बन्दाबन्दीमा छन् विद्यार्थीहरू
दस वर्षको पढाइ खेरजाने डरमा
अलिकति डराइरहेछन्
अलिबढी हतास भैरहेछन्
मापन गर्न सकिँदैन अहिले तिनीहरूको मनोविज्ञान
तर यही बेलामा शिक्षाका मठाधीशहरू
खेलिरहेछन् बेतुकका खेलहरू
पानी धमिल्याएर शिक्षाको
एकथरी भन्दैछन् –
बेला यही हो एस्.इ.ई.को गर्धन छिनाल्ने
अर्काथरी भन्दैछन् –
‘विद्यार्थीकै कक्षाको परफर्मेन्समा ग्रेडिङ् गरूँ र दिऊँ ग्रेडसिट’
तेस्रोथरी रोटी सेकिरहेछन् –
‘दस र एघार खारेज गर्ने एकैचोटी र १२मा एसएलसी गर्ने’
घीउ बेचुवा र तरबार बेचुवा भएका छन्
सरकार र निजी क्षेत्र
निजी स्कुलका साहूजी डराइरहेछन्
एस्इई खारेजपछि बेपार सकिन्छ कि
तिनीहरू रातिराति मन्त्रीजीलाई दबाव दिन्छन्
र दिउँसो दुधको साक्षी बिरालो बनेर विज्ञप्ति जारी गर्छन्
सरकारी स्कुल यो पनि भन्दैनन्
त्यो पनि भन्दैनन्
चिर निद्रामा सुतेका छन् हेडसरहरू
सरकार अल्मलिएको छ
निजी क्षेत्र पानी धमिलिएकै मेसोमा
माछा मार्ने दाउमा छन्,
म एस्इई र एस्एल्सीमा
अर्थ खोजेर अल्मलिएको छु
म निकै दिनदेखि रन्थनिएको छु ।
पेशल आचार्य
