कथाको कथा
(कथासम्बन्धी सोधमूलक ग्रन्थ)
परिच्छेद १
(१) सङ्कल्प/पाठकसँगको करारनामा/कार्यपत्र
(१) (क) अनुसन्धानको दायरा
कथाका बारेमा मुख्यतः प्रमुख प्राथमिकताका साथ अध्ययन गरी, भाषा र साहित्यका बारेमा पनि केही अध्ययन गरी साहित्य सम्बन्धी तथ्यहरु सङ्कलन गरिएको आधारमा, त्यसैलाई अध्ययन र विश्लेषण गरी तिनकै आधारमा निष्कर्ष निकालिने शोधपद्धति अनुसार स्वतन्त्रतापुर्वक कथालाई मुख्य विषय वस्तु बनाई यो शोधमुलक कथा तथा साहित्य सम्बन्धी विस्तृत सर्वेक्षणमुलक अध्ययन लेख, कार्यपत्र जे भने पनि प्रस्तुत गरेको छु । अङ्ग्रेजीमा यसलाई रिसर्च भनिन्छ । अर्थात फेरि सर्च अर्थात पुनः खोज गर्नु । अब्राहम फ्रान्सिसका शब्दमा “लुकेर रहेको तथ्यलाई सिद्धान्तिकरण सम्मको चरणमा पु¥याइदिने काम अनुसन्धान हो ।” लेखकको यही आशा हो कि पुनः खोज खोतलखातल गर्दा फेरि कुनै समाजोपयोगी कुराहरु अवश्य नै निस्कनेछ । हरेक पटक खार्दा खानीबट उपयोगि कुराहरु निस्किए जस्तै यस अध्ययनले पनि साहित्यलाई हरेक पटककोे तथ्यको मन्थनबाट बिचारका कुञ्जहरु निस्किएसरि बहुमुल्य कुरा अवश्यनै दिन सफल हुनेछ भन्नेमा विश्वास गरेको छु । अवश्य नै यो पुनः व्याख्या हो तर यो खोतलखातल पनि हो, यसमा अवश्य नै समाजोपयोगी कुराहरु छन् । नेपाली साहित्यकारहरुमा थोरै लेख्ने, उत्कृष्ट नलेख्ने, प्रशंसाको धेरै आश गर्ने, उत्कृष्ट लेख्नेलाई हतोत्साहि तुल्याउने प्रवृत्ति व्याप्त छ । त्यसैले पनि जहाँ साहित्यको सबैभन्दा लोकप्रिय विधा कथा साहित्यले विश्व साहित्यमा ख्याति कमाइरहेको बेला नेपाली साहित्यमा उत्कृष्ट कथाहरुको जन्म हुन सकेको देखिँदैन । साहित्य साधना अनि तपस्या हो, अवश्य नै कठिन छ । यसका निम्ति कथाको नेपाली मानकमा उचाइ ल्याउन सहयोग पु¥याउनु यस कथा शोधात्मक लेखको उद्देश्य हो ।
मैले कथाका बारेमा धेरै धध्ययन अनुसन्धान गरेको छु । कथाहरु धेरैधन्दा धेरै पढेको छु । कथाका सिद्धान्त एवम् परिभाषाका धेरै भन्दा धेरै पुस्तकहरु पढेको छु । मलाई कथा विधा सबभन्दा मनपर्ने विधा हो । मैले थुप्रै कथाहरु पनि लेखिसेको छु , अझै लेख्दैछु । अनुजहरुबाट थुप्रै जिज्ञासाहरु कथाका बारे पाउँदा कसरी के जवाफ दिऊँ हुन्थ्यो तर आज मलाई यस आलेखबाट उहाँहरु तथा कथाका बारे जान्न चाहनेहरुका लागि यसबाट केही देन हुने नै छ भन्ने आशा गरेको छु ।
कथासम्बन्धी सम्पुर्ण उपकरण तथा प्रकृयाहरु एउटै थलोमा अध्ययन गर्ने अभिप्रायले अभिप्रेरित यी उद्देश्यहरु अनुसार आलेख “कथाको कथा” विस्तृत रुपमा सायद पहिलो पटक प्रस्तुत गरिरहेको छु , कथा तथा साहित्यसम्बन्धी निचोड निकाल्नका लागि ।
— कथासम्बन्धी धेरै अध्ययन अनुसन्धान भए पनि नयाँ आयामबाट अध्ययन गरिएको ।
— कथामा प्रयोग भएका नवीन तथा पुरातन प्रवृत्तिहरुको प्रवृत्तिको गहिरो अध्ययन ।
— पुरातन तथा नवीन प्रवृत्तिले अध्ययन नगरेको क्षेत्रमा गहन अध्ययन गरिएको र कथाका बारे अद्यावधिक नवीन कुराहरुको खोज तथा अनुसन्धान गरी कथाका नयाँ मान्यता र व्याख्यालाई सकेसम्म बढी समेट्न खोजिएको ।
— कथाले पुर्याएको सामाजिक आन्दोलनको विस्तृत अध्ययन गरिएको ।
— कथासम्बन्धी अन्य लेखकहरुले गरेको अनुसन्धान पुनरावृत्ति नगरिएको ।
— कथासम्बन्धी सबै विस्तृत विवरणहरु एउटै ग्रन्थमा समेटिएको ।
— कथासम्बन्धी खुलेर प्रकाश नपारेका विषयहरुसम्म गहन अध्ययन गरिएको ।
— कथालाई मुल विधामा ल्याउन कथाका आधारहरु भाषा, साहित्य, आख्यान आदिको अध्ययन गरिएको ।
— कथासँग अप्रत्यक्ष सम्बन्ध भएका तर कथालाई प्रभाव पार्ने विषयवस्तुको पनि अध्ययन गरिएको ।
— कथाको कालअनुसार मोड उपमोडमा स्थान र औचित्य के हो ? खोज गरिएको ।
— कथालाई अहिलेको युग अनुकूल प्रगतिवादलाई बढावा दिइएको ।
— कथाको अध्ययन गर्दा सार, अनुप्रयोग तथा औचित्यबारे बढावा दिइएको ।
— मुख्यतः यस ग्रन्थबाट कथा साहित्यमा लेखक, साहित्यकारहरुलाई यसबाट विश्व साहित्यको हाराहारीमा कथा प्रस्तुत गर्न सहायतको उद्देश्यले कथा सम्बन्धी सबै सहायक सामग्री, उपकरण एउटै थलोमा ल्याउन खोजिएको ।
— कथाको इतिहासका तिथिमिति भन्दा पनि उद्देश्य तथा अन्य विषयहरुमा जोड दिइएको ।
— यी कथासम्बन्धी अध्ययनपछि “साहित्य के हो ?” भन्ने निष्कर्ष निकालिएको ।
— कर्यपत्र, टीका, टिप्पणी, समालोचना, व्याख्या, निबन्ध, आलेख जे भने पनि यसमा कथाबारे विस्तृत जानकारी भएकोले यो ‘कथाको कथा’ हो ।
(१) (ख) सत्यका कुरा
सत्य !! सत्य !! सत्यको सत्य !!!! सत्य सत्यको पनि सत्य हो । यही कुरा मनन गरी यहाँ सत्यको सानो गुणलेखा गरिएको छ । जुनसुकै कुराको शोध, खोज, अनुसन्धान, अन्वेषण गर्दा सत्यको नजिक रहनु आवश्यक हुन्छ । त्यसकारण सत्य के हो त्यस बारे एक पटक अवलोकन गरौँ । यही अनुसार अध्ययन तथा अनुसन्धान सुरु गरेको छु । यही सत्यपथका आधारमा यो सोध तयार पारिएको हो ।
सत्यलाई स्विकार्ने मान्नेमा यो हामीले थाहापाएको विश्वमा सुकरातभन्दा अरु कोही छैनन् । उनले मृत्युभन्दा सत्य स्विकारे । उनीपछि प्लेटो र अरस्तुले सत्यलाई शाश्वत हुन्छ भने । सत्य भनेको के हो ? सोध, खोज, अन्वेषण गर्ने काम पहिले धर्मको नियन्त्रणमा थियो । पछि गएर दर्शनले विचारले गर्न पाउने भयो । अन्तर्राष्ट्रिय शासन व्यवस्थाले स्वतन्त्रता प्राप्त गर्दै गएपछि जनताले पनि सुसूचित हुने अधिकार पाउँदै गए । धर्मनिरपेक्ष भएर खोज अनुसन्धान गर्न पाउने भए । जे कुरा देखीएको छ त्यो भिडियो अर्थात चित्रपटभन्दा सत्य हुन्छ , जे कुरा प्रत्यक्ष सुनीएको हुन्छ , त्यो कसैद्वारा भनीएको भन्दा सत्य हुन्छ । जस्तो कि घडीको सेकेण्ड सुइ कहाँ छ ? भनी खोज गर्दा एकै छिनमा अर्कै ठाउँमा पुगिसकेको हुन्छ । यदि समय कति भयो भनी जाँच्दा, सेकेण्डभन्दा हजार गुणा सानो समयमा पनि फरक पर्न जान्छ । त्यसैले यो गतिशील संसार हो यसको भेउ पाउन मुस्किल छ । विज्ञानी भौतिक, अध्यात्मिक ईश्वरवाद दुबैका प्रयोगले सत्यको खोजक हुनु आवश्यक छ । अवश्य नै यसका लागि साहित्यले यो सांसारिकभन्दा केही कदम अघि बढी गर्न सक्छ ।
नित्सेले यही सत्यबाट हेरेर कठोरता, निर्ममता, र स्वार्थको गुणलाई अमानवीय गुण भनेका छन् । हुन पनि योभन्दा सत्यतर्फ हामी जानै सक्दैनौँ । गयौँ भने सुकरातकै हालत हुन्छ । वास्तबमा हाम्रो सत्य जीवन दर्शन यही हो । कसैलाई नपछारी, कसैलाई हिँसा नगरी हामी अघि बढ्न सक्दैनौँ । हिँसा भनेको काटमार मात्र होइन, अरुलाई कुभलो गर्नु , कुभलो चिताउनुजस्ता नकारात्मक पक्ष सबै हिँसै हुन् । स्वास फेर्दा समेत हावाबाट अक्सिजन लिएर कार्वनडाइअक्साइड फाल्ने प्रक्रियामा निर्दोष भाइरसहरुको ज्यान गइरहेको हुन्छ । धार्मिक एवम् अध्यात्मिक विचार अनुसार पनि सत्यको नजिक पुग्ने प्रयासभन्दा ठुलो अरु धर्म छैन । धर्म असत्यलाई परास्त पार्न सत्यको पक्षलाई निर्माण एवम् स्थापना गर्न नै भएको हो । यस्तो अवस्थामा हामीले अधुरो सन्दर्भमा सत्यको खोज गर्नुपर्ने हुन्छ । त्यसैले त नित्सेले ज्ञानभन्दा अज्ञानलाई प्राथमिकता दिए । किनभने यदि हामीले सत्य जान्यौँ भने त्यहाँ पापै पाप देखिन्छ । अर्कोतर्फ अज्ञानले त्यहाँ सत्य देख्छ , धर्म देख्छ र उसको मन शान्ति हुन्छ । पढेर कोही बहुलाएका छैनन् । ज्ञानले उसको चेत खुलेको हो । तेस्रो आँखा, छैटौँ इन्द्रिय खुलेको हो । अवश्यनै सत्य गतिशील हुँदैन । सत्य कहिल्यै निर्मम हुन्न ।
कुनै पनि कुराको सत्य हेर्न खोज्यौँ भने त्यसको अर्थ सबजना बेग्लैबेग्लै लगाउँछन् । त्यसैले कुनै पनि वस्तुको बहुआयामिक रुपमा सत्य देखिन्छ भने त्यसलाई सत्य भन्न सकिन्न । जब बहुआयामिकबाट कुनै पनि वस्तुको परिभाषा एउटै हुन्छ भने त्यो नै सत्य हो । त्यसैको ताकत हुन्छ , त्यसैको ताकतले संसारचक्र अनन्त चलायमान छन् , त्यो नै केही पनि ननिल्ने व्ल्याक होल हो । नित्सेले त्यसैले त निशेषवादको सिद्धान्तको प्रतिपादन गरे । त्यसैले त शुन्यलाई सत्यको रुपमा हेर्न सकिन्छ ।
साहित्य अध्ययन, लेखनका लागि सत्य एकदमै आवश्यक छ । शून्यका लागि सबै सबैका लागि शून्य , सत्य व्रह्म हो, सत्य ईश्वर हो, सत्य विज्ञानको सर्वोच्च, सुरुवात अनि अन्तिम खोज हो, सत्य स्थिर हो, सत्य शून्य हो, सत्य जहाँ पनि छ , सत्य आकाश हो, सत्य सबैभन्दा सानो हो, सत्य सबैभन्दा ठुलो हो, सत्य सार्वभौम छ , सत्य सबैमा समाहित, सत्यमा सबै समाहित, सत्य सबैको दर्पण, सत्यमा सबै समर्पण, सत्य सबैमा समर्पण, सत्य सबैको प्राण, सबैको प्राण सत्य त्यसैले सत्य प्रचुर शक्ति हो, यो जत्ति सत्यको सत्य अरु कुनै छैन, कसैको हानी नगर्ने । हो ! सत्य ! सत्य !! सत्यको सत्य !!!!
परिच्छेद २
२.कथाका सन्दर्भमा भाषा, साहित्य र कथाको विस्तृत अध्ययन
२.१ साहित्य सिर्जना र साहित्यशास्त्र बीचको सम्बन्ध
साहित्य सिर्जना र शाहित्यशास्त्रवीच गहीरो र अन्योन्याश्रित सम्बन्ध छ । साहित्य सिर्जना साहित्य शास्त्रभन्दा जेठो छ । किनकी साहित्यको सिर्जना नभई साहित्यशास्त्रको प्रारुप तयार हुँदैन, त्यसैले योभन्दा अगाडि अध्ययन हुने त कुरै भएन । साहित्यशास्त्र साहित्यको विधि शास्त्र हो जसद्वारा साहित्य कसरी तयार गर्ने, साहित्यका विविध रुपहरु के के हुन् ? थाहा पाउन सकिन्छ । यसको विकास विज्ञानसम्मत रुपमा भएको पाइन्छ । साहित्यशास्त्रका आधारमा साहित्य के कसरी लेखिने हो छर्लङ्ग थाहा हुन्छ । पुराना पुराना लोप भइसकेका विधाहरु के के हुन् , देश, काल, परिवेश अनुसार अहिलेका नयाँ नयाँ के कस्ता विधाहरु उत्पत्ति भए, विकास भए ती सबैको अध्ययन गर्ने शास्त्र नै साहित्य शास्त्र हो । त्यसैले साहित्यको सिर्जना भएर नै साहित्यशास्त्र जीवित रहेको कुरालाई नकार्न सकिन्न । यहाँ मुख्य रुपले कथा सम्बन्धी बहुआयामिक रुपमा साहित्यशास्त्रको तरिकाले अध्ययन गरिएको छ ।
२.२ शब्द
कुनै पनि शव्दलाई तीन किसिमले अथ्र्याएर हेर्न सकिन्छ , त्यो हो अभिधा, लक्षणा र व्यञ्जना । यदि कुनै शब्द ‘कुसुम’ उच्चारण गरेमा त्यसको थुप्रै अर्थ हुन्छ । एउटा शब्दले एउटै खास मात्र अर्थ लाग्छ भने त्यो अभिधात्मक शब्द हुन्छ । यदि ‘चश्मा’ उच्चारण गरेमा त्यसको अर्थ आँखामा लगाउने फ्रेमसहितको सिसा हुन्छ भने त्यसलाई सोझो अर्थ लागेको मानिन्छ । यही सोझो अर्थलाग्ने शव्दको भाव नै ‘अभिधा’ हो । यदि “त्यो गोवर गणेश हो” भन्दा गोबरको गणेश भनीएको भए अभिधा भयो । यदि उसलाई मन्द बुद्धिको व्यक्ति भनीएको भए लक्षणा हुन्छ । यदि यी दुई बाहेक पनि आयामिक रुपमा हेर्दा, अप्रत्यक्ष रुपमा, कथा अनुसार भिन्न अर्थ लाग्छ भने त्यो व्यञ्जना हुन्छ ।
व्यञ्जनाको महत्त्व साहित्यमा बढी हुन्छ । पाठकले मनमा गुन्दा व्यञ्जनात्मक किसिमले लिएर वौद्धिक खुराक प्राप्त गरेको हुन्छ । व्यङ्ग्यको उत्कृष्ट रुप पनि यस्तै व्यञ्जनाबाटै हुन्छ । साहित्यको उत्कट मर्म, उत्कृष्टतामा व्यञ्जनाले ठुलो भूमिका खेलेको हुन्छ । जो व्यञ्जनामा पारङ्गत हुन्छ ऊ सफल कथाकार, साहित्यकार बन्न सफल हुन्छ ।
२.३ भाषाका बारे केही कुरा
भाषाको विकासमा कथाको ठुलो देन छ । मानिस समाजमा बाँच्ने प्राणी हो । यसका लागि उसले भाषाको प्रयोग गरी एक अर्कासँग समन्वय हुनुपर्ने हुन्छ । भाषाको जन्म सञ्चारको उद्देश्यले भएको हो । भाषा सांकेतिकबाट विकसित हुँदै धेरै समयको कालखण्ड तय गरिसकेपछि अहिलेको अवस्थामा आएको हो । यो यात्रामा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै भाषाको विकसित रुप बन्यो । मानविय समाजका जुनसुकै क्रियाकलापका लागि भाषा अपरिहार्य भयो । भाषा एकआपसमा विचार विनिमयको सर्वोत्तम साधन हो ।
पतञ्जलीका अनुसार “मानिसका उच्चारण अवयवबाट उच्चारित मानवीय अभिव्यक्ति नै भाषा हो ।”
पाणिनीका अनुसार “जुन व्यापारमा वाणीद्वारा वर्णयुक्त हुन्छ त्यही अभिव्यक्ति नै भाषा हो ।”
प्लेटोका अनुसार “विचार आत्माको मूक वा अध्वन्यात्मक कुराकानी हो । तर जब ध्वन्यात्मक भएर ओठको माध्यमले सो प्रकट हुन्छ त्यसलाई भाषाको संज्ञा दिइन्छ ।”
सस्युरका अनुसार “भाषा विचार र ध्वनीलाई जोड्ने कडी हो ।”
स्वीटका अनुसार “ध्वन्यात्मक शव्दहरुद्वारा विचारहरुलाई प्रकट गर्नु नै भाषा हो ।”
लिखित साहित्यलाई एकदम बँचाएको छ भने त्यो भाषाले नै हो । आफ्नो काम सञ्चालन गर्न, आफुभन्दा दोस्रो पक्षलाई आफुतिर आकर्षित गर्न तथा केन्द्रीत गर्न, खेल तथा मनोरञ्जन गर्न, वोध गर्न, प्रस्तुत गर्न, तुलना गर्न, कल्पना गर्न, तर्क गर्न, समस्या समाधान गर्न, निर्देशन गर्न तथा यावत मानवीय त्रियाकलापहरु गर्न भाषा अपरिहार्य छ । कुनै पनि व्यवस्था भाषाविना टिक्न सक्दैन त्यस्तै त्यसैले भाषा व्यवस्थाको पनि व्यवस्था हो । त्यस्तै भाषालाई आचरणमा ल्याउने काम साहित्यले गरेको हुन्छ ।
भाषा विज्ञान र नेपाली भाषा पुस्तकका आधारमा “भाषालाई मानवशास्त्रीहरु मानव सँस्कृतिको विशिष्ट रुप, समाजशास्त्रीहरु समाजका सदस्यहरुको अन्तक्र्रिया, साहित्शास्त्रीहरु कलात्मक माध्यम, दर्शनशास्त्रीहरु विचार व्यक्त गर्ने ध्वनी माध्यम, भू—गोलशास्त्रीहरु भू—प्रकृतिको सङ्केत, मनोवैज्ञानिकहरु मनोबिम्बको मूर्त रुप ठान्दछन् ।”
२.४ साहित्यका कुरा
गोपाल अश्कले ‘लघुकथा प्रकृया र पाठ’ पुस्तकको भूमिकामा लेखेका कुरा कथासाहित्यका लागि पनि उत्तिक्कै समय सान्दर्भिक छ । उनका अनुसार “कुनै पनि कलाकृतिको लोकप्रियता अलोकप्रियता त्यस युगको युगीन इच्छा, मीमांसा, स्वाद, विषय, लालसादि, मानवीय साहित्यिक रुचिका अवयवहरुमाथि निर्भर रहेको हुन्छ र आजको परिवेश परिस्थिति वातावरणको प्रभावले छोटो समयमा लामो दूरीको यात्रा गर्न रुचाउन थालेका छन् । किनभने आजको जीवनमा समयको अभाव छ र काम निकै छन् । लेखक, कलाकार, चिन्तक आदि प्रतिभाहरु कम समयको उपयोगद्वारा सिर्जना हुने आफ्ना कलाकृतिमा बाँच्न चाहेका हुन्छन् । कलाकृतिको महत्त्व सामाजिक मुल्य निरुपणमाथि निर्भर रहेको हुन्छ ।”
साहित्य जीवनको ऐना हो । एक प्रकारको प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपको समालोचना एवम् व्याख्या हो । साहित्यलाई समाजले यदि असल कार्यका लागि सुझाव दिन्छ भने समाज त्यही किसिमले अघि बढ्नुपर्छ । त्यस्तै यदि समाजले साहित्यमा रहेको खराब पक्ष देखाइदिन्छ भने साहित्यले पनि त्यही किसिमले मनन गर्ने मात्र होइन साहित्यलाई सोही अनुसार राम्रा कुराहरु लागु गर्नसक्नु पर्छ । किनकी समाज परिवर्तनशील छ । विकासपथमा अग्रसर छ । यसरी समाज र साहित्य परिस्कृत हुँदै जानुपर्छ । समाजमा धेरै विसङ्गति छन् । त्यसैले त साहित्य चाहिएको हो । समाजलाई आपत परेको छ , साहित्यले टुलुटुलु हेरी बसी सस्तो मनोरञ्जन गराउनु मात्र साहित्य हुनै सक्दैन । सम्बन्धिततिर जोडदार ध्यानाकर्षण गर्नुपर्छ । त्यस्तै साहित्यमा कुनै सङ्क्रमण, खडेरी भएको छ भने समाजले त्यसलाई हटाउन खहरे हुनुपर्छ । साहित्यले समाजको वौद्धिक स्थान बनाउँछ , जहाँ समाज सभ्य, शालीन र सुसंस्कृत हुन्छ ।
आफुले जुन अनुभूति गरेको हो त्यसलाई राम्रो सँग अभिव्यक्ति दिने व्यक्ति नै राम्रो साहित्यकार बन्छ । जब कसैले लेख्दै जान्छ उसले लेखनमा चमत्कारिता प्राप्त गर्दै जान्छ । लेखन सुदृढ हुँदै जान्छ । समाजलाई छर्लङ्गसँग हेर्न जान्ने हुन्छ । अनि यसैको सहारामा लेखनकलाले त्योभन्दा झन् राम्रो लेखाइ बन्न जान्छ । समाजले कुरुप देखेकोलाई पनि साहित्यकारले सुन्दरताको सत्य देखाइदिन्छ । समाजले धेरै राम्रो देखेको, ठानेको, मानेकोलाई पनि त्यसको पनि अवगुण केलाइदिन्छ । समाजले सर्वगुण भनेर देखाएको र हेर्दै आएको कुराको भ्रम निवारण गरिदिन्छ । पाठक अर्थात समाजले यसलाई मनन गर्दै गएमा समाज राम्रो दिशातर्फ अग्रसर हुने कुरामा दुईमत छैन । साहित्यले कसैलाई ढाँट्ने लक्ष लिनु हुँदैन । लेखन नै उसको सम्पत्ति हो र विश्वास नै उसको लाज हो । यी दुबै उसले अनुभव र अनुभूतिबाट प्राप्त गरेको हुन्छ । यसैको आडमा उसले भनेका व्यक्त गरेका कुराहरुलाई पाठकले प्रमाणका रुपमा लिन्छ । उसले एकपटक गल्ती, झुटको सहारा लिएमा पाठकबाट उसको साख गुम्छ , विमुख हुन्छ । त्यसैले ऊ हरदम सत्यमा अडिग हुनुपर्छ । साहित्यकार लेखकहरुको लेखमा धेरै शक्ति हुन्छ । त्यसैले त तरबारभन्दा , दरबारभन्दा कलम शक्तिशाली हुन्छ । यो समयले सावित गरिसकेको कुरो हो । सत्यमा अडिग रहने लेखक साहित्यकारको सफलता नै उसप्रतिको पाठकको विश्वास हो ।
शिवकुमार प्रधान महाभाष्यकारका अनुसार “लेख्दैमा साहित्य बन्ने होइन, गाउँदैमा गीत बन्दैन, कोर्दैमा कविता हुँदैन । साहित्य लेख्न सृजनात्मक, सौन्दर्यातमक र भावनात्मक प्रतिभाको प्रयोजन छ अनि चिन्तनशील, भावनाशील, सृजनशील र रचनाशील कल्पना रङ्गको खाँचो छ । पहिले वण्र्य विषय गुन्नुपर्छ रसिला—रसिला शब्द वुन्नुपर्छ , भावानुभूति केलाउनुपर्छ , शब्दयोजना मिलाउनुपर्छ , सौन्दर्यग्राही कला रोज्नुपर्छ । नवोत्फुल्ल भावना टिप्नुपर्छ , सीप लडाउनु पर्छ , अनि आलङ्कारिक रङ्गले रङ्गाउनुपर्छ । लेखकले भाषा सौन्दर्यको तौलमा चलाउनुपर्छ , ढङ्गमा नवीनयुगी भावनाको सरसता हुनुपर्छ ।…….साहित्यमा कल्पनासँग मनको मुक्त उडान हुन्छ । विभिन्न रसको आस्वादन गर्ने मौका मिल्छ । जहाँ भाषाले सौन्दर्य खोज्दछ , भाव मिसिएर नवीनता राख्दछ , आनन्द फुर्दछ , कलाबोध फुट्छ , बुद्धि प्रौढ र प्रखर हुन्छ । हृदय विशाल र मृदु बन्दछ । रस कलकलिन्छ तथा भावना विकसिन्छ । यो कहिले उषा र सन्ध्यामा रङ्गिन्छ । कहिल्यै मानवव्यथामा, पीडामा रङ्मङिन्छ । कहिले जीवनसँग गाँसिन्छ । कहिले प्रकृतिसँग सृजनशील बनेर आउँछ , यसको उत्पत्ति मानवको भावनाशील चेतनाको प्रतिभाबाट हुन्छ ।” — साहित्य र साहित्यकार पृ ७
डा. केशवप्रसाद उपाध्यायका अनुसार “वस्तुजगतबाट अवचेतनमा सङ्कलित भाव छविलाई नै आत्मिय रागले रञ्जित पारी रुपायित गरिने हुँदा आत्माभिव्यक्ति सर्वथा वस्तु निरपेक्ष होला जस्तो लाग्दैन भने वस्तुगत अनुभव प्रेरित आत्मस्थ भागका अभिव्यक्तिका क्रममा साहित्यकारका आत्मतत्त्व वा व्यक्तित्त्व विलीन भए पनि विनष्ट होलाजस्तो अनुभव हुँदैन ।”
हामीले न्यायका पक्षमा लेख्नुपर्छ । हामीले सत्यका पक्षमा लेख्नुपर्छ । हामीले जटिल शब्दले थोरै पाठकमा पुग्ने होइन, सरल लेखेर सबै पाठक सामु पुग्नुपर्छ । त्यस्तो झट्का दिनुसक्नुपर्छ जसको वौद्धिक प्रहारले जो पनि राम्रो काम गर्न वाध्य होस् अनि यसबाट पीडित पक्षलाई राहत होस् । साहित्य पढेर यस्तो झट्का लागोस् कि ऊ असल मान्छे बन्न बाध्य होस् ।
गरिव जनताहरु प्रति धेरै झुकाव हुुनपर्छ । धनी जनताहरुप्रति समाजमा योगदान गराउने प्रेरणा दिनसक्नुपर्छ । दुःखीजनहरुप्रति दयालु हुनुपर्छ । सम्पत्तिको सर्वेसर्वा छ भने पनि मैमत्त हुनुहुँदैन । त्यसको समान वितरणको उद्देश्य लिनुपर्छ । घमण्ड गर्नु हुँदैन । अभिमानी, अहङ्कारी कहिल्यै हुनुहुँदैन । आपत परेका ठाउँमा आफुले सक्दो उद्दार गर्न लागिपर्नुपर्छ । कसैको बारे खराब चिताउनु हुँदैन । माटोप्रति माया हुनुपर्छ । सहनशील हुनुपर्छ । धैर्यवान हुनुपर्छ । क्रोधलाई वशमा राख्नुपर्छ । सबैको अधिकारको ख्याल गर्नुपर्छ । समानताप्रति झुकाव हुनुपर्छ । परिआउँदा ठुलो झट्काले न्याय दिनुपर्छ , हो यो अवश्यै साहित्यले गर्न सक्छ । साहित्य पढिसकेपछि पाठकहरुलाई यीसबै राम्रा कु्राहरुयुक्त वौद्धिक खुराक मनन हुनुपर्र्छ ।
यदुनाथ खनालका अनुसार “साहित्य साधना एक तपस्या हो । साधनाको क्रममा मिलेको अनुभूति वा अनुभूतिको अभिव्यक्तिलाई कविहरु कविता भन्दछन् ।…….यो कठोर तपस्याको चापमा पनि नगल्ने, थकित नहुने कतिपय साहित्यिकहरुले एकपछि अर्को गरेर जीवनभर सिर्जनात्मक उत्कृष्ट साहित्य दिन सक्छन् ।” — साहित्यिक चर्चा पृ ३२
ईश्वर वरालका अनुसार “साहित्य एक भाषा, संस्कृति, पन्थ, जाति, समुदाय आदिलाई मात्र आधार बनाएर अघि नबढी राष्ट्रिय परिवेशमा मात्र सीमित नभई विश्वलाई नै अँगाल्ने किसिमले प्रस्तुत हुनुपर्छ । विविध चिन्तन प्रणाली, विचार प्रस्तुति, भावशैली, रुपशैलीले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रलाई प्रभाव पार्न सक्नुपर्छ ।”
रमा शर्माका अनुसार “साहित्य गोष्ठी वा सम्मेलन मनोरञ्जनको साधन नभएर सौन्दर्य फैलाउने मौलिक र माधुर्ययुक्त भावद्वारा जीवनलाई नयाँ गति प्रदान गर्ने, सिर्जनशील व्यक्तित्त्वको विकास गर्ने र प्रेरणाको संचार गराउने अत्यन्त प्रभावकारी माध्यम हो । स्वस्थ्य साहित्यकारको अभिव्यक्ति जीवनोपयोगी हुन्छ, शास्वत हुन्छ जुन सम्मेलनको माध्यमबाट र समय वातावरणमा प्रभावित भएको हुन्छ । साहित्य सत्यम, शिवम् र सौन्दर्यको त्रिवेणी हो । अनि साहित्य सम्मेलन यी त्रिवेणीहरुको सङ्गम हो ।” — केही चिन्तन पृ.७
पाठकहरुका सुझाव, प्रतिक्रिया, उत्प्रेरणाहरु सधैँ मनन गर्नसक्नुपर्छ । पाठकहरुलाई पढ्न लगाउन पाठकहरु उत्सुक भएका विषयवस्तु पहिचान गरी आफ्नो साहित्यिक क्षमताले सहयोग पु¥याउनुपर्छ । पाठकहरुले नबुझेको गुनासो गरे अझ सरल र स्पष्टरुपमा लेखनुपर्छ । गरिव दुःखीहरुप्रति पुर्वाग्रही बन्नु हुँदैन । अहिले देशमा सङ्क्रमणकालको अवस्था छ र त साहित्य पनि यस्तै छ । साहित्यलाई कुनै पनि शास्त्रीयधारमा सङ्कुचन नगराई अलग्गैधारबाट अघि बढाउने गर्नुपर्छ , त्यो धार हो जनहितको धार । यसलाई सत्ताले प्रयोगवादी भने पनि यसलाई जनताका लागि सहेर अझ सशक्तरुपमा कलम चलाइरहनुपर्छ । देशमा परिवर्तन भएपछि उनीहरुको यो फरक धारले एउटा सशक्त धार भन्ने अवश्यै मान्यता प्राप्त हुन्छ । आधुनिक कथाको यात्रा पनि यस्तै हो । त्यसैले स्वान्त सुखायमात्र साहित्य होइन बरु दुःखीजनको हित नै सहित्य हो ।
लेखनले केही न केही समाजलाई योगदान हुनुपर्छ । धेरै लेख्ने तर त्यसको अर्थ केही नहुने शब्दको जाल मात्र भएमा पनि त्यसले केही योगदान हुँदैन । फुलबुट्टा भरी लेख्ने कलाले मात्र केही हुँदैन । त्यसले समाजलाई के असल शिक्षा दिएको छ त्यो महत्त्वपुर्ण हुन्छ । व्यक्ति धनी मात्र भएर समाजलाई योगदान हुँदैन बरु असल भएमा त्यसको उत्प्रेरणाले धेरै भन्दा धेरै व्यक्तिहरु लाभान्वित हुन्छन् ।
भूमिका पनि लेख्नुपर्छ । यदि लेखिएन भने समाजले अपव्याख्या गरी विपरित अर्थ लगाउन सक्छ । समाजमा नकारात्मक असर पर्न जान्छ । साहित्यले भन्न खोजेको र यसले समाजलाई दिने योगदानका वारेमा छर्लङ्गाउन सकेमा कृति प्रकाशन गर्नुको सही अर्थ भेट्टाउँछ । लेखनले अन्तिममा चरमोत्कर्षमा एउटा यस्तो झट्का दिनुसक्नुपर्छ कि पाठकले सो पढेको अंशभन्दा धेरै मनमा हलचल ल्याइदेओस् र सोबाट पाठकको वौद्धिकताको गुणात्मक विकास होस् ।
“अत्याचार गर्नेले त भुलेको हुन्छ तर जसमाथि अत्याचार भएको छ उसले त्यो भुल्न सक्दैन ।” — रविन्द्रनाथ टैगोरले भनेजस्तै त्यस्तो भुल्नै नसकिने बह पोख्न पाउँदा एकातिर साहित्यकारको मन हलुका हुन्छ अनि समाजलाई पनि अब यस्तो भोगाइ भोग्नु नपर्नका लागि शिक्षा हुन्छ । यसरी नै हाम्रो समाज बाँदरको युगबाट मानवको युगमा पुगेको हो अँझै यसलाई देवता बनाउन अथक प्रयास गर्नु जरुरी छ । यसका लागि सबैले आआफ्नो तर्फबाट अथक यथेष्ट योगदान पुर्याउनुपर्ने हुन्छ । यस्तै शिक्षा साहित्यले दिनसक्नुपर्छ ।
तपाईंहरुलाई यो कुरा सानो लागे पनि यसको गुढ रहस्यको शिक्षाले जीवन बदल्न सक्छ किनकी सियो पनि सानै हुन्छ तर यसको काम तरवारले गर्न सक्दैन । विशाल साहित्य समुन्द्ररुपि आकाशमा कथा सानै हुन्छ तर सानोभन्दा सानो शिक्षा पनि त्यस्तै हो ।
गोपाल प्रसाद रिमालले ‘नौलो विहानी’ पत्रिकामा लेख लेख्दा त्यसमा उनले बुँदागत रुपमा साहित्यका वारे केही प्रसङ्गहरु व्यक्त गरेका थिए :— “म सामाजिक भई मार्क्सवादमा व्यक्त गर्छु । गतिलो साहित्य तपस्याले मात्र लेखिन्छ । मेरो साहित्यिक उद्देश्य प्रगतिशीलता हो । साहित्यमा भाव पक्षको प्रवलता हुनुपर्छ । साहित्य राजनीतिदेखि भिन्न हुनु हुँदैन, तर यो अराजकतावादी भने हुँदैन । मेरो विचारमा क्रान्तिकारिता नै आधुनिकता हो । साहित्यको समाजप्रति घनिष्ट र गम्भिर उत्तरदायित्त्व हुन्छ ।”
सिसेरोका अनुसार “साहित्य अध्ययनले नवयुवकलाई पोषण गर्छ , वृद्धलाई मनोरञ्जन गर्छ , उन्नतिको श्रृङ्गार गर्छ , समस्यालाई धैर्य दिन्छ , घरमा प्रमुदित गर्छ र विनम्र बन्छ ।”
ए पि जे अब्दुल कलामले भनेका थिए “मलाई अन्याय विरुद्ध नबोल्नु धेरै कष्ट हुन्छ बरु बोल्दा मन हल हुन्छ ।” यस्तै कारणले नै साहित्य जन्मिने हो ।
साहित्यले पाठकको मनमस्तिष्क बोल्नुपर्छ । पाठकको मनको बह पोख्नुपर्छ । पाठकलाई धेरै नजिकबाट मनन गर्नुपर्छ । आदर्शवादीका लागि साहित्य सावैभौम र शाश्वत हो भने रुपवादीहरुका लागि साहित्य भाषाको खेल, मात्र कला हो । यो समाजको खासखास पक्षको उत्कृष्ट अभिव्यक्ति हो । यो स्वान्त सुखायजस्तो मनोलोकको उडान मात्र होइन यो त समाजको अभिन्न अङ्ग हो ।
अधिकांश साहित्यकारहरुले पहिले जसरी साहित्य लेख्दै आएको हो त्यसरी नै पुरानै ढर्रामा लेखिरहेका छन् । यसरी यथास्थितिमा लेख्दै आउँदा पुरस्कारहरु पनि पाउने भएकाले पनि हो । यस्तो पुनरावृत्तिले गर्दा साहित्यबाट देशलाई योगदान भइरहेको छैन । शब्दको जालले केही दिन सक्दैन । चेतना नभएको साहित्य भनेको आत्मा नभएको शरीर जस्तै हो । हामीले सत्ता टिकाउन लेख्ने होइन । जनता र देशलाई प्रगतिपथमा लानका लागि लेख्ने हो । नयाँ किसिमले लेखेर भरमग्दुर रुपमा जसले चेतना फैलाउँछ उसले सत्ताको कोपभाजनको शिकार हुनु परिरहेको छ । उनीहरु यस्ता लेखक तथा साहित्यप्रति देशमा परिवर्तन भइसक्दा पनि अनुदार नै छन् । त्यसर्थ देशका र जनताका लागि जोखिम मोलेर लेख्नै पर्ने आजको टड्कारो आवश्यकता भएको छ । यदि कलमप्रति इमानदार भयौँ भने अवश्यनै तरवारभन्दा कलमनै शक्तिशालि हुन्छ । तर यदि तरवार बलियो भएमा कलम किन कमजोर बनाइयो त्यसको इमानदार भएर लेखाजोखा गर्नुसक्नुपर्छ । परिणामतः न्यायको विगुल फुक्ने संवाहक भनेको कलम नै हुन्छ । कलमले धन र शक्तिसँग नझुकेकाले गर्दा नै कला चेत माथि पुगेको हो । झुक्दैन यदि कलम भने त्यसको जितको शक्तिले सर्वत्र न्याय दिलाइदिन्छ । सुक्ष्म अवलोकन, गहन अध्ययन, पाठकले बुझ्ने किसिमको तथा मन छुने किसिमको लेखन साहित्यको विशेषता हो ।
जाँ पाल सात्र्रका अनुसार “कहिलेकाहीँ द्वद्व प्रत्यक्ष हुन्छ त कहिले यो छद्मभेषी हुन्छ । शासन व्यवस्था परिवर्तन गर्ने काम शासकवर्गलाई नै खतरा हुन्छ भने अर्कोतिर दमित वर्गहरुलाई न त खाली समय हुन्छ न त अध्ययनको स्वाद नै । यसरी पुरातनवादी शक्तिहरु र प्रगतिवादी शक्तिहरुको बीचमा द्वद्व बढ्दै जान्छ । आन्तरिक बचावट अविछिन्न क्रान्तिको हुने एउटा वर्गविहीन समाजमा लेखक सबैको एउटा मध्यस्थकर्ता हुन्छ र उसको सिद्धान्तप्रतिको चेतावनी वास्तबमा परिवर्तनसँगै अगाडि बढ्छ ।” अवश्य पनि साहित्यकार, कथाकारमा पनि यही लागु हुन्छ ।”
म्याक्सिम गोर्कीका शब्द साहित्यका बारेमा यस्तो छ :— “साहित्यका के के अङ्ग छन् ? अर्थात विम्ब चरित्रहरु र समष्टिको प्रतिनिधित्त्व गर्ने (टाइप) पात्रहरुको शव्दहरुद्वारा चित्रण कसरी हुन्छ ? शब्दहरुका दर्पणमा जीवनका घटनाहरु र वास्तविकताहरु, प्राकृतिक दृश्यहरु र चिन्तनका प्रक्रियाहरुको प्रतिबिम्बन कसरी गरिन्छ ? साहित्यको मुल तत्त्व हो भाषा । भाषा नै साहित्यको मुल साधन हो र जीवनका यथार्थहरुसित गहिरो सम्पर्क आएपछि भाषाले साहित्यको कच्चा पदार्थका काम गर्दछ र यसैबाट साहित्यको निर्माण हुन्छ ।”
देख्नेलाई संसारभरि सबै ठाउँमा प्रेमै प्रेम छ , साहित्यले यसलाई चिनाउँछ , संसारभर फैलाउँछ , यही प्रेमको सुगन्धले संसार सबै भातृत्वमा प्रेममय बनाउँछ ।
व्राण्ड ह्वाइलकका शब्दमा “अरु साहित्यभन्दा कथा साहित्य सत्यतथ्यको नजिक हुन्छ । यसका लागि दस्तावेजको जरुरत पर्दैन । न नै टिप्पणीको, उद्धरण, तथ्य, वक्तव्य, आँकडा कै जरुरत पर्दछ । कथाले त नाटकीय भावको प्रयास गर्छ अनि पाठकको व्यक्तिगत सहभागिताको अपेक्षा गरेको हुन्छ । यसमा अन्तर्विरोध आउँछ , कथामा नायकले यसलाई सङ्घर्षमा सहभागी भएर सुल्झाउँछ , समाधान गर्छ ।
एउटा असाध्यै राम्रो उखानमा भाषाको परिभाषा दिइएको छ — “यो मह त होइन तर सबै ठाउँमा टाँसिन्छ ।” यसको अर्थ के हो भने संसारमा संज्ञा नभएको कुनै कुरो छैन ।
जनसञ्चारका मुख्य कामहरु सूचना, शिक्षा, अभिप्रेरणा र मनोरञ्जन हुन् । जीवनका कुनै कुनै खासखास घटनाहरु घटेका हुन्छन् । सञ्चार माध्यमले आफ्नो हितका लागि आफ्नै प्रकारले समाचार सम्प्रेषित गरिरहेका हुन्छन् । साहित्यले त्यस्ता कुरालाई चिरेर जनतामाझ अप्रत्यक्षरुपमा भित्रैसम्म उद्वेलित पार्ने हुने गरी व्यक्त गर्न सकिन्छ ।
पाठ्यपुस्तकको कुरा मात्रै शिक्षा होइन जीवनमा त्यस्ता अत्यावश्यक अनेकौँ शिक्षा हुन्छन् त्यो आम नागरिकहरुले जान्नुपर्ने हुन्छ । जस्तो कि नयाँनयाँ सोधखोजका कुरा, हानीकारक बस्तुबारे सावधानी आदि । जिन्दगीमा यस्ता कुराहरु थुप्रै छन् जस्तो कि यसपाली कोरोना भाइरसबारेका कुराहरु साहित्यका माध्यमबाट पनि अप्रत्यक्षरुपमा भित्रसम्म गढ्ने गरी साहित्यिक रचनाहरुबाट सुसुचित गर्न सकिन्छ ।
मनै लोभ्याउने विज्ञापनले जस्तो जसले आकर्षित गर्छ , आफुलाई मनपर्ने विषयवस्तुको सिनेमाले जस्तो मनोरञ्जन दिएर आनन्द प्रदान गर्छ त्यस्तै साहित्यले पनि मनोरञ्जन र आकर्षणका साथसाथै पाठकलाई अरु कसैले दिन नसकेको नयाँ कुरा दिने, नयाँ सन्देश पनि दिनसक्नुपर्छ ।
२.४.१ पत्रकारिता
आजको युग साहित्यिक पत्रकारिताको युग हो । साहित्यमा अन्धाधुन्ध अनुकरण गर्नु हुँदैन । आफ्नो वैशिष्ट्य मौलिकता चाहिन्छ , त्यस्तै सबैको एउटै लक्ष भए पनि प्रस्तुतिकरण आआफ्नो मौलिक प्रकारको हुनुपर्दछ । पत्रकारिताले जसरी सत्यतथ्य पाठकका सामु साहित्यकारले पनि ल्याइदिन्छ , तर त्योभन्दा अलि शालीन प्रकारले, अनि वौद्धिक प्रकारले । कुनै कुरा प्रकाशमा ल्याउन नमिल्ने कुरा पनि पत्रकारिताले भन्दा साहित्यले सशक्त रुपमा ल्याइदिन सक्छ र यसबाट एकातिर गोप्यता पनि कायम हुन्छ भने जनताहरु, पाठकहरु पनि सुसूचीत हुन्छन् । यसप्रकार पत्रकारिता र साहित्यको अन्योन्याश्रित सम्बन्ध छ ।
यसका लागि “पत्रकारले तथा सञ्चार माध्यमहरुले पत्रकार आचारसंहिता २०६०मा मुख्यरुपमा समाचार संकलन, लेख तथा प्रकाशन गर्दा पत्रकारले गर्ननहुने १३बुँदाहरु तथा गर्नुपर्ने ११बुँदाहरु प्रस्तुत गर्न चाहन्छु , जुन साहित्यकारहरुले पनि थाहा पाउन जरुरी छ । सुसूचीत हुन यी कुराहरु अपरिहार्य छन् ।
राज्यको चौँथो अङ्ग पत्रकार तथा सञ्चारमाध्यमहरुले कर्तव्यका रुपमा निर्वाह गर्नुपर्ने कुराहरु :—
= प्रेस स्वतन्त्रताको संरक्षक्षण र सम्बर्धन = मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान= सूचनाको हकको रक्षा र प्रचलन = सत्य तथ्य सुचनाको सम्प्रेषण = सम्पादकीय स्वतन्त्रता = गोपनीयताको हकको सम्मान = उच्च व्यावसायिक अभ्यास = शिष्ट व्यवहार = गल्ती सच्याउने तत्परता = सामाजिक उत्तरदायित्त्व = आपसी सम्बन्ध
पत्रकार तथा सञ्चार माध्यमहरुले गर्न नहुने कुराहरु :-
राष्ट्रिय अखण्डतामा प्रतिकुल प्रभाव पार्न नहुने = सामाजिक संरचनामा प्रतिकुल असर पार्न नहुने = समाचारको गोप्य श्रोत खोल्न नहुने = निजि स्वार्थपुर्तिका लागि प्रयोग गर्न नहुने = भेदभाव हुनेगरी सूचनाको सम्प्रेषण गर्न नहुने = पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुने = पीडित व्यक्तिको नाम ठेगाना प्रकाशन गर्न नहुने = हिँसा आतङ्क र अपराधलाई प्रोत्साहन गर्न नहुने = घृणा र उत्तेजना फैलने गरी विभत्स दृश्य र फोटो प्रकाशन प्रसारण गर्न नहुने = घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने = तथ्यहीन समाचार प्रकाशन गर्न नहुने = विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुने = श्रोत उद्धृत नगरी समाचार उपयोग गर्न नहुने ” — नेपाली पत्रकारिता लेखक शुभशंकर कँडेल पृ. २२२—२२४
२.४.२ साहित्यका लागि सिकाइ
जब कसैले केही आफुभन्दा जान्नेहरुसँग केही कुरा सिकेको हुन्छ , त्यसको आधारमा उसले आफ्नो ज्ञानको दायरा फराकिलो पार्दै लैजान्छ । विचार र ज्ञानको प्रयोग गर्दै उसले अनुभव सँगाल्दै आफ्नो वौद्धिकता बढाउँदै लगेको हुन्छ । जस्तो कि एउटा मेशिन चलाउन छोड्यौँ भने त्यो मेसिन खिया परेर पछि पहिलेजस्तो चलाउन सकिन्न । जब चलाइरह्यौँ भने त्यसले पहिलेकै गतिमै काम गर्न सक्छ । भनाइको मतलब सक्रियतासँग छ । जब सक्रिय जीवन कोही जिउँछ भने उसको वौद्धिकतामा कुनै ह्रास आउँदैन । आफ्नो बौद्धिकता बढाउन आफुलाई कौतूहल लागेका कुराहरु आफुभन्दा जान्नेहरुसँग सोधी बौद्धिकताको दायरा बढाउँदै लान सकिन्छ । आफुले निष्कर्ष निकाल्नुपर्छ । निष्कर्षलाई परिक्षण गर्दै जानुपर्छ । यदि प्रमाणित भए त्यसलाई आफ्नो अनुभवको सिद्धान्त बनाउनुपर्छ । अनि जीवनमा आफु र अरुका लागि प्रयोग गर्नुपर्छ , लागु गर्नुपर्छ । यस्तो क्रमिक रुपको शिक्षा लिए जसरी कथाका लागि पनि अध्ययन अनुसन्धान गरिरहनुपर्छ । यसका लागि लेख, रचना, साहित्यद्वारा अवश्य नैे धेरै योगदान हुन्छ ।
साहित्य समुन्द्र भन्दा फराकिलो आकाशभन्दा विशाल हुन्छ । यस्तो वृहत्तर साहित्य कुनै एक जाति धर्मप्रति सङ्कुचन हुनुहुँदैन । छर्लङ्ग सबैलाई सन्देश दिन सबैले बुझ्ने भाषा प्रयोग गर्नुपर्छ । यसका लागि कुनै एक जाति धर्मप्रति झुकाव भएमा सबैले बुझ्न सक्दैनन् । त्यसैले साहित्यले भन्न खोजेको कुरा सबै वर्गले सरल तरिकाले बुझ्न सक्ने हुुनपर्दछ ।
साहित्यले समाजलाई विकासशील बनाउन सघाउन सक्नुपर्छ । गरिव निमुखाका पक्षमा बोल्न सक्नु पर्छ । न्याय भनेको यो हो भनी बुझाउन सक्नुपर्छ । देश प्रति आस्था जगाउन सक्नुपर्छ । जनताका लागि अत्यावश्यक कुराहरु के हुन् त्यसबारे बोल्न र बुझाउन सक्नुपर्छ । त्यसैले साहित्य सधैँ जनताका बीचमा उभिएर पानीहाँसले जस्तै दूधको दूध पानीको पानी छुट्याइदिनुपर्छ । आफुले जानेको कुरा सिकाउन कन्जुस्याँइ गर्नु हुँदैन । विद्या भनेको जति सिकायो उति बृद्धि हुँदै जाने कुरो हो । यसका लागि साहित्यकार साथीहरुले सोधखोज, अध्ययन अनुसन्धान निरन्तर गरिनै रहनु पर्दछ । त्यसैले साहित्य आफ्ना इच्छा, आकाँक्षाहरु पोख्ने अनि मनोरञ्जन गर्ने, समय मात्र विताउने थलो होइन । जनताका लागि आवश्यक शिक्षाका लागि निरन्तर कलम चलाइरहनुपर्छ । साहित्यले विदेश पलायन हुने होइन, विदेश पलायन भएकालाई पनि देशका निम्ति पसिना बगाउन उक्साउन सक्नुपर्छ । जत्तिसुकै शक्तिशाली होउन् यदि उनीहरुले देशहितका कार्य गरेका छैनन् भने जति सुकै कठिन परिस्थिति सहेर पनि त्यसलाई उदाङ्गो पारिदिनुपर्छ । बास्तबमा यसरी झल्काउने साहित्यकार नै वास्तविक साहित्यकार कहलिन्छन् ।
२.४.३ साहित्य राम्रो बनाउने समालोचना
साहित्य राम्रो पार्न आपसमा छलफल हुनुपर्छ । सल्लाह सुझाव जोसँग पनि लिनुपर्छ , मनन गर्नुपर्छ, लागु गर्नु पर्छ । रचनाको उद्देश्य धेरैभन्दा धेरै ठाउँमा फैलाउनुसँग सम्बद्ध हुनुपर्छ । साहित्यमा लागेकाहरु मात्रसाहित्यमा लागेर हुँदैन, आफुले साहित्यिक रचनाबाट मुखरित गरेका सकारात्मक सङ्कल्पहरु भनाइ अनुसारको गराइ जसरी पुरा गर्न लागिपर्नु पर्छ । यसरी जनजनमा लागेमा जनताहरुको दुःखसुख गहिरिएर बुझ्ने मौका मिल्छ र त्यसबाट साहित्य जनताको मनको भित्रसम्म महसुसकारी हुन्छ ।
समालोचनाले पनि साहित्यलाई परिस्किृत बनाउँछ । साहित्यकार बन्ने समालोचनाबाटै हो ।
समालोचनाबारे देवकोटाले व्यक्त गरेको कुरा साहित्यपथीहरुका लागि उपयुक्त तथा सान्दर्भिक हुने आशा गर्न सकिन्छ ।
। उनले समालोचकका बारे भनेका छन् “समालोचक ! तँ छुच्चो बने पनि उदार छस् । तँ घाउ लगाउने भए पनि डाक्टरको छुरा छस् , त्यसकारण विचरा समालोचक ! तँलाई दुनियाँ निको मान्दैन, तर तेरो सोख छ , तेरो विलास छ , सत्य बोल्नुमा, तराजु लिनुमा, दुबै हातले बराबर गरेर जोख्नुमा, आँखाको नानी तानेर लवजका वरिपरि हेर्नुमा, कविद्वारा देश बुझ्नुमा, लेखकद्वारा समय निहार्नुमा, दुनियाँको रातो मुख भए पनि दुनियाँको अगाडि साँचो कुरा बोल्न नैतिक साहस राख्नुमा ।”
देवकोटाले अर्को प्रशङ्गमा भनेका छन् “हे समालोचक ! तँ पनि साहित्य क्षेत्रमा पानीदार हीरा होस् , तेरो काम आवश्यक छ उपयोगी छ , तँ नभई सृजनाको दौड असुन्दर हुन सम्भव छ । तेरो छडी नपाई लेखकहरुलाई बोधो आलस्यले छोप्न सक्छ , तँ तिनलाई उत्तेजित गराउँछस् , स्पर्धाशील बनाउँछस् , साहित्यको कक्षा समुच्छि«त बनाउँछस् । त्यसकारण तँलाई धन्यवाद छ तेरो नैतिक साहसका निम्ति, तेरो अग्रसरताका निम्ति ।”
देशका निम्ति असमान सन्धी भएका छन् भने त्यस विरुद्ध साहित्यले उजागर गरिदिनु पर्छ । जनतालाई सत्यतथ्य बोलिदिनुपर्छ । हाम्रो इमानमाथि धावा बोल्नेका विरुद्ध सधैँ साहित्यले बोल्नुपर्छ । साहित्यले आफ्नो कला, विचारले यस्ता कु्राहरु उजागर गरिदिनुपर्छ ।
सानाभन्दा साना कुराहरु पनि सुनेर त्यसको रेसारेसा केलाई छर्लङ्ग्याउन सक्नु पनि साहित्यकारको खुबी हुनुपर्छ । त्यस्ता कुरामा ध्यान दिन लगाएर पाठकलाई प्रगत्योन्मुख बनाउन सक्ने यदि खुबी छ भने पनि ऊ सफल साहित्य सर्जक बन्न सक्षम हुन्छ । अझ त्यसमा कला, बान्की, बिम्व, प्रतीक आदिले पढुँपढुँ लाग्ने बनाउन सकिन्छ । अनि त्यसबाट समाजलाई अघि बढाउन मुल कुरा भनेको सन्देश दिन सक्नु नै हो । देश र जनतामा हुन जाने हानीबाट सजग गराई सबै उत्पीडित स्थानहरुमा बहार ल्याउन मद्दत गर्नु नै साहित्यकारको धर्म हो ।
वर्तमानमा जिउने कला, विगतबाट पाठ लिने, भविष्य राम्रो बनाउन वर्तमनमा सचेत हुने कुरा साहित्यबाटै सिकाउनुपर्छ । पाठजस्तो गरी मात्र होइन पाठकको रुचिसँगै अघि बढाएर उडानमा लगी सारमा अवतरण गरिदिनुपर्छ ।
२.५ प्रगतिशील साहित्यमा रुसी साहित्यको योगदान
मार्क्सभन्दा पहिले सर्वसाधारणको कला, साहित्य, इतिहास अध्ययन गर्नेहरुलाई समाजले बहिस्कृत गथ्र्यो । त्यसैले त्यो बेलाको नियमका आधारमा कला र साहित्यबारे ज्ञान हासिल गर्न असम्भव थियो । विश्वका जत्ति पनि वैज्ञानिक आविष्कार भए , अझ भनुँ मानवका लागि विज्ञानप्रविधिको उँचाइ हासिल भए यही विद्रोहात्मक चेतका कारण मात्र सफल भयो । मार्क्सले भनेका छन् “पुँजीवादी उत्पादन बौद्धिक उत्पादनका कतिपय क्षेत्रहरुका लागि जस्तै कला र काव्यका लागि हानिकारक छ ।” अवश्य नै यो कथासाहित्यका लागि पनि लागु हुन्छ ।
बे.क्रिलोभका शब्दमा “सर्वहारा वर्गमा मार्क्स र एंगेल्स त्यो सामाजिक शक्ति देखिनुहुन्छ , जो संसारलाई बदल्न समर्थ छ र जसले अर्थतन्त्र र राजनीति मात्र नभएर संस्कृतिको क्षेत्रमा पनि उत्तरोत्तर विकास सम्भव तुल्याउँछ । मानव जातिका उच्चतम नैतिक एवम् सौन्दर्यात्मक मुल्यहरुलाई पुर्णतः मुर्त रुप दिनका लागि आवश्यक स्थिति तयार पार्न समर्थ छ ।”
इसं १९१७मा भएको सफल अक्टोबर समाजवादी क्रान्तिको विजयपछिको समय र सोभियत सत्ताको स्थापना पश्चातको समयमा देखापरेको रुसी साहित्यको इतिहासलाई सोभियत रुसी साहित्यको नामाकरण गरिएको छ । यस साहित्यले वर्तमान रुसी साहित्यलाई समेत प्रतिनिधित्व गर्दछ । १९१७ रुसी घटनासँगै जन्मिदै हुर्कन पुगेको साहित्यलाई सोभियत रुसी साहित्य भनेर चिन्ने गरिन्छ । बीसौँ शताब्दीको सर्वहारा आन्दोलनको शिखर विन्दु १९१७अक्टुबर क्रान्ति, वोल्सेविक जनक्रान्तिले विश्व साहित्यमा नयाँ फड्को ल्याइदियो । अठारौँ र १९औँ शताब्दीको प्रगतिशील साहित्यको जगमा निर्मित नयाँ साहित्य नै सोभियत रुसी साहित्य हो । विशेषतः सोभियत संघमा भएको विश्व लेखकहरुको सम्मेलन पश्चात प्रगतिवाद अत्यधिक चर्चामा आयो । त्यसकारण सोभियत रुसी साहित्य भनेको मार्क्सवाद लेनिनवादको राजनैतिक दर्शनद्वारा निर्देशित र प्रेरित समाजवादी यथार्थवादी पद्धतिको साहित्य नै बीसौँ र एक्काइसौँ शताब्दीको सोभियत रुसी साहित्य बन्न पुग्छ । यस साहित्यले घोषितरुपमै मजदूर र किसान, दलित र पीडित, उपेक्षित र अपहेलित जाति विशेषको चित्रण र सम्मान गर्ने गर्दछ । अभिजात वर्गलाई घृणा र दोष प्रकट गर्दै सर्वसाधरणको मान सम्मानमा विशेष जोड दिने कार्य सोभियत रुसी साहित्यले गरेको पाइन्छ । यसकालमा निकै गहनतम भित्रि मनसम्म उद्वेलित पार्ने शोषित, पीडित जनाका पक्षका थुप्रै साहित्यहरु जन्मे । अहिले पनि यस्ता साहित्य विश्व साहित्यका अग्रपङ्तिमा छन् । अहिले पनि चुकचुकाउनु पर्ने अंतरिक्ष विज्ञान देखि लिएर प्रविधिको उच्चता त्यसबेलाको सोभियत संघले हासिल गरेको थियो । त्यस्तै गरी विश्व साहित्यलाई अहिले यस्ता साहित्यको अभाव खट्किरहेको छ ।
भि.आई.लेनिनले अहिलेको शिक्षा प्रणलीलाई पुरानो शिक्षा प्रणालीको संज्ञा दिएका छन् । अवश्य नै शिक्षा प्रणाली जस्तो हुन्छ त्यस्तै साहित्य जन्मिन्छ । प्रगतिवादी साहित्यका लागि भि.आई.लेनिनले भनेका छन् कि “पुरानो शिक्षाप्रणालीप्रति न्यायोचित र आवश्यक घृणाभाव राख्दै, पुरानो शिक्षाप्रणालीलाई नष्ट गर्ने तत्परतालाई उचित ठान्दै हामीले के कुरा पनि बुझ्नुपर्दछ भने अध्यापनको पुरानो पद्धतिको ठाउँमा, पुरानो सु्गारटाइ र पुरानो घोकाइको ठाउँमा हामीले समग्र मानवज्ञान ग्रहण गर्ने क्षमता उत्पन्न गर्नुपर्छ र त्यसलाई कुन किसिमले ग्रहण गर्नुपर्दछ भने साम्यवाद तपाईंको निम्ति यस्तो कुरा हुन नजाओस् , जुन घोकेर कण्ठ पारिएको होस् , बरु त्यो यस्तो कुरा बनोस् , जुन तपाईंले आफैँ सोचविचार गरेर लिइएको होस् र त्यो यस्तो निष्कर्ष बन्न जाओस् , जुन आधुनिक शिक्षाको दृष्टिकोणद्वारा नै अनिवार्य होस् ।”
विश्वमै प्रथम पटक शोषित, पीडित सर्वहारावर्गको स्थापना भएको सोभियत रुस बन्नको निम्ति रुसको समाजले जेजस्ता घुम्ती र खुड्किलाहरु घुम्दै र चढ्दै आयो, आक्रमण र प्रत्याक्रमणका जे जस्ता युद्धहरु झेल्दै आयो ठीक त्यसैगरी सोभियत युगको रुसी साहित्यले पनि रुसी समाजसरह नै विभिन्न ऐतिहासिक साहित्यिक खुड्किलाहरु चढ्दै, पार गर्दै आएको पाइन्छ ।
सन् १९१७मा भि.आईं.लेनिनको नेतृत्त्वदायि भूमिकाले साहित्यलाई पुँजीवादी बन्धनबाट मुक्त पारी प्रगतिवादतर्फ साहित्य अघि बढेको थियो । मार्क्सवादीले ल्याउन चाहेको समाजवादलाई वकालती गरेर प्रगतिवादी साहित्यको मानांक पाई यसबेला साहित्य अघि बढेको थियो ।
मार्क्सवादी सौन्दर्य चिन्तन भन्ने पुस्तकमा चैतन्यले उल्लेख गरेका छन् कि “सम्बन्धित समाजमा जुन कला जनताको पक्ष र दुश्मनको विपक्षमा छ , त्यसलाई प्रगतिशील कला भनिन्छ । कुनै पनि अर्धसामन्ती वा अर्धऔपनिवेशिक मुलुकमा सामन्तवाद तथा साम्राज्यवादको विरोध र आम जनसमुदायको पक्षमा जुन कला रचिन्छ त्यो प्रगतिशील कला हो । कुनै पनि पुँजीवादी मुलु्कमा पुँजीपति वर्गको विरोध र मजदुरवर्गसहित उत्पीडित जनताको पक्ष लिने कलालाई प्रगतिशील कला भनिन्छ ।”— पृ. ११९
२.६ राणाको समयको कथाको हालत
राणाको हुकुमी, पञ्चायती शासन, जनआन्दोलन १, जनआन्दोलन २, गणतन्त्रसंघीयताको यात्राले देशमा अभिव्यक्ति भए पनि स्वतन्त्रता पायो । अझै पनि कार्यान्वयन पक्ष फितलो छ । सङ्क्रमण काल छ । यसको दोष साहित्यलाई पनि जान्छ । किनकी साहित्य पहिले जस्तो छ त्यस्तै छ , छलाङ्ग लगाउन सकेको छैन । कलात्मक, बिम्बका नाममा छर्लङ्ग लेख्न नसक्नु पुरानै कर्मचारीतन्त्रले जकडिएसरि छ ।
बिक्रमी एक्काइसौँ शताब्दीताका स्वैरतान्त्रिक राणा शासनले गर्दा जनता पिल्सिएकाले जीवनमुखी आख्यान रचना अनुकूल परिस्थिति थिएन । त्यसैले त्योबेलाका लेखकहरु राणाको स्तुति, चाकरी अनि अन्ध परम्पराको जय गान गाउने भए । उनीहरु घोरप्रतिक्रियावादी हुन थाले । यो नै उनीहरु आर्थिकरुपमा सम्पत्र हुने बाटो भयो । ती टाठाबाठा, चतूर, सामदामदण्डभेदका तिकडम गर्ने अनि यस्ता लुच्चा लफङ्गो कामले जनसाधारणलाई पेलिरहन्थे । त्योबेला व्राह्मणले मात्र पढ्न पाउँथे त्यो पनि संस्कृत मात्र । त्यैसैले सङ्कीर्णता, कूपमण्दूकता, शोषण हट्ने कुरै थिएन । त्योबला सर्वसाधारणले छाडा कुरा जत्ति पनि लेख्न पाउँथे । उनीहरुलाई त्यही मात्र छुट थियो त्यसैले त्यसैमा प्रतिस्पर्धा गर्थे ।
२.७आधुनिक नेपाली कथा शारदा पुर्व
लेखकहरु मध्ययुगीय आख्यान तथा रोमान्सेली परम्पराबाट मुक्त भई सामाजिक विचारधारामा परिवर्तन हुन थाल्यो । क्रान्तिका स्वर मुखरित हुन थाल्यो । जीवनका अति दुःखात्मक कुराहरु चित्रण हुन थाल्यो । कथामा निम्नवर्गीय पात्र पनि चयन हुन थाल्यो । बौद्धिकता सर्वसाधारणका लागि पनि प्रसार हुन थाल्यो ।
२.८ आधुनिक नेपाली कथा शारदा उत्तर
सस्तो मनोरञ्जनबाट पञ्छिने कामको सुरुवात हुन थाल्यो । यथार्थ प्रतिविम्ब कठीनताका साथ अप्रत्यक्षरुपमा उजागर हुन थाल्यो । समाजभित्रका समस्याहरुको गहिराइमा अवलोकन हुन थाल्यो ।
२.९ नवचेतनावादी साहित्यिक आन्दोलनमा कथा
२.९(क) आयामेली आन्दोलन
मानिसको जीवनको एक पक्ष मात्र बोक्ने परम्परागत साहित्यलाई चेप्टो साहित्य मानी मानव जीवनको सबै पक्ष अर्थात वास्तविक पक्षको यथार्थ प्रस्तुत हुने साहित्यलाई आयामेली साहित्य भन्न थालियो । वस्तुता र समग्रतामा जोड दिइएको यो आन्दोलन परम्परावादी चेप्टो साहित्यसँगको विद्रोह हो । यसका संस्थापकहरु इन्द्रबहादुर राई, ईश्वर बल्लभ, बैरागी काइँला हुन् । यसमा जिन्दगीको सिङ्गो प्रक्षेपणको आग्रह छ । वस्तुतालाई पराभौतिक मानी आध्यात्मिक योग विन्दुसँग सम्बद्ध गर्ने र अमूर्तताका अभिव्यञ्जनाका लागि सञ्चालन गरिएको छ । यसलाई प्रयोगवादी कथाको प्रथम विन्दु मानिन्छ ।
भारतीय नेपाली साहित्य र संस्कृतिको झलक पुस्तकमा देवी पन्थी लेख्दछन् कि भौतिक विज्ञान र् टकनिकीहरुको यति धेरै प्रगति र प्रभावले गर्दा आज भावुक र काल्पनिक कथाहरु नरुचाउने पाठकहरु पनि प्रशस्त छन् । आयामिक ढाँचाको लेखाइ र लीला लेखन अँझै पनि चिन्तन चर्चाका विषय रहेका छन् । हिजोआज अँझ नयाँ प्रयोग र खोजले नेपाली कथालाई नयाँ दिशा दिइरहेको छ ।…..नेपाली साहित्यमा देखापरेको उत्तर आधुनिकतालाई भारत र नेपालमा बसेर कथा लेख्ने कथाकारहरुले निकै चासोका साथ प्रयोगमा ल्याउन खोजेको देखिएता पनि धेरै जसोको धारणा उत्तर आधुनिकता र लीला लेखनप्रति अस्पष्ट देखिन्छ । पृ. ५४—५५
कृष्ण धरावासीले रत्नमणि नेपालले सम्पादन गर्नुभएको साझा प्रकाशनबाट प्रकाशित लीलादृष्टि भन्ने पुस्तकमा लीलाबाट कोही मुक्त छैन भन्ने लेखमा भनेका छन् कि जीवनको आर्थिक पक्षलाई मात्रै विषयवस्तु बनाई समाजको विश्लेषण गर्ने प्रगतिवादी दृष्टिकोण सँगसँगै जीवनको भावनात्मकता, बौद्धिकता, हार्दिकता, चिन्तन पक्षको पनि उत्तिक्कै महत्त्व देख्ने लीलावादी दृष्टि प्रगतिवादी समीक्षकहरुका लागि हाँस्यास्पद र विकृत लाग्दछ , तर याथार्थ जीवन र पुर्वाग्रही व्याख्या जस्तो छैन । यथार्थ जीवन, दुःख, सुख, प्रेम, घृणा, शोषण, दमन, सङ्घर्ष, क्रान्ति, विजय, पराजय सब कुराहरु भरिएको छ । यथार्थ जीवन रुढ छैन । कहिल्यै परिवर्तन हुन नसक्दो, जहिले पनि उस्ताको उस्तै, मन्दिर मूर्तिको अनुहार जस्तो छैन यथार्थ जीवन, यथार्थ जीवनमा त गति र परिवर्तनहरु छन् । पृ ६७
यसै सन्दर्भमा रत्नमणि नेपाल सोही लीलादृष्टि पुस्तकको भूमिकामा लेख्दछन् “हाम्रो ज्ञानचेत थाह सम्म मात्रै, थाह जत्ति हाम्रो बुद्धि, धारणालाई लेखनमा लेख्नु लीला लेखन छ । एक चेतले थाहहरुको लेखन हो लीला लेखन । यहाँ लेखक फाटेर हेर्छ । लम्किएर जीवनलाई जीवनको समय सापेक्षित वैभिन्यतालाई र ऊ ज्यादै मौलिकताले(बाँचेको) साहित्य लेख्न चाहन्छ । एक शव्दको अर्थ अनेकमा रुपान्तरण, अर्थ अनेकको बुझाइ अनेक, बुझाइ अनेकको परिवर्तनशीलता, थाह(एक समय)को अनिश्चित बुद्धि माथिको अविश्वास, अर्थको अपुरण, बुझाइ र सिकाइको व्यक्तिगत वैभिन्यता (यी लीलाहरु)को सचेतनले लेखन हुन्छ लीलालेखनको ।”
२.९(ख) राल्फा
वैचारिक क्षेत्रमा विसङ्गती विरुद्ध विद्रोह गरेर राल्फाको सुरुवात भयो । सत्तापक्षले गर्ने अदृश्य पक्षपोषणको यसले विरोध गरी विश्वास नगर्ने, जीजीविषाको समान मानवीय अधिकारको प्राप्तीलाई स्विकार्ने किसिमले यो आन्दोलन अघि बढेको थियो । सामाजिक असमानता र रुढिवादी परम्पराको यसले विरोध गर्यो । क्रान्तिमा आस्था राखी शोषण, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, असत्य आदि विसङ्गतीहरु विरुद्ध अभिव्यक्ति स्वतन्त्रताका लागि मार्क्सवादलाई अङ्गिकार गरेको पाइन्छ । साहित्यकार पारिजात राल्फाका अगुवा हुन् । राल्फाले प्रयोगात्मक कथा परम्पराको एक महत्त्वपुर्ण पक्षलाई आत्मसात गरेको पाइन्छ ।
निनु राल्फाका अनुसार “हामीहरु कुसंस्कारहरुबाट ग्रसित थियौँ । अँझै पनि छौँ । हामीलाई शासन गर्ने कुरुपताहरुले मनुष्यको तहबाट धेरै पर, पशुपतितिर हुत्याइदिएको थियो । अँझै पनि छ । तर पनि हामीहरु मध्ये कतिपय आफुलाई मानव भनेर गर्व गर्दै थियौँ, असभ्य तरिकाले हाम्रा आफ्नै दाजुभाइहरुको शरीर, मन, अर्थ, सबैजसो मान्छेको रगत जुकाले जस्तै चुसेर ! त्यसैले हामीहरुले यसको विरोधको एउटा बाटो खोज्यौँ, राल्फाको सृजना गरेर ।”
२.९(ग) अस्विकृत जमात
यो आन्दोलन राजनीतिक सापेक्षित देखिन्छ । सामाजिक, नैतिक आदि मुल्यलाई भङ्ग गर्दै वास्तविकतामा भएका यथार्थलाई वेजोडसँग चित्रण गर्नु यो जमातको उद्देश्य थियो । यस आन्दोलनमा लागेका युवा लेखकहरुले क्रुरता र वर्वरताको विरोध ग¥यो । शैलेन्द्र साकार यस आन्दोलनका अगुवा हुन् ।
२.९(घ)अमलेख आन्दोलन
यसका सर्जक ध्रुवचन्द्र गौतम हुन् । स्वतन्त्र अभिव्यञ्जनाका लागि क्रियाशील बन्दै परम्पराबाट पृथक भई देश र जनताको सेवा गर्ने उद्देश्यले अभिप्रेरित भई आफ्ना धारणा र मान्यताहरु यिनले व्यक्त गरे । यसको उद्देश्य परम्परागत मुल्य मान्यताहरुबाट लगाम छोडी अंधसांस्कृतिक प्रवृत्तिबाट विद्रोह गरी नवीन र प्रयोगशील मुल्यको खोजी गरी प्रयोगवादी कथा लेखनलाई मध्यनजर गरी प्रचूर जिवनशक्तिमा ध्यान पु¥याउनु यो आन्दोलनको उद्देश्य हो । अस्विकृत जमातका भुवन कोइराला, पुरुषोत्तम बस्नेत जस्ता अन्य कथाकारहरुले पनि यथेष्ट सहयोग गरेका थिए । संवेदनशील मुल्यहरुको अभिव्यक्त गर्न, साहित्यको क्रमिक विकासको सम्बद्र्धन गर्न र पुराना मान्यता पुनर्मुल्याङ्कन गरी नयाँ मान्यता स्थापित गर्न ।
२.९(ङ) बुटपालिस आन्दोलन
लेखनका लागि अर्थ सङ्कलन गर्न २०३१ सालताका भएको यो आन्दोलन प्रतिकूल परिस्थितिका विरुद्ध एउटा सशक्त असन्तोष, आक्रोस, विरोध तथा विद्रोहका स्वरहरुले भरिएको थियो । यसका सदस्यहरुले आफुलाई अवमुल्यनमा नराखी नवीनता र परिवर्तनशीलताको आह्वान गरी क्रान्तिका भावहरु उल्र्याएको थिए । यस आन्दोलनमा शैलेन्द्र साकार, भाउपन्थी, कविताराम, मोहन घिमिरे, ध्रुव सापकोटा, सन्तोष भट्टराई, नारायण ढकाल आदि सक्रिए भए ।
२.९(च) सबाल्टर्न
सबाल्टर्नको अध्ययन अभियान सन् १९८२देखि दक्षिण एशियामा सुरु भयो । आज विश्व इतिहास सिमीत सभ्रान्त वर्गको कब्जामा छ । सबाल्टर्न शब्दले हरेक हिसाबले तल्लो दर्जामा परेको व्यक्तिलाई जनाउँछ । जो शक्तिशाली भएर पनि शक्तिविहीन बनाइएको हुन्छ । मध्यम तथा उच्च वर्गका किसानहरु पनि सबाल्टर्न अन्तर्गत नै पर्दछन् । सबाल्टर्न वर्गमा दलीत, शोषित, पीडित, दुःखीजनहरुप्रति अत्यधिक सहानुभूति हुन्छ । उनीहरुलाई यी शोषित जनताहरुप्रति अगाढ स्नेह हुन्छ । किनकी उनीहरु पनि आफुले जे इच्छा गरेको हो त्यो गर्न पाउँदैनन् । उनीहरु मात्र साम्राज्यवादी शक्तिको कठपुतली जस्तो नै हुन्छन् । इतिहासले यस्ता सबाल्टर्नका पीडा बारे केही बोल्न समर्थ भएको छैन । त्यसैले इतिहासलाई नयाँ किसिमको आँखाले हेर्नु आवश्यक छ ।
आज विश्वमा ठुलाठुला शक्तिको खेल भइरहेको छ । शक्ति खेलमा जस्को जित भएको छ सबै उसैको उपासक जस्तो भएर साहित्य सिर्जना भइरह्यो । शक्तिविहीनहरुको आवाज कहिल्यै उजागर भएन । मानव समाजले अहिलेको वैज्ञानिक, प्रविधिक युगसम्म आउँदा धेरै ठुलो फड्को मारिसक्यो । तर सबाल्टर्न वर्गमाथि भएको अन्याय अझै पनि मुखरित भएको छैन । सबै प्रगतिवादी साहित्यकारहरुलाई सबाल्टर्न वर्र्गबाट धेरै प्रत्यक्ष, अप्रत्यक्ष सहयोगहरु भइरहेका छन् । तर सबाल्टर्न बर्गप्रति गैर प्रगतिवादीबाट वन्दीजस्तो तथा प्रगतिवादी तर्फबाट अपेक्षित रुपमा सहानुभूति प्राप्त भइरहेको छैन । यसका लागि प्रगतिवादीहरुले यसमा हातेमालो गरी हात बढाएमा परिवर्तनको लक्षमा जान थप टेवा मिल्ने छ । अवश्यनै साहित्यको कथाविधाले यी दुबै पक्षको सेतु बनी वौद्धिक यात्रा गर्न सकिने छ ।
२.९(छ) डायस्पोरिक
नेपाल अहिले विदेशमा कमाएको पैसाको रेमिट्यान्सले चलिरहेको छ । युवाहरु सबै विदेशमा रोजगारका लागि खाडी तथा पश्चिमी मुलुकमा पुगेका छन् । जब राजधानीमा सबै नेपाली बसोबास गरे पनि आफ्नो गाउँको माया, स्नेह अगाढ साहित्यमा पोख्छन् । गाउँको, मोफसलको माटोको स्नेह साहित्यबाट सुगन्धित बनाइदिन्छन् । कोही विदेशमा नेपालीहरु गएर नफर्किए तापनि उनीहरुलाई स्वदेश जत्ति प्यारो अरु कुनै हुँदैन । स्वदेश उनीहरुलाई आमासरि हुन्छ । मातृत्त्वमा उनीहरु पग्लिन्छन् । जतिसुकै ठुलो धनको युद्ध जितेपनि मातृत्त्वको ममताका अगाडि उनीहरु हार्छन् । त्यसैको पीडास्वरुप उनीहरु साहित्यमा देशप्रेमको अगाढ स्नेह पोख्छन् । जस्तो पहिले दार्जिलिङ्ग र सिक्किमेली नेपालीहरुले नेपालमा बसोबास गर्नेहरुभन्दा बढी नेपालप्रेम दर्शाउँथे त्योभन्दा बढी आफुले वदेश प्रतिका पीडा साहित्यमा पोख्थे र अँझै पोखिरहेका छन् । देशका बारे अगाढ ढुकढुकीयुक्त आत्मीय भाव पोख्छन् । यसरी पोखिएका साहित्यलाई डायस्पोरिक साहित्य भन्न थालियो । अवश्यनै नेपाली कथा साहित्यमा डायस्पोरिक साहित्यको अविस्मरणीय देन छ । डायस्पोरिक साहित्यकारहरु पनि प्रायः स्वदेशमा फर्केपछि साहित्य सेबालाई विर्सेको पाइन्छ ।
२.९(ज) नारीवादी जागरण
मनु स्मृतिमा भनिएको छ “यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता” आजीवन धर्म, दर्शनमा शास्त्रार्थ गर्ने गार्गी, मैत्रेयजस्ता विदुषी पनि जन्मिइन् भने सीता, सावित्री, द्रौपदी आदि जस्ती सङ्घर्षशील नारी पनि जन्मिइन् । त्यसको धेरै अन्तरालपछि आधुनिक युगमा मेडम क्यु्री, फ्लोरेन्स नाइटिङ्गेल, मदर टेरेसा, हेलेन केलर जस्ती विश्व विख्यात नारी पनि जन्मिइन् । देश हाँक्नेमा जर्मनकी एन्जेला मार्केल, बर्माकी आङ्ग सान सुकी, नेपालकी विद्या भण्डारी, पाकीस्तानकी बेनजिर भुट्टो, भारतकी इन्दिरागान्धी आदि ख्यातीप्राप्त नारीहरु जन्मिए । नेपोलियनले पनि भनेका थिए “तिमी मलाई असल आमा देऊ म संसारलाई असल आमा दिन्छु ।”
वैदिक कालपछि नारीलाई पुर्वीय दर्शनले एकातिर उपेक्षित व्यवहार गरेको पाइन्छ भने पश्चिमी विदेशी सँस्कृतिले नारीलाई खुलेआम वस्तुसरह उपभोग गरिरहेका छन् । नारीका लागि कानुन पुरुषलाई भन्दा मजबुत भए पनि अँझै वादी, देउकी, झुमा, बोक्सी, छाउगोठ आदि कुप्रथा हट्न सकेको छैन । अँझै पनि नारी चुलोचौको मै सिमीत छन् । गर्भपतन गर्न हुने कानुन आएसँगै छोरी जन्मिन नदिई गर्ने गर्भपतन पनि व्याप्त हुन थाल्यो । यस्ता कुराहरुले नारी तथा पुरुष कथाकारहरुलाई प्रभावित पार्न थाल्यो । नारी जागरणका फलस्वरुप दहेज, बालविवाह, सतीप्रथा, झिनो रुपमा भए पनि हटिसकेको पाइन्छ । विविध संस्कृति, धर्म आदिमा नारीलाई पुरुषभन्दा तल्लो दर्जामा राखिएको पाइन्छ । श्रमिक महिलालाई पनि पुरुषसरह पारिश्रमिक दिएको पाइँदैन । “एउटी नारी सशक्त भए पुरै परिवारलाई लाभ हुन्छ र पुरुष भए ऊ एकलाई मात्र” भन्ने उखानलाई मनन गर्दै अहिले नारीका पीडा बारे कथाकारहरु डटेर लागिरहेका छन् । नारी जीवन सुधार ल्याउन सामाजिक जीवनमा भएका यस्ता यावत अन्याय, अत्याचार, विकृति, विसङ्गति विरुद्ध कथाकारहरुको सशक्त कलम चल्न थालेको छ । यस्ता सामाजिक उत्पीडनको कथाबाट यस्ता विसङ्गति विरुद्ध व्यापक विरोध हुन थालेको पाइन्छ ।
नारी कथाकारहरुलाई पनि पुरुष कथाकारसरह आधा आकाश दिइने कुरा व्यक्त हुन थाल्यो । नारीमाथि हुने विसङ्गतिहरु विरुद्ध मनोविष्लेषणात्मक, प्रगतिशीलात्मक, मानवीय किसिमले जीवनको मुल्यमान्यताहरुद्वारा न्यायिक किसिमका कथाहरु सिर्जना हुन थाल्यो । २००५ सालमा देवकुमारी थापाले पतन शीर्षकको कथा लेखेर सुरु गरेको नारी कथाकारको सिलसिला यत्ति बेलासम्म आइपुग्दा पनि नारी कथाकारहरु औँलाले गन्न सकिने अवस्थामा छन् । नारीदेखि लिएर अन्य सबै मामिलामा सशक्त कलम कथाबाट उठाउने पहिलो सशक्त साहित्यकारको श्रेय भने पारिजातलाई जान्छ । त्यत्तिकै सशक्त रुपमा त्यसपछि बेञ्जु शर्माको पनि कलम चलेको पाइन्छ । यसैले नारीका आवाजात्मक पीडा, समस्या अनि त्यसको समाधानयुक्त कथा नारीबाटै आउँदा अझ सशक्त हुने कुरामा दुई मत छैन । यत्ति भएर पनि नारी कथाकारहरुलाई पुरुष कथाकारहरुको सरह विवेकसम्मत सम्मानित स्थान तथा समानुपातिक स्थान दिलाउने प्रयास भएको देखिँदैन । नारीको युगानुकुल वातावरणयुक्त समाज विकसितरुपमा प्रतिस्थापित हुन बाँकी छ । यसका लागि नारीलाई मुख्य केन्द्रविन्दु बनाई कथाहरु बनिने क्रम जारी छ । पुरुष कथाकारहरुसरह नारीका आवाज नारीले नै व्यक्त गर्न नारी कथाकारहरु पनि खहरेसरह आउन बाँकी छन् ।
२.९(झ) २०४६ पछि
डा. दयाराम श्रेष्ठ र प्रा. मोहनराज शर्मा नेपाली साहित्यको संक्षिप्त इतिहास पुस्तकमा २०४६ पश्चातको वर्तमान नियति शीर्षकमा यसरी उल्लेख गरेका छन् :—
“वर्तमान नेपाली कथा सुषुप्त अवस्थामा पनि छैन र पुर्ण सक्रिय अवस्थामा पनि छैन । पत्रपत्रिकाहरुका प्रत्येक अङ्क कथाहरुद्वारा रङ्गिएकै छन् । तर बगैँचामा वसन्त नभएझँै, नारी जीवनलाई बैधव्यले नाघे झैँ सातो हराएको पहेँलिएको एउटा अवोध बालकझैँ उत्साहजनक राष्ट्रिय वातावरण पटक्कै नभएको आज नेपाली कथा मन्द चालमा हिँडि नै रहेको छ , तर हिँडाइ लाटो छ , खुट्टामा तागत हराएको जस्तो छ तर आँखामा भने आकाङ्क्षाको आशाज्योति भएकाले होला व्यङ्ग्य गर्न र चित्त नबुझेको कुरामा तुरन्तै प्रक्रिया जनाइहाल्न र घोर आलोचना गरेर तर्क झिक्न भने अहिलेका कथाहरु चनाखो लाग्दछन् । आँखा टाठो छ , ओठहरु चल्दछन् , औँलाहरु सल्बलाउँछन् — तर हिँडाइमा सिपाहीँको जस्तो फुर्ति किन छैन ? युवा नै छ , कानले राम्ररी सुन्दछ — तर जिब्रो त्यति फट्किन्न किन ? यी सबै वर्तमानका विकृति र विसङ्गतिद्वारा प्रदुषित वातावरणका असरहरुले गर्दा भएको हो । विचार अपाङ्ग भएपछि लक्ष प्रलोभनको भुँवरीमा परेपछि स्वार्थसँग देखावटी अनुशासनको मितेरी लागेपछि निष्ठा तथा नैतिकता नारावाजीमा मात्र सिमीत भएपछि आकाश रुँदो रहेछ , धर्ती आँसुले निथ्रुक्कै भिजेर लङ्गडो हुँदो रहेछ । नेपाली कथाको वर्तमान नियतिको मर्मकथा यही नै हो । निष्कर्ष ” पृ.९०—९१
२.९(ञ) २०६३ उत्तर
नेपालमा २०६३सँगै सूचना प्रविधिको युग सुरु भयो । इन्टरनेटमा, पत्रपत्रिकामा कथाहरु छापिन थाल्यो । कपि राइटका अनेकौँ नियमहरु तोडिए । सञ्चारमा एउटा नयाँ क्रान्ति ल्याइदियो । अहिलेको रचेको रचना तत्कालैै प्रकाशन हुने जमाना आयो । यसमा कथा पनि अछुत भएन । यो समय माओवादी आन्दोलनकर्ता पनि आम नागरिकसरह जीवन जिउने अवसर पाए । उनीहरुले आफ्ना अभरका कहरहरुका कथाहरु प्रकाशित गरे । त्यो एकदमै सशक्त साहित्य बनेर आयो । नेपाली कथा साहित्यलाई त्यसबाट धेरै योगदान भयो । राष्ट्र अझै सङ्क्रमणकालमा भएको हुँदा त्यस्तो साहित्य दरिलो भए पनि शासकहरुले समर्थन गरेको पाइएन । आन्दोलनको उपलब्धी कागजमा मात्र भयो । कथा साहित्यलाई यो आन्दोलनले ठुलो फड्को ल्याइदिए पनि शासकहरुले कलात्मकता नभएको निरस कथा भनी त्यसको सत्कार, सम्मान ताथ पक्षपोषण गरेनन् । जसको आन्दोलनले यत्ति ठुलो लेखनमा स्वतन्त्रता प्राप्त भयो त्यही वर्गलाई शासकहरुले उपेक्षा गरे । यो समय डायस्पोरिक, द्वन्द्वका घाउहरुका कथाहरु अत्यधिक मात्रामा सिर्जिए । खासगरि यस्ता कथाहरु इन्टरनेट र पत्रपत्रिकाहरुमा देखियो । नेपाली साहित्य गुणात्मक एवम् सँख्यात्मक हिसाबले भरिलो बनी आयो । यो समय कथामा निरङ्कुशता विरुद्ध सशक्त आवाज उठ्न थाल्यो । एकातिर यस्ता कथाहरु लेख्दा भोग्य व्यक्तिको मन हलुङ्गो भयो भने पाठक अनि जनताले सुसूचित हुने अवसर पाए ।
यत्तिले मात्र भएन । कागजमा त जनताको शासन आयो तर फेरि जनताहरु राजनीतिक धूर्तपनको शिकार हुन थाले । इमानदारको ढोँग मात्र हुन थाल्यो । नेताहरु एक से एक बेइमान भएर निस्के, साहित्यकारहरुले घृणा, क्षोभ, आक्रोस प्रकट गर्न थाले । लाखौँले बलिदानी गरी ल्याएको व्यवस्थाका सञ्चालकहरुले गरेको यस्तो धुत्र्याइँबाट केही कथाकारहरु पलायन नै भए । बाँकी जति छन् उनीहरुले पनि लेखसाहित्य आफ्ना रचनाहरुबाट असन्तोष, नैराश्यता व्यक्त गर्न थाले । आज देशको पनि सङ्क्रमण काल भए जस्तै, कार्यान्वयन हुन बाँकी भएसरि अभिव्यक्तिमा पुर्ण स्वतन्त्रता आए पनि कथालेखन अनि साहित्य लेखनमा कालो बादल मडारिरहेको छ ।
२.९(ट) अन्त्यमा
नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे उपन्यास २०६१सालमा प्रकाशन भएसँगै माओवादी विषयवस्तुमा पनि पुस्तकहरु प्रकाशन हुने सिलसिला सुरु हुन थाल्यो । साहित्यका कालखण्डहरु अध्ययन गर्दा पल्पसा क्याफेभन्दा उत्तर र पुर्व भनेर दुई खण्डमा विभाजित गरेर पनि नेपाली साहित्यलाई अध्ययन गर्न थालियो । माथिका जत्ति पनि साहित्यिक आन्दोलन भए पनि कथाकारहरु विशेषगरी दुई खेमामा विभाजित छन् । प्रगतिवादी धारका र गैरप्रगतिवादी धारका । प्रगतिवादी धारकाहरु समाजका विकृति विसङ्गति, निम्न तथा अति निम्नवर्गहरुप्रति सहानुभूति प्रकट गर्दछन् भने गैरप्रगतिवादी धारकाहरु मनोविश्लेषणात्मक तथा यौनमनोविज्ञानका अन्तर्मुखी विचारलाई बढी प्राथमिकता दिन्छन् ।
२.१० कथाको परिभाषा
मानव जीवनसँगै सुरु भएको कथा मानव जत्तिक्कै पुरानो छ । सुख, दुःख, हर्ष, विस्मात आदि संवेगहरु पोख्ने माध्यम कथा धेरै पहिलेदेखि कथिँदै आएको हो । कथा साहित्य विधा मध्ये सशक्त विधा थियो र अहिले अझ सशक्त हुँदै आइरहेको छ । यो प्रकृया निरन्तरता भइरहनेछ । दन्त्य कथा, धर्म, नीतिकथाबाट सुरु भएको यो कथा समस्यामुलक जीवनोपयोगी यथार्थतामा बहिरहेको छ ।
कथाका पर्यायवाची शब्दहरुमा कथासो, कहानी, किस्सा, कुथुङ्ग्री, गल्प, उपाख्यान, आहान, आख्यायिका हुन् । कथा घटनामा आधारित वर्णन हो । कथा भावनात्मक तथा वास्तविक जीवनसँग मेल खाने अभिव्यक्ति हो । यसलाई रोचक र तथपुर्ण बनाउन कलात्मकता र कल्पनात्मकताले सिँगारिएको हुन्छ । हिन्दुका वेद, उपनिषद, रामायण, महाभारत यहुदीका ओल्ड टेस्टामिन्ट, क्रिश्चियनका वाइवल, ग्रीस—रोमका इसप नीतिकथा, भर्जिलको एनिड, दाँतेको डिभाइन कमेडिया, बोचक्कोको डिक्का मोरिन, अरबका सहस्ररजनीक कथा, मुसलमानका कुरान, पुर्वीय र पाश्चात्य जगतका प्राचीनकथाका स्रोतहरु हुन् ।
कथालाई कथेर र लिखित रुपमा प्रस्तुत गरेर, चित्र देखाई त्यसको वर्णन गरेर, प्रश्नोत्तर विधिबाट कथा भनेर, नाटकीय शैलीमा सम्वाद भन्न लगाएर, अधुरो कथा दिई त्यसलाई पुर्ण गर्न लगाएर, भिडियो सिनेमा आदिबाट प्रस्तुत गरेर आदिआदि विभिन्न प्रकारले कथा स्रोता एवम् दर्शक, पाठकसम्म पुर्याउने अभिव्यक्तिको विधा हो । तसर्थ कथाले सिर्जनशीलता र परिकल्पना शीप तथा अभिव्यक्ति शैलीको श्रीवृद्धि गर्दछ ।
मानव सभ्यताको विकाससँगै वर्तमान युगसम्म आइपुग्दा कथाले धेरै फड्को मारिसक्यो । मानिसको मनमा अनेकौँ तरङ्गहरु आउने गर्दछन् । यस्ता कुराहरु प्रकट गर्न जो पनि आतूर हुन्छन् । भाषाको विकास हुनुभन्दा अगाडिदेखि हाउभाउ, इसारा, चेष्टा, आदिबाट मानिसले आफ्ना कुरा कथामा व्यक्त गर्दथे । त्यसैले कथा भाषाभन्दा जेठो हो । त्यसपछि कलाको विकास भएसँगै चित्र, सङ्गित, मूर्तिबाट पनि कथा प्रस्तुत हुन थाल्यो । भाषाको विकास भएसँगै प्रकट रुपमा कथाहरु अभिव्यक्ति बनेर आउन थाल्यो । कथामा यस्ता अभिव्यक्तिहरु रसिलो, रमाइलो र सुन्दर पारिएको हुन्छ । जब यस्ता अभिव्यक्तिहरु सिलसिला मिलाएर सुनाइन्छ वा लेखिन्छ तब यो कथा बन्छ । यसमा पाठकलाई खुल्दुली जगाइन्छ र उत्कर्षमा समाधान पनि देखाइन्छ ।
नेपाली कथाले सामाजिक रुढिवादप्रति विद्रोहात्मक अस्विकृत जनाउँदै परम्परादेखि चलिआएको खण्डीत विचारधाराहरुद्वारा सिर्जित शोषणको उग्र विरोध गर्दै नवीनतम मुल्य स्थापित गर्न स्वैरकल्पना, पुर्वप्रसङ्ग, प्रतिबिम्ब र व्यङ्ग्यको नवीनतम शिल्पद्वारा प्रकट हुन थालिएको छ ।
एड्गर एलेन पोका अनुसार “कथा त्यस्तो साहित्य विधा हो जो एक बसाईंमा पढी सकिन्छ जसमा एउटै प्रभावको सृजना गरिएको हुन्छ र त्यस एक मात्र प्रभावको सृजनामा वाधा पु¥याउने तत्त्वको परित्याग गरिएको हुन्छ अनि जो आफैमा पुर्ण हुन्छ ।”
कथा भन्ने र सुन्ने परम्पराबाट विकास भएर पछि गएर लिखित रुपमा पुस्तकका रुपमा कथाहरु आउन थाल्यो । ती पुस्तकका कथा पनि पुनः मौखिक रुपमा अनुकूलनका साथ त्योभन्दा कलात्मक र शिक्षाप्रद रुपमा आउन थाल्यो । त्यस्ता मौखिक रुपमा परिमार्जित भइसकेका कथाहरु पुनः शिष्टताका साथ पुनः मुद्रण भई पुस्तकका रुपमा आउन थाल्यो । यसरी नै प्राचीन कथाको विकास भएको थियो । लोक कथा, नीति कथा, पौराणिक कथाहरु यसका उदाहरण हुन् ।
एक पटक पढेपछि पढुँपढुँ लाग्ने, नसकुञ्जेल पढिरहन मनलाग्ने, एकै बसाँइमा पढिने विधा नै कथा हो । कथा राम्रो हुनका लागि राम्रो विषयवस्तु चयन हुनुपर्छ । यो भूतकालमा लेखिन्छ । तर संवादात्मक चित्रणमा वर्तमान काल प्रयोग हुन्छ । त्यसलाई मौलिक किसिमले नवीन परिवेशमा पढुँपढुँ लाग्ने किसिमले पाठकलाई उत्सुकता कथाको अन्त्य नभएसम्म जगाइराख्न सक्नुपर्छ । मतलब कथामा कथाकारको आफ्नै किसिमको विशेष पकड जमाउन सक्ने खुबी हुनुपर्छ । त्यसमा संवाद, कथानक, वैचारिक धार आदि कुन पक्ष कहाँ सवल गर्नुपर्ने हो सोही अनुसार प्रस्तुत गर्न सक्नुपर्छ । पाठकले सहजै पढ्न सक्ने गरी सम्प्रेषण गर्नुसक्नुपर्छ । जीवनमा घटनाहरु थुप्रै घटिरहेका हुन्छन् , यस्ता भोगाइका घटना वास्तविक रुपमा लेख्न नसकिने पनि हुन्छन् , कुनै विस्मृति भएर पनि बस्छन् , त्यस्ता घटनाहरुलाई कथामा ल्याउँदा पाठकलाई सहज एवम् पठनीय हुन्छ । यस्तो मनोभाव कि पाठकले ती कुरा अप्रत्यक्षै भए पनि बुझिसक्छन् र यसमा विश्वसनीयता र स्वाभाविकता हुन्छ ।
२.१०.१ कथाका नेपाली विद्वानहरुको परिभाषाहरु
डा. हरिप्रसाद शर्माका अनुसार कथाको विषय जे पनि हुन सक्छ । तर यो विषय जस्तो भएता पनि यसको विकास सरलतापुर्वक हुनुपर्छ । पढ्नेले कथा पढ्दाखेरि सबै कुरा सुरुसुरु बुझोस् । बीचबीचमा जटिल गाँठमा उसले अल्झन नपरोस् । स्वाभाविक रीतले घटनाको क्रमिक विकास उसका सन्मुख उपस्थित हुनुपर्छ । — कथाको सिद्धान्त र विवेचन पृ….
नेपाली आधुनिक कथाका जन्मदाता गुरुप्रसाद मैनालीका अनुसार कथा सङ्कटमय घटनालाई कलात्मक रुपले लेख्ने विधा हो । व्यर्थको थाङ्ना तुनेर कथालाई पट्यारलाग्दो बनाउनु हुँदैन ।
जीवन र समाजलाई सूक्ष्म र गतिशील रुपमा चित्रण गर्ने भारतका प्रगतिशील कथाकार प्रेमचन्दका अनुसार “कथा एउटा यस्तो रमणीय बगैँचा होइन जसमा थरीथरीका फुलहरु, बेलबुट्टा सजिएको हुन्छ तर यो एउटा यस्तो गमला हो जसमा एउटै मात्र बोटको माधुर्य आफ्नो सम्म्मुनत रुपमा देखा पर्दछ ।”
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनुसार “कथा सानो आँखीझ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ…..थोरैमा मीठो र भरिलो हुनु कथाको बानि हो । यो जत्तिको समाज–सुधारक र मनुष्य उपर प्रभावकारी कुरा अरु छँदै छैन कि भन्नेजस्तो लाग्छ । यसैमा सबै रस निकाल्न सकिन्छ…..यसमा कला छ…..यसको ढङ्ग नाटकीय हुन्छ । चट्ट जीवनलाई एक दृश्यमा छुन्छ । ……छोटो होस् क्लिष्ट नहोस् , सजिलो होस् तर गाहारो नहोस् , बुझिने होस् तर कठिन नहोस् , जति बुझ्यो उत्ति बुझ्न योग्य, जति पढ्यो उति मजा लाग्ने होस् ।”
भेषराज शर्माका अनुसार “कथालाई वर्तमान साहित्यको प्रमुख अङ्ग मानिन्छन् र उनले त्यसकारण कथा सरल हुनुपर्नेमा जोड दिएको छन् ।”
भारतीय नेपाली साहित्य र संस्कृतिको झलक पुस्तकमा देवी पन्थी लेख्दछन् कि “एक्काइसौँ शताब्दीमा साहित्यका अरु एकदुई विधाहरुसँगै कथालेखनमा पनि निकै चहलपहल देखा परेको छ । एकातिर समाज चेतना, स्वअस्तित्त्ववोध र जीवनका मुल्यबोधहरु लेखनमा टड्कारो छ भने अर्कोतिर वस्तुगतभन्दा मनोगतको चित्रण, यो अत्याधुनिक समयको प्रतिक्रिया, संघर्ष, अन्तद्र्वन्द्व र मनोविश्लेषणहरु बढी चर्को छ ।” — प..५४
अङ्ग्रेजी साहित्य र इतिहासमा गहिरो अध्ययन गरेका ईश्वर वरालले “कथा चिन्तनको ज्येष्ठता सैद्धान्तिक श्रेष्ठता हासिल गरेका छन् । उनको भनाइमा कथा भनेको संक्षिप्तामा जीवनको एक पक्ष र एक अंशको महत्त्वपुर्ण क्षण एवम् विशिष्ट परिस्थितिको संघातमा परेका पात्रका मनोदबा वा समस्याको पुष्प गुच्छा झैँ कलात्मक रुपमा सजिव चित्रण हो ।”
कथाकार पोषण पाण्डेका अनुसार “कथामा शिष्टता, शालीनता हुनुपर्छ तर समाजले निषेध गरेको विषय हुनु हुँदैन भन्ने चाहिँ होइन । साहित्यरुपी राम्रो पट छ त्यसमा सामाजिक, शैक्षिक, ऐतिहासिक, मनोवैज्ञानिक रेखाहरु छन् , कोरिन्छन् ।”
निवन्धकार तथा व्यङ्ग्य लेखक भैरव अर्यालका अनुसार “कथा यथार्थ जीवनको कलात्मक अभिव्यक्ति वा जीवनको स्वाभाविकता व्यक्त भएको कथा नै आधुनिक कथा हो ।…….त्यसैले मान्छे मान्छेकै कथा चाहन्छ , जसको मेरुदण्ड कल्पना होइन यथार्थ होस् , जसको मुन्टा तिलस्मी होइन स्वाभाविक होस् , जसको चपाई १५औँ दिन लाग्ने होइन १५–२० मिनेटमै सकने होस् , जसको स्वाद अरु थोक होइन जीवन नै होस् , जसको प्रभाव मनोरञ्जन मात्र होइन जीवनको अग्रगामी क्षमता र सार्थकता हुन सकोस् ।”
मोहनराज शर्माका अनुसार “कथामा आख्यान हुनु जरुरी छ , कथा क्रमिक वा व्यतिक्रमिक हुनुपर्छ । यसलाई सर्टस्टोरी भन्नाको अर्थ कलेवर छोटो होइन कि, जीवनव्यापी कथ्य होइन कि तथ्यकथ्य हुनु जरुरी हुन्छ ।”
कृष्णचन्द्र सिंह प्रधानका दृष्टिमा “कथा भनेको कथावस्तु, घटना अनि चित्रणविना पनि उद्वेगात्मक, सिर्जना कौशल, संरचनात्मक नवीनताको लेखन हो । यो प्रयोगवादी हुँदैहुदै निश्चित धार पक्डन पुग्छ । कथामा घटना मात्र प्रस्तुत गर्ने होइन कि घटीत यथार्थका विसङ्गतिहरु देखाउन सक्नु कथाकारको खुबी हो । विम्ब, प्रतीक आदिले कथाकारले दुःखको भारी पनि विसाउँछ र साथै स्वैरकल्पनाले त्यसको समाधान देखाउँछ । लप्पनछप्पन नराख्नु, स्वभाविक रुपमा प्रस्तुत हुनु, खुलस्त खसोखास व्यक्त गर्नुलाई सुवोधता भनिन्छ । कथाकारले सुवोधताले पनि पाठकलाई भित्रसम्म उद्वेलीत पार्न सकिन्छ ।”
वासुदेव त्रिपाठीका अनुसार “कथा जीवनको एक प्रक्षेप वा आँखीझ्यालको चिहाइ र एक झलक मात्रै हो । अपितु कथा कथा नै हो, यसमा परिपुष्ट कथा योजना हुनैपर्छ ।”
डा. हरिप्रसाद शर्माका अनुसार “कथाका थुप्रै परिभाषाले वृहद क्षेत्र ओगटे पनि निश्चित, परिभाषा, सिद्धान्त र सीमामा बाँधिएको पाइँदैन । विश्व कथा अनि नेपाली कथा नयाँ मोडतर्फ अग्रसर भएको पाइन्छ । समष्टिमा कथालाई चिनाउनुपर्दा समस्त कथा चिन्तन अग्रपथिकहरुका कथा परिभाषा सम्बन्धित मान्यताका सापेक्षतामा आवश्यक वस्तु, चरित्र, परिवेश, संवेग उद्देश्य र शैलीशिल्पलाई समाहित र रुपाहित गर्दै लेखिएको सरल, संक्षिप्त र प्रभान्वितिपुर्ण गतिशील एवम् आधुनिक आख्यानात्मक गद्य रचना हो ।”—कथाको सिद्धान्त र विवेचन पृ. ४२
लीला लुइँटेलका अनुसार “विज्ञान, प्रविधि, विचार, चिन्तन परिणत भएर विद्युतीय सञ्चार युगमा पुगिसक्दा पनि अधिकांश दक्षिण एशियाली महिलाको स्थिति अझै पनि अत्यन्त नाजुक र दयनीय छ । अँझै पनि अहिलेको धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रले महिलालाई सामाजिक र मनोवैज्ञानिक रुपले अवमुल्यन गरेको पाइन्छ । आजका कथाले यी महिलाका समस्या समाधान गर्नसक्नुपर्छ ।”
पद्मा अर्यालका अनुसार “आजको कथाले समाजको वस्तुस्थिति, सामाजिक मुल्यमान्यताले युगौँसम्म अन्धकारमा बाँचेका नारीहरुका विवशता र पीडाका मौन तरङ्गहरुलाइ समेत आत्मसाथ गरी जीवनका सुक्ष्मभन्दा अति सुक्ष्म समस्याहरुलाई केलाउन र समाधान छर्लङ्ग्याउन सक्नुपर्छ ।”
दयाराम श्रेष्ठले नेपाली कथा र कथाकार पुस्तकमा लेखेका छन् कि “द्वन्द्वका घाउ बारे बोल्न प्रतिकूल विद्यमान अवस्थालाई तोडी मौनता तोड्दै कथाकारहरुले मार्मिक कथाहरु लेख्न थालेका छन् । यसमा सूचना प्रविधिको युगले विश्व एक गाउँ भएको अवस्थामा साहित्य पनि रुपान्तर हुन थाल्यो । उत्तरआधुनिक चिन्तन स्वायत्त हुनथाल्यो । शैलीशिल्पको नयाँ किसिमले विकास हुन थाल्यो । डायस्पोरिक, सबाल्टर्न, नारीवादी तथा उत्तरऔपनिवेशिकतालाई आत्मसात गर्दै कथा सिर्जना हुनथाल्यो ।” पृ. ४१२
डा. बालकृष्ण थापाका अनुसार “मान्छे हुनलाई कम्तीमा दुई गुण चाहिन्छ । ती हुन् लाज र इमान । उनका अनुसार यी दुइ नै वास्तविक खुट्टा हुन् । अवश्य नै साहित्यमा यी दुई कुरा अपरिहार्य छन् । कवितामा भाव प्रधान, नाटकमा अभिनेयता र संवाद प्रधान, निवन्धमा विचार प्रधान भएजस्तै कथा उपन्यासमा आख्यान प्रधान हुन्छ ।”
रत्नध्वज जोशीका अनुसार “कथा हुनलाई अखण्ड एकता, वैचित्र्यको चमत्कार, गम्भीर सरलता, उद्दाम वेग, छरितोपन, संतुलित भाषा शैली, कथानकको चमत्कार, अध्ययन तथा चित्रणको परिपक्वता हुनुपर्छ ।”
आजका नेपाली कथा भन्ने पुस्तकको भूमिकामा अनमोलमणि लेख्छन् “कथा व्यक्तिले अनुभव गरेको÷भोगेको सामाजिक अनुभव हो । मान्छेको विकासक्रमसँगै सुरु भएको यथार्थ हो कथा । मान्छेसित जिज्ञासा नमेटिएसम्म संसारबाट कथा मेटिने छैन । समाज र मानव विकासको अनुसन्धान गर्ने समाजशास्त्री/मानवशास्त्रीहरु भन्छन् ‘समाज÷संस्कृति एकरेखीय र बहुरेखीय दुबै ढाँचामा बदलिएको छ । साहित्यलाई सभ्यता र चेतनाको उच्च्तम अभिव्यक्ति मानिन्छ ।’ कथा पनि त्यसै गरी बदलिएको छ । कथामा समय र समाज देखिन्छ ।” पृ.७ भूमिका
२.१०.२ विदेशी कथाकारहरुको कथाको परिभाषा
एन्तोन चेखबका अनुसार “क्यामेराले कुनै दृश्यलाई टिपेझैँ कथाकारले पनि आफ्नो कथामा जीवनको सानो टुक्रालाई प्रस्तुत गर्दछ ।”
म्याक्सिम गोर्कीका अनुसार “कथा भनेको मनुष्य जीवनको गति र अनुभूतिको सशक्त र उज्यालो पक्षको आस्थापुर्ण उद्घाटन हो ।”
एड्गर एलेन पोका अनुसार “कथा भनेको एउटा यस्तो कथात्मक कृति हो, जुन छोटा हुनाले एकै बसाइमा पढेर सिध्याउन सकिन्छ र पाठकमा एउटा प्रभाव जमाउनका निम्ति यो लेखिन्छ । यसरी प्रभाव जमाउनका निम्ति यो लेखिन्छ । यसरी प्रभाव जमाउन वाधा पार्ने जति सबै कुराहरु यसमा रहन दिइँदैन । यो आफैँमा पुर्ण हुन्छ ।”
सरटयुपोलका अन्ुसार “कथामा एउटै प्रसङ्ग हुनुपर्छ , अप्रत्यासित रुपमा चरमोत्कर्षता प्राप्त हुनु पर्दछ र घटना एवम् स्थितिको पुर्ण विवरण हुनुपर्छ , सबभन्दा महत्त्वपुर्ण उपलब्धि त संशयरहित एवम् सन्तोषजनक निष्कर्ष दिने अभिव्यक्ति हुनुपर्दछ ।”
हड्सनका अनुसार “कुनै पनि नाटकीय घटना वा स्थिति, मार्मिक दृश्य अन्यतम सम्बद्ध घटनाको शृङ्खला, चरित्रको कुनै एउटा रुप, कुनै एउटा अनुभूति, जीवनको कुनै एक पक्ष, कुनै नैतिक समस्याजस्ता असङ्ख्य विषय कुनै पनि सन्तोषप्रद कथाका लागि बीजका रुपमा प्रयुक्त हुन सक्छन् ।”
ग्राह्मम्यान बालफोरको बिचारमा “कथालेखनका तीन पद्धति छन् — कथाकार कि त एउटा कथानक लिन्छ र चरित्रलाई त्यसभित्र समाविष्ट गर्छ , कि त एउटा चरित्र लिन्छ र अनुकूल घटनाहरुको सृष्टि गर्छ , कि त एक वातावरण लिन्छ र कार्य एवम् व्यक्तिहरुको आधारमा त्यसको चित्रण गर्दछ ।”
जोन फास्टरका शब्दमा “कथा घटनाहरुको त्यो तारतम्य हो, जसले परिणाममा पु¥याउँछ ।“
आर.के. लगूका शब्दमा “आधुनिक कथा एक चेतनशील साहित्यिक प्रयास हो, यो एउटा चलाखीपुर्वक योजना गरिएको कलात्मक उपलब्धि हो ।”
२.११ कथा र अन्य विधा तुलना
२.११ (क) कथा र उपन्यास
कथामा जीवनको एक अंश मात्रै छर्लङ्ग्याइएको हुन्छ भने उपन्यासमा विविध । कथामा विविधतामा एकताको छनौट हुन्छ भने उपन्यासमा सम्पुर्णतामा आत्मसात हुन्छ । कथामा खास अवस्था र परिस्थिति झल्किन्छन् भने उपन्यासमा सम्पुर्ण जीवनको झाँकी झल्किन्छ । कथा दीपशिखाको समान हुन्छ भने उपन्यास सिर्जना प्रेरणाको हिसावले लामो हुन्छ । कथा उपन्यास गीत–महाकाव्य, एकाङ्की–नाटक, त्यस्तै नाला–सागर, विन्दु–रेखा, लता–वृक्ष, पुष्प–बगैँचा जस्तो गरी तुलना गर्न सकिन्छ । कथाकारले आफ्नो दृष्टि एउटै बस्तुमाथि केन्द्रीत गर्नुपर्छ भने उपन्यासकारले कथानकमा स्थानीय वातावरणको निर्माणमा पात्रहरुको चरित्रचित्रण र यसको विकासमा भावनाहरुको घातप्रतिघातमा केन्द्रीत हुनुपर्ने हुन्छ ।
२.११ (ख) कथा र आत्मकथा
कथा प्रथम र तृतीय पुरुषमा लेखिएको हुन्छ भने आत्मकथा प्रथम पुरुषमा आफैले लेखिएको हुन्छ । आत्मकथामा राम्रा पाटाहरु केलाइएको हुन्छ भने कथामा राम्रा अनि नराम्रा पाटा दुइटै हुन्छन् । कथा सानो हुन्छ भने आत्मकथा उपन्यासजस्तो लामो हुन्छ ।
दुबै आख्यान विधा नै हुन् । दुबै आधुनिक कालको लोकप्रिय एवम् रोचक विधा हो । कथामा भन्दा आत्मकथा कलात्मकताले सिँगारिएको हुन्छ ।
२.११ (ग) कथा र निवन्ध
कथामा कथानक हुनुपर्छ भने निवन्धमा वर्णन मात्रै हुन्छ । कथामा घटना संयोजन र चरित्र महत्त्वपुर्ण हुन्छ , निवन्धमा हुँदैन । कथामा सरलता र लालित्यता हुन्छ भने निवन्धमा विचार घनत्व अनि प्रदीप्तता र तर्क प्रगाढता हुन्छ । कथामा प्रथम र तृतीय पुरुष दृष्टिविन्दु हुन्छ भने निवन्धमा प्रथम पुरुष दृष्टिविन्दु हुन्छ । कथामा वर्णनात्मक र विवरणात्मक शैलीको प्रयोग हुन्छ भने निवन्धमा विश्लेषणात्मक शैली हुन्छ । कथाको प्रस्तुति कथा कथनबाट हुन्छ भने निबन्ध दृष्टिकोणबाट हुन्छ । कथामा निवन्धात्मक रुपमा कथा राम्रो बनाउन विचार प्रकटीकरण भएको पाइन्छ भने निवन्धमा कथानक सम्वाद पनि उल्लेख गरी विचारलाई स्पष्ट पारिएको हुन्छ ।
२.११ (घ) कथा र लघुकथा
मैल आफैँले लेखेको यहीँ रत्न पुस्तक भण्डारबाट २०७२मा प्रकाशित सत्य सङ्घर्षका कथाहरु कथा सङ्ग्रहमा भूमिकामा कथाका बारे लेखेका कुराहरु यस अनुकूल भएकोले यहाँ जोड्न चाहन्छु :— आख्यान विधाअन्तर्गत कथा, लघुकथा, संस्मरण, निवन्ध, उपन्यास आदि पर्दो रहेछ । आख्यानका लेखकहरु ‘कथा सङ्ग्रह’का रुपमा प्रकाशित गर्नेहरु पनि थुप्रै छन् । तर तिनका कथा कथा भइरहेका छैनन् । जान्नेले आफु माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् । धरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुनछन् । तर त्यो कुनै निवन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निवन्ध भनेको के हो ?, संस्मरण भनेको के हो ? भनेर जान्नु आवश्यक छ । यी सम्बन्धी बजारमा पुस्तकहरु पाइन्छन् । सोको एकचोटि अध्ययन गरेर मात्रै कथामा हात हाले बेश होला ।
अझ कथा लेख्नु अगाडि लघुकथाहरु लेख्नु आवश्यक छ । जसले गर्दा सानासाना कुराहरुमा मेहेनत गर्ने बानीको विकास हुन्छ । कथा लेख्दा मौलिक पनि हुनु जरुरी छ । लघुकथा लेखनले कसरी सानोभन्दा सानो शब्द एवम् वाक्यले कसरी चोटिलो एवम् वृहत् सन्देश दिन सक्षम हुन्छ भनेर जान्न सकिन्छ । त्यस्तै लघुकथा लेख्दा त्यसलाई साना कथा तथा चुट्किला, छोटो निवन्ध, छोटो सस्मरण, आत्मकथा पनि बन्न दिनु हुँदैन । अनि मात्र खाँटी लघुकथा बन्दछ । त्यसैले कथामा पनि यी लघुकथाका यी नियमहरुको दरोकार पर्दछ । त्यस्तै कथा लेख्दा त्यसको निचोड अर्थात कथाले भन्न खोजेको कुरा भन्नु हुँदैन र भित्रैबाट गहिरो छाप पर्ने गरी अप्रत्यक्ष रुपमा भन्न सक्नुपर्छ किनकी यसो गर्दा मात्र कथाको स्वाद आउँछ अनि पाठकहरु सुसूचित हुन्छन् । कथा एवम् लघुकथा लेख्ने लेखकले आफुलाई प्रयोगवादी भनाउन पनि यी नियमहरु मिच्ने गरेको पाइन्छ । —विजु सुवेदी विजयकृत सत्य सङ्घर्षका कथाहरु पृ. २६
२.११ (ङ) कथा र समालोचना
समालोचना कथाभन्दा वरिष्ठ र निर्देशनात्मक विधा मानिन्छ । समालोचना व्यापक अध्ययन तथा योग्यताका आधारमा गरिन्छ भने कथा पनि यसरी नै । समालोचनामा निस्पक्षता र तटस्थता हुनुपर्छ भने कथाले वैचारिक लडाईँ पनि वौद्धिकताले लड्छ । समालोचक कृति प्रति कृतघ्न भएर परिस्कृत तथा प्रौढ साहित्यतर्फ लैजान सुझाव दिन्छ भने कथाकार अर्को कथाको यात्रामा नयाँ अभिलाषा लिन्छ । अभिव्यक्ति, सामथ्र्य, कला साहित्यको ज्ञान, प्रभाव, ग्रहण, व्याख्या विश्लेषण कथा तथा समालोचनाका अभित्र अङ्ग हुन् । यत्ति भएर पनि समालोचनाले मुल्याङ्कन गर्ने पनि सामथ्र्य राखेको हुनुपर्छ । श्रेष्ठ विचार, गम्भीरता, निर्भिकता, विवेकी, संयमी भएर निर्णयक मार्गनिर्देशन गर्ने क्षमता कथाकार एवम् समालोचक दुबैमा हुनुपर्छ । अथक, परिश्रम, प्रविधिप्रति अध्यावधिक, वैज्ञानिकता, लगनशीलता, इमानदारिताबाट एउटा सशक्त समालोचना अनि कथाको जन्म हुन्छ ।
२.१२ कथाका उपकरणहरु
कथा साहित्यको सर्वप्राचीन गद्यमा लेखिने विधा हो । कथा वैचारिक मुल्य मान्यता स्थापित गर्न कलात्मक रुपमा अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो । कथा सुन्ने सुनाउने पर्म्परा मानव जातिले आर्जन गरेको भाषा जत्तिक्कै पुरानो छ । ध्वंश–निर्माण, उत्थान–पतन आदि अनेकौँ घुम्ती मोडहरु पार गर्दै कथा अहिलेको प्रारुपमा आएको हो । पुर्वीय सँस्कृतिले आदर्शको र अङ्ग्रेजी साहित्यले यथार्थको पक्षपोषण गरेको पाइन्छ । परिवर्तनप्रतिको उत्कट चाहना र रुपान्तरणको प्रकृयाले कथालाई पनि विकास गरिसकेको छ । तर्कसङ्गततर्फ उन्मुख भई आम जनताको कथाले सबैलाई परिवर्तनतर्फ आस्था जगाउनु नै कथाको खुबी हो ।
२.१२.१ कथातत्त्व
कथालाई कथा बनाउन विभिन्न तत्त्वहरुको आवश्यकता पर्दछ । आवश्यक तत्त्वहरुको संगठीत प्रकृयाद्वारा सबै तत्त्वहरु सम्मिलित संगठीत रुपनै कथा हो । कथा भिन्न तत्त्वहरु संश्लेषित भएर बनेको हुन्छ । कथा एउटा यौगिक रचना हो । कथाको निर्माण सामग्री द्वन्द्व र कार्यव्यापार हो । द्वन्द्व र कार्यव्यापारको योगबाट कथा बनेको हुन्छ । वास्तबमा यी दुईको अस्तित्त्वबाट नै कथा बन्दछ । द्वन्द्व भएन भने कथावस्तु उत्पादन हुन सक्दैन । जब दुई पात्र बीच वा दुई विचार बीच कथामा द्वन्द्व हुन्छ तब कथा अघि बढ्छ । यो नै कार्यव्यापार हो । दुई वा दुईभन्दा बढी स्वतन्त्र घटनाहरु भएको गद्यात्मक शैलीमा लेखिने विधा नै आख्यान हो यसअन्तर्गत कथा पर्दछ । यो कथाको अनिवार्य तत्त्वलाई कथाको उपकरण पनि मान्न सकिन्छ ।
२.१२.१ (क) कथानक – कथावस्तु
कथानकको कार्यव्यापारका लागि द्वन्द्व आवश्यक हुन्छ । त्यही द्वन्द्वको कथानकबाट कथाको निर्माण हुन्छ । कथानक रैखिक र वृत्तीय गरी दुई ढाँचाले लेखिएको हुन्छ । कथानकलाई अघि बढाउन भूतकालको इतिहास, यथार्थ, भावपक्ष तथा स्वैरकल्पनाको प्रयोग गरिन्छ । कथावस्तु राम्रो बनाउनका लागि नयाँ विषयवस्तुतिर ध्यान दिनुपर्छ , त्यसलाई मौलिक किसिमले व्याख्या गर्नुपर्छ , पढुँपढुँ लाग्ने किसिमको पनि हुनुपर्छ , कथामा सुरुदेखि अन्त्यसम्म पकड पनि हुनुपर्छ जुन पाठकले सहजै पढ्न सकुन् । जीवनका घटनाहरु थुप्रै घटेका हुन्छन्, अनुभव पनि त्यत्तिक्कै हुन्छन् , तीमध्ये विशेष खालका अनुभव तथा घटना अविस्मरणीय भएर मानसपटलमा अवचेतन मनमा रहिरहेका हुन्छन् । यस्ता भोगाइहरु €वास्तविक रुपमा लेख्न नसकिने पनि हुन्छन् (कुनै स्मरणमा भएर पनि र कुनै पुरै स्मरणमा नभएर) । त्यस्ता घटनाहरुलाई उदार भएर कल्पनामा ढाल्दा एउटा नयाँ कथाको जन्म हुन्छ । कथानक राम्रो भएमा पठनीय हुन्छ । त्यस्तो विश्वसनीयता र स्वाभाविकता कथामा हुनुपर्छ ।
कथानक उन्दा नायक पात्र र खल पात्र त अवश्य नै हुन्छन् । राम्रो बाटोतिर लाने नायक पात्र हुन्छ भने खराब बाटो हिँड्ने खल पात्र हुन्छ । नायकले खल पात्रलाई कथानकको अन्त्यमा परास्त गर्छ । यदि खल पात्रले जिते पनि जिन्दगीको यथार्थ यही हो तर यो राम्रो बाटो होइन भनी दर्शाउने खुबी कथाकारमा हुनुपर्छ । कथानकमा नायक पात्र र खल पात्र भनेको सकारात्मक र नकारात्मक भावहरु पनि हुन्छन् त्यसलाई पनि कथानकमा ढाल्न सक्नुपर्छ । न्याय र अन्याय बीचको द्वन्द्व र यसको उपज उत्कर्ष विजय हुनुपर्छ ।
२.१२.१ (ख) द्वन्द्व
पात्रद्वारा पात्रसँग, पात्र समाजसँग, प्राचीन र नविन मान्यता बीच द्वन्द्व हुन्छ । कथाको द्वन्द्वलाई वैचारिक र मानसिक द्वन्द्व मानिन्छ । कथामा चरित्रवान मानवीय मुल्य मान्यता बोकेको असल चरित्रका पात्र भएमा कथाको महत्त्व बढ्दछ ।
२.१२.१ (ग) शैली
कथा अँझ प्रस्ट पार्न उखानटुक्काहरुद्वारा प्रस्ट्याउने शैलीले कथालाई सरल बनाइदिन्छ र यस्ता कथा सबै पाठकले प्रस्टसँग बुझिने हुन्छ । जनजीवनमा नचलेका शब्दहरु प्रयोग गर्नु , अलङ्क्रित तत्सम र तद्भव शब्दहरु प्रयोग गर्दा कथा जटिल बन्न पुग्छ । कथाकार सकेसम्म यस्ता जटिल कथाहरुबाट टाढा हुनुपर्छ । भाषाशैली सुन्दर र मिठासपुर्ण हुनुपर्छ । भाषा परम्परागत, आधुनिक, बोलिचालिको आधारमा काव्यात्मक, वर्णनात्मक, व्याख्यात्मक र वैज्ञानिक हुनसक्छ ।
प्लेटोका अनुसार “जब विचारलाई तात्त्विक रुपमा आकार दिइन्छ तब शैलीको उदय हुन्छ ।”
अरस्तुका शब्दमा “शैलीद्वारा वाणीमा बैशिष्ट्यको समावेश हुन्छ । अभिव्यञ्जना शैलीमा कुरो कहने उपयुक्त ढङ्ग पनि सामेल छ ।”
गेटेका अनुसार “कुनै लेखकको शैली उसको मस्तिष्कको साँचो प्रतिलिपि हो ।”
धेरै भन्दा धेरै कथाहरु पढ्नुपर्छ । यस अध्ययन पत्र “कथाको कथा” जस्ता कथाका सिद्धान्त परिभाषाहरु पढ्नुपर्छ । सबैभन्दा कथाको परिभाषा जान्ने तरिका भनेको कथा पढेपछि भन्दा पनि लेख्न थालेपछि आफसेआफ थाहा हुन्छ । मैले पनि यो आलेख तयार पार्नु अगाडि थुप्रै कथाहरु पढिसकेको थिएँ । थुप्रै कथाहरु निकालि सकेको थिएँ । कथा सङ्ग्रहहरु प्रकाशित गरिसकेको थिएँ । यसले मलाई यो आलेख तयार पार्न धेरै सजिलो भयो । कथा लेख्दै गएपछि एक किसिमको शैली विकास हुन्छ । कसैले नाम ढाँटेर छद्म नामले कथा लेख्दा पनि शैलीले गर्दा कथाकारको भेउ पाइन्छ । यो नै शैलीको गुण हो । शैलीले गर्दा पनि कथाकार लोकप्रियताको शिखरमा पुग्न मद्दत हुन्छ ।
२.१२.१ (घ)कथा लेख्ने सामान्य तरिका
साधारण कथा लेख्ने कथाकारले पहिले कथा फुराउँछ । त्यस कथाको सुरु, मध्य र अन्त्य भाग निर्धारण गर्दछ । सुरु, मध्य त्यसपछि अन्त्य गरी रैखिक ढाँचामा कथा प्रस्तुत गर्दछ । त्यस्तै अन्त्य, मध्य त्यसपछि सुरु गरेर पनि कथा प्रस्तुत गर्दछ । त्यस्तै मध्य, सुरु, अन्त्य— मध्य, अन्त्य, सुरु— अन्त्य, सुरु, मध्य— गरी पनि कथा प्रस्तुत गर्दछ । तर विशेष गरी कथाको सुरुमै कौतूहलता जगाउने जुन भाग हुन्छ त्यस भागलाई सुरुमा प्रस्तुत गर्दछ र अन्त्यमा जुन भागमा कौतूहलता खुलिन्छ अर्थात छ्याङ्गिन्छ वा साकार रुपमा कथाको मजबुन प्रस्तुत हुन्छ त्यसलाई प्रस्तुत गर्दछ । सामान्यतः यसरी कथालाई सुरु, मध्य तथा अन्त्य गरी तीन भाग गरेजस्तै दुई वा दुई भन्दा बढी खण्डमा कथालाई विभाजित गरी माथि भनिए जसरी कौतूहलताका आधारमा कथा अघि बढेको हुन्छ ।
२.१२.१ (घ) (१) रैखिक
सरल अनि सिलसिलेवार रुपमा अघि बढेको सुरु, मध्य, अन्त्य भएको कथा यसको उदाहरण हो ।
२.१२.१ (घ)(२) वृत्तकारी
सुरुमा तेजिलो, अलि घुमाउरो, वाङ्गोटिङ्गे हुँदै अघि बढ्ने फेरि फर्कने सिलसिलाबाट पार गर्दै सुरुवातकै चमकमा कौतूहलता खोली सुरुवातमै फर्कने कथालाई वृत्तकारी कथा भनिन्छ । अहिले आधुनिक कथाहरु यो कथानकमा ढालिई लेखिएर ख्याति पाइरहेका छन् ।
२.१२.१ (ङ) कथोपकथन
कथाका पात्रहरुका बीच हुने कुराकानी तथा मनोवादहरुलाई कथोपकथन भनिन्छ । कथोपकथन पात्रको प्रकृति, प्रवृत्ति अनुसार समाज अनुरुप वौद्धिक प्रकारको हुनुपर्छ । संवाद कथानक अनुसार मर्मस्पर्शी हुनुपर्छ । संवादले कथालाई नाटकीय मोडमा ल्याई नयाँनयाँ उत्सुकताका साथ अघि बढाउन मद्दत गरेको हुन्छ ।
कथोपकथनले पात्रको चरित्र तथा स्वभाव, नैतिकता तथा आचरण आदि विभिन्न पक्षहरुलाई देखाउने काम गरेको हुन्छ । कथोपकथन कथालाई अघि बढाउनु र पात्रको चरित्र चित्रण गर्नुसँग सम्बन्धित छ । कथोपकथनमा पात्रहरुले बोल्ने संवाद हुन्छ ।
२.१२.१(च) पात्र–चरित्रहरु
पहिलेपहिले कथानकलाई कथामा महत्त्व दिइन्थ्यो भने अहिले चरित्रलाई बढी महत्त्व दिइन्छ । कथाका पात्रहरु देवीदेवता, भूतप्रेत, वायु , वृक्ष, पशुपञ्छी आदि हुँदै मजदूर वर्गले पनि लिन थालेका छन् । वर्गका हिसाबले उच्च, मध्यम विचारका आधारमा क्रान्तिकारी, सुधारवादी, यथार्थवादी, यथास्थितिवादी, वहिर्मुखी, अन्तर्मुखी, स्थिर, गतिशील, पट्यारिला पात्र, नायक पात्र आदि । कथाको प्राण भर्ने काम चरित्रले गर्दछ र यसको आधारमा पाठकले मनपरेको चरित्र छनौट गरी कथाको अध्ययन गर्दछ । यसमा कथाकारको अनुभव, कल्पना, दृष्टान्त झल्किएको हुन्छ । कथाका पात्र भन्नाले कथाका पात्र र कथाका पात्रको उमेर, कथाका पात्रको वस्तुगत स्थिति, कथाका पात्रको भेषभुषा, रहनसहन अनि ढाँचा पनि हो ।
प्रा. डा. यादव प्रकाश लामिछाने तथा गीता लामिछानेद्वारा लिखित नेपाली कथा उपन्यास सिद्धान्त र समीक्षा पुस्तकमा कथाका पात्रहरुलाई विस्तृत रुपमा विभाजित गरिएका छन् ।
कथाको केन्द्रमा अर्थात कथाको मुख्य स्थानमा रहेको पात्रलाई प्रमुख पात्र भनिन्छ । त्यस्तै सहनायक, सहनायिका जस्ता पात्रलाई सहायक पात्र भनिन्छ । त्यस्तै खासै भूमिका नभएको पात्रलाई गौण पात्र भनिन्छ । यस्तो केन्द्रमा रहेको पात्रको कथामा अहं भूमिका हुन्छ र यस्तो पात्रलाई नायक पात्रका रुपमा लिन सकिन्छ ।
कथाभित्र सकारात्मक, असल गुण र सत्चरित्रका पात्रलाई अनुकूल पात्र भनिन्छ भने नकारात्मक, खराब, विकृत, वैगुनी चरित्रका खल पात्रलाई प्रतिकूल पात्र भनिन्छ । कथामा यस्ता असल र खराब चरित्रबीच द्वन्द्व देखाइएको हुन्छ । यसको परिणाम सुखान्त वा दुखान्त मध्ये एक हुन्छ तर यसले कथाबाट असल सन्देश दिएको देखाइँदा कथा अँझ सशक्त हुन्छ ।
कथाभरि नै प्रभाव पारिरहने र गतिशील भइरहने पात्रलाई गतिशील पात्र भनिन्छ । एकैजनाले कथालाई सम्पुर्ण ठाउँमा यस्ता पात्रले समालेको हुन्छ । कथाको नकारात्मक पक्षलाई समर्थन गर्ने पात्रलाई गतिहीन पात्र भनिन्छ । कथाभरि नकारात्मक पात्रले भरिभराउ भए पनि त्यसबाट उफानित भई पाठकले असल कुरा राम्रो भन्ने निक्र्यौलमा पुग्न सक्छन् । कथाभरि प्रभाव पार्ने चरित्र यदि असलै छ भने पनि त्यसमा मीठासपन राख्न सक्नु कथाकारको खुबी हो ।
कुनै निश्चित वर्गको प्रतिनिधित्व गर्ने पात्रलाई वर्गीय पात्र तथा नीजि तथा व्यक्तिगत चरित्रका पात्रलाई व्यक्तिगत पात्र भनिन्छ । कथामा अप्रत्यक्ष रुपमा स्थापित भएर नदेखिने प्रधान पात्रलाई नेपथ्य पात्र भनिन्छ । वर्गीय मायाले कथाहरु थुप्रै रचिएका छन् । वर्गीय दृष्टिकोणले कथा अघि बढाउँदा उक्त वर्गप्रति सकारात्मक सन्देश तथा देशजनताप्रति उदारभाव पनि भएको हुनुपर्छ ।
प्रत्यक्षरुपमा जहीँतहीँ कथाभरि उत्कृष्ट पात्र बनी देखापर्ने पात्रलाई प्रत्यक्ष पात्र भनिन्छ । अन्यलाई अप्रत्यक्ष पात्र भनिन्छ । अप्रत्यक्ष पात्रको नकारात्मक छवि देखाउँदा प्रत्यक्ष पात्रको असल चरित्र अँझ बढी उजागर भएको हुन्छ ।
कथानकसँगै वद्ध पात्रलाई आवद्ध पात्र भनिन्छ भने यस्ता पात्र हटाइदिँदा कथा कथा रहँदैन । कथानकबाट मुक्त भएको पात्र जस्तो कि यसलाई हटाउँदा कथामा प्रतिकूल अनुकूल कुनै प्रभाव पर्दैन भने यस्तो पात्रलाई मुक्त पात्र भनिन्छ तर कथा अनुसार आवद्ध वा वद्धको सकृय चरित्र हेर्न मुक्तको निस्कृय चरित्र देखेपछि बुझिन्छ भने मुक्त चरित्रको निस्कृयता देख्न वद्ध वा आवद्ध चरित्रको सकृयता हेनुपर्ने हुन्छ ।
कथालाई यस्तो रुपमा आयामेली आन्दोलनदेखि हेर्न थालियो । जस्तो कि जीवन आफँै भोग्ने जीवन चरित्रका विभिन्न आयाम झल्काउने पात्रलाई गोल पात्र भनिन्छ । जीवनको एक पात्र अर्थात एक आयामलाई मात्र झल्काउने पात्र अनि कलात्मकता पनि गोल पात्रभन्दा थोरै छ भने त्यस्तो पात्रलाई चेप्टो पात्र भनिन्छ ।
पात्र सत्यको नजिक, असल, उदार तथा परिवर्तनप्रति सकारात्मक छ भने कथा धेरै राम्रो बन्न पुग्छ । जनजीवनसँग यथार्थ सम्बन्ध गाँस्ने पात्र छ भने सापेक्ष पात्र भनिन्छ । जीवदेखि टाढा रहेको पात्रलाई निरपेक्ष पात्र भनिन्छ , जस्तो कि स्रष्टा । परम्परामा देखिँदै आएको चरित्रको पात्रलाई मौलिक पात्र भनिन्छ । पात्रले भोगेको व्यथा आम मानिसको छ भने त्यस्तो पात्र सार्वभौमिक पात्र हुन्छ ।
पात्रलाई कथाकारले निकै तल खसाल्दछ भने त्यसलाई अतिधु्रविकरण भनिन्छ । कथामा यस्ता मानवीय सीमाको अतिक्रमण त्याज्य छ । बरु नायक पात्रलाई कथाको समस्याको समाधानकर्ता बनाउन सकिन्छ । तल र माथिको द्वन्द्व देखाई अन्त्यमा कथाले असल निष्कर्ष बोल्नुपर्छ ।
कथामा मानवीय पात्र र मानवेतर पात्र गरी दुई प्रकारद्वारा पनि विभाजन गर्न सकिन्छ । मानवसँग सम्बन्धित पात्रलाई मानवीय पात्र भनिन्छ । त्यस्तै गैर मानवीय पात्र अर्थात मानवेतर पात्रहरुमा ढुङ्गा, माटो, फलाम, बोट विरुवा, प्रकृति, पशुपञ्छी आदि । यी बाहेक मनोभावहरु पनि अर्कै आयामका पात्रहरु हुन् । यी पात्रहरुले पनि सजिव पात्र सरह संवाद गरेको कुरा कथामा देखाउन सकिन्छ । मानवेतर पात्रले कथामा उत्सुकता, कौतूहलता थपिदिन्छ ।
२.१२.१(छ) चरित्र चित्रण
पात्रको व्यक्तिको एक महत्त्वपुर्ण पक्षलाई कथामा चित्रण गरिएको हुन्छ । कथामा कथाको पात्रको चरित्रचित्रण म पात्रले गरेको हुन्छ तर प्रायः नाटकीय सम्वादबाट अथवा तृतीय पुरुषबाट यसको चित्रण गरिएको हुन्छ । कुनै वर्गको प्रतिनिधित्त्व गर्ने प्रतिनिधि चरित्रको कथा, अनि वैयक्तिक चरित्रको प्रतिनिधित्त्व गर्ने वैयक्तिक कथा हुन्छ । दुबैलाई मनोविज्ञानले सिंगारिएको हुन्छ । स्वभावका दृष्टिले स्थिर र परिवर्तनशील स्वभावका कथाहरु हुन्छन् । कथाको पात्रको चरित्र सुरुमा जस्तो देखिएको हो पछि पनि त्यस्तै देखिन्छ भने त्यस्तो एकनासको विकसित चरित्र भनिन्छ । कथामा चरित्र प्रारम्भका जस्तो देखिएको हो कथाको टुङ्ग्याउनीमा एउटा निश्चित धार बोकेको हुन्छ भने त्यस्तो पात्रको चरित्रलाई विकासशील चरित्र भनिन्छ ।
पात्रहरुको व्यक्तित्व र कार्यव्यापारलाई चरित्र चित्रण भनिन्छ । कथामा कथाको पात्र चरित्र चित्रण कथाका पात्र वा चरित्रलाई लिङ्गमा आधारमा पुरुष स्त्री, कार्यका आधारमा प्रमुख, सहायक, गौण, वर्गका आधारमा उच्च, मध्यम र निम्न, स्वभावका आधारमा अनुकूल र प्रतिकूल, आवद्धका आधारमा वद्ध र मुक्त, जीवन चेतनाका आधारमा प्रतिनिधिमुलक र व्यक्तिगत, गहिराइका आधारमा बहिर्मुखी र अन्तर्मुखी, स्वभावका आधारमा स्थिर र गतिशील आधारमा वर्गीकरण गर्न सकिन्छ ।
मानवीय पात्रको नाम कथामा राख्ने दक्षताले पनि कथा उत्कृष्ट बनाइदिन्छ , कथालाई जीवन्त बनाइदिन्छ । जस्तो कि अन्यायसँग सधैँ मुकाविला गर्ने पात्र छ भने मेघ नाम राख्न सकिन्छ । यदि संयमित पात्र छ भने विवेक नाम राख्न सकिन्छ । त्यस्तै मानवेतर पात्रहरु पनि जुन मौसममा कथा लेखिएको हो , अथवा कथाले कुन विशेष ऋतुलाई पछ्याएको छ सोही अनुसारको मानवेतर पात्रहरुको व्याख्यात्मक रुपमा कथानक प्रस्तुत गर्नुपर्छ र कथाको वहावसँगै त्यस्ता मानवेतर पात्रहरु पनि प्रकृतिको परिवर्तनसँगै त्यस्तै सिलसिलेवार रुपमा प्रस्तुत गर्नुपर्छ र अन्त्यमा कथाको उत्कर्ष अथवा यसलाई नतिजाका रुपमा राम्रो प्राकृतिक वातावरणको अति शालीनताका साथ चित्रण गरिदिँदा कथामा सुनमा सुगन्धता आउँछ ।
२.१२.१(ज) देशकालपरिस्थिति
देश भन्नाले स्थान र समाज, काल भन्नाले समय र परिस्थिति भन्नाले वातावरण बुझिन्छ । त्यसैले कथावस्तुको विकासमा देशकालपरिस्थिति राम्रोसँग चित्रण भएको हुनुपर्छ । पात्रले कार्यव्यापार गरेको स्थानलाई देशकालपरिस्थिति भनिन्छ । सोझै कथाकारले संक्षेपमा चित्रण गर्ने विधिलाई समाख्यान विधि भनिन्छ । पात्रका माध्यमबाट यदि दृश्य प्रस्तुत गरिएको छ भने त्यसलाई दृश्यात्मक विधि भनिन्छ । कथामा घटीत घटना देश कालअनुसार देखाउँदा अथवा चित्रण गर्दा कथामा विश्वसनीयता थप हुन्छ तथा उक्त स्थानको संस्कृति, विशेषतायुक्त पुरातात्विकदेखि नवीन स्थिति बारे चित्रणले कथा अझ अरु प्रभावकारी हुन्छ । यसमा परिस्थितिहरुको सूक्ष्मातिसुक्ष्म चित्रणका साथसाथै देशकालवातावरणहरुको समायोजन पनि हुनुपर्छ । यो समाजको दर्पण भने पनि हुन्छ । कुनै पनि स्थानको भेषभुषा, वातावरण, सँस्कृति, रहनसहन आदि हुन् । भाषा पनि त्यहीँ माटो अनुसारको हुनुपर्छ ।
२.१२.१(झ) दृष्टिविन्दु
कथाको कुनै एक नायक पात्र रोजेर त्यसलाई अघि बढाउनु नै दृष्टिविन्दु हो । कथामा २०औँ शताब्दीदेखि मात्र दृष्टिविन्दुतर्फ अध्ययन भएको पाइन्छ । कथा कसरी भनिने हो, कथाको दृष्टिकोणनै भए पनि यसलाई दृष्टिविन्दु नै भन्नु उपयुक्त हुन्छ । यो दृष्टिविन्दु प्रथम पुरुष ‘म’ , ‘हामी’ जसलाई आन्तरिक दृष्टिविन्दु भन्न सकिन्छ । अनि तृतीय पुरुष ‘ऊ’, ‘उनी’, ‘उनीहरु’, ‘त्यो’ जसलाई वाह्य दृष्टिविन्दु मान्न सकिन्छ ।
२.१२.१ (ञ)कथाको बुनोट
कथाको बुनोट भाषा, शैली, विम्ब, प्रतीक, अलङ्कार, विचलन आदिबाट हुन्छ । विचार, भाव, अनुभूति अभिव्यक्त गर्ने ढाँचालाई शैली भनिन्छ । थुप्रै घटना परिघटनाहरुलाई एउटै कथामा सललल पढिरहुँ लाग्ने किसिमले उन्नसक्नु कथाकारको खुबी हो । कथालाई निपात, विस्मयादिवोधक शब्दहरुको ठीक संयोजनले मीठासपुर्ण र ओजपुर्ण बनाइदिन्छ । त्यस्तै अनुकरणात्मक शव्दको ठीक संयोजनले कथालाई त्याभन्दा मीठासपुर्ण एवम् अँझ ओजपुर्ण बनाइदिनुका साथसाथै ठेट नेपालीपनमा ढाल्न सशक्त रुपमा मद्दत मिल्छ ।
२.१२.१ (ञ) (१)अनुच्छेद लेखन
बुनोट राम्रो हुन अनुच्छेद लेख्ने तरिका जान्नु आवश्यक हुन्छ । कथा अनुच्छेदहरु मिलेर बन्ने भएको हुनाले जब अनुच्छेद राम्रो हुन्छ तब कथा उत्कृष्ट बन्छ त्यसैले अनुच्छेद के हो, कसरी लेख्ने भन्ने जानकारी हुनु आवश्यक हुन्छ । अवश्यनै यो वाक्यहरु मिलेर बनेको हुन्छ । यसलाई अङ्ग्रेजीमा प्यारेग्राफ भनिन्छ । यो स्वतन्त्र, संक्षिप्त र मौलिक हुनुपर्छ । यसलाई सारगर्भित संक्षिप्त निबन्धका रुपमा पनि लिन सकिन्छ । कथाका कुनै पात्रले आफ्नो मनोभावको कुनै एक पक्षको भाव पोख्दछ भने त्यहीसँग सम्बद्ध भएर एक अनुच्छेदमा कथाकारले प्रकाश पार्नुपर्ने हुन्छ । तसर्थ यो संक्षिप्त, स्पष्ट र पुर्ण हुनैपर्छ । साथै सरल, सहज र सरस भएमा अझ बेश हुन्छ । कुनैपनि एक बुँदालाई मुल बुँदा बनाएर त्यसको स्पष्ट र ओजपुर्ण किसिमले एकै अनुच्छेदमा उक्त विषय बारे लेख्नुसक्नु नै अनुच्छेदको विशेषता हो ।
२.१२.१ (ञ) (२) शीर्षक चयन
शीर्षकले पनि कथाको कौतूहलता जगाउँछ । शीर्षक छोटो, सारगर्भित एवम् सरल, मीठो हुनुपर्छ । कथा तयार गर्नु अघि वा कथा तयार पार्दापार्दै वा कथाको समाप्ती पछि धेरै सोचविचार गरेर कथाको शीर्षक चयन गरिन्छ । कथाको शीर्षक कथाको सम्पुर्ण आख्यानको मुल भाव खुल्ने अनुसारको हुनुपर्छ । पत्रकारिता क्षेत्रमा भने कथाको मूलभाव चरित्र, देशकालपरिस्थिति, भावले देखाए पनि वर्तमानमा कुन कुराले खुल्दुलि जगाउने हो सोही अनुसार कथाको शीर्षक राखिने गरेको पाइन्छ ।
२.१२.१ (ञ) (३) भाषा
अभिव्यक्तिको सशक्त माध्यम भाषा हो । भाषा जनजनले बोल्ने समसामयिक एवम् सरल हुनुपर्छ । भाषा अस्पष्ट, जटिल, विचारशून्य हुनुहुँदैन । पाठकको रुचि अनुरुप यो मिठासपुर्ण अनि सललल बगेको हुनुपर्छ । आकर्षक शैली, शिल्प, बिम्ब, प्रतीक भाषाका सुन्दर पक्षहरु हुन् । भाषाको शुद्धता र शालीनता नै भाषा शैलीको उत्कृष्ट पक्ष हो ।
२.१२.१ (ञ) (४)नव रस/शव्दका तीन भेद
२.१२.१ (ञ) (४) (क) नवरस
कथा प्रस्तुत गर्दा पात्र तथा भावका रस अनुसार चित्रण गर्नुपर्छ । क)ं सुन्दरताको, प्रेमालापको राम्रो चित्रण — शृङ्गार रस (ख) शारिरीक, मानसिक, भाषिक विसङ्गतिबाट हाँसो ल्याउनु — हाँस्य रस (ग) प्रियजन, देशआदिबाट विछोड, यातनाको घाउको क्रन्दन — करुण रस (घ) अन्याय, अत्याचार, जुल्म, उत्पीडनको सामना गर्नु — रौद्र रस (ङ) पराक्रमबाट उत्साहित हुनु — वीर रस (च) आफुलाई तर्साउने, आफुभन्दा ठुलाबाट हुने भय — भयानक रस (छ) घिनलाग्दो देख्नु , मुर्छित देख्दा हुने जुगुप्सा — वीभत्स रस (ज) अचम्म लाग्दा कुरा देख्दा उत्पन्न हुने — अद्भूत रस (झ) निशारताबाट उत्पन्न हुने वैराग्य — शान्त रस । यी सबको कलात्मक, यथार्थपाराले वर्णन गरिएको कथाले पाठकको भित्रि मनसम्म छोएको हुन्छ ।
२.१२.१ (ञ) (४) (ख) शब्दका तीन भेद
कुनै शब्दको तीन प्रकारको अर्थ लाग्ने कुरा माथि २.२ शब्द शीर्षकको पाठमा गरिसकेको छु । कथामा पनि अभिधात्मक, लक्षणात्मक तथा व्यञ्जनात्मक गरी तीन प्रकारका यी अर्थलाई मनन गरी गर्दा अझ सशक्त हुन्छ ।
२.१२.१ (ट) कथा स्रष्टाको जीवनदृष्टि
कथाले सुदूर अतितदेखि सुदूर भविष्यसम्म चित्रण गर्न सक्छ । त्यसैले कथाकार अन्तद्र्रष्टा हो । समाजका समस्यासँग कथाकारले उदासिनताको टुङ्गो लगाउँदै त्यसको समाधान पनि भित्रसम्म उद्वेलित पारेर देखाइदिन्छ । यो युगको आवाज कथाले बोलिदिन्छ । अन्वेषणबाट उसले सिर्जनात्मक सङ्घर्षद्वारा एउटा परिवर्तनगामी गारेटो देखाइदिन्छ ।
२.१२.१ (ठ) जीवनदर्शन
कथाको सम्बन्ध मानवसित तथा उसको जीवनसित हुन्छ । वस्तुजगतको विशालता र अनुभूति व्यक्तिमनको गहनताबाट वृहत्तर कलाप्रवाहलाई आत्मसात गर्ने जीवनदर्शनको समावेश भएर कथा उनेको हुन्छ । व्यक्तिको जीवनदर्शनको धारणा मनोगत विचार, पुखौँदेखि उसले सुन्दै आएको कुराको निचोडमा उसले बनाएको दर्शन के हो सोही अनुसार बनेको हुन्छ ।
कुनै पनि साहित्यलाई एउटै वाक्यमा वा एकैपटक व्याख्या यवम् परिभाषित गर्न सम्भव हुँदैन । साहित्यिक यात्रामा प्राचीनकालबाट अहिलेको वर्तमान समयसम्म आइपुग्दा अनेकौँ घुम्ती मोडहरु पार गर्दै आइपुगेको हो । लेखक तथा साहित्यकारहरुले परिभाषा दिँदा त्यही समयको आधारमा मात्र साहित्यबारे आफ्नो धारणा व्यक्त गरेका हुन्छन् ।
संस्कृति र सभ्यता गतिशील छ । प्राणी एवम् , अप्राणीले आफ्नो अस्तित्त्व बँचाउदै आफुलाई अग्रगामी किसिमले जीवन डोर्याइरहेको हुन्छ । धर्तिले पनि अति विशालकाय प्रलयसँग लड्दैबढ्दै सिर्जनशीलताको नयाँ युगमा पाइला बढाइरहेको हुन्छ । घुमन्ते, गोठाले युगबाट बढेर सामन्ती कविला युगसम्म आइपुग्दा वर्ग विभाजन भइसकेको थियो ।
कथा सिर्जना चानुचुने होइन, यो चमत्कारीक हुन्छ । यो भावना उत्प्रेरणा र इच्छाशक्तिको उपज हो । गुणात्मक र सन्देशात्मक कथालाई प्रयोगवादी भनी अवमुल्यन भएको छ । कथा लेखनलाई कथाकारमा भावना, जाँगर यथेष्ट हुनुपर्छ । शीर्षक छनौट, धाराप्रवाह लेखन, उदारताभएर पनि खरो र स्पष्ट लेखन हुनुपर्छ । त्यो वाहेक गहिराइसम्म विश्लेषण, यथार्थ विवरण पनि अपरिहार्य छन् ।
२.१३ कथाका प्रकार
भन्ने र सुन्ने बीच हुने एकपक्षीय संवादमा भन्नेले भन्ने कथन नै आख्यान हो । उपन्यास तथा कथा त आख्यान नै भयो । त्यस्तै नाटक, एकाङ्की, कवितालाई आख्यान नमाने पनि यी सबमा पनि सूक्ष्मसूक्ष्म आख्यानको मात्रा हुन्छ । त्यसैले कथनबाट आएको यस्तो आख्यानलाई हेर्ने हो भने कथनको सबैभन्दा नजिक कथा नै छ भन्न सकिन्छ ।
मानवको सभ्यता अझ भनौँ मानव अहिलेको मानव रुपमा आउन अगाडि भाषा पनि बोल्न जान्दैनथे । त्यो समयमा पनि अद्भूत, रोमाञ्चक कुराहरु एकआपसमा कुराका रुपमा बाँड्थे । आफ्ना मानव पुर्खाहरुलाई अनेकौँ हाउभाउ, कटाक्ष अनि पशुपञ्छी जस्तै बोलीद्वारा कथाहरु सुनाउँदै आए । यही विकास हुँदै भाषाको सुरुवात भयो । यसप्रकार भाषाको विकासमा कथाको योगदान अतुलनीय छ । त्यसर्थ कथा भाषा भन्दा जेठो मानिन्छ । भाषाको विकाससँगै लेखन पनि विकास हुँदै गयो । लिखित रुपमा प्राचीन कथाको स्रोत ऋग्वेददेखि मात्र प्रमाणित रुपमा पाइन्छ । त्यस समयमा कठीनभन्दा कठीन छन्दमा कथा लेखिन्थ्यो ।
समाज सापेक्ष कथाहरु विकसित हुँदै अनेक स्वरुपमा आइसक्यो । कथाको वर्गीकरण निम्नानुसार रुचिक्षेत्र, रीतिक्षेत्र, शैली, नवरस, शब्द संयोजन, रचना विधान, दृष्टिविन्दु आदिका आधारमा गर्न सकिन्छ ।
२.१३ (क) अभिव्यक्त आधारमा
शुद्ध कथा, निबन्धात्मक कथा, पत्रात्मक कथा, कवितात्मक कथा, नाटकीय कथा, आत्मकथात्मक कथा, लघुउपन्यासात्मक कथा, उपाख्यान कथा आदि ।
२.१३ (ख) दृष्टि विन्दुका आधारमा
प्रथम पुरुष कथा, तृतीय पुरुष कथा तथा प्रथम र तृतीय पुरुष दुबै मिश्रित कथा ।
२.१३ (ग) संगठनात्मक आधारमा
जटिल र अजटिल कथा ।
२.१३ (घ) विषयगत आधारमा
प्राचीन कथा, पौराणिक कथा, प्राग ऐतिहासिक कथा, ऐतिहासिक कथा, सांस्कृतिक कथा, सामाजिक कथा, मनोवैज्ञानिक कथा, राजनैतिक कथा, रहस्यात्मक कथा, लोकथात्मक कथा, आधुनिक कथा, विज्ञान कथा आदि ।
२.१३ (ङ) सामाजिक कथा
समस्याप्रधान कथा, भावप्रधान कथा, आदर्शवादी कथा, नीतिवादी कथा, प्रगतीवादी कथा, दार्शनिक कथा, दलित कथा आदि ।
२.१३ (च) परम्परागत कथाका प्रकार
पौराणिक कथा, दन्त्य कथा, लोक कथा, परी कथा, नीति कथा आदि ।
२.१३ (छ) उपकरणगत आधारमा
घटनाप्रधान, चरित्रप्रधान, भाव प्रधान तथा वातावरणप्रधान आदि ।
२.१३ (ज) प्रभावगत आधारमा
त्रासद कथा, कामद कथा, मिश्रित कथा ।
२.१३ (झ) शैलीगत आधारमा
वर्णनात्मक, डायरी, पत्रात्मक, सम्वादात्मक, मिश्रित ।
२.१३ (ञ) धारागत आधारमा
परम्परागत कथा, आधुनिक कथा, आदर्शोन्मुख यथार्थवादी कथा, प्रगतिवादी कथा, अति यथार्थवादी कथा, स्वच्छन्दतावादी कथा, अस्तित्त्ववादी कथा, विसङ्गतिवादी कथा, प्रकृतिवादी कथा, सुत्र कथा आदि ।
२.१३ (ट) आकारगत आधारमा
लामो कथा , मझौला कथा तथा छोटो कथा ।
२.१३ (ठ) लिङ्गका आधारमा
बाल कथा, किशोर कथा, नारीवादी कथा, अन्य प्रचलित कथा ।
२.१३ (ड) प्रयोगगत आधारमा
प्रयोगात्मक तथा अप्रयोगात्मक कथा ।
२.१३ (ढ) प्रयोगवादी कथाका प्रकार
अकथा, सुत्र कथा, नव मार्क्सवादी कथा, अति यथार्थवादी कथा, स्वच्छन्तावादी कथा, लीलावादी कथा, उत्तर औपनिवेशिक वादी कथा आदि ।
२.१३ (ण) स्रोतगत आधारमा
प्राचीन कथा, ऐतिहासिक कथा, अनुदित कथा, यथार्थवादी कथा, भावनात्मक कथा, स्वैरकल्पनात्मक आदि कथा आदि ।
२.१३ (त) रसगत आधारमा
सौन्दर्यात्मक कथा, हाँस्य कथा, करुण कथा, वीर कथा, विभत्स कथा, अद्भूत कथा, रौद्रात्मक कथा, शान्त कथा ।
२.१३ (थ) शब्द संयोजनका आधारमा
संकृत सब्दयुक्त कथा, आधुनिक शव्दयुक्त कथा, स्थानीय शव्दयुक्त कथा ।
२.१३ (द) कथानकका आधारमा
रैखिक तथा गैररैखिक ।
२.१३ (ध) अर्थका आधारमा
अभिधात्मक, लक्षणात्मक , व्यञ्जनात्मक ।
२.१४ विविध प्रकारका कथाका परिभाषाहरु
२.१४ (क) धार्मिक, पौराणिक, वैदिक कथा
संसारकै सर्वप्राचीन साहित्य भनेर संस्कृत साहित्यलाई लिन सकिन्छ । संस्कृतको वौद्धिक युग ईपु४५००—ईपु८०० काल मानिन्छ त्यस्तै लौकिक युग ईपु८००—ई८००लाई मानिन्छ । प्राचीन, अर्वाचीनकालमा ऋषिमुनिहरुले कठिनभन्दा कठिन साधना गरेर कठिनभन्दा कठिन छन्दमा कथाहरु लेखेको पाइन्छ । यी कथाहरु ती ऋषिमुनिहरुले प्रकटरुपमा वर्णन गरेका थिए । उदाहरणका लागि ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेद यसैका श्रोत हुन् भने ऋग्वेद यसको प्रमुख श्रोत हो । यही लौकीक युगमा महाभारत, रामायणमा, कथासरित्सागरमा कथाका अपार वृहद भण्डार रचिएका छन् । हिन्दुका महान ग्रन्थहरु वैदिक रीति अनुसारका सांख्य, न्याय, योग, वैशेषिक, पुर्वमिमांसा तथा वेद गरी षट् दर्शनबाट पे्ररित थिए भने अजिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्त्व तथा वसित्त्व गरी अष्ट सिद्धिबाट पे्ररित थिए । यस्ता पुस्तकहरुका भावानुवाद, छायानुवाद आदिको मौलिक स्पर्श हुन्छ । यस्ता कथाहरु नीतिपरक भइकन रोमाञ्चक, कौतूहल, तिलस्मी हुन्छन् । प्रेम, वीरता, साहस, पराक्रम, सौर्य यसका विशेषता हुन् ।
प्राचीनकालमा मन्दिरहरुमा चारैतिर भित्ते चित्रहरु बनाएर कथात्मक रुपमा राखिने परम्परा पनि यस्ता कथाका प्रमाण हुन् । त्यस्तै अहिले पनि विभिन्न चाडपर्वहरुमा स्थानीय परम्परागत संस्थाहरुले, गुठीहरुले कथा अनुसार कलात्मक चित्रहरु क्रमवद्ध रुपमा प्रस्तुत गर्नु पनि कथा परम्परा अन्तर्गत नै थियो । त्यस्तै यस्ता संस्थाहरुले कर्खा, चाँचरी, सोरठी, घाटु, मारुनी, सङ्गिनी, बालुन् , चर्या, सेलो, सिरुवा, असारे, घेन्टाङ्घिसी, चुट्का, ख्याली आदिले परम्परागत कथालाई जोगाइरहेको छ ।
अरबी, फारसीका पनि प्राचीन कथाहरुलाई पौरणिक कथाको मान्यता प्र्राप्त छ । अध्यात्मप्रति जागृत गराउने, उपदेशमुलक, आदर्शवादी, नैतिकवान, ईश्वरप्रति आस्था जगाउने, देवीदेवताका चरित्रमा केन्द्रीत हुनु यस्ता कथाका विशेषता हुन् । अत्यधिक रुपमा हिन्दु धर्मग्रन्थमा यस्ता कथाहरु उल्लेखित छन् त्यसैले विशेषतः यसका प्रमुख श्रोत हिन्दु धर्मग्रन्थ भनेपनि हुन्छ । यस्ता कथाहरु लोप हुने क्रममा छन् । त्यो बेलाको भारतवर्ष यस पृथ्वीको पहिलो अति शिक्षित भूमि वैदिककालको उद्गम स्थल हो । कत्ति त यस्ता प्राचीन ग्रन्थहरु पश्चिमाहरुको म्युजियममा पुगिसकेको छ । यस्ता कथाले कसैको सहारा नपाएकाहरुलाई पनि एक प्रकारको आडभरोसा हुने गर्दछ , त्यो हो भगवानप्रति आस्था एवम् विश्वास । यस्तै अन्य धर्मप्रति श्रद्धा जगाउने पौराणिक कथा भएका ग्रन्थहरुमा, कुरान, वाइवल आदि पनि हुन् ।
आत्मपरक, बिम्वात्मक, वैचारिक, नाटकीकरण एवम् संवाद शैली अनि काव्यमा आख्यान भाव, लयात्मक छन्दात्मक, अवचेतन मुलक भाव, कठोर शिष्टतायुक्त कट्टरता यस्ता कथाका विशेषता हुन् ।
२.१४ (ख) लोक कथा
पहिले पहिले पुराना अनुभूतिका कुरा, विश्वका कुरा, समाजका कुरा जस्ता कुनै पनि घटनाहरु घटिसकेपछि एकले अर्कालाई भन्दै भन्दै दन्त्य कथाका रुपमा बुट्टा भद भर्र्दैै त्यो घटनाको विरणले स्मृतिलाई ताजै गराउँथ्यो । यसरी नै लोक कथाको रुप लिएको हो । केटाकेटीलाई उपदेश दिनका लागि तिलस्मी रुपमा सुनाउन थालेपछि लोक कथा, राकसकथा, जादू कथा, परि कथा सुरु हुन थालेको हो । लोक कथा पछि गएर वौद्धिकताले पनि भरिपुर्ण हुन थाल्यो । उपदेशात्मक, कल्पनाको प्रचुरताका साथै सामाजिक सांस्कृतिक प्रवृत्तिप्रति समर्थन तथा मनोरञ्जनात्मक सरल, सरस तथा स्वाभाविकपन झल्कनु यस्ता कथाको विशेषता हो । यस्ता कथामा मुल प्रवृत्तिसँग सहचार्य, प्रकृतिमुलक, धार्मिक प्रवृत्ति तथा भाग्यप्रति अत्यधिक विश्वास गरिएको हुन्छ ।
२.१४ (ग) ऐतिहासिक कथा
इतिहासका वीरविराङ्गना पात्रहरुका साहसिक वीरगाथालाई कथानकबाट उनिएको कथालाई ऐतिहासिक कथा भनिन्छ । कथाका माध्यमबाट देशभक्ति जागृत गराउनु र ऐतिहासीक पात्रप्रति श्रद्धा जगाउनु यस्तो कथाको उद्देश्य हो । इतिहासलाई मिथकको रुपमा प्रयोग गरी अतितका यथार्थलाई थोरै काल्पनिकता पनि मिसाएर मौलिकता थपी बुनिएको कथालाई ऐतिहासिक कथा भनिन्छ ।
२.१४ (घ) प्रगतीवादी
आधुनिक कथा परम्परा वि.सं १९९०देखि सुरु भयो । त्यो बेलादेखि कथामा फाट्टफुट्ट जनभावना पनि मुखरित हुनथाल्यो । साशकवर्ग जनविरोधी भएकाले त्योबेला जनताहरु जनवादी चेतलाई अप्रत्यक्षरुपमा व्यक्त गर्थे । २००६ सालमा पहिलो प्रगतीवादी कथा ‘गरिव’ प्रस्तुत गर्दा राणाशासन जीर्ण भएर पतन हुने समय भएकाले मात्र प्रकाशन भएको थियो ।
हिन्दी साहित्यकार रामविलास शर्माका अनुसार “प्रगतिशील साहित्यको माने त्यो साहित्यसँग छ , जु्न साहित्यले समाजलाई अघि बढाउँछ , मानवको विकासमा सहायक हुन्छ । ‘के प्रगतिशील हुँदैमा साहित्य श्रेष्ठ हुन्छ त ?’ भन्ने प्रश्न सोधिनुको अर्थ सायद के हुन्छ भने साहित्यिक नभएर पनि कहिलेकाहीँ कुनै कृति विषयवस्तुकै कारणले प्रगतिशील र त्यसैले श्रेष्ठ मानिन्छ ।………..हामीलाई त्यस्तो साहित्य चाहिन्छ , जसले एकातिर कलाको उपेक्षा नगरोस् , रस सिद्धान्तका नियामक जुन आनन्दको माग गर्दछन् त्यो साहित्यबाट मिल्नै पर्दछ , यद्यपि त्यसको एक मात्र उद्गम रस राज नहोस् , त्यसको परिणाम आत्माको चिन्मयता र अखण्डतामा नहोस् । कलात्मक सौष्ठवका साथै त्यो साहित्यमा व्यक्ति र समाजको विकास र प्रगतिमा सहायक हुने क्षमता पनि हुनै पर्दछ ।
हरिहर खनालका अनुसार “प्रगतिशील साहित्य भनेको जीवनमुखी साहित्य हो । हाम्रो सामाजिक जीवनसित सम्बद्ध समाजप्रति उत्तरदायि साहित्य नै प्रगतिशील साहित्य हो ।” — साहित्य संवाद पृ.८५
शोषण मुक्त समाजका लागि विद्रोहात्मक प्रस्तुति, आर्थिक द्वन्द्व, वर्ग द्वन्द्व, सामाजिक अनि यावत विकृति विसङ्गति आदिलाई यस्ता कथामा व्यक्त गरिन्छ । यस्ता कथालाई समाजवादी यथार्थवादी कथा भनिन्छ । सामाजिक सामन्ती व्यवस्थाको विरोधी यस्ता कथा विशेषगरी यस्ता कथाहरु द्वन्द्वात्मक भौतिकवादबाट प्रेरित भई मार्क्सवादी सौन्दर्यको वैचारिक चिन्तनबाट अभिप्रेरित भई विद्रोही र क्रान्तिकारीता तिर अभिप्रेरित हुन्छन् । मार्क्सवादका प्रणेता कार्ल मार्क्स तथा फ्रेडरिक एंगेल्सलाई मानिन्छ । ग्रामीण समाजको सुखदुःख, गरिवी, अभाव, अशिक्षा, अन्याय, अत्याचार, शोषण, गरिवी, विपन्नता आदिको दारुण अमानवीय परम्परागत थोत्रा मुल्य मान्यताको कुप्रथाको सशक्त विरोध तथा सहानुभूति अनि जरैसम्म निर्मुल गर्ने उद्देश्यले वर्गीय दृष्टिकोणबाट अभिप्रेरित, निम्न तथा निम्न मध्यमवर्गीय परिवारको आर्थिक दुरावस्था र विषमताको चित्रण, पारिवारिक जीवनको अति शूक्ष्म पक्षको चित्रण, कथ्य भाषा शैलीमा शिल्प सौन्दर्यमा सचेतना यस्ता कथाका विशेषता हुन् । प्रतिक्रियावादीहरुसँग भिडी शासनको लगाम आफ्नो हातमा लिनु, समतामुलक समाजका लागि उच्च वर्गको पराजय अनि निम्न वर्गको विजयको कथाबाट चित्रण गरिएको हुन्छ । जनताको शासन व्यवस्थाका लागि योद्धाहरुले भोगेका अभरहरुको चित्रण, भविश्यमा शोषण मुक्त समाज स्थापित हुने दृढ विश्वास, शिल्पभन्दा विचार पक्ष सुदृढ, शोषित प्रति स्नेह र शोषकहरुप्रति घृणा भाव, शोषणरहित समाज निर्माण नभएसम्म विद्रोह जारी राख्नु प्रगतिवादी कथाका विशेषताहरु हुन् । स्थानीय परिवेश तथा स्थानीय भाषा, संस्कृति, कलाको बेजोड चित्रण हुनु यस्तो कथाको विशेषता हो ।
समाज सामन्ती पुँजीवादीय व्यवस्थाको पक्षपोषक भएकाले तथा शासन व्यवस्था पनि त्यस्तै भएकाले यस्ता नीति तथा व्यवस्थाको पक्षपोषीत भएर निकै कलात्मक किसिमले कथा लेखिएका हुन्छन् । यसै परिप्रेक्ष्यले गर्दा प्रगतीवादी कथामा नीति तथा आदर्शको विरोध त हुन्छ नै तर कलात्मक पक्ष अलि फितलो हुन्छ । त्यसैले राजनैतिक आन्दोलनको सापेक्षमा बैचरिक अन्तवस्तुको कथाहरु अँझै थुप्रै आउन बाँकी छन् । यसतर्फ नेपालका कथाकारहरुले सोच्नु नित्तान्त जरुरी छ ।
प्रगतिशील साहित्य जीवनको, जगतको लागि एकदमै अपरिहार्य भइसकेको छ । जुन वर्गका लागि यस्ता साहित्य लेखिएका छन् ती वर्ग कम शिक्षित छन् । तिनीहरुले सरल मात्रै बुझ्छन् , कम आयका हुन्छन् । अहिले समाज परिवर्तन भएसँगै विश्वमा सबभन्दा बढी ठेलीका ठेली प्रगतिशील पुस्तक नै छापिन्छन् , प्रकाशित हुन्छन् । तर बिडम्बना भनौँ कि के भनौँ प्रगतिशील साहित्य पहिलेजस्तो सरल भएनन् अहिले ती सबै कठिनकठिन शब्दले गर्दा बालुवा चपाएसरिका छन् ।
हाम्रो देशमा ००७सालमा प्रजातन्त्र, ०४७सालमा बहुदलीय व्यवस्था, ०५२ सालको माओवादी आन्दोलन, ०६२/०६३को जनआन्दोलन हुँदै गणतन्त्र, मधेश आन्दोलन, संघीय गणतान्त्रिका संविधान आइसक्दा प्रगतिवादी कथा पनि त्यही अनुरुप खुल्दैखुल्दै परिवर्तन हुँदै आएको पाइन्छ ।
२.१४ (ङ) राजनीतिक कथा
कुनै पनि राजनीतिक सिद्धान्तको पक्षपोषण, समर्थन आग्रह तथा असमर्थन, दुराग्रह, पुर्वाग्रह गरी लेखिएको कथालाई राजनैतिक कथा भनिन्छ ।
२.१४ (च) आधुनिक कथा
अपरिवत्र्य भनाउँदा कथा तत्त्वहरु, शास्त्रीयवादी रेखीय आदिलाई आजको विश्वव्यापी विद्युतीय साहित्यिक मार्गले नयाँ गोरेटोमा ल्याइदियो । पहिलेपहिले कथा काल्पनिक विषयवस्तु , काल्पनिक भावनामा लेखिन्थ्यो । त्यसलाई छोडी जब मानवका पीडा, खुसी, रगत, पसिनाका यथार्थ कथा पनि लेखिन थालियो र त्यही कथाबाट आधुनिक कथाको जन्म भयो । विश्वमा आधुनिक कथा पनि एक किसिमको क्रान्ति नै भयो । यस्तो आधुनिक कथाको श्रेय पश्चिमलाई नै जान्छ । समकालीन परिस्थितिका यावत समस्याहरु यस्ता कथाबाट उजागर हुन थाल्यो । यस्ता कथाले प्रत्यक्षरुपमा समाजमा वौद्धिक उपलब्धी हुन थाल्यो । आदर्शभन्दा जीवनका भोगाइहरुको सङ्घर्षहरु पनि यसमा चित्रण हुन थाल्यो । नवीनता, युगीनता, यथार्थपरक, अन्ध परम्परा विरोधी, तार्किक, प्रयोगशील, भौतिकवादी, वैज्ञानीक एवम् जीवनपरक विचारले अभिप्रेरित कथालाई आधुनिक कथा मानिन्छ ।
२.१४ (छ) दार्शनिक कथा
कुनै पनि विचार वा दर्शनको प्रतिपादन, पक्षपोषण यदि बौद्धिकताले तार्किक र वैचारिक किसिमले गरिएको छ भने त्यस्तो कथालाई दार्शनिक कथा भनिन्छ । यस्ता कथामा दार्शनिक विचार प्रभावित भई वौद्धिकता प्रकट भएका हुन्छन् ।
२.१४ (ज) मनोवैज्ञानिक कथा
सामान्य वा असामान्य मनोदशा चित्रणमा केन्द्रीत कथा, कुण्ठा विकृति आदिलाई मनोविष्लेशणात्मक तरिकाले झल्काइएको छ भने यस्ता कथालाई मनोवैज्ञानिक कथा भनिन्छ । यस्ता कथामा मनका खुल्दुलीहरु प्रशस्त वर्णीत हुन्छन् । आत्मपरक विश्लेषण, पात्रका मनोभावहरुको शुक्ष्म अति शुक्ष्म पक्षको तथा अवचेतन मनका गहिराइहरुको सरलता र जटिलताको प्रस्तुति । यस्तामा कथा घटना प्रधान नभई चरित्र तथा भाव प्रधान हुन्छन् । यस्ता कथामा पात्रको मनभित्रको द्वन्द्व, विकृति कुण्ठालगायत विविध मनोगत कुराहरु विश्लेषित हुन्छन् । चेतन मनलाई अवचेतन मनले पारेको द्वन्द्व एवम् प्रभावलाई अनुरागात्मक अभिव्यक्तिका साथ यस्ता कथामा सविस्तार झल्काइएको हुन्छ । मनोविश्लेषनात्मक लेखकले जुन मनन गरिने हुन्छ , जुन पाठकले अभिव्यक्त गर्न समर्थ हुँदैन, लेखकले भित्रसम्म छुने गरी उसैको बोली बोलिदिन्छ । मान्छेका मनमा खेलेका अनेकौँ उतारचढावहरुलाई विस्तृत रुपमा केलाई यस्ता कथामा उजागर गरिएको हुन्छ ।
२.१४ (झ) सामाजिक कथा
समाजका मुल्य, मान्यता, रीति परम्परा, संस्कृति सम्मिश्रण गरेर सामाजिक कथा बनाइएको हुन्छ । यस्ता मुल्य मान्यताले धेरै दुःख पाएका, धेरै सुखी भएका परिणामहरु देखाएर यथार्थमा यस्ता रीतिरिवाजहरु जनजनका लागि फाइदा वा वेफाइदाजनक कस्तो हु्ने हो त्यसको छर्लङ्ग्याउने काम सामाजिक कथाको हो । यस्ता समाजका विविध पक्षका पाटालाई आधार बनाएर तयार पारिएको कथा नै सामाजिक कथा हो । अरु विषयवस्तुहरुभन्दा यस्ता सामाजिक विषयवस्तुमा आधारित कथाहरु सबैभन्दा बढी लेखिएका छन् । सामाजिक यथार्थ चित्रण हुने भएकाले यस्तो कथामा पाठकको स्वाभाविक रुचि हुन्छ ।
२.१४ (ञ) स्वैर कल्पना कथा
सामान्य कल्पना आम मानिस जसले पनि गर्छन् । तर यसभन्दा धेरै फरक स्रष्टाले यदि अतिरञ्जनापुर्ण, कौतूहलतापुर्ण, विचित्र अनि कतिपय ठाउँहरुमा अति मानवीय, अति प्राकृत कल्पना गर्दछन् भने त्यसलाई स्वैरकल्पना भनिन्छ । आद्भूतिक, तिलस्मी, जासुसी यी सबै स्वैरकल्पना नै हुन् ।
२.१४ (ट) प्रयोगवादी कथा
घटना, श्रङ्खला, परिवेश, कथोपकथनविना पनि पाठकहरुलाई कौतूहलताका साथ पढुँपढुँ गरी लेख्दछ भने त्यसलाई अहिले प्रयोगवादी मानिन्छ । यस्ता कथाहरुको परिदृष्यहरुले विद्रोह गर्न खोजेर चटक गरे जसरी पाठकहरु माझ लेखक आफुलाईभन्दा सर्वसाधारणलाई चैनको सास फेराइदिन्छ ।
प्रयोग भन्नाले परम्परामा चलेको भन्दा पृथक भन्ने अर्थ लाग्छ । कतिपय ठाउँमा कथाकारले विधा मिश्रण गरेर लेखनको नयाँ शिल्प विकास गरेको पाइन्छ । जस्तो कि निबन्धात्मक कथा, लघुऔपन्यासिक कथा, कथात्मक निबन्ध, संस्मराणात्मक निबन्ध, आत्मपरक कथा आदि । त्यस्तै विधागतमा हेर्दा अकथा, उपाख्यान कथा, सुत्र कथा, कवितात्मक कथा, संवादात्मक कथा, निवन्धात्मक कथा आदिलाई आदि पनि प्रयोगवादी कथा मानिन्छ ।
२.१४ (ठ) उत्तरआधुनिक चेतका कथा
खासमा विनिर्माण र बुहुलवादी उत्तरआधुनिक शव्दको ठीक अर्थ हो । तर कथामा उत्तरआधुनिक चेत भन्नाले कथामा पहिलेजस्तो रैखिक तरिकाको कथा मात्र भएन, शिल्पप्रविधि, रुपसंरचनाहरु, पात्र, घटना परिवेश व्यक्त नगर्दा पनि अमूर्तरुपले पाठकलाई चरमोत्कर्षको जागरणको चेत खुलाउन थाल्यो । कथामा यस्तो अभिलक्षणलाई नै उत्तरआधुनिक मान्न सकिन्छ । कुनै कथा कथात्मक, कुनै निवन्धात्मक, कुनै नाटकीय, कुनै औपन्यासिक, कुनै समालोचनात्मक, पाठकवादी अनि अराजकीय भएर पनि उत्तरआधुनिक सोचबाट कथा भइदिन्छ । यसमा कुनै दर्शनपछि लाग्नैपर्छ भन्ने पनि छैन । एउटै कथामा अन्य कथामा पाठकले एउटै निचोड निकाल्छन् भने उत्तरआधुनिकमा एउटै कथामा पनि एकभन्दा बढी पाठकको पाठकैपिच्छे अर्थ भिन्नभिन्न हुन्छ । यसमा कथा जताबाट पनि सुरु हुन सक्छ । जताबाट पनि अन्त्य हुन सक्छ । कुनै निश्चित सुत्र हुँदैन । यस्ता कथालाई समसामयीक कथा, नव कथा, आजका कथा, समकालीन कथा, अत्याधुनिक कथा मानिन्छ ।
२.१४ (ड) बालमनोविज्ञान कथा
कथामा सरलता हुनु, भड्काउपन कतै पनि नहुनु बालकथाको विशेषता हो । साथै यस्ता कथा निरक्षर व्यक्तिहरुलाई पनि पढेर सुनाउँदा सरल भएका कारण सजिलै बुझ्न सक्छन् र ज्ञानको दियोले अन्धकार मेटाउने बाटो पहिल्याउन सक्छन् । त्यसैले यस्ता कलिला कोपिलालाई हुर्कन, बढ्न दिनका लागि साहित्यले सरलताको उत्तम उपाय नै रोज्नुपर्ने हुन्छ । बालबालिका तथा सोझासिधाहरु शान्त, निश्छल, रमाइला हुन्छन् । उनीहरुलाई संसारमा धोका, चालवाज, षडयन्त्र, धूर्तता, कटूता, मनोमालिन्य, बैमन्स्य, नीरस् पनि छन् अनि यसका लागि सङ्घर्ष अपरिहार्य छ भनी पनि कथाले प्रस्ट्याइदिनुपर्छ ।
२.१४ (ढ) व्यङ्ग्य कथा
एन. पी. थापा दार्जीलिङमा नेपाली हास्यव्यङ्ग्यको विकास र परम्परा पुस्तकका अनुसार “हास्यव्यङ्ग्यको उद्देश्य समकालीन केही काल र परिस्थितिको वास्तविक रुपलाई यथार्थिक स्वरुपको चित्रण गर्दै मानवीय, विडम्बना, विद्युतीय सञ्जालद्वारा उत्पन्न भएको दुरुह क्लिष्ट स्थिति, समकालीन राजनीति तथा यसले जन्माएको विकृति, विसङ्गति, कुरीति आदिलाई सुधारात्मक चेतसँगै व्यङ्ग्यात्मक रुपमा प्रस्तुति गर्नु रहन्छ ।” — पृ. घ
सामाजिक विसङ्गति, धार्मिक, रुढिवादीलाई कलात्मक ढङ्गले आक्रमण गर्ने काम हाँस्यव्यङ्ग्यले गर्दछ । कथाले यस्ता हास्यव्यङ्ग्यबाट पनि पाठकलाई प्रचुर वौद्धिक खुराक दिनसक्छ । यावत विकृति, विसङ्गति, असमानता, उल्झनहरु विरुद्ध व्यङ्ग्य गर्नु यस्तो कथाको विशेषता हो ।
२.१४ (ण) दलितका कथा
दलित शब्द आउनु नै एक प्रकारको अवहेलना गरेजस्तो देखिन आउँछ । जो पनि उत्पीडित छन् , जो पनि सामाजिक विषमताको काँडेतारको पर्खालभित्र पिल्सिएका छन् ती सब दलित हुन् । साहित्यमा दलितका प्रति झुकाव र उनीहरुका आवाज उठ्न थालेका छन् । अछुत जीवन विताएर अप्रतिष्ठित जीवन जिउन विवश दलितको धार्मिक, साँस्कृतिक, राजनैतिक र अन्य सबै सामाजिक क्षेत्रमा स्वतन्त्रताको अधिकार दिलाउनु आजको समयको माग हो । सामाजिक विषमता हटाउन दलितहरु लागेजस्तै साहित्यकारहरुले पनि दलितहरुबाट सिक्नुपर्ने धेरै कुरा बाँकी छन् र सशक्त कलम चलाउनु जरुरी छ । अझ दलितहरु पनि साहित्यको अग्रपङ्तिमा आउन सके देशमा व्याप्त असमानता छर्लङ्ग्याउन मद्दत मिल्छ । तसर्थ यस्ता दलित सौन्दर्यको अभिव्यक्ति भएका कथालाई दलित कथा भन्न सकिन्छ ।
नेपाली कथाकारहरुले दलितका विषय उठान गरी पर्याप्त कथाहरु रचना गर्न सकेको देखिँदैन । जत्ति पनि रचना गरिएका छन् त्यसमा झिनो आवाजहरु मात्र व्यक्त भएका छन् । दलितको भित्रि पीडासम्म उजागर हुने किसिमको अभिव्यक्ति आजका कथामा हुनु जरुरी छ । दलितलाई पनि आम मानिसहरु झैँ स्वतन्त्र र दासत्त्वमा बस्नुपर्ने वाध्यताको काँडेतारबाट बाहिर ल्याउनसक्नु आजका कथाकारहरुको पनि कर्तव्य हुनआउँछ । देशमा दलित पनि स्वतन्त्र हुने कानुन आइसक्दा पनि कथाकारहरु यसबाट च्यूत हुनु भनेको पुरानै सामन्ती व्यवस्थाको पक्षपोषीत हुन आउँछ । तसर्थ दलितका पक्षमा आवाज उठाउने गरी प्रतिनिधि कथाहरु पनि जन्माउनु नित्तान्त आवश्यक देखिन्छ ।
२.१४ (त) यथार्थवादी कथा
यस किसिमको कथामा यथार्थ जस्तो छ त्यस्तै प्रस्तुत गरिएको हुन्छ । यथार्थका विकृति, विसङ्गति हेरेर केही सिकुन् र राम्रा पक्ष हेरेर त्यसलाई अङ्गिकार गर्न सकुन् भन्ने यस्तो कथाको उद्देश्य हो ।
२.१४ (थ) स्वच्छन्दतावादी कथा
असीमित कल्पनात्मक उडान भएका, तथा अलौकिक रागात्मक विषयलाई बढी प्रसय दिने कथा छ भने यस्ता कथालाई स्वच्छन्दतावादी कथा भनिन्छ । यस्ता कथाहरु भावनामा तरङ्गीत भएर कथात्मक अभिव्यक्ति दिइएको हुन्छ ।
२.१४ (द) अस्तित्त्ववादी कथा
जीवनमा निराशा देखिए पनि आस्था वा आशावादी स्वरहरु यस्ता कथामा मुखरित भएको पाइन्छ ।
२.१४ (ध) विसङ्गतिवादी कथा
यस्ता कथाले सारहीन जीवन छ भन्ने निक्र्यौल गरी नैरास्यता, शून्य, विसङ्गति रहेको जीवन निरर्थक छ भन्ने कथाको सारका रुपमा दर्शाइएको हुन्छ ।
२.१४ (न) प्रकृतवादी
प्रकृतिका हरेक गतिविधिहरु आत्मसाथ गरी यसैलाई जस्ताको तस्तै व्यक्त गरी सुन्दर पक्षको कलात्मक किसिमले चित्रण गरिएको हुन्छ ।
२.१४ (प) विज्ञान कथा
जीव विज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान, चिकित्सा विज्ञान, कम्प्युटर सुचनाप्रविधिसँग सम्बद्ध विविध विषयका भित्रका पात्र, घटना, विधि, भौतिक उन्नति, आणविक अस्त्र कथाको अन्तर्वस्तु बनाइएको छ भने त्यस्तो कथालाई विज्ञान कथा भनिन्छ ।— (नेपाली कथाको इतिहास पृ २४)
विज्ञान कथाले कुनै पनि वैज्ञानिक आविष्कारभन्दा अगाडि कल्पना गरिसकेको हुन्छ । यस्ता कथाले प्रचूर उन्नति गर्ने प्रविधि देखाइदिन्छ । उपलब्धीका प्रत्येक ठाउँको अती कल्पनाद्वारा चित्रण गरिदिन्छ । मानव जगतबाट उन्मुलन हुन नसेकेका रोगव्याधी, महामारीहरुको निदानको आविष्कार हुनु अगाडि नै समाधान देखाइदिन्छ । हरेक नयाँनयाँ अद्यावधिक प्रविधिभन्दा पनि धेरै उत्कृष्ट प्रविधिको कल्पनाशीलताद्वारा देखाइदिन्छ । यदि खाद्य संकट भएको छ भने पनि उच्चस्तरको संजिवनी देखाइदिन्छ । पौराणिक कथा, जादू कथा, तिलस्मी कथा, परी कथा आदिमा पनि तिलस्मीका साथसाथै अति कल्पनाद्वारा समाधान देखाइएको हुन्छ तर विज्ञान कथाले दुनीयाँका हरेक कुरामा ती कथाहरुभन्दा कल्पनाबाट समाधान देखाइएको हुन्छ । अन्य यस्ता कथाभन्दा विज्ञान कथा भने नयाँ नयाँ प्रविधिसँग नजिकिएको हुन्छ । विज्ञान कथाले समाधान गरेका कतिपय कुराहरु विज्ञानका खोज अनुसन्धानलाई पनि त्यत्तिक्कै अनुसरण योग्य हुन्छ तर अन्य कथाको यस मामिलामा त्यत्ति महत्त्व हुँदैन ।
उदाहरणका लागि मानौँ एउटा विषय वाहिरि ग्रहहरुका सम्बन्धमा विज्ञान कथाका विषयहरुमा ग्रहहहरु ग्यालेक्सी आकाश गङ्गामा उक्त ग्रहको स्थान के हो , कसरी उत्पत्ति भए, कसरी विकास भए, कसरी उन्नति हुन सक्छन्, कसरी विनासका बाटोमा जान सक्छन् , हामीभन्दा विकसित ग्रह कस्ता छन् , हामीभन्दा विकसित जीव कस्ता ग्रहमा छन् , ग्रहको गुरुत्वाकर्षण आदि लगायत ती ग्रहहरुका क्रियाकलापहरुमानौँ के कस्ता छन् आदिआदि विषयहरुमा विज्ञानप्रविधिसम्मत किसिमले कथाले बोलेको हुन्छ । यो बाहेक अन्य यस्तै प्रविधिका थुपै यावत कुराहरुका वारे विज्ञान कथाका विषयहरु हुन सक्छन् ।
२.१४ (फ) घटना प्रधान कथा
कुनै खास घटनाले प्रमुख स्थान ओगटेको कथालाई घटनाप्रधान कथा भनिन्छ । कुनै खासखास, विशेषविशेष, मथिङ्गल खल्बल्याउने खालका घटनाहरुलाई प्रधानता दिएर यस्ता कथा लेखिएका हुन्छन् । यस्ता कथामा घटनाका दृश्यावलीहरु सारसँग चित्रण गरिएका हुन्छन् ।
२.१४ (ब) चरित्र प्रधान कथा
सहनशील, उदार, उत्कृष्ट, निष्ठुर, निकृष्ट, निडर, महान, छटपटिएको, दुष्ट, कुण्ठिट, पाशवीक, चरित्र चित्रण गरिएको छ भने त्यस्तो कथालाई चरित्रप्रधान कथा भनिन्छ । घटना गौण हुने यस्ता कथाको पात्रभन्दा पनि कथाका पात्रमा भएका एक प्रमुख चरित्रको भावको सटिक र विस्तृत चित्रण यस्तो कथामा हुन्छ । पात्रका स्वभावहरुलाई स्पष्टसँग केलाएर देखाउन सक्नु नै यस्तो कथाको खुबी हो ।
२.१४ (भ) रहस्य प्रधान कथा
रहस्यलाई गर्भभित्र लुकाएर कथाको अन्त्यमा रहस्य खोल्ने कथालाई रहस्यप्रधन कथा भनिन्छ । जासुसी, तिलस्मी यस्ता कथाका विशेषता हुन् ।
२.१४ (म) समस्या प्रधान कथा
समाजका वा अन्य कुनै क्षेत्रका विशेषविशेष समस्याहरु कथाकारले उदिङ्ग्याइदिन्छ वा त्यसको समाधान देखाइदिन्छ ।
२.१४ (य) विचार प्रधान कथा
यस्ता कथा वौद्धिक पाठकका लागि कथन गरिएको हुन्छ । यस्ता कथामा निश्चित विचार प्रवाह गरिएको हुन्छ ।
२.१४ (र) पत्रात्मक कथा।
प्रेषक र प्रापकको बीचको श्रृङ्खला वा आत्मालापीय एकोहोरो शैलीको पत्रात्मक आख्यान पत्रात्मक कथा हो ।
२.१४ (ल) दैनिकी कथा
यस कथालाई समाख्यानात्मक कथा मानिन्छ । यस कथामा निश्चित महत्त्वपुर्ण तिथि मिति दिएर एकदुई दिनको डायरी प्रस्तुत गरिएको हुन्छ ।
२.१४ (व)प्रतीक विम्वादी कथा
कुनै पात्रलाई प्रतीकका रुपमा उभ्याएर विम्बियता प्रदान गर्दा विम्ब कथाको जन्म हुन्छ ।
२.१४ (श) आदर्शवादी कथा
सामाजिक, ऐतिहासिक, पौराणिक कथाहरु यस्ता कथाको उदाहरण हो । यसमा आदर्शलाई प्रधानता दिइएको हुन्छ ।
२.१४ (ष) परिवेश प्रधान कथा
यस्तो कथामा निश्चित, स्थान र कालको वर्णन पाइन्छ । कथानक र चरित्रभन्दा यसमा परिवेश चित्रण गरिएको हुन्छ ।
२.१५ समाज सर्वेक्षण
कथा समाजको अन्तरङ्ग र वाह्य पक्षको गहिरो अनुसन्धान हो । समाजको अन्तरकुन्तरमा पसेर एउटा शल्यचिकित्सकले जसरी चिरफार गरेर समाजलाई निरोगी र जिउँदो बनाइदिन्छ । कथाको सर्वेक्षण सस्तो मनोरञ्जन कदापि होइन । यो त आम जनजनको भोगाइ र त्यसको समाधानको बाटो देखाउनु हो ।
मैल आफैँले लेखेको यहीँ रत्न पुस्तक भण्डारबाट २०७२मा प्रकाशित ‘सत्य सङ्घर्षका कथाहरु’ कथा सङ्ग्रहमा भूमिकामा कथाकालागि समाजलाई हेर्ने दृष्टिकोणका बारे लेखेका कुराहरु यस अनुकूल भएकोले यहाँ जोड्न चाहन्छु ः— “शत्रुवर्ग त्यो हो जसले आफ्नो हजारौँमा भएको एउटा गल्तीलाई पनि तिललाई पहाड बनाइदिन्छ । मित्रुवर्ग त्यो हो जसले यस प्रकृयाको ठीक उल्टो गरेर हौसला प्रदान गरिरहन्छ । शत्रुवर्ग त्यो हो जसले जागरणमुलक कार्यहरु कहिल्यै गर्न दिँदैन । मित्रुवर्ग त्यो हो जसले यस्ता कार्यका लागि प्राण अर्पण गर्दछ । यसरी वर्ग जम्मा तीन वर्गम छुट्याएर हेरौँ । माथिका यी शत्रु र मित्रु वर्गका बीचमा पनि एउटा वर्ग हुन्छ । यस्ता बीचका वर्गका मान्छेको जमात बढी हुन्छ । तर यस्ता जमातहरु पनि शत्रुवर्गले पुरै सञ्चार माध्यमहरु हातमा लिएकाले गर्दा उनीहरु शत्रुवर्गकै पछि दौडिरहेका हुन्छन् । त्यसैले यस्ता बीचका वर्गलाई मित्रुवर्गको गारेटोमा लान सक्यौँ भने आजको हाम्रो समतामूलकसमाज निर्माण गर्न कुनै ताकतले रोक्न सक्दैन । यो कार्य नै आजको समयको टड्कारो आवश्यकता हो । साहित्यिक रुपमा लाग्न मानव समाजलाई यसरी पनि हेनु पर्दो रहेछ । यसरी हेरेर, यसरी वर्ग उत्थान गर्न यसैका लागि साहित्यिक कदम चालिरहनुपर्छ ।” पृ. ३२—३३
२.१६ वैचारिक तत्त्व/सार/उद्देश्य
कथा पढेपछि जुन पाठकले निधो गर्न पुग्छ , त्यो नै विचारतत्त्व अर्थात सार हो । यो नै कथाकारको उद्देश्य हो । यस्तो विचारतत्त्व अग्रगामी विचारतिर उन्मुख हुनुपर्छ । डा. गोपिन्द्र पौडेलका अनुसार “यथास्थितिवादी कथाकारहरु विचारको समन्वय अनि उदात्तीकरणमा चासो देखाउँदैनन् भने प्रगतीवादीहरु, प्रगतिशीलहरु तथा जनपक्षीय कथा लेखक साहित्यकारहरु विचारको उदात्तीकरणमा चुकेका छन् । उनीहरु विद्रूपीकरणतर्फ उन्मुख भइरहेका छन् । यो समस्या समाधानका लागि सबै कथाहरु अग्रगामी दीशातर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुपर्छ ।”
कथामा प्रकट वा अप्रकट सार वस्तु नै विचार हो । कथाकारले मुख्य अर्थात सबैभन्दा पहिलो प्राथमिकता निचोडमा ध्यान दिनुपर्छ । विचार एकप्रकारको कथाले दिने मुख्य सन्देश हो । कुनै पनि विचार वा वादबाट प्रभावित भएर त्यसलाई मुख्य उद्देश्य बनाएर कथाकारले कथा अघि बढाएको हुन्छ । यो विचार एक किसिमको लक्ष हो । विचारले व्यक्ति, समाज, राष्ट्र हुँदै वृहत्तर जगतको हितवारे ध्यान दिएको हुन्छ । त्यसैले कथाकारले राम्रो विचारको ध्येय लिएको हुनुपर्छ । विचार त निवन्धमा पनि असरल्ल हुन्छ तर कथामा पात्र, चरित्र, भाव आदि कथातत्त्वले त्यसलाई थप पुष्टि गरिदिन्छ । विचार भनेको वौद्धिक कला साधना हो । कथामा दुई पक्ष बीचको द्वन्द्वबाट जुन परिणाम अर्थात द्वन्द्वको समाप्तीको कारण निक्लन्छ, त्यो नै विचार हो, कथा त्यसको प्रमाण हो । कथालाई जिउँदो प्राणीजस्तो बनाउने आत्मा नै विचार हो । कथा जति राम्रो भयो उत्कृष्ट भयो त्यत्ति नै पाठक विचारप्रति अभिप्रेरित हुन्छ । तसर्थ विचार पक्ष सवल बनाउन कथाका सम्पुर्ण उपकरणहरुको पनि एक से एक भूमिका हुन्छ । कथाको विचार मस्तिष्क नै हो भने अन्य कलपुर्जाहरु यसैबाट निर्देशित हुने अन्य भागहरु जस्तै हुन् । चराचर जगतमा अन्य जीवभन्दा विकसित जीव बनाएको श्रेय पनि यही विचारले गर्दा नै हो । तसर्थ सुदृढ, असल तथा उत्कृष्ट विचार आजका कथाका लागि अत्यावश्यक कुरा हो ।
यी बाहेक कथाकारले तटस्ठ रहेर कुनै अतिरञ्जित, कुनै अद्भूत, कुनै आश्चर्यजनक, कुनै विभत्स सत्य जुन अति असामान्य सत्य हुन्छ त्यसलाई मात्र प्रस्तुत गर्ने उद्देश्य लिएको हुन्छ । कुनै क्षण विशेषको, कुनै भाव विशेषको झलक प्रस्तुत गर्ने ध्येय नै कथाकारको उद्देश्य हुन्छ । कुनै पनि खासखास चरित्रको अथवा कुनै पनि खासखास कुराको चित्रण गर्ने प्रमुख उद्देश्यले अभिप्रेरित हुन्छ ।
सत्यको झलक प्रस्तुत गर्नु , विशेष क्षणको अनुभूति देखाउनु , व्यक्ति विशेषको चरित्र वा प्रकृतिको उद्घाटन गर्नु , समाजको सही चित्रण गर्नु , स्थानसापेक्ष एवं निरपेक्ष धारमा व्यक्त गर्नु , यथार्थको प्रकटीकरण गर्नु कथाको उद्देश्य हो । कथाको उद्देश्य जीवनको एक महत्त्वपुर्ण पाटोको उजागर गर्नु हो । कसैको उद्देश्य विवरण मात्र दिनु , कसैको उद्देश्य मनोरञ्जन प्रदान गर्नु हुन्छ तर कथाको प्रमुख उद्देश्य जीवनको दारुण भोगाइपछि भोग्न नपरुन् भनी सन्देश दिने हुनुपर्दछ ।
यसलाई कथाको मजबुन भन्दा पनि हुन्छ । यो कथाको उद्देश्य पनि हो । सत्यको उद्घाटित गर्ने, अनुभूति देखाउने, चरित्र चित्रण गर्ने, समयसापेक्ष विचार प्रस्तुत गर्ने मध्ये कुनै एक प्रमुखता मानेर कथाकारले उद्देश्य लिएको हुन्छ । यी मध्ये कथाकारले क्ुनै तत्त्वको बढी अनि कुनै तत्त्वको थोरै प्रयोग गरेको हुन्छ । कथा पुरै पढिसकेपछि पाठकको मनमा जुन उथलपुथल हुन्छ र निचोडको निक्र्याैल हुन्छ त्यही कथाको उद्देश्य हो ।
कथाले उत्कृष्टतालाई वकालत गरेको हुनुपर्छ । सकारात्मक पक्ष सवल अनि सशक्तसँग देखाउने र प्रोत्साहन गर्ने खुबी हुनुपर्छ । निकृष्टताको भत्सर्ना गर्न सक्नुपर्छ । नकारात्मक पक्षलाई खराब पक्ष भनी देखाउन सक्नुपर्छ र हतोतसाहित गर्न सक्नुपर्छ ।
२.१७ अन्य कथाका बारे ध्यान जानुपर्ने
प्रकाशनमा आएका कथाहरुमा विज्ञान कथा अति थोरै मात्र लेखिएको पाइएको छ । योबाहेक शिक्षा सम्बन्धी, पर्यटन सम्बन्धी, कृषि सम्बन्धी, मानव अधिकार सम्बन्धी, खेलकूद सम्बन्धी, कम्प्युटर अनि सूचना प्रविधि सम्बन्धी, वातावरण सम्बन्धी, पुस्तकालय सम्बन्धी आदि विविध विषयहरुका कथाहरु प्रकाशित भएको पाइएन । प्रकाशनका लागि यी कथाका विषयबस्तुहरु स्वालम्वन, हरियो वन, जडिबुटी, जलसम्पदा, प्राकृतिक सम्पदा, फलफुल तथा तरकारी खेती, पुरातात्त्विक खजाना आदि पनि हुन सक्छन् । आज यी विषयका कथाहरुको नेपाली कथा आकाशको खेतीमा खडेरी परेको पाइएको छ ।
२.१८ कथा र राजनीतिको सम्बन्ध
राजनीतको सापेक्षतामा अर्को कुनै विचार छैन । राजनीतिमा नैतिकता हुनुपर्छ , सामाजसेवी हुनुपर्छ , श्रमजीवी जनताको उचित सम्मान हुनुपर्छ । तसर्थ राजनीति देशको प्रमुख अङ्ग हो । देश बनाउन राजनीति नै राम्रो हुनुपर्छ । यसमा मैलो लगेमा शालीन बनाउन सक्ने भनेको साहित्य—लेखहरुले नै हो । तसर्थ साहित्यले यस्ता दुश्चक्र युक्त राजनीतिलाई धोइ पखाली गर्नसक्नुपर्छ ।
जनसाहित्यका कथाले यसका लागि ठुलो योगदान दिन सक्छ । आज जन साहित्यलाई गैरजनवादीहरुले नारा भन्ने गरेका छन् । यसलाई पनि मनन गर्न सक्नुपर्छ । यथार्थवादी, यथास्थितिवादीअरुसँग जति कला छ त्यो जन साहित्यले पनि सिक्नु पर्छ । तर यस्ता यथास्थितिवादीका मात्र कलाले राजनीतिलाई केही पनि सुधार गर्न सक्दैन । सस्तो मनोरञ्जन हुनजान्छ र यो कूपमन्दूकता बाहेक केही हुँदैन । फेरि जन साहित्य शालीन रुपमा आउँदा पनि नारी साहित्य भनी एककदम पछि हटाउने गरेको पाइन्छ । यो सभ्यता गैर जनसाहित्यका हरुले सिक्नुपर्ने देखिन्छ । त्यसैले कथा साहित्यले मन गढन्ते सत्य कुरालाई सबैको बोझिलो काँडा निकाल्नु सक्नुपर्छ । कसैले बोल्न नसकेका कुरालाई बौद्धिकताले उजागर गर्नुपर्छ । कथाले एउटा त्यस्तो झट्का दिन सक्नुपर्छ कि राजनीतिले पनि तत्कालै सुधार गरी जनसेवामा लाग्न तत्पर होस् । तसर्थ जुनै पनि साहित्यले विचार र कलाको द्वन्द्वबाट प्राप्त उपलब्धीलाई जनहितमा लगाउनुपर्छ । राजनीतिले जस्तै कथासाहित्यले पनि सङ्कीर्णता त्याग्नुपर्छ , कर्मप्रति आस्थावान हुनुपर्छ ।
हामीले कुनै पनि कुरो अन्धात्मक रुपमा मान्नु हुँदैन । कुनै पनि कुरो ठीक भए बेठीक पनि हुनसक्छ । त्यस्तै कुनै पनि कुरो बेठीक भए ठीक पनि हुन सक्छ । कुनै पनि कुरोको शंका पनि गर्नुपर्छ । वास्तवमा कुनै पनि कुरोको गुण र दोष दुबै हुन्छ । यसलाई परख गरी खारेर आएको सत्यलाई मान्नुपर्छ । यो कुनै पनि कुरो चिन्ने सबैभन्दा राम्रो सुत्र हो ।
२.१९ कथाकारको मृत्यु
कथा लेख्दै गएपछि कथा राम्रो बन्दै जान्छ । एक प्रकारले आफु नै आफ्नो प्रतिस्पर्धी हुन्छ । कथा लेख्ने चामत्कारिक शिल्प, प्रविधिमा कालिगढी दक्षता आफैँ हासिल हुँदै जान्छ । कथा लेख्दा सम्बन्धित विषय वस्तुको सूक्ष्मातिसु्क्ष्म अनि वृहत्तर अध्ययन अनुसन्धान तथा साधना गर्ने बानी बस्न थाल्छ । यत्ति हुँदा हुँदै पनि आफुले सोचेभन्दा धेरै उत्कृष्ट कथाको सिर्जना हुन्छ । आफ्नो कथाको गुणवत्ताको ग्राफ विस्तारै चढिरहेको ठाउँमा यस्तो विशिष्ट कथा फुरेपछि , प्रकाशन भएपछि , कथाकारमा पछिल्लो कथाभन्दा उँचाइमा कथा लेख्ने इगो बनिसकेको हुन्छ । अरु कथाकारलाई त उसले पछाडि पारिसकेको मान्छ तर यसले गर्दा उसले जस्तोसुकै मेहेनतले कथा लेखेता पनि त्योभन्दा उत्कृष्ट कथा लेख्न समर्थ हुँदैन । त्यसले गर्दा कथाकारले कथा त गुन्दछ , सिर्जन्छ तर प्रकाशन तथा, लेखन थाल्दैन । यो क्रम कुनै कुनै नामी कथाकारहरुमा पनि लागु हुन्छ भने साधारण कथाकारमा पनि लागु हुन्छ । शिखरमा जान त सजिलो हुन्छ , उसलाई शिखरता कायम गर्न जत्तिसुकै सामथ्र्य लगाए पनि औकात हुँदैन । यो क्रम कसैकसैलाई एक दशक पनि लाग्छ भने कसैकसैको यो कथाकारको मृत्यु नै साहित्यबाट पछि हट्ने कार्य हुन जान्छ । यसरी कथाकारको मृत्यु हुन्छ ।
परिच्छेद ३
३. मजबुनमा साहित्य कै कुरा
साहित्य समाजको दर्पण हो । साहित्य अभिन्न अङ्ग हो । साहित्य सर्वप्रिय एउटा सृष्टिको अमुल्य नीधि हो । साहित्य सत्यको मीठासपुर्ण अभिव्यक्ति हो, जसको परिणाम सकारात्मक मात्रै हुन्छ । साहित्य त्यो सुधारस हो जुन अमृतलाई साहित्यकारले मात्रै आकाशपाताल खोजेर पाठकलाई पिलाउन सक्छ । साहित्यले प्रागऐतिहासिकलाई आधुनिक बनाइदिन्छ , अर्वाचीनलाई प्राचीनको गुण देखाइदिन्छ त्यस्तै प्राचीनलाई अर्वाचीनको गुण देखाई दुबै पुस्तान्तरणलाई एकाकार बनाइदिन्छ । जुनसुकै कुरा पनि असिमीत पोखिदिन्छ , त्यसैले राम्रो इच्छाको घडा भरिदिन्छ । पाठकलाई जीवनजगतका बारे मन्त्रमुग्ध शव्दहरु दिन सशक्त पाइला चालिदिन्छ ।
साहित्य श्रेष्ठ चेतना हो, साहित्य तपस्या हो, अरुभन्दा भिन्न तर बौद्धिक किसिमको । अवश्य नै जतिसुकै नामुद पत्रकारको लेखले भन्न नसकेका कुरा पनि साहित्यले पाठकलाई साक्षात्कार गराइदिन्छ । साहित्यकारले सजिव—निर्जिवलगायत दृश्य—अदृश्य सबै चराचरसँग सम्वाद गरी सामञ्जस्य राख्न समर्थ भइदिन्छ । यसबाट पाएको प्रतिफल सारासंसारलाई अवगत गराइदिन्छ । आम व्यक्तिभन्दा चेतनशील हुन्छ साहित्यकार ! चिन्तनको सरोवरमा घोत्लिदिन्छ , समाजलाई नवीनपथको हौसला जगाइदिन्छ । साहित्यकार सत्य उद्घाटित गर्ने, भविष्यको ख्याल गर्ने द्रष्टा हो । साहित्यकार सम्पुर्ण कथातत्त्वहरुसँग अन्तक्रिया गर्दछ अनि वैशिष्ट्य निचोड दिन्छ । समाजलाई पवित्र शुद्धता दिन्छ । छैटौँ इन्द्रिय, तेस्रो आँखा, जीवन र जगतभन्दा बाहिरको गहिराइबाट गोताखोर भएर शिक्षाका अनमोल हिरामोतिहरु, मणिमाणिक्यहरु अवश्य नै साहित्यकारले निकालिदिन्छ ।
सशक्त साहित्यकार त्यही हो उसको रचना पाठकले शिलालेखमा कुँदिएको जसरी छाप पर्ने गरी बुझिदिन्छ , बुझाइदिन्छ । साहित्यकार त्यो हो उसले असललाई ठीक र खराबलाई बेठीक भनी पाठकलाई छर्लङ्ग्याइ दिन्छ । साहित्यकारलाई व्रह्माण्डमा भएका प्रत्येक क्रियाकलापले झकझकाउँछ । सर्वशक्तिमान कानुनको शक्ति उसमा निरन्तर प्रभावित हुन्छ । साहित्य त्यो सुषमा हो जसले पाठकको भित्रि मन कान्ति ल्याइदिन्छ । यसमा पाठकप्रति छलछाम हुँदैन । कर्तव्य हुन्छ । सामाजिक आडम्बर, पाखण्ड प्रपञ्चको क्रुरतासँग निन्दा गर्छ , पुरै शक्ति लगाएर जुझ्छ, भिड्छ , विजय प्राप्त गर्छ । वजनदार हुन्छ यसको सपाट दृश्य । साहित्य आस्थावानको आत्मा बनिदिन्छ , वर्गीयहरुको परिवर्तन अनि अनन्त स्मृतिको चैतन्यको ओज बनिदिन्छ । साहित्य अँध्यारो ठाउँमा दीपशिखा बनिदिन्छ । जहाँ आपसी वैरभाव मात्र भएको हुन्छ साहित्यले त्यहाँ अत्यधिक शालीनता ल्याइदिन्छ । प्रभातमा जस्तो लालीमामा वातावरण रमाउँछ , त्यस्तो पहिलो कान्तियुक्त क्रान्ति साहित्यबाटै आएको हुन्छ ।
उपचारले जीवन जीवन्त हुने, यात्राले गन्तब्यमा पुगिने, कानले सबैभन्दा मीठो कोकिल स्वर सुनिने, आँखाले सबैभन्दा राम्रो अमोघ दृश्य देखिने, जिब्रोले सबैभन्दा मीठो अमृत स्वाद पाइने, बस्दा सबैभन्दा राम्रो आरामदायी स्थान पाइने, जे कौतूहल गर्यो त्यो मेटिने त्यो अनमोल जादुगरी ज्ञानज्योति त्यही साहित्यले ल्याइदिन्छ । जहाँ अभद्रता, दुर्जनताको पराकाष्ठा हुन्छ त्यहाँ पनि भलादमीपन, सज्जनता ल्याइदिन्छ । जहाँ माटोले सुवास दिन थाल्छन् , धर्तिप्रति आफ्नो ज्यानभन्दा स्नेह उर्लिन्छ , त्यहाँ साहित्य त्योभन्दा शुद्ध बनिदिन्छ , जनतामा देश र जनताप्रति नयाँ जोश र उमङ्गको कर्तव्य ल्याइदिन्छ । सारा संसारको सिमाभन्दा पार हुने शक्ति साहित्यमा छ । सारा पर्खाल पञ्छाएर सारा संसारकै एकताका लागि प्रतिवद्ध भाव जो उर्लिन्छ त्यो नै साहित्यले व्यक्त गरिदिन्छ । एकका लागि सबै, सबैका लागि एक बनिदिन्छ ।
साहित्यले अत्यधिक भीडमा पनि साधनामा एक्लो भइदिन्छ अनि नितान्त एकान्तवासमा पनि सम्पुर्ण व्रह्माण्डसँग संवाद गरिदिन्छ । एउटा नयाँ जोश, नयाँ उमङ्ग ल्याइदिन्छ अनि सम्पुर्णका लागि बहार ल्याइदिन्छ , एक बनाइदिन्छ । आत्मा आत्माभन्दा त के शुन्य अनन्तभन्दा पर चैतन्यमा पुगिदिन्छ । साहित्य नपुग्ने कुन लोक छ र ! सबै ठाउँमा पुगिदिन्छ । सबका लागि अमृत जीवन ल्याइदिन्छ , विश्वास ल्याइदिन्छ , सुगन्ध ल्याइदिन्छ , छटा ल्याइदिन्छ , मनकारी बनिदिन्छ । गहन जीवनको यथार्थ अभिव्यक्त गरिदिन्छ । अग्रणी विचारको उद्घोष गरिदिन्छ ।
साहित्यको हर रङ्गमा वोध, ज्ञान सञ्चित हुन्छ , यसको अमृतपान गर्न सक्नुपर्छ । साहित्यले आकाश जस्तो जीवनमा इन्द्रेणी महक ल्याइदिन्छ । जस्तो साधनाबाट सिद्धि प्राप्त हुन्छ , साहित्यबाट असलपन पदार्पण गराइदिन्छ । साहित्य गुदी हो, बोक्रा त जीवन हो । भ्रम सब जीवन हो, साहित्य त्यसको निवारण । गारो कामलाई आनन्दसँग गर्ने खुबी साहित्यले देखाइदिन्छ । संसारको भलाइ जस्तो राम्रो अरु छैन, यत्ति गहन पाठ सिकाइदिन्छ । उन्नतिको सौन्दर्य दिन्छ , मौलिकता सिकाइदिन्छ , अझ कर्तव्यपरायण बनाइदिन्छ । गन्तब्यको समाधान देखाइदिन्छ ।
साहित्यले ईश्वरले सिर्जेको राम्रो सृष्टिभन्दा राम्रो कल्पना गर्छ , राम्रो सपना देख्छ अनि बनाउन खोज्छ र यस्तो राम्रो हुनुपर्छ भनी शब्द चित्रण विकसित गरिदिन्छ , अघि बढाइदिन्छ । साहित्य द्रव्यको पनि द्रव्य हो । निर्मल यत्ति निर्मल कि, पवित्र यत्ति पवित्र कि खराब क्लेश मात्र पनि हुँदैन । साहित्य साधनाको पनि साधना महासाधना हो । साहित्य योगको पनि योग महायोग हो । साहित्य तन्त्रको पनि तन्त्र महातन्त्र हो । साहित्य महान हो । साहित्यमा व्रह्माण्ड बन्धुत्त्व छ । यावत सृष्टि सबै साहित्य प्रयोग नगर्ने कोही छैनन् । साहित्य शिक्षाको जननी हो । बुद्धको बौद्धिकता, रामको रमिता साहित्यले नै ल्याइदिन्छ । सबलाई आफु साधन बनेर साध्य ल्याइदिन्छ ।
४) सन्दर्भ ग्रन्थका सूचीहरु :—
कथा विमर्श, २०६८, सनत रेग्मी÷भाउपन्थी, नेपाल प्रज्ञा प्रतिष्ठान ।
कथाको सिद्धान्त र विवेचन, २०५९, डा. हरिप्रसाद शर्मा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
कथाको सौन्दर्यशास्त्र, २०६५ साउन, डा. गोपिन्द्र पौडेल, उर्मिला पौडेल ।
केही चिन्तन, २०४८, रमा शर्मा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
गरिमा नारी स्रष्टा र सृजना विशेषाङ्क अङ्क ३४३, २०६८ असार, प्रधान सम्पादक अविनाश श्रेष्ठ, साझा प्रकाशन ।
गरिमा साहित्यिक मासिक, जेठ २०६५, प्रधानसंपादक रमेश प्रसाद भट्टराई, साझा प्रकाशन ।
चिरफार निवन्ध सङ्ग्रह, २०७०, डा. बालकृष्ण थापा, डी.आर. पोखरेल ।
दार्जीलिङमा नेपाली हास्य—व्यंग्यको विकास र परम्परा, सन् २०१०, एन.पी. थापा, श्रीमती पार्वती थापा, सिलगढी
निवन्ध पुष्प, २०७४, डा. रामप्रसाद ज्ञवाली, गणेश प्रसाद भट्टराई, डा. देवी नेपाल, ऐरावती प्रकाशन प्रा.लि.।
निम्नमाध्यामिक नेपाली व्याकरण र रचना, २०५२, डा.बासुदेव त्रिपाठी, महादेव अवस्थी, पारसमणि भण्डारी, एकता बुक्स डिष्ट्रिब्युटर्स प्रा.लि.।
नेपाली कथाको कथा, २०५०, रत्नध्वज जोशी, साझा प्रकाशन ।
नेपाली कथाको इतिहास, २०६९, डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, नेपाल प्रज्ञाप्रतिष्ठान ।
नेपाली कथामा दलित, २०७४, संयोजक मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठान ।
नेपाली कथा भाग १, २०४८, नरहरि आचार्य, महादेव अवस्थी,देवी प्रसाद गौतम, साझा प्रकाशन ।
नेपाली कथा र कथाकार, २०७०, डा. दयाराम श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठान ।
नेपाली कथा र उपन्यास, २०७६, प्रा. भोजराज ढुंगेल, डा. दुर्गा प्रसाद दाहाल, एम के पव्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स ।
नेपाली कथा—उपन्यास सिद्धान्त र समीक्षा, २०७४, डा. यादवप्रकाश लामिछाने, गीता लामिछाने, विद्यार्थी पुस्तक भण्डार ।
नेपाली नाटक र कविता, २०५९ असार, सम्पादक गुणाकर भुसाल, क्षितिज प्रकाशन ।
नेपाली पत्रकारिता, २०६२, शुभ शंकर कँडेल, पैरवी प्रकाशन ।
नेपाली भाषा र साहित्य, २०७४, डा. यादवप्रकाश लामिछाने, विद्यार्थी पुस्तक भण्डार ।
नेपाली समालोचनाको रुपरेखा, २०६४, डा.रविलाल अधिकारी, विवेकसिर्जनशील प्रकाशन प्रा.लि.।
नेपाली साहित्यका केही पृष्ठ, २०६३, डा. दयाराम श्रेष्ठ, साझा प्रकाशन ।
नेपाली साहित्यको संक्षिप्त इतिहास, २०६९, डा.दयाराम श्रेष्ठ, प्रा. मोहनराज शर्मा, साझा प्रकाशन ।
नेपाली साहित्यको इतिहास तथा संस्कृत र पाश्चात्य साहित्यको रूपरेखा, २०६२, अशोक थापा, रमेश पौडेल, न्यु हिरा बुक्स इन्टरप्राइजेज ।
नेपाली साहित्यको इतिहास तथा संस्कृत र पाश्चात्य साहित्यको रूपरेखा, २०६३ जेठ, कृष्णप्रसाद आचार्य, ईश्वरीप्रसाद गैरे, क्षितिज प्रकाशन ।
पत्रकारिता हाते किताब, २०५८ मंसिर, सम्पादक ध्रुवहरि अधिकारी, नेपाल प्रेस इन्स्टिच्युट ।
प्रजातन्त्र भाषा र साहित्य, २०६३ फागुन २४, श्याम प्रसाद, श्रीमती जनक चालिसे ।
प्राचीन गद्याख्यान, २०६९, शरदचन्द्र शर्मा भट्टराई, साझा प्रकाशन ।
पाश्चात्य समालोचना सिद्धान्त र नेपाली समालोचना, २०६३, डा. रामनाथ ओझा, मधुसूदन गिरी, स्टुडेन्ट्स् बुक्स पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स ।
पुर्वआधुनिक नेपाली साहित्य, २०६७, प्रा.डा.महादेव अवस्थी, साझा प्रकाशन ।
भारतीय नेपाली साहित्य र संस्कृतिको झलक, २०६१, देवी पन्थी, आंखा स्वयंसेवी प्रकाशन संघ ।
भाषाविज्ञान, २०५९ फागुन, योगेन्द्र प्रसाद यादव, भीम नारायण रेग्मी, न्यु हिरा बुक्स इन्टरप्राइजेज ।
भाषाविज्ञान र नेपाली भाषा, २०७३, प्रा. भोजराज ढुङ्गेल, डा. दुर्गाप्रसाद दाहाल, एम के पव्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स ।
भाषाविज्ञान र नेपाली भाषा,…………, अविलाल शाह (अनिल), लक्ष्मी ढुङ्गेल, दीपकप्रसाद ढकाल, सुजाता प्रकाशन ।
भाषाविज्ञान र नेपाली भाषा, २०७४, डा.भोजराज ढुुंङ्गेल, डा. दुर्गाप्रसाद दाहाल, एम के पव्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स ।
मार्क्सवादी साहित्य सिद्धान्तका प्रतिनिधि मुलक विचारहरु, २०७२, प्रा.डा. कृष्णचन्द्र शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठान ।
मार्क्सवादी साहित्य चिन्तन, २०६७, निनु चापागाईं साझा प्रकाशन ।
मार्क्सवाद सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र, २०७३, डा. ताराकान्त पौडेल, साझा प्रकाशन ।
मार्क्सवादी सौन्दर्यचिन्तन, २०६९, चैतन्य, साझा प्रकाशन ।
मिर्मिरे अङ्क १९१, २०६८ साउन, सम्पादक अरविन्द मालाकार, नेपाल राष्ट्र बैङ्क, बैङ्कर्स क्लब ।
रचना कथा अनुष्ठान २००५, सन् २००५, राजीव शङ्कर श्रेष्ठ, भा.प्र.से., करुणा देवी स्मारक धर्मार्थ गुठी
रचनाको अभिव्यक्ति, २०६०, रमेश गोर्खाली, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
राष्ट्र उद्घोष स्मारिका, २०५८, प्रधान संपादक रामप्रसाद ज्ञवाली, उन्नतिशील नेपाली समाज ।
लघुकथा प्रकृया र पाठ, २०६५, गोपाल अश्क, साझा प्रकाशन ।
लीलादृष्टि, २०५६, सम्पादक रत्नमणि नेपाल, गणेशप्रसाद नेपाल, नयराज नेपाल ।
लोकसाहित्य, पुर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध, २०६० मंसिर, डा. रामनाथ ओझा, मधुसूदन गिरी, स्टुडेन्ट्स् बुक्स पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स ।
विचार र व्याख्या, २०६७, डा. केशवप्रसाद उपाध्याय, साझा प्रकाशन ।
विचार विमर्श, आषाढ २०७६, शारदाप्रसाद दाहाल, शारदाप्रसाद दाहाल ।
शक्ति, स्रष्टा सबाल्टर्न, २०६८ भाद्र, डा. तारालाल श्रेष्ठ, डिस्कोर्स पब्लिकेसन ।
शोध सिर्जना र संंस्कृतकाव्यशास्त्र प्रश्नोत्तर सङ्गालो, २०६५, भक्त राई, काजिमान राई, दीक्षान्त पुस्तक भण्डार
शिक्षा मनोविज्ञान, २०६९, नागेश्वर सिंह, पैरवी प्रकाशन ।
शिक्षामा मार्क्सवादी चिन्तन, २०६६ साउन, सम्पादक भोगीराज चाम्लिङ, खोजी प्रकाशन गृह ।
स्नातक अनिवार्य नेपाली, २०७२, डा. दुर्गाप्रसाद दाहाल, एम के पव्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स ।
सङ्क्रमणको साहित्य र समकालीनता, २०६६, पुरुषोेत्तम सुवेदी, साझा प्रकाशन ।
समकालिन समालोचना सिद्धान्त र प्रयोग, २०६३, मोहनराज शर्मा, अक्सफोर्ड ईन्टरनेशनल एकेडेमी ।
समसामयिक प्रगतिवादी नेपाली कथा, २०७४, सम्पादक डा. विन्दु शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठान ।
समीक्षा कुसुम, २०५८, ठाकुरप्रसाद पोख्रेल, ध्रुवप्रसाद भट्ट्राई, कमला र निर्मला ।
सत्य सङ्घर्षका कथाहरु, २०७२, बिजु सुवेदी ‘विजय’, रत्न पुस्तक भण्डार ।
सत्य पौराणिक कथा, २०७५, बिजु सुवेदी ‘विजय’, रत्न पुस्तक भण्डार ।
सामथ्र्यको सिद्धान्त, २०६७, भविन्द्र कुँवर, भविन्द्र कुँवर ।
साहित्य परिचय, २०७३, मोहनहिमांशु थापा, साझा प्रकाशन ।
साहित्य प्रकाश, २०६७, डा.केशवप्रसाद उपाध्याय, साझा प्रकाशन ।
साहित्यवोध, फागुन २०७३, प्रकाशमणि दाहाल, साङ्ग्रिला पुस्तक प्र्रा.लि. ।
साहित्य र कला, २०६३, अनुवादक रमजेन्द्र मास्के, सुर्यप्रकाश पौैड्याल, विवेकसिर्जनशील प्रकाशन प्रा.लि. ।
साहित्य शास्त्र र नेपाली समालोचना, २०७४, प्रा. भोजराज ढुङ्गेल, डा. दुर्गाप्रसाद दाहाल, एम के पव्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स ।
साहित्य र साहित्यकार, २०५४, शिवकुमार प्रधान, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
साहित्य र आमवृत्त, २०७०, डा.अभि सुवेदी, मदर पब्लिकेशन्स ।
साहित्य वार्ता, २०७५, हरिहर खनाल, साझा प्रकाशन ।
साहित्य संवाद, फागुन २०७५, हरिहर खनाल, नेपाल एकीकृत विकास सङ्घ ।
साहित्य सिद्धान्त सोध तथा सृजना विधि, २०६६, डा. बासुदेव त्रिपाठी, पाठ्य सामग्री पसल ।
साहित्यिक चर्चा, २०४९, यदुनाथ खनाल, साझा प्रकाशन ।
साहित्यिक अनुशीलन, २०५७, भानुभक्त पोखरेल, साझा प्रकाशन ।
सिर्जनात्मक लेखन : सिद्धान्त र विश्लेषण, २०६८, राजेन्द्र सुवेदी, पाठ्य सामग्री पसल ।
सिर्जना, शोधविधि र संस्कृतकाव्यशास्त्र सहायक, २०६४, किशन थापा, प्रशान्ति प्रकाशन ।
सिद्धान्त र साहित्य, २०५९, भानुभक्त पोखरेल, साझा प्रकाशन ।
सैद्धान्तिक भाषा विज्ञान, २०७६, कृष्णविलास पौड्याल, ट्रिनिटी पव्लिकेशन प्रा.लि. ।
अनुसन्धान, पौष २०५६, दधिराज सुवेदी, प्रतिभा पुरस्कार प्रतिष्ठान ।
अनुसन्धान तथा प्रतिवेदन लेखन, २०७५, चूडामणि बन्धु, रत्न पुस्तक भण्डार ।
आख्यानका कुरा, सन् २०११, प्रा. डा. घनश्याम नेपाल, एकता बुक्क हाउस प्रा.लि.।
आजका नेपाली कथा युवा स्रष्टाका उत्कृष्ट कथा, २०६८ जेठ, सम्पादक अनमोलमणि, बी.एन. पुस्तक संसार प्रा.लि.
आधुनिक नेपाली कथा उपन्यास र नाटक, २०७६, कृष्णविलास पौड्याल, कालिञ्चोक पुस्तक प्रकाशन प्रा.लि.
आधुनिक नेपाली कथा भाग ३, २०६८, प्रा. डा.देवीप्रसाद गौतम, सहप्र्राध्यापक कृष्णप्रसाद घिमिरे, साझा प्रकाशन ।
आधुनिक नेपाली खण्डकाव्य र महाकाव्य, २०६१, कृष्णप्रसाद आचार्य, नारायणप्रसाद गौतम, दिक्षान्त पुस्तक भण्डार
आधुनिक नेपाली निवन्धमाला, २०७६, डा. ऋषिराम शर्मा, एकता बुक्स डिष्ट्रिब्युटर्स प्रा.लि.।
आधुनिक नेपाली आख्यान, २०६३, ईश्वरीप्रसाद गैरे, क्षितिज प्रकाशन ।
आधुनिक नेपाली आख्यान र नाटक, २०६८, भोला खड्का, के. पी. पुस्तक भण्डार ।
आधुनिक नेपाली आख्यानको उत्तरवर्ती चरण, २०७२/०७३, कृष्णविलास पौड्याल, कालिञ्चोक पुस्तक प्रकाशन प्रा.लि. ।
आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, २०६६, मोहनराज शर्मा, क्वेस्ट पब्लिकेसन ।
विषय सूची
कथाको कथा
(कथा सम्बन्धी सोधमूलक ग्रन्थ)
परिच्छेद १
(१) सङ्कल्प/पाठकसँगको करारनामा/कार्यपत्र
(१) (क) अनुसन्धानको दायरा
(१) (ख) सत्यका कुरा
परिच्छेद २
२.कथाका सन्दर्भमा भाषा, साहित्य र कथाको विस्तृत अध्ययन
२.१ साहित्य सिर्जना र साहित्यशास्त्र बीचको सम्बन्ध
२.२ शब्द
२.३ भाषाका बारे केही कुरा
२.४ साहित्यका कुरा
२.४.१ पत्रकारिता
२.४.२ साहित्यका लागि सिकाइ
२.४.३ साहित्य राम्रो बनाउने समालोचना
२.५ प्रगतिशील साहित्यमा रुसी साहित्यको योगदान
२.६ राणाको समयको कथाको हालत
२.७आधुनिक नेपाली कथा शारदा पुर्व
२.८ आधुनिक नेपाली कथा शारदा उत्तर
२.९ नवचेतनावादी साहित्यिक आन्दोलनमा कथा
२.९(क) आयामेली आन्दोलन
२.९(ख) राल्फा
२.९(ग) अस्विकृत जमात
२.९(घ)अमलेख आन्दोलन
२.९(ङ) बुटपालिस आन्दोलन
२.९(च) सबाल्टर्न
२.९(छ) डायस्पोरिक
२.९(ज) नारीवादी जागरण
२.९(झ) २०४६ पछि
२.९(ञ) २०६३ उत्तर
२.९(ट) अन्त्यमा
२.१० कथाको परिभाषा
२.१०.१ कथाका नेपाली विद्वानहरुको परिभाषाहरु
२.१०.२ विदेशी कथाकारहरुको कथाको परिभाषा
२.११ कथा र अन्य विधा तुलना
२.११ (क) कथा र उपन्यास
२.११ (ख) कथा र आत्मकथा
२.११ (ग) कथा र निवन्ध
२.११ (घ) कथा र लघुकथा
२.११ (ङ) कथा र समालोचना
२.१२ कथाका उपकरणहरु
२.१२.१ कथातत्त्व
२.१२.१ (क) कथानक – कथावस्तु
२.१२.१ (ख) द्वन्द्व
२.१२.१ (ग) शैली
२.१२.१ (घ)कथा लेख्ने सामान्य तरिका
२.१२.१ (घ) (१) रैखिक
२.१२.१ (घ)(२) वृत्तकारी
२.१२.१ (ङ) कथोपकथन
२.१२.१(च) पात्र–चरित्रहरु
२.१२.१(छ) चरित्र चित्रण
२.१२.१(ज) देशकालपरिस्थिति
२.१२.१(झ) दृष्टिविन्दु
२.१२.१ (ञ)कथाको बुनोट
२.१२.१ (ञ) (१)अनुच्छेद लेखन
२.१२.१ (ञ) (२) शीर्षक चयन
२.१२.१ (ञ) (३) भाषा
२.१२.१ (ञ) (४)नव रस / शव्दका तीन भेद
२.१२.१ (ञ) (४) (क) नवरस
२.१२.१ (ञ) (४) (ख) शब्दका तीन भेद
२.१२.१ (ट) कथा स्रष्टाको जीवनदृष्टि
२.१२.१ (ठ) जीवनदर्शन
२.१३ कथाका प्रकार
२.१३ (क) अभिव्यक्त आधारमा
२.१३ (ख) दृष्टि विन्दुका आधारमा
२.१३ (ग) संगठनात्मक आधारमा
२.१३ (घ) विषयगत आधारमा
२.१३ (ङ) सामाजिक कथा
२.१३ (च) परम्परागत कथाका प्रकार
२.१३ (छ) उपकरणगत आधारमा
२.१३ (ज) प्रभावगत आधारमा
२.१३ (झ) शैलीगत आधारमा
२.१३ (ञ) धारागत आधारमा
२.१३ (ट) आकारगत आधारमा
२.१३ (ठ) लिङ्गका आधारमा
२.१३ (ड) प्रयोगगत आधारमा
२.१३ (ढ) प्रयोगवादी कथाका प्रकार
२.१३ (ण) स्रोतगत आधारमा
२.१३ (त) रसगत आधारमा
२.१३ (थ) शब्द संयोजनका आधारमा
२.१३ (द) कथानकका आधारमा
२.१३ (ध) अर्थका आधारमा
२.१४ विविध प्रकारका कथाका परिभाषाहरु
२.१४ (क) धार्मिक, पौराणिक, वैदिक कथा
२.१४ (ख) लोक कथा
२.१४ (ग) ऐतिहासिक कथा
२.१४ (घ) प्रगतीवादी
२.१४ (ङ) राजनीतिक कथा
२.१४ (च) आधुनिक कथा
२.१४ (छ) दार्शनिक कथा
२.१४ (ज) मनोवैज्ञानिक कथा
२.१४ (झ) सामाजिक कथा
२.१४ (ञ) स्वैर कल्पना कथा
२.१४ (ट) प्रयोगवादी कथा
२.१४ (ठ) उत्तरआधुनिक चेतका कथा
२.१४ (ड) बालमनोविज्ञान कथा
२.१४ (ढ) व्यङ्ग्य कथा
२.१४ (ण) दलितका कथा
२.१४ (त) यथार्थवादी कथा
२.१४ (थ) स्वच्छन्दतावादी कथा
२.१४ (द) अस्तित्त्ववादी कथा
२.१४ (ध) विसङ्गतिवादी कथा
२.१४ (न) प्रकृतवादी
२.१४ (प) विज्ञान कथा
२.१४ (फ) घटना प्रधान कथा
२.१४ (ब) चरित्र प्रधान कथा
२.१४ (भ) रहस्य प्रधान कथा
२.१४ (म) समस्या प्रधान कथा
२.१४ (य) विचार प्रधान कथा
२.१४ (र) पत्रात्मक कथा।
२.१४ (ल) दैनिकी कथा
२.१४ (व)प्रतीक विम्वादी कथा
२.१४ (श) आदर्शवादी कथा
२.१४ (ष) परिवेश प्रधान कथा
२.१५ समाज सर्वेक्षण
२.१६ वैचारिक तत्त्व/सार/उद्देश्य
२.१७ अन्य कथाका बारे ध्यान जानुपर्ने
२.१८ कथा र राजनीतिको सम्बन्ध
२.१९ कथाकारको मृत्यु
परिच्छेद ३
३. मजबुनमा साहित्य कै कुरा
२०७७ बैशाख ११ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतन्त्र दिवसको शुभकामनासहित
सोधकर्ता :— बिजु सुवेदी विजय
कलेश्वर आवास क्षेत्र, भकतजनमार्ग घर नं ८३
काठमाण्डौँ नेपाल ।
bijusubedi@gmail.com
तयार पार्न लागेको समय २०७६ चैत ११ गतेदेखि २०७७ बैशख १० गतेसम्ममा लकडाउनको समयभित्र एकान्तवासको पुरै समयबाट ।
नोट :— लकडाउनले जस्तो पनि मानिसलाई उदासीन बनाउने समयमा योभन्दा पहिले मैले वर्षौ एकान्तवास बसिसकेको हुनाले यो सोधकार्य सहजताका साथ सम्पन्न भएकोमा अत्यन्त खुसीपन आएको छ । एकदम आनन्दका साथ लेखनमा लाग्न पाएँ । कथाप्रेमीहरु तथा कथाका विश्वविद्यालयमा अध्ययन अध्यापन गर्नुहुने सबैलाई ई पढाइ गर्न पनि अनि कथा अध्ययनको गन्तब्यमा पुग्न यसले कोशेढुङ्गाको कार्य गर्नेछ भन्नेमा आशा एवम् विश्वास लिएको छु । सबै पाठकवृन्दहरुलाई धेरैधेरै धन्यवाद !!!
कथालाई धेरैधेरै मायागरौँ ।It’s The Begining 🙂
