‘लकडाउन’ बन्दको मानसिकता !

  • by


आफ्नो घर अगाडिको बाटो छेकेर आफू चाहिं दिनभरि सात गाउँ डुलेर अन्तको हालखबर ल्याएर साँझ घर छेउकै पसलमा बसेर यहाँ यस्तो भएछ, त्यहाँ उस्तो भएछ भनेर गफ दिएकै भरमा आफू सुरक्षित महशुष गर्नु कतिको बुद्धिमानी होला ।

साँझको समय कोठा अगाडिको बाटो हल्लाखल्ला सुनियो । के भएछ भनेर बाहिर निस्किएँ । टोलका युवाहरू भेला भएर कोही बाँस ओसार्दै थिए, कोही बाटो साना साना खाल्डा बनाउँदै थिए । एकछिन त्यही बसेर हेरिरहें । बाटोमा बाँसको खामाहरू गाडीए, ती खामाहरुमा लामा–लामा बाँसहरू बाँधेर बार जस्तो पारे पूर्ण रुपमा बाटो बन्द गरियो । मानिसहरुको आवत जावतमा कठिनाई हुने गरी यसरी बाटो छेक्दा कोरोना भाइरसको संक्रमणले कसैलाई छुदैन भनेर दंग देखिन्थे उनीहरू ।

यो त राजमार्ग नजिकैको एउटा उदाहरण हो । लकडाउनको नाममा गाउँ जाने धेरै नाकाहरू यसरी नै बन्द छन् । त्यहीबाटो हुँदै अर्को गाउँ, बस्ती र टोलमा जाने सर्वसाधारणहरू सास्ती खेप्दैछन । कतै नाकामा मुढाहरू तेर्साइएका छन्, कतै रुख ढालेर बाटो अबरुद्ध गरिएको छ, कतै खामाहरू गाडेर जस्ताको पाताले बारिएको छ । यी दृष्यहरुले मलाई नेपालबन्दको आभास गरायो । विभिन्न माग राखेर विगतमा नेपाल बन्दका नाममा सर्वसाधारणहरुलाई दुःख दिने बन्दकर्ताको मनस्थितिसँग मेल खान्थ्यो उनीहरुको कार्यशैली र व्यवहार पनि । बाटोमा पाँच छ जनाको हुल जम्मा भएर यता बन्द छ, अर्कै बाटो जानुस् भन्दै केही मानिस वा सवारी साधन फर्काउँदैमा लकडाउनको अनुसाशन पालना हुने हो त ?

केही दिन अघि मेरै गाउँपालिकामा भारतबाट गाउँ भित्रिएका एक युवकमा द्रतगतिको परीक्षण (आरडिटी)को रिपोर्ट पोजेटिभ देखियो । जसले गर्दा गाउँमा एक किसिमको त्रास सिर्जना गर्यो । स्थानीय सरकारले बन्दाबन्दी (लकडाउन)लाई कडाइ गर्यो । खाद्यन्न पसलहरू खुल्ने समय निर्धारण गरियो, बाहिरी व्यक्तिको आगमनलाई पूर्णरुपमा निषेध गरिनुका साथै तरकारी, माछामासु, फलफुल जस्ताबस्तुहरू आयतमा रोक लगाइयो । स्थानीयहरुले सावधानीका उपायहरू अबलम्बन गर्न थाले । स्थानीय बासिन्दाहरुले नै वित्तीय संस्था नखोल्न अग्रह गरे । जसले गर्दा बैंक तथा सहकारीका कार्यालयहरू समेत बन्द भए । जिल्लाका अरु स्थानीय तहहरुमा यसको प्रभाव देखियो ।

आरडिटी रिर्पोटमा कोरोना भाइरसको संकेत देखिएकाले स्वाब परीक्षणको लागि उनलाई अस्पताल लगियो । स्वाब परीक्षणको रिर्पोटले उनीमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भयो अर्थात पिसिआर रिर्पोट नेगेटिभ देखियो । यो खुशीको खबर थियो । नत्र गाउँनै संक्रमणको शिकार बन्ने सबैलाई डर थियो । बाटोमा छेकबार लगाउने मध्येका एक युवा सोही दिन उक्त गाउँपालिकाको केही स्थानमा पुगेर फर्किएका थिए ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले हरेक मानिसलाई सताएको छ । यसको न्यूनिकरण र रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सुरक्षित रुपमा घरमै बसेर लकडाउनको पालना गर्नु नागरीकहरुको दायित्व हो । महामारीको विरुद्धमा सरकारसँगै आम नागरीकहरू पनि अग्रसर हुनु पर्दछ । सुरक्षित रहने उपायहरू अपनाउनु पर्दछ ।

आफ्नो घर अगाडिको बाटो छेकेर आफू चाहिं दिनभरि सात गाउँ डुलेर अन्तको हालखबर ल्याएर साँझ घर छेउकै पसलमा बसेर यहाँ यस्तो भएछ, त्यहाँ उस्तो भएछ भनेर गफ दिएकै भरमा आफू सुरक्षित महशुष गर्नु कतिको बुद्धिमानी होला ।

एम्बुलेन्स, प्रहरीको भेन, अत्यावश्यक वस्तु ढुवानीका साधन तथा पास लिएका मोटरसाईकल लगायत सबै किसिमका सवारी साधनहरुले बाटो नपाउँदा यसको असर कतै न कतै देखा पर्दछ । शहरमा त बैकल्पिक बाटोहरू हुन सक्छन्, तर भखरैमात्र विकासलाई अंगाल्दै गरेका गाउँमा प्रवेश गर्ने मुख्य नाका नै बन्द गराए पछि आकस्मिक सेवा समेत प्रभावित हुन्छ । कोरोना भाइरस संक्रमणको महामारीको बेलामा हामीले सामाजिक दुरी कायम गर्ने हो । समाजको दुरी बढाउने हैन । सबै जना आ–आफ्नो घरमा सावधानीपूर्वक बसी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने हो भने हाम्रो टोल, समाज आफैं सुरक्षित हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *