Skip to content
YagyaRajKhanal


नरोऊ छोरा, नरोऊ
एक छाक
गाँसकै खोजीमा छु म
दुई ज्यान ओत लगाउन मिल्ने
बासकै खोजीमा छु म
नाङ्गो तिम्रो शरीर ढाक्ने
कपासकै खोजीमा छु म

नरोऊ छोरा, नरोऊ
हामी गरीबको बेथा सुनिदिने
कुनै गाउँ शहर छैन
अमृत तुल्य तिम्रो आँसु खसाउने
मलाई कुनै रहर छैन
सोच्दैछु, बाँच्नुभन्दा मर्नु बेस
तर किन्न सक्ने कुनै जहर छैन

नरोऊ छोरा, नरोऊ
“भिखारी” हाम्रो लागि कहिल्यै
नमेटिने छाप भएछ
कुनै जुनीमा म जस्तै तिमीबाट
पनि पाप भएछ
सोच्छौ होला है,
यो गरीबको वंशमा
जन्मिनु सराप भएछ

नरोऊ छोरा, नरोऊ

✍️ यज्ञ
प्रदेश नं ७, धनगढी कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *