पहाडमा जन्मे हुर्केको म प्रवेशिका उत्तीर्ण गरिसकेपछि मात्र उच्च शिक्षाको लागि शहर टेकेको हुँ। गाउँले जीवन घाँसदाउरा, मेलापात सबै गरेर पढ्नु पर्थ्यो। पढेका मानिसले धेरै कमाउँछन् भन्थे त्यसैले पढ्नु पर्छ भन्ने थियो। पढेलेखेको पृष्ठभूमि नभएर होला के पढ्ने, कसरी पढ्ने त्यति ज्ञान थिएन तर पैसा कमाउनलाई चाहिँ पढ्नै पर्छ भन्ने थियो ।
सानो छँदा दुईचार पैसाको पनि साह्रै महत्त्व । चार रुपैयाँमा एक पिलेट मटर र एउटा सेल रोटी पाइन्थ्यो ।
कुनै दिन गोजीमा चार रुपैयाँ हुन्थ्यो कि जिब्रोले स्वाद फेर्थ्यो। आहा ! ती दिन तर कसरी चार रुपैयाँ ।
घरमा मेवा र अम्बा प्रसस्तै पाक्थे तर गाउँघरमा फलफूल बाँडेर खान्थे बेच्ने चलन थिएन ।
एकदिनको कुरा हो। दस वर्षको उमेरको थिएँ । कक्षा चारमा पढ्थेँ। आमा बुबा घाँसदाउराको लागि बेसी झर्नुभएको थियो । भाइ बहिनी मामा घर गएका थिए । घरमा म एक्लै थिएँ ।
त्यसै बेला लगभग पन्ध्र सोह्र वर्षका जस्ता दुई सुन्दरी घरमाथिको बाटोबाट यतै आइरहेको देखेँ। उनीहरूले मलाई देखेपछि टक्क रोकिए। उनीहरूले भाइ भनेर बोलाए। घरमा को को हुनुहुन्छ भनेर सोधे। मैले अरुहरू कोही नभएको म मात्र छु भनेँ। तपाईंहरू को हुनुहुन्छ ? कहाँ जान लाग्नुभएको भनेर सोधेँ। उनीहरू कलेज पढ्ने रहेछन्। पिपल्धाराको कटौजे भन्ने स्थानमा आफ्नो घर भएको र त्यतै जान लागेको कुरा बताए ।
आँगनमा अग्लो बोटको टुप्पोमा मेवा पाकेका थिए । उनीहरूले भने,” भाइ हामीलाई मेवा दिन्छौ?” म मौन भएँ। फेरि उनीहरूले भने,”पाकेको एउटा मेवा टिपेर देऊ, पाँच रुपैयाँ दिन्छौं ।” पाँच रुपैयाँ ! मेरो जिब्रो रसायो। हत्तपत्त भनेँ, हुन्छ हुन्छ ।उनीहरूले भन्दै थिए,” बोट अग्लो छ, टिप्न सक्छौ त।” म जोस्सिएर सक्छु सक्छु भनेँ। उनीहरू आँगनमा ओर्लिए। म बोटमा चढ्ने प्रयासमा अर्जुन दृष्टि बनाएँ।
अग्लो बोटको बीचमा एउटा सानो हाँगो थियो। त्यसमा पनि बिस पच्चीस जति दाना थिए होलान् । बल्लबल्ल त्यही हाँगासम्म पुगेर पैताला के अडाएको थिएँ एक्कासि हाँगासहित बारीमा उत्तानो अवस्थामा आफूलाई पाएँ। काँचा दाना भुइँभरि असरल्ल थिए । आम्मा! अब बाबा आमा आएपछि गाली पिटाइ खानु पर्छ। कम्ता डर थिएन मनमा । बजारिएको दुखाइ थियो थिएन भन्न सक्दिनँ ।
यो चटके दृश्य बडो ध्यानपूर्वक उनीहरूले नियालिरहेका थिए । डराएछन् कि क्याहो, भैगो भाइ हामीलाई मेवा चाहिदैन भन्दै थिए । मेरो त कन्सिरी तात्यो। कड्किएछु मलाई पाँच रुपैयाँ चाहियो। जसरी भएपनि टिपेर दिन्छु । म त्यति छिटो त्यो सुलिलो बोटको टुप्पोमा पगेछु कि दुईवटा पाकेका मेवा टिपेर उनीहरूलाई पुग्न दिएछु। वा! सङ्ग्राम जितेजस्तै भयो।
एउटा मेवा धोएर पोलिथिनमा राखेर उनको हातमा के दिँदै थिएँ त्यही समय हजुरबुवाको टुप्लुक्क आगमन भयो। घर कहाँ हो? कस्का छोरी हौ? के गर्छौ? कताबाट आयौ? सबै सोधनी भयो। म चुप लागेर सुनिरहेको थिएँ। खै के के बताए। हजुरबुबाले हार्दिक्ताकासाथ भन्नुभयो,” नानीहरू त हाम्रै आफन्तिरहेछौ, आउँदा जाँदा बोल्ने, पस्ने गर है।”
मेरो प्रतिक्षा पाँच रुपैयाँमा थियो। मेरो हातमा पाँच रुपैयाँ राखिदिएर उनीहरू बाटो लाग्न खोज्दै थिए । हजुरबुबाले मेरो आँखामा एकटकले हेरिरहनु भएको थियो। भन्नुभयो, “त्यो पैसा नछोप, फिर्ता गर।” उनीहरूले पनि होइन बुबा यो पैसा भाइकै हो, पैसा दिन्छौं भनेर नै टिप्न लगाएका हौँ भन्दै थिए । तर बुढाले मानेनन्। मेरो हातबाट पैसा थुतेर उनीहरूको हातमा थमाइदिएर सौहार्द्र रुपमा बिदाइ भयो। मेरो पाँच रुपैयाँको कमाइ तुहियो । घुटुक्क थुक निलेँ।
एम.ए. पास गरिसकेर अहिले म मास्टरी पेसा गर्छु। सानो परिवार, शहरको बसाइ, जनतन गुजारा चलाएको छु। सानैदेखि लाग्थ्यो, कमाउनलाई पढ्नु पर्छ। जे हुन्छ, जसरी हुन्छ पैसा चाहिँ कमाउँनै पर्छ। हजुरबुबालाई झर्लक्क सम्झन्छु । मनमनै सोध्छु, तपाईंको सन्तानले कसरी टनक्क कमाइ गर्ला??
– गुल्मी

बास्तबिक कथा हामि गाउँलेहरूको
बास्तबिक कथा हामि गाउँलेहरूको लागि सारै मार्मिक छ ।