उस्तै गाउँमा,
उस्तै ठाउँमा,
जन्मिएका हामी ।
उस्तै स्कुलमा,
अक्षर चिनेका ।
वर्णमाला किताव उस्तै,
सरस्वतीको तस्विर भएको ।
त्यो पनि थाङ्ग्नु,
उसको काकाले,
मेरो दाजुले,
सांवा अक्षर चिनेर,
चिल्थो बनाएको ।
तर,
उसको र मेरो,
भाषा फरक छ ।
म आग्रह गर्छु,
ऊ आदेश दिञ्छ ।
म आशा खोज्छु,
ऊ निराशा दिञ्छ ।
तर उसको आदेश,
म सजिलै बुझ्दिन।
र बुझ्न पनि चाहन्न ।
उसको विज्ञानको भाषा ।
मेरो जीवनको भाषा ।
सायद लिपिहरू छुट्टै ।
मेरो रोगको विषयमा,
उसलाई म केही भन्दिन ।
किनकि,
ऊ जीवनको भाषा बुझ्दैन ।
म विज्ञानको भाषा बुझ्दिन ।
तर ऊ चतुर छ,
मेरो रोगको गहिराई नाप्छ ।
झाङ्क्रीले मान्छे भित्रको,
बोक्सीलाई देखे जस्तै ।
मलाई मृत्युसँग डर लाग्छ,
ऊ भने म बाच्दा डराउँछ ।
उसले भञ्छ,
म सञ्जोगले बाचे भने,
पुनः पटक पटक मर्नेछु,
औषधीको अभावले ।
पैसाको अनिकालले ।
माञ्छेको तिरस्कारले ।
लाग्दछ,
उसको र मेरो,
आँखा पनि फरक छ ।
उसले अनगिन्ती,
मृत्यु देख्यो ।
सायद म भित्रको
मृत्यु पनि देख्दै छ ।
तर मैले मृत्यु देख्दिन ।
अंह पटक्कै देख्दिन ।
म देख्छु,
मात्र डाक्टर ।
उसको सेतो कोट ।
निला राता साना ठुला,
क्याप्सुल र चक्कीहरू ।
उसको स्टेथेस्कोप ।
अर्थात मेरो सारा,
भरोषाको केन्द्रबिन्दु ।
उसको र मेरो,
समय पनि मिल्दैन,
ऊ भेट्ना साथ छुट्टिने भञ्छ,
म छुट्टिए पछि पनि,
भेटौं भञ्छु ।
ऊ समय छैन भञ्छ,
मसँग समय मात्र छ ।
मसँग मैं मात्र छु,
ऊसँग म जस्ता धेरै छन् ।
यथार्थमा,
डाक्टर र म विच,
निकै भिन्नता छ ।
गुरु र चेला जस्तै ।
भू-लोक र देव लोक जस्तै ।
नेता र मतदाता जस्तै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *