चिकित्सकको सल्लाहअनुसार दिदी सरस्वतीको आंँखाको अपरेसनको लागि भारतको पूर्व मद्रास चेन्नाईस्थित शङ्कर नेत्रालय हस्पिटल पुग्नुपर्ने भयो । तुरुन्तै दिदीलाई लिएर भान्जा राजु, मेरी श्रीमती शारदा र म चेन्नाईको लागि प्लेनबाट बङ्गलोर उड्यौँ । ‘आंँखाको अपरेसन नेपालमा नै हुन्छ किन यति टाढासम्म दुःख पाउन आउनुभयो’ भनी यात्रामा सोध्ने अनगिन्ती भेटिए । यी प्रश्न हामीसामु तेर्सिनु स्वभाविकै पनि थियो । हामी पनि रहरले यति टाढा गएका चाहिँ अवश्य थिएनाँै । मधुमेह र मुटुको समेतको बिरामीका लागि आँखाको अपरेसन गर्न प्रशस्त मेसिनको आवश्यकता हुने तर नेपालमा त्यसको अभावका कारण आँखाको अपरेसन गर्दा खतरा आउन सक्ने हुनाले जिम्मेवारी लिन नसकिने डाक्टरको भनाइबाट हामी त्रसित भई यति टाढा पुगेका थियौँ । नत्र हामी किन झन्झट बिसाउँथ्यौंँ र!
चेन्नाईसम्मको सोझो हवाई मार्ग काठमाडौंँबाट नहँुंदा बङ्गलोरसम्म प्लेनमा र त्यहांँबाट रेलमा दस-बाह्र घण्टामा चेन्नाई पुग्ने धोको राखी काठमाडौँबाट उड्यौंँ । करिब चार घण्टाको उडानपछि बङ्गलोर एयरपोर्ट झर्यौँ । एयरपोर्टबाट बाहिर के निस्किएका थियाँै जेठ महिनाको घामको रापले हाम्रो शरीर घुम्लुङ्ग छोप्यो । हामी निस्सासियौँ मज्जैले । चिसो हिमालबाट टुप्लुक्क आई आगोको रापमा भ\mवाम्मै होमिएको भान भयो । राप र ताप पनि किन नहोस् ४५/४६ डिग्री तापक्रम नाप्ने यन्त्रमा नाचिरहेको थियो । बाहिर ट्याक्सीहरू तछाडमछाड गरी लाम लागेका थिए । १५० भारुमा रेलवे स्टेसनसम्म पुग्न सकियो । एयरपोर्टभित्र सरकारी रेटमा २५०।- जति भारुमा रसिद काट्नुपर्नेमा बाहिर मोलतोल गर्न सकेमा सस्तोमा पाइँदोरहेछ । हामी गर्मीको राप ओढ्दै करिब आधा घण्टामा रेलवे स्टेसन पुग्यौँ । स्टेसनमा यात्रीको घुइँचो, होहल्ला, प्रचण्ड गर्मीले बिरामी दिदीलाई निकै असर पार्यो ।
अनुभवीहरूको सरसल्लाहले बङ्गलोरबाट चेन्नाई रेलमा जान कुनै कठीन होलाजस्तो लागेको थिएन तर आफैँले अनुभव गर्दा निकै असजिलो हुँदोरहेछ भन्ने महसुस यस यात्राले गरायो । रेलबाट जाँदा टिकट भारु एक सय लाग्ने र चेन्नाई छ-सात घण्टामा पुगिने रहेछ तर रेलवे स्टेसनको भीड र त्यहाँको टिकट लिने पद्धति थाहा नपाएकोले हामीले ब्ल्याकमा पनि टिकट लिन सकेनौँ । बस चेन्नाई जाने कुरा थाहा पायौँ र हत्तारहत्तार हामी राति १२ बजे एसी भएको बसमा प्रत्येक टिकटको भारु पाँच सय तिरी चेन्नाईतर्फ गुड्यौँ । एसीबिनाको बसहरू त सस्तोमा नै पाइने रहेछन् । बिहान ७ बजे चेन्नाई सहर पुग्दा सहरको हरियाली र रमणीय दृश्यले यात्राको झन्झट र थकान पनि हामीले चटक्कै बिर्सियौँ ।
जति सक्यो छिटो आँखा हस्पिटल पुग्नु थियो हामीलाई । हामी शङ्कर नेत्रालय पुग्यौँ तर चेन्नाईमा शङ्कर नेत्रालय त चार-पाँच ठाउँमा रहेछ । संयोगवश हामी ठीक ठाउँमा पुगेछौँ । ढुक्क बन्यो मन । बिहान ८ बजेदेखि टिकट काटी जाँच्दा रहेछन् । त्यहाँ जाँचेपछि त्यस ठाउँबाट हस्पिटलकै मोटरमा २५ मिनेटमा अर्को ठाउँमा पुग्याँै । डाक्टरले ‘तपाईं ठीक समयमा आउनुभयो । एक हप्ता मात्र ढिलो गर्नुभएको भए आँंखा काम लाग्दैन थियो । तुरुन्त अपरेसन गर्नुपर्छ । तपाईंहरू तयार हुनुहुन्छ ? भनी सोद्धा हामी झसङ्ग भयौँ । तुरुन्तै एकै स्वरमा ‘हामी तयार छौँ’ भनी जवाफ दियौँ । त्यसोभए टाइम लिनुहोस् भनी पे्रस्त्रिmप्सन लेखिदिनुभयो । हामी अपरेशनको लागि समय लिन अर्को कोठामा गयौँ । तीन दिनपछि अपरेसन हुने थियो ।
त्यहाँबाट फर्किएर गाँसबासको खोजिमा टेम्पो चढी प्रस्थान भयौँ । भान्जा राजुको साथीले बस्ने ठाउँको ठेगाना दिएअनुसारको लजमा टेम्पुले पुर्याइदियो । लजमा पि|mज, ग्याँस चुलो, पकाउने भाँडाकुँडा, ग्यास, सोफा, दराज, मेच, टेबुल सबै व्यवस्था रहेछ । हामीलाई पकाएर खान कुनै झन्झट भएन । घरमा जस्तै अनुभव भयो ।
खाना खाएर हामी गफ गर्दै, आराम गर्दै थियौँ । आँखाको अपरेसनजस्तो संवेदनशील कुरा के हो, कसो हो एक चोटि नेपालबाट तालिम लिन आएका डाक्टरलाई भेटी सोध्ने निधो गर्यौँ र भेट्न गयौँ । ‘आँखाको अपरेसन पर्सि छ कस्तो होला ?’ भनी दिदीले के सोध्नुभएको
थियो । ‘आँखाको अपरेसन मेजर अपरेसन हो । यो अपरेसन निकै गाह्रो हुन्छ । ओपनहार्ट सर्जरीजस्तै हो, जे पनि हुनसक्छ’ भनी डाक्टर फलाक्न थाले । उसको कुरा सुनेर हामी तर्सियौँ । अक्क न बक्क भयाँै । सातो गएको मानिसझैँ हामी लजमा फर्कियौँ । अब अपरेसन गर्ने कि नगर्ने दोधारमा परिरहेका थियाँै । बढो धैर्यका साथ दिदीले भन्नुभयो- “एकचोटि डाक्टर भाइहरू अवनी र श्रृषिलाई टेलिफोन गरेर सोधौँ, उनीहरूले जे भन्छन् त्यहीँ गर्छु ।” दिदीको स्वास्थ्यसम्बन्धी हेरविचार गर्ने उनीहरू नै हुँदा उनीहरूको रायसल्लाह आवश्यक भयो । हामीले तुरुन्त नेपालमा उनीहरूलाई फोेन गर्यौँ ।
‘केही हुँदैन, आत्तिनु पर्दैन । अपरेसन गराएर ल्याउनु । चिन्ता नगर्न भन्नु दिदीलाई । त्यस हस्पिटलमा राम्रा-राम्रा डाक्टर छन्, राम्रो अपरेसन हुन्छ । त्यस कारणले धेरै देशका बिरामीहरू त्यहाँ अपरेसन गर्न आउँछन् । देखेनौ विभिन्न देशका मानिसहरू जचाउन आएका ।’ डाक्टरले आश्वस्त पारे । हुन पनि हो विभिन्न देशबाट जचाउन आएकाको भीड देखिन्थ्यो । हामीले उनीहरूले भनेको कुरा दिदीलाई बतायौँ । दिदी ती भाइहरूका कुरामा विश्वास गर्नुहुन्थ्यो ।
अपरेसनको लागि भर्ना हुन बोलाएअनुसार भोलिपल्ट दिदीलाई अस्पताल भर्ना गर्यौँ । अपरेसन शुल्क पैँतीस हजार रुपियाँ र बेड शुल्क दिनको एक हजार पाँच सय रुपियाँ रहेछ । मिनी र जनरल बेड चाहिँ सस्तो रहेछन् ।
निर्धारित समयमा नर्सले अपरेसन कोठामा दिदीलाई लिएर गएको कुरा शारदाबाट थाहा पायौँ । । हामी अपरेसन कोठाको प्रतीक्षाकक्षमा अनेक सकारात्मक नकारात्मक कुरा मनमा खेलाई सोफामा बसिरहेका थियौँ । एक जना कालो अति मोटो सुरक्षागार्ड हाम्रोसामु आएर पास माग्यो । पास एउटा देखायाँै । उसले टु पर्सन प्लिज गो भन्यो । ‘हाम्रो मानिसको अपरेसन छ’ भन्दासमेत केही सिप लागेन । शारदालाई कुरुवा राखी हामी प्रतीक्षा कोठाबाट बाहिर निस्कियौँ । करिब पाँच घण्टापछि दिदीलाई अपरेसन कोठाबाट बाहिर ल्याए । दिदीलाई राखिएको ठाउँमा जानका लागि हामी लिफ्ट चढ्न लाग्दा लिफ्टम्यानले रोके । हाम्रो बिरामी माथि लगेको छभन्दा पास माग्यो । बिरामी कुरुवा एक जना मात्र त्यो पनि पास चाहिँदो रहेछ । जान नदिँदा रिस त उठ्यो तर विवश भयौँ ।
बिरामीको वरिपरि धेरै कुरुवा बस्दा बिरामीलाई गाह्रो हुने, इन्फेक्सन हुने, अनेक रोग सर्ने आदिका कारणले नै कुरुवा धेरै नराखेका रहेछन् । यो ठीकै पनि हो । त्यहाँका डाक्टर, नर्सहरूले बिरामीलाई राम्रो हेरचाह गर्दा रहेछन् र पो बिरामी कुर्नेलाई अति कडा गरेका रहेछन् । नेपालमा पनि यो व्यवस्था हुनसके कति राम्रो हुँदो हो । यहाँ त सबैलाई पैसा धुत्नैको धून । बिहान ६ देखि ८ र साँझ ४ देखि ८ सम्म बिरामी भेट्ने समय दिइएकाले आ-आफ्नो बिरामीसँंग भेट्न सजिलै हुँदोरहेछ ।
अपरेसन भएको एक दिनपछि डिस्चार्ज गर्योे अस्पतालले । पाँच दिनमा चेकअप गराइ, आठ हप्तामा फेरि चेकअप गर्न आउने समय बोकेर हामी बिदा भयौँ ।
काठमाडौंँ आउन गोरखपुरसम्मको रेलको टिकट लिई तीन दिनपछि राप्तीसागर एक्सप्रेस रेलमा चढी गुड्यौँ । रेलको टिकट जनरल, स्लिपर, एसी र फस्टक्लासमध्ये बिरामीका लागि सबभन्दा उपयुक्त एसी हुँदो रहेछ । यसमा ओड्ने, ओछ्याउने, मुख पुछ्ने तौलियाको व्यवस्थासमेत हुँदोरहेछ । दुईदिन लामो सफर गर्दै विभिन्न ठूल्ठूला सहर विजयवडा, वारगंल, नागपुर, इतास, भोपाल, कानपुर, लखनउ, आदि हुँदै गोरखपुर स्टेसन उत्रियौँ ।
