कल्पनाको क्याम्भसमा
कहिलेकाही म
भावनाको ब्रस कुदाउँछु
अनि रंगाउँछु
मेरो सपनाको ताज महल ।
मेरो ताज महल
मार्बलले बनिएको छैन,
न त किम्ती पत्थरहरू नै ।
बस्, छ त
अतितको जगमा
यादरुको धरातल
मिठा पलहरुको भित्ता
जहाँ संसार चिहाउनसक्ने
झ्यालहरू छैनन् ।
बस्, छ त
गाँठो परेका स्वासहरु,
जो उकुसमुकुस भएर
गुम्सिएर बसेको छ
बन्द ताज महल भित्र
कुनै दिन बिस्फोट हुनलाई ।
जहाँ कुनै
नामी कारीगरले खोपेका
आकृतिहरू छैनन्,
बस, छ त
भाग्यले कोल्टे फेर्दाको
जीवनका घाउका
फोस्रो टाटोहरू
जो ताज महलभित्रै
अल्झिरहन्छ बल्जिरहन्छ ।
मौन सुतिरहने,
मुम्ताजको चिहान
छैन मेरो ताज महलमा,
बस्, छ त
मैले जिउँदै गाडेको
सपनाको राजकुमारी
जो यथार्थमा आउन
खोजिरहन्छ,
चिच्याउँदै, कराउँदै
मलाई बिथोल्न ।
बाद्शाहलाई
प्रेमीभन्दा होचो
बनाउने ताज महलले
मलाई खै के बनायो
कुन्नि !!
म जान्दिन !!
ऊ त बादशाह,
तर म
‘म’ मात्र …
जसले
न चिहानलाई मन्दिर
बनाउन सक्यो
न आफूलाई प्रेमी
न चिहानभित्रकोलाई प्रेमिका
न त प्रेमलाई धर्म नै !!
जेहोस्,
कुदिरहेछ भावनाको ब्रस
अनि रङ्गिदैछ
मेरो
सपनाको ताज महल ।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *