RajeshAdhikari


मेरो जन्मजात कामकाजी चिनारी
मानव मलमुत्र र सिनोसँग खेल्ने
म मरञ्च्याँसे मुर्धन्य मेहतर
तुफानी उफानहरुको भेल तर्दै


परिचयको पुन्तुरो फुकाउँछु
अछुत विशेषणले आभुषित
दलित उपमाले अलंकारिक
तुच्छ जातले उपाधित
म नर्करुपी चर्पी सोहोर्ने चमार
दुर्गान्धित सिनो फाल्ने डुम
पानी नचल्ने अवहेलित मानव
यही प्राण धान्ने पेशाले
म जीवन बाँचिरहेको छु
यसैको अक्षुण्ण आडले
अरु जीवनहरुलाई बचाइरहेको छु
फोहोरसँगै पौंठाजोरी खेल्दै
दुर्गन्धसँगै मितेरी गाँस्दै
जीवन धानिरहेको छु
छिछि र दुर्दुरभित्र रुमालिए पनि
परअवहेलनाका आँशुहरू पिए पनि
तुच्छताका संज्ञाहरुले घोचिए पनि
म मेरो स्वकर्ममा आनन्दित छु
म मेरो स्वाभिमानमा स्वगर्वित छु
जाली,फटाहा र चोरहरुको साम्राज्यभित्र
परचक्रीलाई चोरेर,ठगेर,लुटेर होइन
म मेरो पसिनाको अमृत फल खान्छु
म मेरो स्वजीवी सोचलाई आत्मबल ठान्छु
म कर्मलाई ईश्वर मान्छु
कर्मथलोलाई मन्दिर सम्झिन्छु
परिश्रमको फललाई नैबेद्य ठान्छु
स्वाभिमानलाई बरदान सम्झिन्छु
इलमी सघन संघर्ष मैदानमा
पण्डितले शास्त्रलाई मन्त्र माने झैँ
डाक्टरले सुईलाई अस्त्र माने झैँ
वकीलले बहसलाई शस्त्र माने झैँ
म विष्टा र सिनोभित्र रोजगारी देख्छु
दुर्गन्धभित्र रोटीको सुगन्ध भेट्छु
एउटै आदिमानवका सन्तति हामी
समरङ्गी रक्तका मानवजीव हामी
मानव समाजका वर्गीकरणको परिधिले
फलाम पगाल्ने कामी कहलिए
वस्त्र सिउने दर्जी दरिए
पुरेत्याइँ गर्नेले पण्डितको उपमा पड्काए
पाखन्डपनले कर्मप्रकृतिका असीम आस्थाहरुलाई
उचो–निचो बनायो,छुत–अछुत छुट्ट्यायो
भाँड्यो,बङ्यायो,कुल्चियो अनि उचाल्यो
आँखा नभएको अन्धो संसार
कर्मशीलताको सुन्दरता देख्न बिफल भइदिन्छ
खुट्टा भाँचिएको लंगडो मान्यता
स्वस्फूर्त पाइला चाल्न निष्फल बनिदिन्छ
मानव सागररुपी कृतघ्न समाज
सेवा–समर्पणलाई निफन्न धर्मराइदिन्छ
रीतिले उत्ताउलिएको उन्माद समाज
मेवादायी सेवा–शुश्रुषाका हातहरुलाई
प्रतिष्ठा–अप्रतिष्ठाको तराजुले तौलिदिन्छ
जीवनका नागबेली आरोह अवरोहहरुलाई
आडम्बरी विचारका आँधीले भत्काइदिन्छ
पुज्छु सदा श्रमलाई बनी अटल निर्भय
म सर्वोच्च स्वभिमानको यही मेरो परिचय

इति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *