Skip to content
BharatKumarSaud


किर्नाहरुको कुनै विचार हुँदैन
किर्नाहरुको कुनै सिद्धान्त हुँदैन
बूढो गोरुको टाङमुनि टासिएर
घिन लाग्दो झुण्ड बनाउनुबाहेक
किर्नाहरुको कुनै आदर्श हुँदैन

किर्नाहरू आफैँ उफ्रन सक्दैनन्
उनीहरू आर्फैँ बाटो पहिल्याउन सक्दैनन्
आफ्नै आँखा हुँदैनन् किर्नाहरुका

गोरु उफ्रेसँगै उफ्रेको भ्रम पाल्छन्
गोरु हिडेसँगै हिडेको भ्रम पाल्छन्
त्यसैले किर्नाहरुको कुनै गन्तव्य हुँदैन
जुन किलामा बाँधिएर, जुन चौघेरामा गोरु उभिन्छ
त्यही हो किर्नाहरुको सिङ्गो धर्ती
बुकुर्सी मारेर जहाँजहाँ पुग्छ गोरु
त्यहीँत्यहीँ पुग्नु किर्नाको नियति हो

चरेको छ गोरुले
जुन दलदलमा उम्रेको हरियो घाँस
आँखा चिम्लेर त्यसैप्रति कृतज्ञ रहनु
किर्नाहरुको निष्ठा हो
त्यसबाहेक किर्नाहरुलाई
कुनै विवेकको जरुरत पर्दैन

किर्नाको स्वतन्त्र गति हुँदैन
किर्नाको आफ्नै इतिहास हुँदैन
किर्नाको आफ्नै समाज हुँदैन

जुन गुटमा चरिरहन्छ गोरु
जुन बथानमा दङ्गालिरहन्छ साँढे
त्यही गुटलाई आफ्नो ठान्दै
चुपचाप चपक्क टाँसिएर टाङमा
किर्नाको अल्पजूनी सकिन्छ

कविताका नायक कतै तपाई र म त होइनौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *