रातभरि कामको थकाईले बिस्तारामा भर्खरै पल्टेको थिए । म्यासेजको घण्टी बज्यो । हेरेको म्यासेञ्जरमा रहेछ ।
“अतित कता हो तिमी ?” समिक्षाले म्यासेज गरेकी रहिछ । समिक्षा र मेरो कुराकानी हुन थालेको करिब २ वर्ष जति हुँदै थियो । कहिले फोन कल हुन्थ्यो भने कहिले म्यासेञ्जरमा । अँझ भन्नु पर्दा हामी दुवै एक अर्कालाई माया गर्दथ्यौ । कलेजमासँगै भेट भएको हामी दुवै ।
म मलेसिया गइसकेपछि हाम्रो सम्बन्ध झन प्रगाढ हुँदै गयो । हाम्रो सम्बन्धका बारेमा मैले घरमा पनि कुरा गरिसकेको थिए । घरबाट पनि यदि तलाई ठिक लाग्छ भने हाम्रो भन्नु केही छैन् भन्ने कुराले मनमा उसैसँग जीवन बिताउने सपनाको बिजारोपण पनि भइरहेको थियो ।
“म रुममा छु । तिम्रो खाना भयो ?” मैले उसको म्यासेजको रिप्लाई दिए ।
“अब हामी कुराकानी गर्ने छैनौ । सायद यो नै हाम्रो अन्तिम हो ।”
“के मजाक गरिराको फेरि ?”
“यो मजाक होइन, रियल हो ।”
म अक्क न बक्क भए । केही लेख्नै सकिन् । निधारबाट पसिना आउन थाल्यो । “तर किन ?” भनेर म्यासेज गरे फेरि ।
“तिमीसँग के छ ? एउटा खरले छाएको बुकुरो घर बाहेक । के थाहा तिमी त्यहाँ ट्यावलेट सफा गर्छौ कि ! नत मलाई तिम्रो हेएर स्टायल नै मन पर्छ, नत तिम्रो लुगा लगाउने ढङ्ग नै । तिमी जस्तो माञ्छेसँग म आफ्नो जिन्दगी कसरी बिताउन सक्छु । मेरो सरकारी जागिर भएको केटासँग बिहे गदिर्ने कुरा भाको छ । ऊ मलाई हेर्न आको थियो । मलाई नि मन परेको छ । उसँग सब थोक छ र म घरका माञ्छेको कुरा काट्न सक्दिन् ।”
मैले केही जवाफ फर्काउन सकिन् । उसको म्यासेज मात्र हेरिरहे । मनमा असह्य पीडा भयो । साथीसँग चुरोट रहेछ र बाथरुममा गएर सल्काए । जिन्दगीमा पहिलो पटक चुरोट र मेरा ओठले एक अर्कालाई स्पर्श गरेका थिए । खोकि लागे पनि छुट्टै आनन्द मिल्यो ।
आखिरमा त्यति खोट म भित्र रहेछ भने किन अनगिन्ती सपना देखाको ? भनेर प्रश्न गर्छु भनेर आएको थिए । म्यासेञ्जर खोलेको म त ब्लक भैसकेको रहेछु । त्यसपछि मैले केही गर्न नै सकिन्, उसका पुराना म्यासेज हेर्ने बाहेक ।
दाङ, गढवा
