर छन्दको कठोर नियम पालन गर्नपर्ने र अर्कातिर कविता पनि छन्दमै लेख्नु पर्दा शब्दका मूल रूपलाई कतै खुट्टा काट्नु पर्ने, कतै ह्रस्वलाई दीर्घ र कतै दीर्घलाई ह्रस्व पार्न पर्ने खण्ड आइपर्छ । हलन्त पदलाई अजन्त बनाउनु पर्ने कारण पनि यही हो । यी सबैको उपयोग गर्दा पनि नभएपछि मत्रा ‘मास’ लाई ‘मस’ पारेजस्तो गरेरै पनि छन्दलाई यथावत् तुल्याउनुपर्दछ भन्ने अवधारणा आएको हो । यसै कारणले कविहरूले वर्णका खुट्टा काटेका हुन् । लेखनाथले छन्दमा खुट्टा काटेको कुरामाथि सङ्केत गरेर कविहरूलाई व्यङ्ग्य गरे पनि बाँकी कुराहर पनि खुट्टा काट्नु जत्तिकैका हुन् । भाािषक कुरा गर्ने हो भने ह्रस्वलाई दीर्घ पार्न, दीर्घलाई ह्रस्व पार्न, हलन्तलाई अजन्त पार्न पनि उत्तिकै आपत्तिजनक कुराहरू हुन सक्छन् । लेखनाथको यसतर्फ किन ध्यान गएन त्यो विचारणीय छ । लेखनाथलाई पनि यो समस्या नआएको होइन । उनले यस्ता कठिनाइलाई अनेक उपाय गरेर टार्ने गरेका छन् । उनले उनका अनेक कृतिहरूमा यो स्थितिलाई बेहोरेका पनि छन् । यी सबै कुराहरूलाई यस सानो आकारका समीक्षात्मक लेखमा समेटिन कठिन पर्ने भएकाले एक मात्र कृति ‘बुद्धिविनोद’ लाई आधार मानेर यसै प्रसङ्गको पुष्टिका लागि अब लाग्नु उचित हुनसक्छ—

आधार कृति‘बुद्धिविनोद’ ।
छन्द : वंशस्थ ।
लक्षण: जतौ तु वंशस्थ मुदीरितम् जरौ : श्रुतबोध
ज गणत गण ज गण र गणश्लोक सङ्ख्या६७
शब्दसङ्ख्या१४०५
तत्सम शब्दसङ्ख्या२६४
एक पङ्क्तिको पुनरुक्ति: ६६ पटक
आवृत्ति भएको पङ्क्ति: तँलाइ मालुम् छ कि यो कुरा मन ?
आवृत्ति भएको पङ्क्तिमा शब्दसङ्ख्या: ७
आवृत्ति भएका पङ्क्तिमा कुल शब्द आवृत्ति: ६६×७=४६२
आवृत्तिरहित शब्दसङ्ख्या: १४०५—४६२=९४३
आवृत्तिरहित शब्दसङ्ख्याभित्र तत्सम शब्द: २६४
कुल शब्दमा तत्सम शब्दको प्रतिशत: २६४×१००
९४३= २८ ५

माथिका विवरणले ‘बुद्धिविनोद’ भित्र प्रयोग भएका शब्दहरूको संख्या, शब्दसंयोजन, आवृत्ति, पुनरावृत्ति आदिलाई छर्लङ्ग गर्दछ । साथै तत्सम शब्दहरूको प्रतिशत पनि देखिन्छ । २६४ वटा तत्सम शब्दहरूलाई समेत घटाउँदा ६७९ वटा शब्दहरू मात्र नेपाली भाषाका देखिन्छन् । ती पनि निठ्ठा नेपाली भाषाका शब्दमात्र छैनन् । त्यस सङ्ख्याभित्र आगन्तुक शब्द (मालुम, हुकम र जुदा= अरबी आगन्तुक) तथा कतिपय तद्भवहरू समेतलाई घटाउने हो भने निठ्ठा नेपाली शब्दको सङ्ख्या अझ कम हुन सक्छ । अब लेखनाथलाई शब्दचयन गर्न कस्तो धौधौ थियो भन्ने कुराको पुष्टि हुन्छ । लेखनाथले यस कृतिभित्र प्रयोग गरेका तत्सम शब्दहरू पनि हेर्न लायक छन् । कुनै कुनै ठाउँमा त लेखनाथले तत्सम शब्दहरूको योगबाट मात्र पङ्क्तिहरूको निर्माण गरेका छन् । ९६४ शब्दमा २६४ शब्द संस्कृतका हुनुको अर्थ २८ प्रतिशत संस्कृतका शब्द हुनु हो । प्राय: गरेर नेपाली कविताहरूमा ३० प्रतिशत जति संस्कृत शब्दहरू हुने गरेको उदाहरण पाइन्छ । लेखनाथको यो शब्दप्रयोगको कार्यलाई उत्रो अनौठो नमानिए पनि हुन्छ, तर तलका जस्ता श्लोकका पङ्क्तिहरूले भने निकै झक्झकाउँछन्—

अशेष आब्ह्म पिपीलिका तक श्लोक ९/पङ्क्ति १
समस्त सृष्टिस्थितिका नियामक श्लोक १२/पङ्क्ति १
अहो उही प्राण समीर भाजन श्लोक १५/पङ्क्ति २
असत्य संसार असत्य देह यो श्लोक २३/पङ्क्ति १
श्रुतिस्मृतितन्त्र पुराण मन्थन श्लोक २६/पङ्क्ति १
कथा प्रपञ्चादि अनन्त सुन्दर श्लोक २७/पङ्क्ति २
पराशर, व्यास, वशिष्ठ, जैमिनी, शुकाऽदिश्लोक २८/पङ्क्ति १
प्रजा धरामा धरणी फणीशमाश्लोक ३४/पङ्क्ति १
विलासिनी दिव्य अनन्त अप्सरा श्लोक ३८/पङ्क्ति १
अनन्त–कष्ट–व्यय–साध्य वैदिकी श्लोक ४४/पङ्क्ति १

उदाहरणमा टिपिएका पङ्क्तिहरूले लेखनाथलाई शब्दको कति समस्या पर्दथ्यो र शब्दको कमी भएका अवस्थामा कुन स्रोतबाट कसरी त्यो कमीलाई पूर्ति गर्दथे भन्थे सिद्ध हुन्छ । यी पङ्क्तिहरूबाहेक तलका संस्कृत सन्धिप्रक्रियाद्वारा निर्मित निठ्ठा तत्सम शब्दहरूको पर्याप्त प्रयोग छ । विशेष गरी स्वरसन्धिद्वारा बाँधिएका शब्दहरूको पर्याप्त प्रयोग छ । त्यस्ता केही शब्दहरू यी हुन्—

१. ग्रह+आदि=ग्रहाऽदि२. धर्म+अवतार= धर्माऽवतार
३. भोग्य+आदि= भोग्याऽदि४.गर्भ+अन्तर=गर्भाऽन्तर
५.सुख+आस्वाद=सुखाऽस्वाद ६ .प्रपञ्च+आदि=प्रपञ्चाऽदि
७.शुक+आदि= शुकाऽदि८.नृप+आसन=नृपाऽसन
९ पुत्र+आदि= पुुत्राऽदि १०. गीता+अमृत= गीताऽमृत
११. तथा+अपि= तथाऽपि१२. पर+अङ्गना= पराऽङ्गना
१३. मरण+आसन्न= मरणाऽसन्न१४. धर्म+आदि= धर्माऽदि
१५. कलत्रपुत्र+आदि=कलत्रपुत्राऽदि १६.जीवन+उत्सव=जीवनोत्सव
१७. दिक् अम्बर=दिगम्बर१८.जगत्+व्यवस्था= जगद्व्यवस्था
सन्धिप्रक्रियाद्वारा तयार भएका माथिका शब्दहरूबाट लेखनाथलाई वंशस्थ छन्दका लागि कति ठूलो अप्ठेरोलाई समाधान गर्न बल पुगेको थियो भन्ने कुराको दिग्दर्शन हुन्छ । आफूले भने छन्दकै लागि यसरी तत्सम शब्दको शरण परेर काम काट्नु र अरू कविहरूलाई भने खुट्टा काटेको देखेर लल्कार्नु उति सुहाँउँदो कुरा हो जस्तो लाग्दैन ।

वर्णका खुट्टा छन्दका लागि नकाट्ने र अरू कविहरूले खुट्टा काटेको देखेर कठोर व्यङ्ग्य गर्ने लेखनाथ त्यसबारे यसै कृतिमा कत्तिको अनुशासनमा बसेका छन् त ? यो पनि एउटा खोजीको विषय हो । यही प्रयोजनले हेर्दा ‘बुद्धिविनोद’को स्थिति पनि अनौठो नै देखिन्छ । यसबारे यसको विपरीत कुराहरूको विषयमा पनि अलिकति विचार गर्नैपर्छ । छन्द मिलाउनका लागि अजन्त शब्दहरूको खुट्टा काट्नु दोष हो भने साँच्चैका खुट्टा काटिएका हलन्त शब्दहरूलाई अजन्त बनाउनु वा खुट्टा नकाटिएको रूपमा परिवर्तन गर्नु पनि दोषै हो । यी दुवै दोषहरूबाट लेखनाथ मुक्त छैनन् ।

१. मालुम शब्द मूलत: नेपाली मूलको शब्द होइन । अरबी भाषाबाट नेपालीमा आएको आगन्तुक शब्द हो । यसको अर्थ ‘थाहा’, वा ‘स्मरण’ आदि हो । यो भाववाच नामिक पद हो । यस पदलाई यस खण्डकाव्य (?) मा ६६ पटक खुट्टा काटेर दोहोर्याइएको छ ।

२. जन्म शब्दलाई जनम पारेर त्यसको एक पटक खुट्टा काटिएको छ ।

३. मालुम शब्दलाई खुट्टा नकाटिएको देखाउन हो वा कुन प्रयोजनले हो ‘मालुं’ अर्थात् अनुस्वारका रूपमा पनि लेखिएको कुनैकुनै संस्करणमा पाइन्छ । तर प्रथम संस्करणमा के थियो त्यसको टुङ्गो लाग्न सक्तैन ।

४. हुकुम शब्दको हुकुम् वा हुकुं गरिएको उदाहरण पाइन्छ ।

अजन्त शब्दलाई हलन्त गर्न बाध्य पर्ने स्थिति छन्दमा कविता लेख्ता आउँछ नै । त्यसलाई माधवप्रसाद घिमिरेले समेत झेल्नु परेको छ । छन्दमा कविता लेखेपछि छन्दलाई व्यवस्थित पार्न प्रयत्न गर्नैपर्छ । कतै अजन्तलाई हलन्त पार्नु पर्ने क्षण पनि आउँछ । दुवै प्रकारको स्थिति नआउनु उत्तम हो तापनि यो समस्या भाषिक शब्दहरूको आपूर्तिबाट उठ्ने समस्या हो । लेखनाथले अजन्तलाई हलन्त वा खुट्टा काटेको कुरा मात्र देखे । अजन्तलाई हलन्त बनाउनु दोष मान्नेले हलन्तलाई अजन्त गरिनु पनि दोषै हो भन्ने कुरा बिर्सनुहुन्नथ्यो । माथि नै पनि कुरा उठाइसकिएकै छ, भाषिक व्यवहारमा हलन्तकै रूपमा उच्चारण हुने शब्दलाई अजन्त गरिनु पनि दोषै हो । यो दोष लेखनाथले पटकपटक गरेका छन् । ह्रस्व ध्वनि वा स्वरलाई दीर्घ र दीर्घलाई ह्रस्व बनाएर छन्दमा मिलाउनुलाई पनि यस सन्दर्भमा कम दोष मान्न मिल्दैन । हलन्तबहिष्कारै गर्ने निहँुमा यहाँसम्मको कामलाई सही मानिए पनि भाषाको स्वरूपलाई र उच्चारणका व्यवस्थालाई नै खज्मज्याउनु र हलन्तलाई अजन्तै बनाउनु भने उचित हुँदेन । यद्यपि लेखनाथको बेलामा नेपाली भाषामा व्याकरणको स्थिरताको मेसो भर्खरै बस्तै थियो तापनि लेखनाथ हलन्तको दोष टार्न एकातिर सक्तैनन् भने हलन्तलाई अजन्त र ह्रस्वलाई दीर्घ वा दीर्घलाई ह्रस्व पार्न पनि बेलामौकामा पछि पर्दैनन् । यसै कृतिमा पनि यसका अनगिन्ती उदाहरण छन्—

चिनिन्न आफूकन आफुले किन श्लोक २/३
अनन्त ज्योती गज मोतिले सरी श्लोक ५/२
नजन्मनू केवल पूरुषै किन श्लोक १०/३
कती मजस्ता उहिल्यै बितीसकेश्लोक ११/२
कती सुतेका छन बाँचुला म के श्लोक ११/३
गुटूमुटू भैकन गर्भ जालमा श्लोक १८/१
गयो सबै त्यो जनमेपछि किन श्लोक २०/३
हूँदैन केही पनि सम्झना किन श्लोक २०/३
नआउने कोहि पनि यहाँ किन श्लोक २१/३
परत्रमा त्यो सव भोगने किन श्लोक २८/३
गये ती के काम गरी कहाँ छन श्लोक २८/३
प्रजा खुशी पारी हुकुं चलाउन श्लोक २९/२
बुढो पुरानू बदली प्रतिक्षणश्लोक १०/१
पत्याउनू के नपत्याउनू कुन श्लोक ४१/ ३
यती पछी हुन्छ अवश्य यो कुरा श्लोक ४६/ १
नजानु माथी कहिल्यै पनि किन श्लोक ५७/३
जती जती उती उती श्लोक ५८/१,२

माथिका उदाहरण ता केही नमूनाका लागि मात्र टिपिएका हुन् । यी उदाहरणबाट लेखनाथ खुट्टा नकाट्ने मान्यतामा सजग भएका देखिए पनि माथिका पङ्क्तिहरूलाई नै आधार बनाएर हेर्दा लेखन र भषाका अरूअरू पक्षहरूबाट आफू चुकिएको उनले थाहा पाएका छैनन् ।

उल्टापाल्टी पारेर छन्दलाई मिलान गरिएका उदाहरण पनि यसमा पर्याप्त नै पाइन्छन् : मानक रुपबुद्धिविनोदमा प्रयोग भएका रुप
कतिकती
छन्छन
ज्योतिज्योती
हुकुमहुकुं
बूढोबुढो
पत्याउनुपत्याउनू
पुरानो/पुरानुपुरानू
नपत्याउनुनपत्याउनू
नजन्मनुनजन्मनू
यतियती
गुटुमुटुगुटूमुटू
उतिउती
भोग्नेभोगने
पछिपछी
जन्मजनम
जन्मिएपछि जनमेपछि
आफू आफु
पनिपनी
जतिजती

यहाँ दिएका शब्दहरू पनि नमूनाका लागि मात्र हुन सक्छन् । यो रूपमा अन्य शब्दहरूलाई पनि यसै गरी उच्चारणको रूप एक र यहाँ प्रयोग भएको रूप अर्कै भएको देखिन सक्छ ।

यस कृतिमा छन्दका लागि ‘मास’ लाई ‘मस’ पारेजस्तो गरी शब्दलाई बङ्ग्याएको नपाइए पनि लेखनाथले आफ्ना अन्य कृतिहरूका केही ठाउँमा यो विधिलाई पनि नछाडेको उदाहरण पाइन्छ । यदि छपाइमा गडबड भएको होइन भने तलको ‘ऋतुविचार’ को श्लोकले यो कुराको प्रमाण पनि पुर्याउँछ—

मेघले अघि वर्षामा गरेका पुष्पवृष्टिको
फलस्वरु नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको
– शरद्विचार— श्लोक : १४

लेटिन् जस्मा प्रकृति तमको च्यादरु सर्र तानी
– श्लोक १/३ कविको उन्निद्रता, लालित्य भाग—२

कतै कुनातर्फ कुमालकोटी
– श्लोक १९/१म मधेशमा, लालित्य, भाग —२

‘फलस्वरूप’ लाई ‘फलस्वरु’, ‘च्यादर’ लाई ‘च्यादरु’, ‘कमलकोटी’ लाई ‘कुमालकोटी’ पार्नु भनेको ‘मास’ लाई ‘मस’ पार्नु जत्तिकै हो । यस्ता उदाहरण उनका कृतिको केस्रा केलाउँदा नपाइएलान् भन्न सकिन्न । यति गरेर पनि राम्रोसँग खोज्नु हो भने लेखनाथले छन्दोभङ्ग गर्न पनि बाँकी छाडेका छैनन् ।

त्यो बेला म थिएँ मानू निर्धो निर्बुद्धि भारत
तिनी थिए डच, फ्रेन्च, पोर्चुगीज र इंग्लिस । श्लोक ४४
विचित्र वाहिनी, लालित्य—भाग २

तर ‘बुद्धिविनोद’ मा भने छन्दोभङ्गका यस्ता गतिला उदाहरणहरू पाइँदैनन् । यो सन्दर्भ समाप्ति गर्नुअघि यसको निष्कर्षका रूपमा विचार गर्दा लेखनाथलाई पनि छन्दको प्रयोग गर्न सिपालु कविका रूपमा मात्र मान्न सकिन्छ । तर छन्दका लागि नानावलीका प्रयोग नगर्ने, विशुद्ध शब्दहरूको प्रयोग मात्र गर्ने र शब्दको विचलन नगर्ने कविका रूपमा भने मान्न सकिन्न । यसै कारण उनले आपूm उभिएका कालका र आफू भन्दा पहिलेका कविहरूको काव्यकर्मका बारेमा विशेष गरेर खुट्टा काटिएको बारेमा गिल्ला गर्ने र त्यसको प्राविधिक समस्याको पहिचान नै नगर्ने जस्तो दोष गरेको जस्तो देखिन्छ । दोष हेर्नेहरूले सबैतिरको दोष र आफ्नो पनि दोष देख्नुपर्छ ।
सन्दर्भ स्रोत
१ पौडेल, लेखनाथ, लालित्य, भाग २, (छैटौं संस्करण), काठमाडौं : साझा प्रकाशन, २०६० ।
२…………………., ऋतुविचार, (१२ आंै संस्करण), काठमाडौंव : साझा प्रकाशन, २०४९ ।
३…………………., तरुण–तपसी, (दसौं संस्करण), काठमाडौं : साझा प्रकाशन, २०५० ।
४ पन्त, नयराज, बुद्धिविनोद र त्यसबाट उठेका लहरहरू, काठमाडौं : साझा प्रकाशन, २०४५ ।
५. न्यौपाने, रेवतीरमण, ‘पाञ्चायन स्तुति–६,’हरिभक्त नवपानीय, संपा), मोतीराम भट्टका उपलब्ध ग्रन्थावली : काठमाडौं, नेराप्रप्र, २०४५
६. भट्ट, मोतीराम, मनोद्वेग प्रवाह : द्वितीय खण्ड, मोतीराम भट्टका उपलब्ध ग्रन्थावली : काठमाडौं, नेराप्रप्र, २०४५ ।
७. भट्टराई, घटराज, संपां) माध्यमिक कालीन नेपाली कविता, काठमाडौं : साझा प्रकाशन, २०५९ ।
८.उपाध्याय खनाल, पण्डित शोभाचन्द्र, उत्तर काव्य, बुद्धिविनोद) : विराटनगर, नेपाली साहित्य समिति, २०४३ ।
९. सेर्पा, सोनाम, स्वातन्त्र्योत्तर भारतीय नेपालीकवितामा अभिव्यक्त जातीय चेतना : एक अध्ययन (अप्रकाशित) उत्तर वङ्ग विश्वविद्यालय, नेपाली विभागमा प्रस्तुत एम.फिल को शोधपत्र, २००६ सन् ।

अब उनै लेखनाथबारे मैले आज भन्दा ३५ वर्षअघि लेखेको रमाइलो कविता

शिर्षक : तर्पनपिण्ड सहित सराद्धे

लेख्ने थिए रे तिमी कामले पनि
लेख्ने थिए रे तिमी नामले पनि
गथ्र्यौ अरे काव्य कडा प्रशोधन
तँलाई मालुम छ कि यो कुरा मन

बाबै गएछौ उहिल्यै कता कता
जन्मिसक्या मात्र थिएँ हुँला म ता
लेख्थ्यौ अनेकौं कविता टनाटन
तँलाई मालुम् छ कि यो कुरा मन .

राणाहरुका गुरुबा थियौ तिमी
ठुला तपश्वी ऋषि झैं थियौ तिमी
खुसी थियौ रे रथमा चढीकन
तँलाई मालुम छ कि यो कुरा मन

पाएर पद्वी कविको शिरोमणि
फुुरुङ्ग पथ्र्याौै पिजडा सुगा धनी
नेपालका हौ बहुमूल्यका धन
तँलाई मालुम छ कि यो कुरा मन

पुग्या छु बाबै म त अर्चलेतिर
तिम्रो थियो जन्मथलो जहाँ निर
गथ्र्यौ अरे काव्य अनेक साधन
तँलाई मालुम छ कि यो कुरा मन

मौजी थियौ रे गुरुबा जवानीमा
प्रमाण क्यै मिल्दछ सुक्तिसिन्धुमा
छाड्यौ अरे अश्लील काव्य लेखन
तँलाई मालुम छ कि यो कुरा मन

लालित्य होस् वा ऋतुको विचार होस्
गङ्गा र गौरी तरुणै तपस्वी होस्
गर्दै थियौ रे पछिसम्म शोधन
तँलाई मालुम छ कि यो कुरा मन

बूढा हुँदा जो ऋषिराज लाग्दथ्यौ
रवीन्द्रका ठाकुर झैं तिमी थियौ
गरेर लेख्थौ तिमी काव्य मन्थन
तँलाई मालुम छ कि यो कुरा मन

त्रिपाठीले राल सिँगान बेस्सरी
पुछेर तिम्रा कविता सफा गरी
धेरै गर्या छन् अझ लामु गन्थन
तँलाई मालुम छ कि यो कुरा मन

यो देशले एक सपूत मान्दछ
भुराभुरीले तिमीलाई जान्दछ
श्रद्धाञ्जलि मात्र छ आज अर्पण
तँलाई मालुम छ कि यो कुरा मन

चुरोट ताने पनि मद्यसेवन
पक्कै गरनौ कविका यशोधन
गरूँ यहाँ यो कति मात्र गन्थन
तँलाई मालुम छ कि यो कुरा मन

बाबै ठड्यायौं प्रतिमा सुदूरको
यो पूर्वको सुन्दर पूर्वी द्वारमा
मान्छौं यही श्राद्ध र पिण्ड तर्पण
तँलाई मालुम छ कि यो कुरा मन

लेखनाथ शतवार्षिकीको अवसरमा २०४१ साल पुस २६ गते आजकै दिनलेखनाथ चोक चन्द्रगढीको कविशिरोमणिको प्रतिमा अनावरण कार्यक्रममा पाठ गरिएको र पहिलो पटक भिडियो रेकर्डिङ समेत भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *