अन्तर्वार्ता

अन्तर्वार्ता डा.कालुराम राईका साथ
अन्तर्वाताकार ः होम सुवेदी
‘ज्ञानगुनका कुरा’ नामक पत्रिकाको लागि सहप्राध्यापक श्री होम सुवेदीद्वारा लिइएको डा. केआर खम्बुको अन्तर्वार्ता
प्रश्न ः खम्बु सर नमस्कार !
उत्तर ः नमस्कार होम सर ।
प्रश्न ः तपाईंलाई म केही प्रश्नहरू सोध्दैछु उत्तरको अपेक्षा गर्दछु !
उत्तर ः धन्यवाद सर ! तर कस्ता प्रश्नहरू र कस्ता विषयमा सोध्नु हुने हो कुन्नि ! जानेको भए जबाफ दिन्छु । हवस् त सर अब सोध्नुहोस् !
प्रश्न ः शेषराज सिवाकोटीले ‘ज्ञानगुनका’ कुरामा तपाईंको बारे विशेषाङ्क निकाल्दै हुनुहुन्छ । यसबारे तपाईंलाई कस्तो लागिरहेको छ ?
उत्तर ः अहो यो त खुसीको कुरो हो । शेषराज सिवाकोटी जस्ता वरिष्ठ साहित्य साधक तथा कानुनका क्षेत्रको विशेष व्यक्तित्व एवम् स्रष्टाबाट प्रकाशित र सम्पादित लोकप्रिय पत्रिका ‘ज्ञानगुनका कुरा’ मा स्थान पाउनु भनेको अहोभाग्यको कुरो हो । तर म जस्ता प्राकृतिक विज्ञानको विद्यार्थी तथा पठनपाठन गरी जीवन निर्वाह गर्ने सर्वसाधारण व्यक्तिलाई ‘विशेषाङ्क’ जस्ता प्रकाशनमा कसरी स्थान दिनु हुने भएछ नि ! म आफूलाई त्यस्तो कुनै विशिष्ट स्थानको लागि लायक ठान्दिन । यद्यपि, सामाजिक प्राणी भएको हैसियतले बिलाउन लागेको व्यक्ति माथि दृष्टि राखेर जुन सदाशयता देखाउन खोज्नु भएको हो त्यसको म सम्मान गर्छु । यस कार्यको लागि साहित्यकार शेषराज सिवाकोटीज्यूलाई हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गर्न चाहन्छु ।
प्रश्न ः विज्ञान विषयको तपार्इं ज्ञाता, तर अहिले तपाईं भाषा साहित्यको क्षेत्रमा पनि बहुत चर्चित हुनुहुन्छ । यो कसरी सम्भव भयो ? कसरी यतातिर लाग्नु भयो ? एकातिर विज्ञान अर्कातिर यो साहित्य । के भन्नुहुन्छ ?
उत्तर ः हो, म त्रि.वि. क्याम्पसमा विगत ३१(३२ वर्षदेखि प्राणी विज्ञान तथा पर्यावरण विज्ञान विषयमा अनवरत रूपले प्राध्यापन कार्य गर्दै आएको एक प्राध्यापक हुँ । मेरो जीवनको अध्ययन कालमा अनौपचारिक रूपमा लिइने उपाधि पोस्ट डक्टरेट वा डिलिट बाहेक अरू सबै औपचारिक शैक्षिक उपाधिहरू हासिल गरिसकेको छु । यसै गरी मैले आफ्नो सेवा कालमा विश्वविद्यालयबाट पाइने अन्तिम प्राध्यापक (प्रोफेसर) पद समेत छ वर्षअघि नै हासिल गरिसकेको छु । यसरी आफूले सबै उपाधि हासिल गरेपछि आफ्नो समाजभित्र पनि आफूले आर्जेका ज्ञानगुनका कुराहरू छर्न जन समूहमा गई कमर कसेर लाग्ने योजना बनाई लाग्दै थिएँ । ठीक यस्तै बेला अचानक मेरो आँखामा केही समस्या आइप¥यो । अनि उपचारको क्रममा आफ्नो जिल्लादेखि राजधानीसम्म साथै त्यहाँबाट पनि विदेशसम्म पुग्न पर्दा कैयौँ इच्छा आकांक्षाहरू सबै बिथोलिन पुगे । ‘भाग्य दिने, कर्म ठेल्ने’ भन्ने उखान जस्तै चिताइएका कामहरू परिस्थितिले अर्कैतिर ठेलिदियो ।
जीवनमा ‘अतिरिक्त प्राज्ञिक पद लिन जान नसके तापनि स्वदेशमै वातावरण संरक्षण सम्बन्धी साथै अन्य सामाजिक कार्यमा लाग्ने बेलामा आँखामा समस्या आई ‘साँप्रो माथि पीडा थप’ भने झैँ भयो । यस दुर्घटनाले मानसिक स्थितिलाई अति संवेदनशील पार्यो । अरूलाई अनेक उपदेश दिएर सम्झाउन सक्ने व्यक्ति आफै आन्तरिक पीडा र वेदनाले छटपटिन थालियो । हो त्यस्तै जटिल परिस्थितिमा झर्रो नेपाली साहित्यकार आदरणीय गुरु चूडामणी रेग्मीज्यूले नेतृत्व गर्नु भएको जूही साहित्यिक यात्रामा सहभागी हुने मौका पाएँ । उक्त यात्रा महाकवि मोदनाथ प्रश्रित विशेषाङ्क विमोचन गर्न भैरवा हुँदै काठमाडौंसम्मको थियो । वास्तवमा त्यो यात्राले मलाई पुन साहित्यतिर झक्झकायो । अझ मेरो अन्तर मनमा साहित्यको बीज रोपिएको भने यो नै पहिलो होइन । म यतातिर तानिने अवस्था सिर्जना गर्ने मुख्य भूमिका पूर्वाद्र्धका चेतनशील जीवन पद्धतिले खेलेको छ । अचानक निरन्तरतामा क्रमभङ्ग हुँदा अवश्य पनि विस्फोटक अवस्थामा पुगिन्छ । तर यस्तो परिस्थितिमा विगत दिन सम्झेर आफूलाई रिझाउने कोसिस गरिन्छ । मेरो किशोर कालीन स्कूले जीवनमाम निकै भावुक रहेछु भन्ने कुरो त्यस बेलाका केही घटना क्रमलाई सम्झिँदा थाहा पाउँछु । आठ नौ कक्षामा नेपाली विषय पढ्दा कवि धरणीधर कोइरालाको कविताको एक पङ्ति ‘मह झैँ छ मीठो, बह पार्छ पिठो, तह लाउँछ यो मनलाई छिटो’ भन्ने उद्धरणलाई म रोमाञ्चित हुँदै वाचन गर्थें । यसर्थ पनि मनको बह धुलोपिठोे पार्न र बिरक्तिएको मनलाई तह लगाउन साहित्य रूपी औषधि सेवन गर्नेतिर ढल्केछु । दोस्रो उदाहरण, छैठौं कक्षा पढ्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ पढ्दा गह भिजाएको छु । त्यति मात्र होइन त्यो पुस्तक पढिसकेपछि पनि कैयौं दिनसम्म मुना र मदनको प्रसङ्गलाई मनमा खेलाई बिरक्तिएको छु । यसै गरी आठौं कक्षातिर पढ्दा होला अङ्ग्रेजीमा ‘माइ फेभराइट पोएट (मन पर्ने कवि)’ शीर्षकमा निबन्ध लेख्ने गृह कार्य सरले दिँदा तुरुन्त रातभरिमा लेखेर भोलिपल्ट बुझाएको सम्झिन्छु । (त्यस बेला अङ्ग्रेजी पढाउने सरमा सायद घनेन्द्र शर्मा न्यौपाने हो वा मदन प्रधान हुनुहुन्थ्यो) । मैले लेखेर बुझाएको त्यो निबन्ध हेरेर सरहरू छक्क पर्दै मैले लेखेको भनी पत्याएनन् ।
अर्को कुरो, मेरो टटुवामारी, कोरोबारीको तत्कालीन झोरे गाउँ (भालुखोप) मा पनि नयाँ बसोबास बढ्दै जाँदा साहित्यप्रति रुचि राख्ने व्यक्तिहरू पनि थपिदै गए । त्यस बेलाका उक्त गाउँको बुद्धिजीवीहरू भित्र (कल्याणप्रसाद कोइराला, गोविन्द नेपाल, उमानाथ भण्डारी, खगेन्द्र अधिकारी, सोमप्रसाद भण्डारी, हरिबहादुर थापा आदि हुन्छन् । उनीहरूले त्यस बेलाका बनारसदेखि काठमाडौंसम्मका प्रकाशित कथा, साहित्यका पुस्तकहरू ल्याउने, पढ्ने र पढ्न दिने पनि गर्थे ।
पछि जब म पनि माथिल्लो क्लासतिर चढ्दै र अनुभवहरू बटुल्दै गएँ अनि गाउँका मेरो र म भन्दा मुनिका युवाहरूलाई गोलबन्द गर्दै जन चेतना मूलक कार्यक्रम गर्न थालेँ । जब मेरो पुस्ता र नयाँ पुस्ता पनि गाउँमा जन्मिए तब प्रायः हरेक दसै तिहार वा अन्य पर्व वा दिवसहरूमा साहित्य गोष्ठी गर्ने साथै नेपाली लोकसंस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रम पनि गर्न थालियो ।
मैले साहित्य र कला विषयमा कुरा गर्दा भूल्नै नहुने अर्का प्रेरक व्यक्ति हुन् खड्गप्रसाद ओली । उनीसँग मेरो आठौं कक्षा पढ्दादेखि हिमखिम बढेको हो । वास्तवमा बाह्य रूपमा उनी राजनीतिक व्यक्ति मात्र हुन् जस्ता देखिन्छन् तर प्रारम्भिक कालमा उनी साहित्यप्रति हुरुक्क हुने व्यक्ति हुन् । त्यस बेला (२०२६÷२७) तिर कोरोबारी गौरीगञ्ज क्षेत्रमा राजनीतिक रूपमा कार्यरत तीन युवा नेताहरू थिए । ती युवा नेताहरू क्रमशः केपी, सीपी र मुकुन्द हुन् । सीपी र मुकुन्दबाट मैले मात्र राजनीतिक ज्ञान प्राप्त गरेँ । तर केपीबाट मैले राजनीतिक ज्ञान र साहित्यिक ज्ञान दुबै प्राप्त गरेँ । त्यस बेलाका अति क्रान्तिकारी गीतदेखि अति प्रेमपिडीत गीत गाउनु पनि उनीबाट नै सिक्थेँ । हरेक पल्ट मेरो घर आउँदा एउटा गोजीमा पार्टी दस्तावेज र अर्को गोजीमा कुनै नयाँ साहित्यको पुस्तक बोकेर आउँथे । यसर्थ सीपि, एमसी आउँदा कुन गम्भीर राजनीतिक मुद्दामा बहस चल्ने भयो नि त भनी त्रसित भइन्थ्यो भने केपी आउँदा आज कुनै नौलो साहित्य सम्बन्धी कथा, उपन्यास वा मीठो गीत सुन्न पाइने भयो भनी मन प्रफुल्ल हुन्थ्यो । विश्व प्रसिद्ध साहित्यकारहरू जस्तै लियो टाल्सटाइ, गोर्की, पुस्किन, चेखोब आदिले लेखेका कथाहरू, ‘विश्व कथा सङ्गङ्ग्रह’ तथा अन्य पुस्तकहरू ल्याएर रातभरी पढेर सुनाउँथे । कुनै कथा भने यति गहिरो प्रेम प्रसङ्गले लेखिएका हुन्थे कि उनी आफै भावुक भई गह भिजाउँथे र मलाई पनि नमीठो पार्थे । तर राजनीतिक विषयमा कुरा गर्दा सम्झौता विहीन तरिकाले च्याँठिएका यस्ता तर्क प्रस्तुत गर्थे कि साधारण रूपले सामना गर्न गारो पथ्र्याे । सायद त्यो बेला र त्यस ठाउँमा उनको बहुआयामिक भावना बुझ्ने व्यक्ति म मात्रै थिएँ ।
यस्तै अनेक प्रसङ्गहरूले किशोर कालदेखि नै म साहित्यतिर आकर्षित हुँदै गएको थिएँ । तर जब म क्याम्पस जीवनमा विज्ञानको विद्यार्थी भएर राजनीतिक कार्य गर्न थालेँ, तब मेरो साहित्यप्रतिको लगाउ टाढिदै गयो । हुन त केही छोटो समय भए पनि त्यस बेलाका मेरा दौतरी साहित्य प्रेमी साथीहरू मदन कोइराला, बिमल कोइराला, महेश प्रसाईं, इन्दिरा शर्मा, विष्णुविभु घिमिरे, नरेन्द्र घिमिरे, अशेष मल्ल, विक्रम सुब्बा, जङ्गब चौहान, प्रमोद प्रधान आदिसँग पनि निकै साहित्यिक गोष्ठीहरूमा सहभागी भएँ । तर मेरो त्यस बेला विकास भएको परिस्थितिले नजिक भइरहने अनुमति दिएन ।
वास्तवमा ‘हावा नचली पात हल्लिन्न’ भन्ने उखान झैँ प्रेरक प्रसङ्ग नभई नयाँ साहित्य सिर्जना गर्न सकिन्न । भानुभक्तले पनि घाँसीको जबाफबाट प्रेरणा पाएर रामायण लेखी आदिकवि भएका थिए । तर मेरो भने कुनै एउटै मात्र प्रेरक प्रसङ्ग छैन । यी माथिका प्रसङ्गहरूले जे जति अर्थ लगाउँछ त्यति नै मेरा साहित्यप्रति प्रेरक प्रसङ्गहरू हुन् ।
प्रश्न ः भौतिक विज्ञान र भाषाविज्ञान वा साहित्यमा कस्तो तालमेल देख्नुहुन्छ तपाईं ? यी दुईमा केही तालमेल छ भन्ने लाग्छ र ?
उत्तर ः अवश्य पनि केही आधारभूत तालमेल हुनपर्छ यिनका माझमा । तपाईं नै भाषा साहित्यको विशेष विद्वान् हुनु भएकोले यसबारे जानकारी पनि होला नै । तैपनि म मेरा हिसाबले यसको उत्तर दिऊँ है । अँ त, भाषा भनेको अभिव्यक्तिको माध्यम हो । आमाको गर्भबाट प्रकृतिमा पाइला टेकेको समयमा वातावरणसँगको पहिलो प्रतिस्पर्धात्मक चुनौतीपूर्ण अभिव्यक्ति नवजात शिशुको मुखबाट निस्कने ‘च्याँ’ भन्ने ध्वनि हो । वातावरणको भौतिक वस्तुहरूको सम्पर्कसँग संवेदना जनाएको त्यो सूचक हो । त्यही ‘च्याँ’ ध्वनि बालकको वृद्धिसँग अर्थपूर्ण भावनाहरू गाँसिँदै गई परिपक्व हुँदा जटिल भावनाहरू सञ्चार गर्ने माध्यम ‘भाषा’ बन्छ । अर्काेतिर भौतिक विज्ञान विषयको ‘ध्वनि’ भन्ने एउटा प्रमुख पाठ हुन्छ । यही खण्डमा ‘ध्वनि’ सम्बन्धी सबै क्रियाकलापहरू वर्णन गरिएको हुन्छ । यसले ध्वनि कसरी उत्पति हुन्छ भन्नेदेखि यो कसरी एक ठाउँबाट अर्को ठाउँतिर प्रसारण हुँदै जान्छ भन्ने कुराको विस्तृत व्याख्या विश्लेषण गरिएको हुन्छ । ध्वनि उत्पन्न हुन कुनै पनि भौतिक वस्तुमा कम्पन उत्पन्न हुनुपर्छ भन्ने आधारभूत ज्ञान पनि भौतिक विज्ञानले नै दिन्छ । वस्तु कम्पनबाट उत्पन्न भएका ध्वनिका तरङ्गहरूको गति पदार्थका (जस्तै, ठोस, तरल र वायु) बनोटमा भर पर्ने कुरा पनि सजिलै बुझ्न सकिन्छ । ध्वनिको गति र तीब्रता कम्पन उत्पन्न गराउने वस्त माथि भर पर्छ । स्वभावैले सानो वस्तु वा साँगुरो स्थानबाट कम्पन र ध्वनि प्रशारणको तीब्रता बढ्ने भएको हुँदा सानो वा सुरिलो स्वर निस्कन्छ । यसको उदाहरण महिलाहरूका स्वर यन्त्र सानो र साँगुरो भएकोले खिरिलो वा सुरिलो स्वर निस्कनु हो । अर्कोतिर पुरुषहरूको स्वर यन्त्र (भोकल कर्ड) ठूलो र लाम्चो हुन्छ, फलस्वरूप स्वर पनि धोद्रे र ठूलो सुनिन्छ ।
अब त्यही स्वरयन्त्रबाट निस्केको ध्वनि जब मुखे ओडार (भोकल क्याभिटी) मा आई हुरमुरिदै प्रतिध्वनित (रिजोनेट) हुन थाल्छ, अनि ध्वनि तरङ्ग यता र उता ठोकिंदा विभिन्न आवाजहरू उच्चारित हुन थाल्छन् । त्यही ठक्करबाट उच्चारित आवाजलाई विभीन्न अर्थ लगाउँदै जाँदा शब्द संरचना हुन थाल्छ । त्यसरी मुखभित्रको जिभ्रो कहिले मुखे ओडारको छानातिर त कहिले भुइँतिर, कहिले अगाडिको दाँततिर त कहिले पछाडिको नाकको प्वालतिर बटारिँदै ठोकिँदा अनेक आवाज पैदा भई बाहिर निस्कन थाल्छ । यसर्थ भाषाको उत्पति नै त्यही जिभ्रोको फिटाइको कारणले गर्दा भएको हो । विश्वका अनेक भाषाका वर्णमालाहरू बनिएका हुन् । त्यही आवाजलाई अङ्ग्रेजी भाषामा ‘ए देखि जेड’ सम्ममा अटाएको छ भने नेपाली देवनागरिक भाषालाई ‘क देखि ज्ञ’ सम्मको वर्णमालामा अटाइएको छ । यी वर्णमालाहरूलाई आफ्नै प्रकारको सङ्केत अर्थात् अक्षरले लिपिबद्ध गर्ने चलन पनि चलेकोले पुस्तकहरू तयार भएका छन् । आधुनिक एक्काइसौं शताब्दीको कल्पयन्त्रीय युगमा त यी वर्णमालाहरूको दुरुस्त ध्वनि कल्पयन्त्रको किबोर्डमा पनि तालमेल मिलाएर आफै पढ्न सक्नेसम्म पनि प्रविधि विकास गरेका छन् । यसको ज्वलन्त उदाहरण, हाम्रै देशका वरिष्ठ इन्जिनियर हिमप्रसाद गौतमद्वारा निर्मित नेपाली युनिकोड वर्णमाला पढ्ने यन्त्रप्राण (सफ्टवेयर) दृष्टिवाचक हो । यस यन्त्रप्राण बनाउनको लागि हिमजीले कठोर परिश्रम गर्दै कल्पयन्त्रको किबोर्डको हरेक अक्षरमा नेपाली भाषाको ध्वनिप्रतिस्थापित गर्नु भएको छ । यसर्थ यसले एकएक अक्षरदेखि शब्दशब्द, वाक्यवाक्य हुँदै परिच्छेद वा पुरै दस्तावेज ध्वनि सङ्केतद्वार पढेर सुनाउन सक्छ । अनि भन्नुस्, विज्ञान र प्रविधिले भाषालाई यन्त्रभित्र अटाउन सक्यो कि सकेन ? यसर्थ पनि भाषा र विज्ञान बीचमा एकदमै नजिकको सम्बन्ध छ । अर्को एउटा मेरो जीवनको मध्यान्तरतिर भाषा सम्बन्धी अनुसन्धान र अध्ययनबाट प्राप्त केही अनुभवहरू पनि यहाँ कोट्याउन मन लाग्यो ।
२०४९(५० तिर वरिष्ठ साहित्यकार शिवकुमार राई तथा वरिष्ठ भाषाविद् बालकृष्ण पोखरेलका प्रमुख आतिथ्यतामा झापा जिल्लाको दमक नगरीमा सम्पन्न ‘किरात राई खम्बु भाषा तथा साहित्य सम्बन्धी त्रिदिवसीय अधिगोष्ठी’ मा सहभागी भएको सम्झन्छु । उक्त अन्तरराष्ट्रिय स्तरको अधिगोष्ठीले मेरो संयोजकत्वमा ‘किरात राई भाषा तथा साहित्य परिषद्’ गठन गरेको थियो । सो परिषदको कार्यकालमा म राई भाषी बसोबास गरिएका प्राय सबै ठाउँमा पुगेर प्रारम्भिक भाषिक सर्वेक्षण गर्दा जम्मा २६ वटा राई भाषाहरू अझै जीवित रहेको पाएँ । यही कुरा प्रमाणित गर्न ‘किरात राई तुलनात्मक शब्दसङ्ग्रह’ नामक पुस्तिका प्रकाशित गरिदिएँ । ‘दश राई, दश भाषा, तर एउटै भान्सा’ भन्ने भनाइबमोजिम भान्सा एकै हो भने संस्कार पनि एउटै होस् भनी ‘दुवाङ दुम् शामकालीन’ (राई जातिको संस्कार र संस्कृति सम्बन्धी पुस्तक) नामक पुस्तक सम्पादन गर्दै प्रकाशन गराइदिएँ । यस पुस्तकले राई समाजमा भएको संस्कारगत विविधतामा एकरूपता ल्याउला भन्ने सोचेको थिएँ । तर यस कार्यलाई पनि विवादमा मुछिदिए । सोही अवधिमा मलाई भाषा विज्ञान सम्बन्धी ज्ञान आवश्यकता परेकोले त्रि वि भाषा विज्ञान विभाग तथा नेपाल एसियाली अध्ययन केन्द्रले आयोजना गरेका धेरै भाषिक कार्यशाला गोष्ठीहरूमा सहभागी भएको थिएँ । त्यही बेलादेखि औपचारिक रूपमा ‘भाषा विज्ञान पनि भौतिक विज्ञानकै एउटा भाग ‘ध्वनि’ सँग सम्बन्धित एउटा विषय हो भनेर महसुस गरेको थिएँ । यसैले भन्न सकिन्छ भाषा विज्ञानसँग भौतिक विज्ञानको पनि निकटकै सम्बन्ध रहेको छ ।
प्रश्न ः तपाईको शारीरिक अवस्थाका विषयमा केही भन्नु पर्दा मलाई बडो दुःख लाग्छ, दुर्भाग्य नै भनौं तपाईं दृष्टिअपाङ्ग हुनु भो । तर दृष्टिवान्हरूका भन्दा पनि अधिक लेखन, अध्ययन, पठनपाठन, प्रकाशन, परिमार्जन, जस्ता कुराहरू तपाईं गरिरहनु भएको छ । यो कसरी सम्भव भइरहेको छ ?
उत्तर ः मैले यहाँको अघिल्ला प्रश्नको उत्तरमा नै म कसरी आँखाको समस्यामा जाकिएँ भन्ने कुरा थोरबहुत बताइसकेको छु । वास्तवमा तपाईंलाई नढाँटी भन्ने हो भने मैले यो उपाधि सितिमितीमा हासिल गर्न सकेको होइन । पौराणिक कालका ऋषिहरूले गर्ने कठोर तपस्या भन्दा पनि कठोर परिश्रम गरी युरोपको केन्द्र जर्मनीमा बसेर आफ्नो विद्यावारिधीको शोधग्रन्थ तयार पार्न सफल भई नेपाल फर्केको हुँ । मेरो विद्यावारिधी अध्ययन चालिस वर्षे उमेर ढल्किसकेपछि सुरु गरेको हुनाले युरोपको विश्वविद्यालयबाट छात्रवृत्ति पाउने कुरै भएन । यसर्थ सीमित अवधिको लागि भए तापनि आर्को नेपाल भन्ने कछुवा संरक्षण संस्थाले प्रदान गरेको आवासीय सहयोग र विश्व वन्यजन्तु कोष र जर्मनी रिसर्च काउन्सिलको यातायात सहयोगमा शोध ग्रन्थ लेख्न जाने र बस्ने व्यवस्था मिलाएको थियो । मैले त्यहाँ सीमित तोकिएको अवधि भित्रै चुनौती पूर्ण शोधग्रन्थ तयार पारी बुझाएको हेर्दा मेरो आफ्नै पिएचडीका निर्देशक प्रा.डा.हर्मन स्ल्याइख र म्युनिख विश्वविद्यालय, प्राणी तथा मत्स्य विज्ञान संस्थानका अध्यक्ष प्रा.डा.एडुल्फ हफ्म्यान अति प्रभावित भएछन् । अनि मलाई नेपाल फर्कने बेलामा कार्यालयमा बोलाई ‘तिमी यति मेहनती रहेछौ कि हामीले नपत्याएको कुरा शोधपत्र यति चाँडै तयार पार्न सफल भयौं । यस्तो तिमीले गरेको अनुपम कार्यको लागि यहाँको विश्वविद्यालयको नियमले गर्दा केही सहयोग गर्न सकेनौं । तर दुख नमान, तिमीलाई हामीले ‘पोस्ट डक्टरेट अध्ययनको लागि विश्वविद्यालयबाट अनुदान उपलब्ध गराउने सल्लाह गरेका छौं । प्रो हर्मनको सिफारिसमा म आफै आन्तरिक निर्देशक बसौला । तर तिमी छ महिनाभित्र आफ्नो पिएचडीको औपचारिक प्रमाणपत्र लिएर यहाँ फर्किनू । यहाँ एक वर्षे अध्ययन कालमा छ महिनाको लागि आफ्नी स्पाउज (श्रीमती) पनि ल्याउन पाउने छौ । यसरी हामीले तिमिलाई विश्वविद्यालयको तर्फबाट पनि सहयोग गर्न सक्नेछौं ।‘
यही माथि उल्लेखित लोभलाग्दो आश्वासन बोकेर नेपाल फर्केको हुन्छु । त्यसपछिको मेरो के कस्तो दुर्दशा भएको थियो भन्ने कुरो ‘मेरो अनुसन्धान यात्रा’ नामक पुस्तकको अन्तिम परिच्छेद ‘डस्टबिनबाट फर्केको मेरो पिएचडी’ भन्ने शीर्षकमा सब बिस्तार गरेको छु । ‘समयले जवानी लुटेपछि आयौं’ भन्ने गजललाई सम्झिँदै आफ्ना विगतलाई दाँज्ने गर्छु । मौका आउँछ पर्खदैन’ भने झैँ मेरो अवसर मबाट कहिलै नफर्किने गरी टाढा पुगिसकेको थियो । किनकि, छ महिनाभित्र म्युनिख फर्किने सपना बोकेर आफ्ना लत्ताकपडा पनि उतै छोडेर आएको मान्छेलाई आफ्नै देशको विश्वविद्यालयले दुई वर्ष झुलाइदिन्छ । अनि त पोस्ट डक्टरेट पढ्न जर्मनी जाने सपना चकनाचूर भयो । यो मेरो लागि निकै असह्य पीडा बन्यो । मानसिक पीडाको चोट एक्कासी आँखामा पर्दा दृष्टि विचलित भएर गयो । त्यसपछि पनि हरेश नखाई आँखाको उपचार चाँडो भन्दा चाँडो गरी निको पार्न एकपछि अर्को उपचारहरू (लेजर र अपरेशन चार पल्ट) गराउन थालेँ । काठमाडौंको शिक्षण अस्पताल र तिलगङ्गा आँखा अस्पतालको उपचारले पार नलगाएको हुनाले चेनाइको शङ्करा नेत्रालयको शरण परेँ । त्यहाँ पनि लगातार दुई वर्षसम्म उपचार गराएँ । तर एउटै आँखालाई चारपल्ट भन्दा बढी शल्यक्रिया गरेकोले अब अरू थप उपचार हुन नसक्ने साथै दृष्टि बढ्न सक्ने अवस्था पनि आशाजनक नभएको वास्तविकता डाक्टरले बताउँछन् । त्यसपछि जति बचेको छ त्यति दृष्टिलाई पनि बचाइ राख्न आजीवन दबाई लगाइरहनु पर्ने सल्लाह पनि दिन्छन् । यसरी आँखा उपचारको प्रसङ्गमा पनि पूर्ण विराम लाग्छ ।
यस्तै उपचारपछि जब म आफ्नो गृह नगर फर्केर रोजी रोटीको लागि क्याम्पस जान थाले, तब मलाई पढ्न र पढाउन समस्या महसुस हुन थाल्छ । अति कहालीलाग्दो निराशाजनक दिनहरू सुरु भएको आभास हुन्छ । ठीक यस्तै बेला विश्वविद्यालय पढ्दाका एक घनिष्ठ साथी जीवन प्रसाईले अर्का उदार हृदय भएका हिमप्रसाद गौतमज्यूसँग भेट गराइदिनु भयो । उहाँले फोनबाट पहिलोपल्ट कुरा गर्दै ‘दृष्टि गुम्यो भनेर नआतिनु होस् । अहिलेको विज्ञान तथा प्रविधिले दृष्टि अपाङ्गहरूका लागि पनि पूर्ववत् जीवनमा पुनःस्थापना गर्ने थुप्रै सहयोगी उपकरण तथा यन्त्रप्राणहरू बनाएका छन् । म झापा आउँदा घरमा आई कम्प्युटरमा लेख्न र पढ्न सिकाउँला । तपार्इं प्रोफेसर भइसकेको मानिस, केही महिनाभित्र जानी आफ्नो पठन पाठनमा पहिले जस्तै फर्किनसक्नु हुनेछ …आदि ।‘ यी हरेक वाक्यहरू मलाई कुनै अलौकिक आकाशबाट देवदूतले पठाएको दिव्य वाणी श्रवण गरिरहेको जस्तो लाग्यो ।
जीवनजीले फोन गर्नु भएको आधा घन्टा पनि बित्न नपाउँदै यी माथिका वाणीहरू एक अपरिचित व्यक्तिले भनेको सुन्दा ‘विश्वास गरूँ वा नगरूँ को स्थितिमा पुगेँ । कम्प्युटरको की बोर्डका अक्षरहरू पनि धमिलिएर केही चिनिदैनन् । मोनिटरको आइकोनहरू पनि हेर्दा हेर्दै बिलाएर जान थाल्छन् । अनि भरखरै आएको फोनको चिनी भन्दा गुलियो आश्वासन सम्झेर दिउसै सपना देख्न थाल्छु । झन् छट्पटी बढ्छ । हुन त इन्जिनियर जस्ता मान्छेले बोलेको कुरो झूटो त नहुनु पर्ने ? कि साँच्चै म अब आफै पढ्न र लेख्न सक्ने हुन्छु त ? यस्तै तर्कनाले दिनहरू बित्दै जान्छन् ।
तर आफ्नो कुराको पक्का हुनुहुँदो रहेछ वरिष्ठ इन्जिनियर हिमप्रसाद गौतम । एक दिन अचानक भावी झै भएर मेरो आँगनमा झुल्किनु भयो । उहाँको अनुहार त देख्न सकिन तर मानिस अति फुर्तिला र फर्साइला हुनुहुँदो रहेछ । भेटको औपचारिकता पनि पुरा नगरी सिधै ‘तपाईको कम्प्युटर कहाँ छ ? भन्दै अघि बढ्नु भयो । मैले आफ्नो अध्ययन कक्षमा पुर्याइ कम्प्युटडर देखाइदिएँ । उहाँ एकछिन पनि समय खेर नफाली कम्प्युटर खोलेर कार्यक्रम मिलाउन थाल्नुभयो । एकातिर मलाई मनोबल उकास्ने अनेक उदाहरणीय कुराहरू बताइरहनु भएको थियो भने अकोतिर उहाँका हातका औँलाहरू कम्प्युटरमा नयाँ सफ्टवेर भित्राउने कार्य गरिरहेका थिए । बोली अति प्रष्ट साथै तीब्र पनि भएकोले थोरै समयमा धेरै कुरा बताउनु भयो । उहाँले बताउनु भएको सबै कुरा एकै दिनमा सम्झिनु मेरो दिमागले पनि नभ्याउला झैँ बन्यो । करिब आधा घन्टा पछि त मेरो कम्प्युटरको की बोर्डका हरेक की छुँदा कम्प्युटर बोल्न पो थाल्यो । म छक्क परेर सुनिरहें । त्यसपछि एउटा फायल खोलेर त्यहाँ लेखिएका वाक्यहरू कम्प्युटरले प्रष्टसँग पढेको सुनाउनु भयो । त्यसपछि अर्को खाली माइक्रोसोफ्ट डकुमेन्ट खोलेर मेरो नाम, आफ्नो नाम आदि फर्र लेखेर जस्ताको त्यस्तै पढेको सुनाउनुभयो । पहिलो पल्ट यस्ता कुरा हेर्दा र सुन्दा जादु चमत्कार जस्तो लाग्यो । यो कसरी सम्भव भयो भन्ने कुरा हिम सरले फर्र बताउनु भयो । यसरी पढेर सुनाउने यन्त्रप्राण रहेछ ‘जाउज’ । यसले अङ्ग्रेजी भाषा र लिपिलाई मात्र पढ्ने कुरा पनि बताउँदै नेपाली भाषा र लिपि अर्को यन्त्रप्राण आफै बनाउनु भएको ‘दृष्टिवाणी’ रहेछ । त्यो पनि मेरो कम्प्युटरम भित्राइदिनुभयो । त्यसपछि दृष्टिवाणी चलाउने तरिका सिकाउन थाल्नुभयो । युनिकोड नेपाली वर्णमाला कसरी लेख्ने भन्ने आधारभूत तरिका बताउँदै अभ्यास पनि गराउनु भयो । बाल्य कालमा बारखरी पढ्दा गुरुले हात समातेर लेख्न सिकाए झैँ मात्रा प्रयोग गर्ने विधिसमेत सिकाउनु भयो । यही थियो गुरु हिम सरले मेरो निभ्न लागेको ज्ञानको ज्योति बाल्न प्रारम्भ गरेको प्रथम दिन !
त्यसपछि भने दैनिक अभ्यास गर्दै जाँदा तीन चार महिनाम अङ्ग्रेजीमा पढ्न र लेख्न सक्ने भएँ । तर नेपाली भने पढ्ने बाहेक लेख्ने कार्य गर्न निकै दिन बिताउनुपर्यो । म नेपाली व्याकरणमा कमजोर पनि भएकोले जति लेख्थे प्राय व्याकरणीय दृष्टिकोणले गलत हुँदोरहेछ । तर मेरा सहकर्मी साथी होम सुवेदी सर अर्थात् तपाईं नै प्रायः दैनिक आएर मैले लेखेको हेर्दै सुधार्न लगाउनुहुन्थ्यो अथवा सच्याइदिनु हुन्थ्यो । नेपाली भाषा लेखनका अनेकौँ सूत्रहरू सिकाउनुभयो । यसर्थ मैले आफ्नो प्राज्ञिक उन्नयनलाई साथी भाइकै सहयोगले उकास्न थालेँ । केही वर्षअघि त झन् हिम सर पुन आई मेरो कल्पयन्त्रमा नेपाली व्याकरणको हिज्जे जाँचकी भन्ने यन्त्रप्राण स्थापित गरिदिनु भयो । त्यसपछि त नेपाली लेखन पढ्न स्वयम् गर्न सक्ने भएको छु ।
यति सिकेर मात्र अहिलेको एकाइशौं शताब्दीसँग प्रतिस्पर्धा गर्नु सम्भव थिएन । तसर्थ इन्टरनेटका तरङ्गहरू चलाउन तथा अन्य प्रस्तुतीकरण गर्न सिक्न वरिष्ठ इन्जिनियर गुरु हिम सरले काठमाडौंको अनामनगरमा अवस्थित एउटा नेपाल अपाङ्ग पुनःस्थापना केन्द्रमा गई कम्प्युटरको आधारभूत कोर्सको कक्षा लिने सल्लाह दिनुभयो । त्यस केन्द्रका निर्देशक सुगम भट्टराईजीसँग पनि सम्पर्क गराउनुभयो । त्यहाँ मैले अति अनुभवी प्रशिक्षकहरू क्रमशः सागर प्रसाई, सीता धवला, सुशील अधिकारी आदिबाट विद्युतीय तरङ्गहरू सञ्चालन गर्ने सबै विधिहरू सिक्ने मौका पाएँ । त्यसपछि शिक्षण गर्दा वा गोष्ठीहरूमा कसरी स्लाइड बनाएर प्रस्तुत गर्नसकिन्छ भन्ने कुरा सिक्ने र अभ्यास गर्दै आफूलाई सबल बनाउन प्रयास गरेँ । त्यसपछि अहिलेको युगमा सामाजिक सूचना आदान प्रदान गर्ने अति उपयोगी बनेको सामाजिक सञ्जाल (फेसबुक वा मुहारपुस्तिका) चलाउने पनि तालिम लिएँ । त्यति मात्र होइन हिँडडुल गर्न आत्मनिर्भर हुनको लागि स्वेत छडी प्रयोग गर्ने विधि समेत सिक्ने मौका पाएँ । हो त्यहाँबाट फर्के पछि भने अब म पनि आफै बाँच्न सक्ने रहेछु भन्ने आत्मविश्वास जागेर आयो ।
त्यसपछि भने मैले साहित्य पढ्ने र आफूलाई मन परेको पुस्तक भए समीक्षा पनि तयार पार्ने गर्न थालेँ । मुहारपुस्तिकामा प्रकाशित विभिन्न साहित्यकारहरूले प्रकाशित गरेका लेख, निबन्ध, कथा, कविता पनि नियमित पढ्न थालेँ । आफूलाई मन परेको कसैको भनाइ माथि टिप्पणी पनि गर्न थालेँ । त्यति मात्र होइन पावरप्वाइन्ट प्रस्तुतीकरण विधिबाट आफ्नो रुटिन अनुसार कक्षाहरू पनि लिन थालेँ । यसरी मैले आफूलाई विभिन्न साथी र सहयोगीहरूको सहायताले पुनःस्थापित गर्न सफल बने । यही सफलतासँगै साहित्य सिर्जना गर्ने बाटो पनि खुल्दै गएको हो । अहिले भने म आफ्ना अनुसन्धानका विद्यार्थीहरूले लेखेका शोध पत्रलाई पनि सफ्ट कपी मगाएर सम्पादन गरिदिने, सुझाउ पठाउने तथा परिमार्जन गर्ने नियमहरू सिकाउने गर्दैछु । म कम्प्युटरमा भएका चित्रहरू बाहेक अन्य सबै कार्य यथावत् गर्न सक्छु । यही आत्मविश्वास बढेकोले जिउने आधार भेटाएको छु । यिनै कुराहरुले गर्दा असम्भव ठानिएको कुरा सम्भव भएको हो ।
प्रश्न ः नेपालमा सरीशृपबारे तपाई नै पहिलो ज्ञाता हो भन्ने मलाई लाग्छ, यस क्षेत्रमा तपाईं भन्दा यताको पुस्तामा के कति काम भइरहेको छ वा भइरहेको छैन ? कृपया केही बताइदिनु होला ।.
उत्तरः हो, एक नेपाली नागरिक भएर नेपालकै सरीसृपमा विद्यावारिधि गर्ने म नै पहिलो व्यक्ति हुँ । हुनत म भन्दा अघि सरकारी निकायबाट अमेरिका गई त्यहीको गोही विषयमा विद्यावारिधि गर्ने व्यक्ति स्व. डा तीर्थमान मास्के हुन् । तर उनी नेपालको सरीसृपबारे अनभिज्ञ नै थिए । उनीपछि हाम्रै त्रिविका प्रकृति सङ्ग्रहालयका केबी साहले सुरु गरेका थिए तर पूरा नगरी बिचैमा छोडेर फर्किए । उनी पछि तत्कालै सोही सुपरिवेक्षकसँग मैले नै नेपालको हर्पेटोफाउना नामक विषय राखी नेपालमै विद्यावारिधिको अनुसन्धान कार्य सुरु गरेँ । म नै पहिलो व्यक्ति हुनुको नाताले हुनसम्मको भुक्तमान पाएर पनि अन्तिममा विद्यावारिधि उपाधि प्राप्त गरेरै छोडेँ ।
म पछि यो विषयलाई लोकप्रिय बनाउन स्नातकोत्तर तहका विद्यार्थीहरूलाई प्रोत्साहन दिदै करिब दश जना भन्दा धेरैलाई शोध कार्य गराएँ । म आफै गाइड बसेर विद्यावारिधि गराउन केबि लिम्बू, मिलन खरेल, नबिन भट्टराई आदिलाई स्वीकृति दिएको थिएँ । तर पछि कसैले स्थगन गरेका छन् भने केहीले गर्ने प्रयास गर्दै छन् । यसको अतिरिक्त विद्यावारिधिको लागि रेफ्री (बाह्य निर्देशक) पनि केही शोधकर्ताको लागि बसेको छु । जस्तै ( आफ्नै देशका हरेराम देवकोटा (नेपालका खाइने भ्यागुताहरू वा पाहाहरू), मैले नाम बिर्सेका एक जना देव नामक व्यक्ति (नेपालका सर्पहरू), जनक खतिवडा (नेपालका ठकठके वा पानी छेपारोहरू वा क्रोकोडाइल स्यालामान्डर बारे), आदि । यसै गरी विदेशी विद्यार्थीमा सिक्किमकी वर्षा सुब्बा (सिक्किमका उभयचरका वर्गीकरण र वितरण, आट्री विश्वविद्यालय, दक्षिण भारत), म. खान (पाकिस्तानका भ्यागुताको वितरण बारे) हुन् । अहिलेसम्म मलाई जानकारी प्राप्त भए अनुसार मिस्टर देवले मात्र नेपालको सर्पहरुका बारेमा विद्यावारिधि प्राप्त गरी नेपालका म पछि दोस्रोडाक्टर बनेका छन् । हेर्नुस् यो विषयमा अध्ययन अनुसन्धान गर्नु निकै जोखिम पूर्ण हुन्छ । सरीसृपहरूमध्ये सर्पजाति विषालु भएकाले हतपत त्यसमा काम गर्न रुचाउँदैनन् । गोही, गोहोरो, कछुवा, छेपाराहरू पनि नङ्ग्रा, काँडा र तीखा दाँत भएकाले अलिकति पनि सावधानी पुर्याएन भने ज्यान जान सक्छ । तुलनात्मक रूपमा उभयचरहरू भने खस्रे समूहका केही विषालु जस्ता भए तापनि अधिकांश भ्यागुताहरू हानीनोक्सानी नपुर्याउने बरू कीटभक्षी भएर मानव जातिलाई फाइदा नै पुर्याउने खालका हुन्छन् । अहिलेसम्मको अध्ययन अनुसन्धान अनुसार नेपालमा जम्मा सरीसृपका १३० प्रजाति र उभयचरका ५६ प्रजाति पाइएको छ । यो त मेरो अनुसन्धान कालसम्मको मात्र तथ्याङ्क हो । अब सर्भेक्षण गर्ने हो भने कति त नयाँ पाउन सकिन्छ वा पाएका के कति लोप भइसके त्यो भने अध्ययन हुन बाँकी नै छ । यसर्थ यसको आवधिक रूपमा राष्ट्रले सर्वेक्षण गर्न जरुरी छ ।
प्रश्न ः नेपालमा सीमसार क्षेत्रको कस्तो स्थिति छ ? यो लोप हुने स्थितिमा छन् वा संरक्षित स्थितिमा छन् ? तपाईंको जानकारीमा के कति काम भइरहेको छ ?
उत्तर ः हेर्नुस् नेपालको सिमसारबारे भन्नु पर्दा कस्ता कस्ता क्षेत्रलाई यस नामले चिन्न सकिन्छ भन्ने कुरा बुझ्न जरुरी छ । सामान्य रूपले हाम्रो परम्परा अनुसार जहाँ वष भरी पानी पलाएर हिलो अवस्थामा रहन्छ त्यसलाई सीम भन्ने चलन छ । तर अहिले यसको परिभाषा फराकिलो बनाउँदै एक दिन होस् वा वर्षभरी पानी जमिने धरातललाई सिमसार भनिएको छ । अझ यसलाई इरानको रामसार भन्ने ठाउँमा सम्पन्न भएको सिमसार संरक्षण सम्बन्धी महासभा (कन्भेन्सन अन रामसार वेटलेन्ड साइट) ले भने ‘सिम होस् वा दलदल वा पानी र जमीन जोडिने स्थानका क्षेत्रलाई सिमसार भन्न सकिन्छ’ भनिएको छ । यसको उदाहरण तलाउ, पोखरी, कुण्ड, सिम, दलदल, होली, नदीहरू, खोल्सा खोल्सीहरू, जलाधार वा मूल पानीहरू, सिमखेत, नदीको तटबन्दी इलाकाहरू, ठूला बाँध पैनी, नहर आदि सबै सिमसारकाउदाहरण हुन् ।
हाम्रो देशमा पनि कृषि विभागको सन् १९९२ को प्रतिवेदन अनुसार नेपालको कूल क्षेत्रफलमध्ये करिब पाँच प्रतिशत अर्थात् ७४३५०० हेक्टर जमीन सीमसारले ओगटेको छ । यसैभित्र करिब ६००० नदी तथा खोलानालाहरु पर्छन् भने बाँकी ताल, पोखरी, बाँध, जलाधार, दलदल, होली, आदि पर्छन् । यी सिमसार क्षेत्रमा आधारित भएर बस्ने जम्मा ५५० प्रजातिहरू छन् । यसमध्ये मत्स्यका २८ प्रजाति, उभयचरका सबै ५८ प्रजाति, कछुवाका ९ प्रजाति, सर्पका २० प्रजाति, चराका ४६१ प्रजाति र स्तनधारी जन्तुका ३२ प्रजातिहरू बस्ने गर्छन् । यसबाट पनि थाहा हुन्छ हाम्रो देशका सिमसारहरू जैविक विविधताले धनी छन् । यी सिमसार जन्तुहरू धेरै झैँ रैथाने प्रजातिका स्थायी वासीहरू छन् भने केही प्रजाति भने आप्रवासी प्रजातिको रूपमा जाडो वा गर्मी ऋतुमा मात्र आगन्तुक हुने समूहमा पर्छन् ।
वर्तमान जलवायु परिवर्तन र त्यसले जैविक विविधता माथि पारेको असरलाई हेर्दा सिमसार संरक्षण अवस्थालाई उत्साहजनक मान्न सकिन्न । जनसङ्ख्याको अनियन्त्रित बसोबास, सहरीकरण, वनविनाश, अत्यधिक ऊर्जा खपत, विकाश निर्माणको अभियान आदिले बिस्तारै ताल तलैया, जलाधार, मूल, खोल्सा, होली, पोखरी अतिक्रमित हुँदा लोप हुने खतरामा पर्ने मात्र होइन, कैयौं सिमसारहरू सधैँको लागि लोप भइसकेका छन् । अन्तरराष्ट्रिय रामसार महासन्धीलाई नेपालले पनि सन् १९८७ मा आफ्नो देशमा लागू गर्न अनुमोदन गरिसकेको छ । यही महासन्धी लागू गर्ने क्रममा लुम्बिनी ताल, घोडाघोडी ताल, नाग दह आदि पहिलो पल्ट घोषित रामसार सिमसार संरक्षित क्षेत्रहरू हुन् । त्यसपछि क्रमशः बीस हजार ताल, जगदीशपुर बाँध, कोशी टप्पु, माइपोखरी आदि ठाउँहरू पनि संरक्षण सूचीमा परिसकेका छन् । यसका अतिरिक्त अन्य महत्वपूर्णका अन्य पोखरीहरू पनि धेरै छन् तर ती रामसार क्षेत्र भन्दा बाहिर भएकोले व्यवस्थित हुन नसकी लोप हुने खतरातिर उन्मुख छन् । पूर्वाञ्चलका केही त्यस्ता पोखरीहरू यस प्रकारका छन् ः केचना झिल, बेतना पोखरी, किचक बध पोखरी, विराटपोखरी, अर्जुनधारा पोखरी, बुढो होली पोखरी, जामुनखाडी पोखरी, चउनी पोखरी, धनुषपोखरी, जलथल पोखरी, गौरादह पोखरी, कछुदह पोखरी, सप्तरङ्गी पोखरी आदि तराई क्षेत्रबाट र हाँस पोखरी, कालपोखरी, सुके पोखरी, जोर पोखरी, पोक्ना पोखरी, राजारानी पोखरी, तम्बे पोखरी, बराह पोखरी, रौता पोखरी, साल्पा पोखरी, दूध पोखरी, तिपतला पोखरी, सभापोखरी आदि पहाडी लोपावस्थामा पुगेका पोखरीहरू हुन् ।
नेपाल सरकारले पनि सन २००३ मा सीमसार संरक्षण नीति बनाएको छ । तर पनि यसलाई राम्रोसँग लागु गरिएको छैन । अनतरराष्ट्रिय नियम अनुसार ८ हेक्टरसम्म जमिन ओगटेको जलीय क्षेत्रलाई तलाउ (लेक) भनिन्छ र यही साइजको तलाउ वा जलीय क्षेत्रलाई मात्र रामसार क्षेत्र बनाउन सकिन्छ । तर त्यो भन्दा सानो आकारकाहरू पोखरी, जलाधार, निकटवर्ती क्षेत्र आदि यस्ता संरक्षण क्षेत्र भित्र पर्दैनन् । तर यी साना साइजका जलीय क्षेत्रहरू पर्यावरण संरक्षणको दृष्टिकोणले अति महत्वपूर्णका हुन्छन् । स्थानीय रूपमा हुने जलवायु परिवर्तनलाई नियन्त्रण गर्न सहयोगी बनेका हुन्छन् । यसर्थ पनि साना जलीय क्षेत्रलाई सिमसार संरक्षणकै स्तरमा संरक्षण र संबर्धन गर्नु जरुरी छ ।
प्रश्न ः अहिले तपाईं अध्ययन, मनन वा चिन्तन आदि के गर्दै हुनुहुन्छ ? कुन क्षेत्रमा लेखन कार्य गर्दै हुनुहुन्छ ?
उत्तर ः अहिले म समसामयिक साहित्य तथा अन्य प्रकाशनहरू हेर्ने, इन्टरनेटबाट ताजा खबर पढ्ने, पठन पाठनको लागि तयारी गर्ने साथै विज्ञान तथा वातावरण सम्बन्धी लेख लेख्ने गर्छु । यसको अतिरिक्त मेरो आत्मपरक आख्यान ‘बिर्सन लागेका तरेली’ नामक पुस्तक प्रकाशन गर्ने तरखरमा पनि लागेको छु । यस पुस्तकलाई सकभर यही वर्षभित्र प्रकाशन गर्ने मनशाय छ । पुस्तकको पहिलो सम्पादन दृष्टिवाचकका निर्माता हिमप्रसाद सरले गर्दै हुनुहुन्छ । उहाँ पछि त्यहाँ रहेका सामान्य सुधारका कुराहरू सुधार गर्दै प्रेसतिर पठाउने सोच राखेको छु । समय र परिस्थितिले साथ दियो भने यो काम चिताए जस्तै यही वर्षभित्र प्रकाशित हुन्छ होला । यसका अतिरिक्त मेरा अनुसन्धान गर्ने विद्यार्थी आउँदा उनीहरूसँगै छलफलमा व्यस्त हुन्छु । म सुखानी सहीद स्मृति पार्क, शनिश्चरे, झापाको ‘कछुवा उदार तथा संरक्षण केन्द्र’ को प्रमुख योजनाकार तथा वैज्ञानिक सल्लाहकारस माइपोखरी रामसार साइट संरक्षण तथा व्यवस्थापन समिति, इलामको प्रमुख वातावरणीय योजनाकार तथा सल्लाहकार, बेतना सिमसार संरक्षण तथा व्यवस्थापन समिति, मोरङको प्रमुख वातावरणीय सल्लाहकार, चन्द्रगढी सिमसार संरक्षण परियोजना, भद्रपुरको वातावरण सल्लाहकार साथै चउनी पोखरी सिमसार संरक्षण तथा व्यवस्थापन समिति, कोरोबारी, झापाको संरक्षक तथा योजनाकार रहेको छु । यसर्थ ती संरक्षण समितिबाट आउने साथीहरूसँग विशेष समय निकालेर संरक्षण कार्य प्रगति सम्बन्धी छलफल गर्ने गर्छु । कहिलेकाहीं तपाईं लगायत अन्य क्याम्पसका सहकर्मी साथीहरू आउनुहुन्छ । त्यस बेला पनि भलाकुसारीमा समय बिताउँछु । कहिलेकही आफ्ना नाता सम्बन्धी पनि आउँछन् । उहाँहरूलाई छुट्टै समय दिन्छु । पुस्तक सम्बन्धी कुरा गर्न टाढाटाढाबाट फोन आउँछन् । त्यसलाई पनि रिसिभ गरेर जबाफ दिँदै सन्तुष्ट पार्छु । यसै गरी अहिले मेरा दिनहरू बितिरहेका छन् ।
प्रश्न ः साहित्यकै कुरा गर्दा तपाई नेपाली साहित्यका निकै विधा अध्ययन गरेको झैँ लाग्छ मलाई, तपाईंलाई प्यारो लाग्ने विधा चैँ कुन विधा हो ? कथा, कविता, निबन्ध, उपन्यास, नाटक, समालोचना ?
उत्तर ः हुन त म साहित्यको सबै विधा मन पर्छ । जीवनको सुरुवाततिर मलाई ताना शर्माको ‘बेलायततिर बरालिँदा’ भन्ने पुस्तकले निकै प्रभाव पारेकोले नियात्रा साहित्य खोजी खोजी पढ्ने गर्थें । त्यस ताका म उपन्यास पनि कम पढ्ने मान्छे होइन । नेपालीमा नेपाल र भारतीय लेखकले लेखेको सबै विधाका पुस्तकहरू नबिराई पढ्ने गर्थेें । मेरो वीरगन्ज बसाइ एकलो बसाइ थियो । किनभने जीवनसँगी बुटवलमा बस्थिन् । त्यस बेला वीरगन्ज क्षेत्रीय पुस्तकालयमा भएको हिन्दी साहित्यका सबै उपन्यास, कथा, कविता, नाटक, समसामयिक मासिक, त्रैमासिक पत्रिका (सारीका, कादम्बिनी, मुक्ता, विजडम, समकालीन आदि) पढ्थें । त्यहाँ भएका अङ्ग्रेजी होस् वा नेपाली होस् वा हिन्दी सबै पढी सक्दा आफूलाई साँच्चै किताबी कीरा (बुक वर्म) भएको महसुस गरी बिस्तारी कम गर्दै लगेँ । पछि सबै परिवार वीरगन्जमा आएपछि भने पढ्ने फुर्सत पनि रहेन ।
तर जब म केही साहित्य रचना गर्न बस्छु तब आफ्ना भावनाहरूलाई समेट्न आख्यान वा संस्मरण साहित्य नै सहज लाग्छ । कविता कोर्न निकै मन लाग्थ्यो । कोरेको पनि छु प्रशस्त । माथि मैले मुनामदन पढेको प्रसङ्गबारे केही कुरा बताइसकेको छु । यसैमा थप कुरो उक्त मुनामदनको झ्याउरे गीति शैलीमा मिलाएर मैले पनि ‘प्रकाश बिन्दु’ नामक खण्ड काव्य तयार पारेको थिएँ । त्यो मैले त्यही स्कूले जीवन काल (आठ नौ क्लास पढ्दा होला) लेखेको थिएँ । आफूले लेखेको आफैले दोहोर्याउन बाहेक फेरि पढ्न सकिन र लुकाएर राखें । पछि क्याम्पस पढ्दा एक जना साथीलाई राख्न दिएँ । उनले पनि पढेर मलाई आफै लेखेउ कि के हो भनेर केर्न थाले । पछि उनकैमा राख्दा मुसाले खाइदिएछ । त्यस पछिका दिनहरूमा मैले अति प्रगतिशील (क्रान्तिकारी) कविता र गीतहरू लेख्न थालेें । गीत जति सबै लोकलयमा लेख्दै आफ्नो गाउँका प्रगतिशील गीति कार्यक्रमहरूमा प्रस्तुत गर्न थालेँ । कविताहरू राजनीतिक गोष्ठीहरूमा भन्ने गर्थें । यसरी मेरो विद्यार्थी कालको हरेक तहमा लेखिएका डायरीहरू अझै छन् । ती डायरी भित्रका कविताहरू अहिले पढ्दा आफैलाई उग्र लाग्छ । अनि देखाउन पनि मन लाग्दैन । तर त्यस बेला पनि मैले लेखेका यात्रा संस्मरण (शैक्षिक भ्रमण) लेखेको हेर्दा अहिले पनि आफैलाई आनन्द लाग्छ । त्यस बेलाका आन्दोलनको घटना क्रमहरूबारे पनि कहिले काहीं लेखेको हुन्थें । ती आख्यानहरू पनि अहिले उस्तै राम्रो लाग्छ ।
कथा वा उपन्यास लेख्ने पनि भावना कहिलेकाहीं प्रवल भएर फुर्छ, तर प्रसङ्गहरू काल्पनिकतिर लग्नु पर्ने बाध्यताले कलम चलाउन मन लाग्दैन । मेरो मुख्य भावना भनेको समाजको अन्धविश्वासलाई चिर्ने खालको वैज्ञानिक साहित्य पढ्न र लेख्न मन लाग्छ । यसर्थ म यात्रा संस्मरण लेख्न र पुस्तक समीक्षा गर्न मन पर्छ । लौ अब तपाई आफै अनुमान लगाउनु होस्, म कुन विधा रोज्छु होला !!
होम सुवेदी ः हस, सर नमस्कार ।
डा.केआर खम्बू ः नमस्कार सर ।
२०, २०७२ (जनवरी ४, २०१६)
भद्रपुर १०, भद्रशिवा मन्दिर मार्ग, क्याम्पस मोड, झापा ।
(टिप्पणी ः उहाँ कतिसम्म शुद्ध लेख्नुहुँदो रहेछ भन्ने कुरा बुझ्न पनि मैले उहाँको यस अन्तरवार्तालाई भरसक नसच्याई जस्ताको तस्तै राखेको छु —होम सवेदी )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *