Skip to content

गाउँ फर्कन्छु म


खुसी हुँदा पनि
एक्लै रुँदा पनि
खल्खली पसिना आउँदा
अनि गाउँदा
न्याउलीले विरहको भाका
म मनभरि
झल्झली गाउँ सम्झन्छु ।।१।।

गाउँ गाउँ नै हो
भनेर
अभाव र दुःख मात्र देख्नेहरू
गाउँको सुन्दरता, पवित्रताप्रति आँखा छेक्ने
र भ्रम लेख्नेहरू
भनिदेऊ
गाउँ इमान्दारिता, निःस्वार्थ
शान्त, सफा, निश्छल
ठाउँ पनि हो
अनि खुसीले नाच्ने
निर्धक्क बाँच्ने
एउटै नाउँ हो भनेर ।।२।।

सहरको सभ्यता र भव्यतामा
रम्दै आडम्बर पस्कनेहरू
विलासितामा मस्कनेहरू
अनि
अभावमा ठस्कनेहरू
किन बुझ्दैनन् गाउँले बिना सहर अपूरो
छ भन्ने कुरा ।
गाउँले सहर छिरेर
भाडा तिरेर नबसे
के अर्थ आलिसान महल
बजारको चहलपहल
हुँइकिने मोटर गाडीको ?३।।

गाउँमा घरको दुरी टाढा हुन्छ
तर नजिक हुन्छ मनको दुरी
जहाँ कच्चि नै किन नहुन् घर
तर बलियो हुन्छ सम्बन्ध
गाउँको विपरित सहरको
रहर गर्नेहरू
कहरको जीवन जिइरहेको
अनि पिइरहेको भैसी आहाल बस्ने पानी
टाढाबाट देखिँदैन
चाहेर पनि छेकिँदैन
लेखिँदैन यिनको गाथा
सम्झिराख
गाउँ त भाग्यमानीले मात्र भोग्न पाउँछ ।।४।।

मजदुरहरुकै बाँधमा
टेकेर अग्लिएका महल, चिल्ला सडकले
तिनैलाई चिन्दैनन्
दिँदैनन् आश्रय अभावमा, दुःखमा
सहयोग, निकटता त
एकादेशको कथा हुन्छ
निरस सहर भित्रभित्रै धुँवा धुलोले
निसास्सिएको तिमी देख्दैनौ
पदचापहरू बीच नै भीडमा एक्लो
भइदिन्छ यहाँ मान्छे ।।५।।

गाउँकै माटासित छ सामिप्यता
तातेताते हिडेको
आँगनमा पाती उम्रिए पनि
जाती सम्झेर साथीहरू बीच रम्न
फर्कनै पर्छ अब
बाँझो जमिनले मेरै
पौरख खोजेको छ
पसिनाले भिजाएर
सिर्जनु छ
सोद्धै छन् रे पाखाहरू
खोज्दै छन् रे वृद्ध बाआमाका काखहरू
कुर्दै छन् रे बाटाहरू
जोगाउनु छ मरिसकेका भाकाहरू
गाउँ नबुझ्दा पाएको यो दुःख बिसाई
केही थान खुसी बोकेर
भो
गाउँ फर्कन्छु म ।।६।।

२०७६–०१–२३, नुवाकोट,
तारकेश्वर गाउँपालिका–१,दाङसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *