कवितालाई भनाइ र वर्णनबाट सजाउने अनेक साधन हुन्छन् तिनमध्ये अलङ्कार पनि एक हो । अलङ्कार अनेक छन् केही अलङ्कारहरुको यहाँ प्रयोग गरिएको छ । कसै कसैले पढ्दा होला ।
फूल शीर्षकमा केही अलङ्कारहरूको प्रयोगः
विषयः फूल
१ अन्त्यानुप्रासः
हज्जारौं फूल देखिन्छन् बगैँचा डुलियो भने
सिङ्गो संसार देखिन्छ फूलैमा भुलियो भने ।।
२ वृत्यनुप्रास
पुष्प पाषाण के हुन्थ्यो त्यो हुन्छ प्राण झैं प्रिय
पुष्पको प्रेयता प्राप्त नगर्ने हुन्छ निष्कृय ।।
३ लाटानुप्रासः
फूलले दैवको पूजा गर्ने बेला भयो यता
फूल ले झट्ट ए कान्छा घरभित्रै रह्यो उता ।।
४ उपमाः
फुलेको फूल झैं हुन्छ हाम्रो मानवजीवन
गाम्भीर्य यसको बोध नगर्ने हुन्छ निर्धन ।।
५ विरोधाभासः
फूलका गन्धले धेरै जलेर भस्म बन्दछन्
ज्ञानीले फूलमा राहु आएर बस्छ भन्दछन् ।।
६ प्रतिवस्तुपमाः
धर्मीले पुष्प छाडेर पातले किन पुज्दथे
स्वर्ण पारखीले जस्तो अरुले किन बुझ्दथे ।।
७ रुपकः
ढुङ्गोमा प्राप्त के हुन्थ्यो देवदर्शनको सुख
बगैंचामा पुगौं हेरौं पुष्पईश्वरको मुख ।।
८ सम्भावनाः
हावा पानी र माटोको तालमेल भयो भने
बगैँचा भित्रका फूल फुल्लान् गोडिदियो भने ।।
९ तुल्ययोगिताः
भिन्नै छन् वागमा फुल्ने चमेली मालती जुही
सुवास रङ्ग माधुर्य तर हुन्छ सबै उही ।।
१० विषम अलङ्कार
दुर्गन्ध अति बर्साए राता सेता गुलाफले
सुवास आउला भन्थें कोक्यायो अझ बाफले ।।
११ अतिशयोक्तिः
मुना स्वर्ग कहाँ जान्थिन् फूलैमा अझ हाँस्तछिन्
हजारौं फूलमा आफ्नो सिङ्गो जिन्दगी गाँस्तछिन् ।।
१२ स्मरणः
विदेशी भूमिमा गोरे गर्मीको घाममा थियो
वैलेको फूल देखेर उसले प्यारी सम्झियो ।।
१३ स्वभावोक्तिः
उम्रँदै हुर्कँदै बढ्दै फुलेर झर्नु कर्म हो
जहाँ फूल त्यहाँ काँडा हुनु प्राकृत धर्म हो ।।
१४ परिणामः
मालीले फूलको माला राजालाई चढाउँदा
हर्षका आँसु वर्षायो पारितोषिक पाउँदा ।।
१५ सन्देहः
मुनाले बागका फूलतर्फ दृष्टि जसै गरिन्
फूल हो वा कि हो काँडा भनेर भ्रममा परिन् ।।
क्रमशः

अलङ्कारहरुको प्रयोगार्थ
अलङ्कारहरुको प्रयोगार्थ सुझावका लागि धन्यवाद