पुसको कठ्याङ्ग्रिने जाडोपछि आज माघे संक्रान्तिको दिन बल्ल अलि न्यानो छ । बिहानको १० बजेको छ, घामको न्यानोमा नुहाउदैछन् सबै अनि म न्यु महाकाल मार्केटको मुखैको लामो हरियो रंगको बेञ्चमा । समय बलवान छ, समयका बलिया पाखुराहरुले हाम्रो चौरस्ताको रुप बद्लिएको छ । चारैतिर कङ्कृटका ठुला ठुला अटालिकाहरु, अनि चौरस्ता भित्रै गुडिरहने तीन चक्के इलेक्ट्रोनिक कार । समय बद्लियो, सत्ता र विचारपनि बस् बद्लिएको छैन त भानु र भानु जस्तै जनता जसले चुपचाप सहिरहेछ र हेरिरहेछ बद्लिदो दार्जीलिङ अनि बद्लिएको छैन मेरा यी दुई आँखा जसले बिगत ५० साल देखि त्यही बेञ्चबाट हेरिरहेछ देखिरहेछ मान्छेहरू र चौरस्ता । प्रत्येक दिन मेरा आँखा खोजिरहन्छ ….. अर्को आँखा ।

निकै समयदेखि होटेल सनफ्लवरको अगाडिपट्टिको बेञ्चमा एउटा यस्तै २५-२६ उमेरको केटो बडो अस्थिर देखिन्छ । ऊ घरी तुङ्सुङ्ग जाने बाटो छेउसम्म पुग्छ फर्किन्छ अनि घरी हातको घडी हेर्दै आफैसँग बोले झै गर्छ मानो उसलाई कसैको प्रतिक्षा छ । उसलाई हेर्दाहेर्दै कतिबेला बिगतमा डुबेछु पत्तो भएन । त्यही चौरस्ता, सनफ्लवर होटल अघिको त्यही बेञ्च अनि १७ सालको म, अस्थिर …. उत्साहित ….. कसैको पर्खाइमा । पर्खाइ संसार भुलेर हेरिरहन मन लाग्ने ती सुन्दर दुई नयनको …… पर्खाइ मेरी कामनाको । कति सुन्दर जोडी थियौ हामी …. समय जति नै बदलिए पनि, जस्तै परिस्थिति आएपनि हाम्रो माया बद्लने छैन, सम्बन्ध टुट्ने छैन भन्ने कसमहरूसँगै खाएका थियौ । तर जीवन सोचेजस्तो कहाँ हुन्छ र ! परिवर्तित समयका छालहरुले हाम्रो बलौटे सम्बन्धको धरातल कतिखेर भत्कायो थाहै भएन । १० सालको चोखो सम्बन्धमा कतिखेर भुइचालो आयो पत्तो भएन …….. अनि त्यही भुइँचालोको पराकम्पनहरुले हल्लाइरहन्छ झकझकाइरहन्छ आज जस्तै वर्तमानमा अतीतलाई ।

‘हजुर बाबा…. हजुर बाबा’ – को तीखो आवाजले म झसँग भए । मेरी १० वर्षकी नातिनी होसाना घर जाऊ न हजुर बाबा भन्दै मेरो हात तान्दै रहेछिन् । शीतकालीन बिदा भएकोले हामी बाजे नातिनी प्रत्येक दिन चौरस्ता आउने गर्छौ । एक हातले लाउरो अर्को हातले नातिनी होसानाको हात समाउदै म उठे …… पारी बेञ्चमा एक चोटि हेरे, बेञ्च रित्तो थियो ….. म मुसुक्क हाँस्दै होसानासित मालरोड तर्फ लागे ।

तिबेतन स्कुलको ठ्याक्कै माथि आइपुग्दा एकाएक भुइचालो नै आए जस्तो लाग्यो …..। ४० सालपछि आजफेरि त्यही दुई आँखा, कामना एउटा सानो झन्डै ७-८ सालको केटोलाई दोहोराउदै सुस्तरी आउँदै थिइन् । ४० वर्षपछि हामीसित उही समय थियो तर अफ्सोस आज त्यही समयले हामी दुइमाझ फरक असर पारेको थियो । हाम्रा आँखाले एकअर्कालाई हेरे । समय स्पीड रिभर्शमा गयो, हाम्रा चौरिएका छाला फेरि कलिला भए, हामी एकअर्काको कसिलो अँगालोमा बाँधियौ, गाला भिजायौ ….. अनि टाडियौ ……… ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *