Skip to content

त्रिशुलीको तिरैतिर…


प्रकृतिको अनुपम उपहारको रुपमा,
दूर कतै हिमखण्डबाट झरेकी,
कलकल गर्दै कञ्चन रुपमा बगेकी,
सयौं कथा र व्यथा बोकेर,
अविरल चिर्दै पर्वतको छाती,
अघि बढिरहेकी पवित्र ती त्रिशुली,

कैयौं यात्राको सुखान्त गर्दै,
कैयौं घरमा आसुँकै भेल बगाउँदै,
हर परिस्थितिमा अटुट रहेर,
सागरसँग मिलनको अभिलाषाले,
अथकित यात्रामा सदियौंदेखि,
निरन्तर बगिरहेकी पवित्र ती त्रिशुली,

तिनै पवित्र गंगासँगको एउटा सुन्दर यात्रा,
ढुङ्गेदेखि नै खुशीका गीतहरू गाउँदै,
चिसो हावामा चरासरी उड्दै जाँदा,
छाइरहेछ उनको मिठो सुवास,
त्यो मिठो सौरभ मुठ्ठीमा समाउन खोज्दै,
दौडिरहेछु म उनकै समानान्तर,

खुशीयालीमा मुस्कुराउँदै, अनि रमाउँदै,
तादी त्रिशुलीको पवित्र संगमस्थल,
देवीघाटमा जालपा माईको दर्शन गर्दै,
अनि, शाहवंशीय विरताको गाथालाई,
हार्दिक श्रद्धासुमन अर्पण गर्दै,
म एकतमासले यात्रा गरिरहन्छु,

रातमाटेको उर्वर फाँटहरू छिचोल्दै गर्दा,
सुन्दर प्रकृतिलाई अँगालो मार्दै,
नागबेली पथमा, उनको सामिप्यताले,
एकान्त जङ्गलमा पनि म निष्फिक्री छु,
बेंशीमा देखिने ती विषालु सर्पहरुसँग पनि,
डरविहीन भएर निरन्तर अघि बढिरहेछु म,

कोलपुटारको सेरोफेरोमा त्रिशुली सुसाएको,
अनि, कर्णप्रिय संगीत सरह चराहरुको चिरबिर,
प्रकृतिलाई धीत मरुञ्जेल भोग्न नपाउँदै,
अचानकको ध्वनि, धुंवा र धुलोले,
गल्छी आइपुगेको नमिठो संकेत दिएछ,
फेरि उही स्वच्छ प्रकृतिबाट टाढा भइसकेछु म !

(धेरै वर्ष पहिले त्रिशुलीको ढुङ्गे बजारदेखि गल्छीसम्मको प्रकृतिको स्वच्छतम रुपसँग पौंठेजोरी खेल्दै गरिएको यात्राको सन्दर्भमा कोरिएको रचना )

Leave a Reply

Your email address will not be published. Required fields are marked *