Skip to content
PipalaDhungana


लिएर दायित्व
बढाएर जिम्मेवारी
सहेर उकुसमुकुस
जो चुपचाप मुस्कुराउँछे
आफ्नाहरुको लागि

खाली कसौँडीको आवाजलाई
निलेरै भन्छे म टन्न छु
न थाक्छे ऊ कहिल्यै
आफ्नाहरुको नजरमा
न दिक्क मान्ने अधिकार छ उसलाई
न सक्छे दौडिन बनेर स्वतन्त्र
किनकि पैतालाको चालले
नापिन्छ उसको स्वभाव

कड्किएर बिमति जनाउने अधिकार
उसै दिन गाडिन्छ सायद
उसको सालनालसँगै
पैतालाका चालहरू
धिमेधिमे सुस्ताउँदै जान्छन्
उसको हुर्काइसँगै
ठेकदार हो ऊ
सम्पूर्णलाई खुसी पार्ने ठेक्का लिएकी
भलै मतलब गर्ने कोही नहुँन्
उसको खुशीको

चाहना र भावनालाई कुल्चाएरै पनि
खुसी खुसी स्वीकारोक्तिको भान छर्ने
महान् कलाकार हो ऊ
र त मुस्कुराउँछे
कुन्नि कुन शक्तिको भरमा
हो त्यही सत्य हो नारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *