प्रविधिको जमाना रे अचेल
डिजिटल युग रे अचेल
स्क्रिन टच मोबाईल हातमा
महङ्गामहङ्गा ल्यापटप साथमा नभए
पाखे हुने जमाना रे अचेल ।
मोबाइल छुन जानेन भने
ल्यापटप खेलाउन र
टि.भि.को रिमोट हल्लाउन जानेन भने
अनि आइप्याडको कुरो निकालेन भने
पाखे हुने जमाना रे अचेल ।
पढाइगुनाइ त्यस्तै हो …
लेखाइ र शुद्धीकरण त झनै पर …
तर; औठाछापै भए पनि
स्मार्ट फोन, ट्याब र आइप्याड भए
त्यसै पनि भद्र हुने जमाना रे अचेल ।
होइन भने पाखे हुने जमाना रे अचेल ।
संस्कार संस्कृति
बादलपारिको घाम भए अचेल
वास्तविकता बालुवाको पानी भए
अनि
देखावटी, बनावटी र सजावटी
हिराको खानी भए अचेल
किनकि उसले भन्यो
प्रविधिको जमाना रे अचेल
देखावटी, बनावटी र सजावटीमा लागेन भने
पाखे हुने जमाना रे अचेल ।
२०७७/०४/२४ (कङ्काइ, झापा)
