Skip to content

तघारो (छन्द कविता)

PrakashSapkota-02


उनी उता बन्द, आफू यता बन्द
छइनौँ एकसाथ केको आनन्द
के हो शिशिर गृष्म, के हो वसन्त
आँधिबेहरी मनमा पीर अनन्त

अभाव चिन्ताले सिमाना नघायो
तिर्खा हरायो लौ भोक अघायो
ती लालाबालाको यादले सतायो
टाउकै फुट्ला झैँ मगज ततायो

ज्यालाकै थियो भर् लाउन र खान
खै केले पालौँला जहान बथान
न मर्न सजिलो, न जिउन सहज
बताऊ उपाय हे सज्जन दिग्गज

इ हेर पैतालो पट्पटी फुटेको
काँडाको बाटोमा म यात्री छुटेको
नकुट मलाई बेतको लौरीले
कुरी बसेका छन् छोरा र छोरीले

तरर पसिना बगाई माथमा
बाचौँला साथमा मरौँला साथमा
जाँदैछु घरमा तघारो खोलिदेऊ
दुखीको पक्षमा कोही त बोलिदेऊ !

(स्रग्विणी छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *