Skip to content

मिति गुज्रिएको औषधि
जुन खाए पनि
छिटो छिटो
मात्र पल्किन्छ काल
रोग हुन्न निको।
हरिया देखिने पातहरु
उहिलै झरिसके
हरियाली त कृतिम हो,
त्यसैमा पनि
कति लठ्ठै परिसके।

म त भन्छु,
भ्रममा नपर्नुस
आफैं केही गर्नुस
नदीमा फसेका हामीलाई
उद्दार गर्न
दुबै किनारामा
तरबार लिएर
कसाही बसेका छ्न।
मौसमी राष्ट्रवादको छाता भित्र
कुशासन र भ्रष्ट आचारले
बदनाम साँडेहरु
मैमत्त भएर
बुर्कुसी मारिरहेका छ्न।
जुका र लाम्खुट्टेले जस्तै
हामीलाई चुसिरहेका छ्न।
अर्को किनारामा,
दलालहरुको झुण्ड
सर्बाङ्ग नाँङ्गै
सबै गौरव गाथाहरुलाई
टुकुचामा बगाएर
जीवनको भिक माग्दै
सत्ता भोगको
कुण्ठित आकांक्षा बोकेर
छट्पटाई रहेको छ,
हाम्रो सिकार गर्न
नपाएको झोक देखाउदै।

हामीलाई मर्नु छैन,
कुनै कसाहिको तरबारले काटिएर
नत नदिको
घनघोर बाहावमा बग्दै
जीवनको अन्त्य गर्नु छ।
आफ्नै वल र बुद्धिले
सिक्दै र तैरिदै
सुरक्षीत किनारा लाग्नु छ।
अनि
खन्नु छ थरी थरीका
कसाहीका चिहानहरु,
स्वाधिनता र सदाचारका
बिउहरु रोपेर
तयार पार्नु छ,
सुन्दर र सुगन्धित फुलका बगैचा।

बस
यहि हो मेरो
फरक मत।
कसैले नमाने पनि
म मेरो मतमा अटल छु।
म आफ्नै मतको
मलामी गएर
थरी थरिका कसाहीहरुबाट
किस्ता किस्तामा रेटिएर
मर्न तयार छैन।
सुनसान समसानमा
जल्न तयार छैन।
बरु म ससम्मान
सहिद हुन तयार छु।
म तयार छु,
आफ्नै वलिदान दिन।
यहि अर्थ हो
मेरो फरक मतको।
कसैले नमाने पनि
जसले जे सुकै भने पनि
म आफ्नै मत लागू गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *