अर्काको धनमा र चेलीतिर नै आँखा सधैं लाउनु
अर्काकै गुन गाउँदै दिनदिनै आराम फर्माउनु
झुप्रो यो चुहिएर झन् ढलिरहोस् व्यर्थै कता छाउनु
त्यस्ताले घर सम्झिएर अहिले फर्केर के आउनु ?।।१२।।
ताक्छन् बाबु मुढो कुपुत्र किन हो घूँडो सधैं ताक्तछ
आमाको पसिना चुहेर घरमा थोरै ढिँडो पाक्तछ
धेरै काम गरी उता तिर भने जूठो पुरो चाख्तछ
केही काम बिनै यता तिर भने आलस्यले थाक्तछ ।।१३।।
छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अझ जन्ड पो हुन गयो आओस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिले त्यो दीप के बल्दछ
सल्लाका रुखमा नसोच्नु कहिल्यै स्याऊ कहाँ फल्दछ ।।१४।।
धेरैले भई बाध्य यो मुलुक नै छाडेर भाग्नै पर्याे
बाँच्ने आश जसै रहन्छ मनमा भागेर बाँच्नै पर्याे
रित्तै देश भयो निशाचर यहाँ आएर भेदेपछि
…का हनुमानले मुलुकका सन्तान खेदेपछि ।।१५।।
केही काम हुँदैन गर्नु पहिल्यै झ्याम्लेहरु आउँछन्
मागेको जति पुग्नु पर्छ नदिए आतङ्क मच्चाउँछन्
आफ्नै देश भनेर हामी अहिले के घाँटी घोक्र्याउनु
पुर्खाको गुणगान गर्नु छ त्यहाँ भुत्रो छ के पाउनु ।।१६।।
आऊ देशतिरै भनेर सबले लेखिरहन्छन् कथा
के बुझ्छन् नबुझेर साथीहरु ता झन् छक्क पर्छु म ता
लौ फर्केर गएँछु रे घरतिरै फर्केर के पाउनु
आफ्नै देश अरे बिहारीहगणले खेद्छन् कता आउनु ।।१७।।
मायाले घरमा फिरे पनि अझै हामी कुटिन्छौं अरे
अन्तर्राष्ट्रिय त्यो बिमान थलमा हामी लुटिन्छौ अरे
आफ्नै भाइ लुटेर दाजु सबले नै भोज खान्छन् अरे
नाङ्गेझार हुँदै फिरेर घरमा के पुग्नु होला हरे ।।१८।।
खानीको नगरुँ कुरो मुलुकले बेचेर पानी पनि
बन्थ्यो देश तुरुन्त स्वर्ग सरीको फेरेर बानी पनि
हुन्थ्यौं हामी स्वदेशभित्र बलिया हामी गनिन्थ्यौं तब
यस्तो सोच्नु विडम्बना छ अहिले त्यो देशमा वास्तव ।।१९।।
दर्ता गर्न समेत खान्छ घुस जो त्यो राष्ट्रको सेवक
पोका खोल्न सिपालु चोर सब छन् निष्णात अन्वेषक
धोक्रा हुन् घुसका यी दुष्ट मतिको हो काम धोक्रयाउनु
आफ्नो देश भनेर हामीहरुले के नाक घोक्रयाउनु ?? ।।२०।।
हेर्दैमा जिउ डालको छ गतिलो मान्छे बडो खास छ
डिल्ली हाँक्छ करोडको जिउ भने आलस्यको दास छ
लाग्छन् आउनु मात्र पर्दछ यता उस्का भरौटे सब
भित्री ज्ञान विवेक हुन्न जसमा के हुन्छ त्यो मानव ।।२१।।
केही बोल्नु हुँदैन ङ्याक्दछ स्वयं डाको उसैको ठुलो
उस्ले ठान्दछ स्वर्ग तुल्य दुनियाँ संसार नै बाटुलो
ज्यादै भिन्न छ सोच भित्र उसमा सम्झाउनै व्यर्थ छ
साँढे गोरु पघा लगाउन यहाँ खोजेर के अर्थ छ ।।२२।।
क्रमशः
