म छाया बनी प्रेममा आउनेछु
त्यहाँ प्रेमको गीत घन्काउनेछु
तिमी पूर्णिमाकी बनी जून आऊ
त्यहाँ आई अर्काे कुनै गीत गाऊ ।।
जहाँ प्रीतिको होस् सुनौलो मुहान
र होस् जिन्दगीको सुनौलो बिहान
सुकेको छ छाती सुधा झैं रसाऊ
तिमी रातको जून झैं मुस्कुराऊ ।।
म चाहे सुकूँ वा म चाहे पलाऊँ
म चाहे मरूँ वा कि वा सल्बलाऊँ
भयो राख्नु पर्दैन है धेर चासो
किनारा लगाएँ रहेको गुनासो ।।
यताबाट हेर्दा त्यता दोष हुन्छ
त्यताबाट हेरे यता दोष हुन्छ
रुएको भयो धेर भो धेर रुन्न
दुबैको गुनासो समाधान हुन्न ।।
नलागोस् कतै भावनामाथि चोट
गरेको छ नौलो तिमीले अठोट
भने आजबाटै म सम्मान गर्छु
पीडा जे छ आफैं समाधान गर्छु ।।
