Skip to content

लेखनाथको पिँजडाको सुगा


(उपजातिमा)
छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
तितो छ यो भाग्य सकिन्न जानी
मेरो छ बेग्लै नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
सर्वत्र यो मानवको समाज ।।

न पिन्जडाभित्र छ थोर चैन
खोजूँ कहाँ शान्ति यहाँ हुँदैन
न शान्तिको सास सकिन्छ फेर्न
संसार नौलो सकिएछ हेर्न ।।

न बन्धु छन् वा न त इष्टमित्र
रहेन त्यो शान्ति यहाँ म भित्र
ब्युँझो छँदा शान्ति यहाँ रहेन
निधाउँदैमा पनि पाइएन ।।

मेरा सबै बान्धव बाबु आमा
बस्छन् र उड्छन् वनका कुनामा
छन् ताप मेरा मनभित्र ऐले
व्यथा सबै कोसँग पोख्नु मैले ।।

आधा भएको छ सुकेर मासु
रुँदै यहाँ झार्छु बलिन्द्र आँसु
के शान्ति मिल्थ्यो मनमा छ ताप
यो पिन्जडाबाट गरी बिलाप ।।

मिठा उहाँका फलफूल खाई
बस्थें उहाँ जङ्गलमा रमाई
यो पिन्जडामा किन हो नसोची
हे दैव पार्यौ बबुरो मलाई ।।

यो पिन्जडाभित्र छ सास थुन्नु
निस्प्राण मुर्दा सम तुल्य बन्नु
उतातिरैको सुख सम्झिएर
पला पला मात्र यहाँ छ गन्नु ।।

झन् पिन्जडाभित्र थुनिन्छ सास
मुर्दा भयो जीवन छैन आश
र जङ्गलैको सुख सम्झिएर
के बाँच्नु खै पागल झैं भएर ।।

समीप छन् शत्रु रहेन्न चारा
यहाँ कतै छैन कुनै सहारा
वैरी सबै छन् न छ एक मित्र
मेरो छ यो कर्म बडो विचित्र ।।

यो दर्द मेरो म कता बिसाऊँ
ताजै छ मेरो मनभित्र घाउ
सो घाउमा बस्न सकेन खाटो
उम्केर भाग्ने पनि छैन बाटो ।।

पीडा हजारौं मनमा थुरिन्छन्
वैरी सबै सामु यतै धुरिन्छ्न्
चौतर्फ घेरो पहरा छ यस्तो
कठोर कारागृह भन्नु जस्तो ।।

भागूँ भनी कोसिस गर्न थालें
यो पिन्जडाको डिल फोर्न थालें
उल्टै भयो घायल आज चुच्चो
चुच्चो बिना बन्न पुगें म बुच्चो ।।

यो पिन्जडामा कुँजियो शरीर
बन्दी हुँदै बन्नु कता म धीर
रहेन सोचै अब के चिताऊँ
हा दैव यो काल कता बिताऊँ ।।

खाने र बस्ने नहुँदा प्रबन्ध
यहाँ म भोकै छु भएर बन्द
न गर्दछन् जीवनको सवाल
न बुझ्दछन् यो विकराल हाल ।।

यो हाल बुझ्ने किन हुन्न एक
कता हराएछ यहाँ विवेक
के पापको आज मिल्यो सजाय
रहन्न मेरो मन हाय हाय ।।

आदेश बोल्ने छ ठुलाबडाको
चर्को छ झन् बन्धन पिन्जडाको
छ घाँटी सुख्खा अझ बोल्नु पर्छ
नबोलिए पाप यहाँ ठहर्छ ।।

एक्लै परेको छु म हाय हाय
नबोल्नुको हुन्छ ठुलो सजाय
लिएर लाठी करमा उझाई
तयार पर्छन् अझ पिट्नलाई ।।

यौटा यता भन्दछ यो छ पाजी
अर्को उता भन्दछ यो बिराजी
तेस्रो अझै बोल्दछ रामराम
पढो रखो जी प्रभु राम नाम ।।

वैशिष्ट्यको शत्रु मनुष्य जाति
चुसी चुसी पार्दछ शुष्क छाती
गुणीहरूको गुण चुस्छ यस्तो
शरीरमै प्राण रहन्न जस्तो ।।

मनुष्य यो जाति अचम्मको छ
के भन्नु खै यो यतिसम्मको छ
मनुष्य नै प्राणपखेरु हर्छ
हरेर यो मानव दङ्ग पर्छ ।।

पीडा व्यथाका सब भाव छोडी
गर्दैछु बिन्ती अब हात जोडी
सुगा म जस्तो अति तुच्छलाई
प्रभो यहाँबाट मिलोस् बिदाइ ।।

कुनातिरै होस् कि त कन्दरामा
मान्छे हुँदासम्म यहाँ धरामा
यो तुच्छको जन्म कतै नदेऊ
हे दैव बिन्ती यति एक लेऊ ।।

1 thought on “लेखनाथको पिँजडाको सुगा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *