Skip to content


गएको जहाँ भए पनि फर्किएर आउँदा आँगन नपुग्दै बोलाइने पहिलो मान्छे आमा । थकानमा आमा आराममा आमा, हारजीत, सुख–दुःख, हाँसो-रोदन, पीडा–शान्ति अनि जीवनको हरेक पाटोमा आमा ज्वोरोले आलस–तालस भएर लडेको बेला पानी पट्टि बोकेर छेउमा बस्थिन आमा । सायद आमाले पानी पट्टी निचोर्दा ज्वोरो पानी भएर चुहिन्थ्यो क्यार हट्थ्यो ज्वोरो अनि सञ्चो हुन्थ्यो शरीर ।

मलाई लाग्थ्यो बारीभरि तरकारी भएकोले भान्छामा मिठो–मिठो पाकेको होला । तर बारीभरि तरकारी त आज पनि छ । केवल त्यो स्वाद छैन बुझ्छु, आमा भएर पो परिकार मिठो हुने रहेछ । मैले कहिल्यै नबुझेको सत्य आमाको त्यो स्वाद जुन सन्तानलाई नमिठो लाग्ने भोजनमा हुन्थ्यो, आमाको त्यो निद्रा जुन सन्तान निदाए पछि मात्र आउने गर्थ्यो, अनि आमाको त्यो भोक जुन सन्तान अघाएपछि मात्र लाग्ने गर्थ्यो ।

म यति मात्र बुझ्दछु संसारका कुनै पनि सन्तानहरू दुःखी हुने थिएनन् यदि छैटीको दिन भाग्य लेख्ने अधिकार आमासँग हुन्थ्यो । वास्तवमै आमा हुनुहुन्छ र त अगेनोमा आगो छ, स्वाद अनुसारको परिकार छ, रहर अनुसारको पहिरन छ, गोठ भरी वस्तु छ, खोर भरी कुखुरा अनि बाख्रा छन्, बगैँचा भरी फुल छ, शंख घण्टीको ध्वनि छ, अगरबत्तीको वासना छ, पूजा छ, प्रसाद छ, आर्शिवाद छ ।

आमा हुनुहुन्छ र त भकारीमा वर्ष भरीलाई पुग्ने अन्न छ, थोरै पैसाले धेरै कुरा किनिसकेरपनि अँझै थोरै पैसा बाँकी छ, खाली भएका सबै हरलिक्सका डब्बाभरी घिउ छ, थरी–थरीको अचार, जत्रै परिवार भए पनि सबैको एउटै विचार छ । आमा हुनुहुन्छ र त दशैँ छ, तिहार छ, छैट अनि होली छ, आमा हुनुहुन्छ र त भोलि छ ।

आमा हुनुहुन्छ र त रहर छ, राम्रो नराम्रोको हेक्का छ, हर्ष छ, उमङ्ग छ, डर छ, घुर्की छ, सृष्टि छ, घरमा ईश्वरको बास छ, आमा हुनुहुन्छ र त भोलि केही बन्छ भन्ने आस छ । सन्तानको भविष्यको लागि आफ्नो सिङ्गो वर्तमानको बलिदान गर्न सक्ने, अनि आफूसँग जे, जस्तो र जति छ त्यसमै रमाउन सक्ने फराकिलो हृदय भएका सम्पूर्ण ज्ञात, अज्ञात आमाहरूप्रति नमन साथै मातातीर्थ औँशीको मंगलमय शुभकामना !

गोविन्द भारती
झापा (हाल काठमाडौं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *