Skip to content


राम्रो कुरा मात्र सिकेरआऊ
खराबका सङ्गतमा नजाऊ
माझेर आत्मा अझ शुद्धपार
पाइन्न यो जीवन बारबार ।।१।।

शोचेर मात्रै नित कामगर्नू
खरावको सङ्गत नै नगर्नू
गल्ती कतै हुन्छ भने समाऊ
मीठो नमीठो सब खाद्य खाऊ ।।२।।

माया सबैमा अति गर्नुपर्छ
घृणा गरेमा अझ मान घट्छ
आगो र पानी बुझ मित्र हुन्नन्
दयागरौँ दुष्ट कतै रहन्नन् ।।३।।

गरे गराए सब कार्य सिद्ध
रोपे बढाए फल खान मिल्छ
शौभाग्य आफैँ कहिल्यै हुदैन
रोपेर मात्रै फल त्यो दिदैन ।।४।।

बुझौँ बुझाऊँ मनले विचारी
आत्मा पखालौँ दिल शुद्धपारी
त्यागौँ सबैक्रोध र मिल्छ शान्ति
देखिन्छ सारा तनभित्र कान्ति ।।५।।

दिमागको बाँध लु कस्नुपर्छ
यो भेलझैँ नत्र कता बहन्छ
मैदान खाली हुनबाट रोकौँ
नदी र छाँगा तनमा नबोकौँ ।।६।।

सौहार्द मैत्री दिलभित्र बोकौँ
अशान्ति मौलाउनबाट रोकौँ
आनन्द मान्दै भवमा रमाऊ
संसार कस्तो छ बुझेरआऊ ।।७।।

सन्तुष्टि नै हो निधिको मुहान
निशा भगाए रविले बिहान
कृतघ्न प्राणी गुणले भिजाऊ
कृतज्ञताले दुनियाँ रिझाऊ ।।८।।

ढुङ्गो बनी सत्य समाउने छौ
अन्याय मासेर सढाउने छौँ
भलो चिताए कुभलो हुँदैन
तुफान आए पनि यो छुदैन ।।९।।

खुसी लुकाए र कतै न हाँसौँ
बाडौँ सबैका मनभित्र गाँसौँ
उत्साहले जीवन यो हँसाऊँ
यी दिव्यअर्ती दिलमा सजाऊँ ।।१०।।

(छन्दः उपजाति)

हातिबने माइलो
कञ्चनरुप न पा ७ आर्दशटोल
सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *