Skip to content

पुकार

रक्तिम सगर नीर क्षितिजसँग
आलिङ्गनमा ब्यग्र छ
अनन्त सागर दुर जूनसँग
अनुरागमा मग्न छ
मन्द पवन जन्ड मेघसँग
भलाकुसारीमा मस्त छ
चञ्चल नदी भद्र किनारासँग
चुम्बनमा ब्यस्त छ
स्थिर रात अस्थिर दिनसँग
प्रेममा प्रसन्न छ
शीतल जल प्रचण्ड तापसँग
अँगालोको बन्धनमा टम्म छ
हामी एउटै बागका दुई पुष्पहरु
एउटै सागरका दुई छालहरु
एउटै पवनमण्डलका दुई श्वासहरु
अदुर भएर पनि दुर छौं
स्पर्शित भएर पनि पराई छौं
स्वरङ्गी भएर पनि बिरङ्गी छौं
यहाँ बेमेलमा मिलन छ
द्रृस्टीमा अद्रिश्यता छ
अपेक्षामा उपेक्षा छ

म बादल भई तिमीलाई छोप्छु
तिमी अभेद्य गगनमा छुपिदिन्छौ
म बर्षा भई तिमीलाई रुझाउँछु
तिमी इन्द्रेणीको ओतमा लुकिदिन्छौ
म छाल भई तिमीलाई बहाउँछु
तिमी ज्वारभाटा भई चन्द्रोन्मुख भइदिन्छौ
म पवन बनी तिम्रो केशराशी सुम्सुमाउँछु
तिमी पखेरा बनी पहाडभित्र लुकिदिन्छौ
म स्वध्रुबीय चुम्बकले तिमीलाई आकर्षण गर्छु
तिमी बिपरीत ध्रुब बनी बिकर्षित हुन्छौ
म गोधुली साँझ बनी नवबिहानीलाई कुर्छु
तिमी रातमै ताराको परेलीभित्र छुपिदिन्छौ
म तृषित ब्यग्रता बोकेर मरूद्यान खोज्छु
तिमी मृगतृष्णा भई क्षितिजभित्र लुकिहाल्छौ
म पछ्याउँछु ,तिमी बिलाउँछौ
म दोबाटो ढुक्छु , तिमी पथ परिवर्तन गर्छौ
म तृषित छु, ब्यथित छु
तिमी सिञ्चित छौ , पुलकित छौ
म मेलमा मिलन खोज्छु
तिमी बेमेलमा संगम देख्छौ

ब्यथित ढुक्ढुकीले तिम्रो दिल ढक्ढकाउँछु
दानी दिलको मझेरीमा मलाई बास देऊ
तृषित नजरका तीरले मुहारमा निशाना लगाउँछु
गुलाबी ओठका मुस्कानले स्विकारोक्ती जनाऊ
अनन्त आत्माको ढोका खोली पुकार्छु
लजालू सुलभतासँगै सहर्ष प्रवेश गर
अनुरागको सागर भई तिमीभित्र उर्लन्छु
बाँध हटाई तिमीभित्र समाहित गर
तिमी गुलाव बनी मुस्काई राख सदा सदा
म भँवरा बनी नाची राख्छु वरिपरि सर्वदा
थापिदेऊ मुटुभरी यो प्रेमीको ब्यग्र प्रहार
सुनिदेऊ, मानीदेऊ ब्यथित दिलको पुकार

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *