Skip to content

खोसिएकोे बालापन


स्वर्णिम ती दिन थिए म अबोध बबुरोका
अतुलनीय काल सरी
हाँस्थेँ,खेल्थें, उफ्रन्थें लडीबुडी
माटो दली जिउ भरी
ती काल थिए सुनौला अतीतका
नफर्कने खहरे सरी
रुन्छु आज कल्पी त्यो मधुर पललाई
यादको स्वप्न भरी
न्यानो काख थियो मेरी जननीको
ऐस्वर्य स्वर्ग सरी
विशाल ओत थियो मेरा जनकको
समर कवच सरी
रुन्थें, घुर्क्याउँथें घरीघरी जूनतारा चहियो भनी
पाउँथे मागेजती हुन्थें सदा खुशी
म अबोध बालक बनी
नांगै भुतुङ्गै कुद्थें हिलोमाथि
निडर योद्दा बनी
साथ थियो मेरा जनक जननीको
म थिएँ जगतको धनी

नाङ्लाको कुँडुलो कुदाइ दगुर्थेँ
मोटरको चालक झैं बनी
पँधेरी कुवामा डुबुल्की मार्थे घरीघरी
वीर पौडीबाज बनी
नाच्थेँ,गाउँथे, रमाउँथे सदा सदा
बालापनको आँगन भरी
बरदान दिने भए देऊ हे मेरा प्रभु
फर्काऊ मेरा ती स्वर्णिम घडी

आज मेरा बिपनाहरुमा ती स्वर्णिम सपनाहरू सल्बलाउँछन्
मेरा वर्तमानहरुमा ती अद्वितीय भूतहरू चल्मलाउँछन्
म प्रयास गर्छु त्यो स्वर्गानन्दीय पलहरू समाउन
मेरा हातहरुलाई निरंकुश समयले अठ्याउन थाल्छ
म इच्छा गर्छु त्यो निर्भय र अबोध बालापन पुनर्प्राप्ति गर्न
मेरो छातीलाई समयचक्रको ऐंठनले थिच्न थाल्छ
म बग्न चाहन्छु अप्राकृतिक उल्टो दिशामा
म तोते बोली र ताते तातेको पूर्वदीप्ति चाहन्छु
मेरा थरथर काप्ने पाउ र हातहरू बाधक भइदिन्छन्
हे ईश्वर ! यदि तिमी मेरो भक्तिमा प्रसन्न छौ भने
फर्काइ देऊ मेरो बालापनको बालक्रीडा
जहाँ म पुनः पुग्न पाऊँ भुलेर यो उत्पीडित पीडा
न बिलाश माग्छु म न माग्छु गाडधन
फिर्ता देऊ मेरो त्यो खोसिएको बालापन

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *