बझाङी भाषाको संक्षिप्त चिनारी


कुनै पनि राष्ट्रलाई चिनाउन भाषाको महत्वपूर्ण भूमिका हुन्छ । भाषाले नै राष्ट्र, राष्ट्रियता एवं राष्ट्रको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनैतिक एवं आर्थिक अवस्था तथा मूल्य र मान्यताहरूलाई चिनाउने काम गर्दछ । तसर्थ नेपाली भाषाले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेको छ । नेपालको धार्मिक, सांस्कृतिक, साहित्यिक, ऐतिहासिक, सामाजिक, आर्थिक, राजनैतिक एवं जातीय अवस्थालाई विश्वसामु चिनाउने काम नेपाली भाषाले गरेको छ । भाषाबिना मानिसको जीवन र राष्ट्र अघि बढ्न सक्दैन । त्यसै प्रकारले नेपाल र नेपालीहरूका लागि नेपाली भाषा महत्वपूर्ण अङ्ग बनेको कुरा सर्वविदितै छ । नेपालको इतिहाससँगै भाषिक इतिहास पनि जोडिएको छ । तसर्थ यहाँ नेपाली भाषा सँगसँगै बझाङी भाषाको संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

नेपाली भाषा वि. स. १०३८मा दामुपालको अभिलेखबाट अस्तित्वमा आएको देखा पर्दछ । नेपालको पश्चिमी क्षेत्र कर्णाली प्रदेशमा तिब्बतको खारी प्रदेशबाट नागराज झरेर राज्य स्थापना गरी शासन सञ्चालन गर्न थाले । यिनले सिंजालाई आफ्नो राज्यको केन्द्रविन्दु बनाए । राजा नागराजको पुस्ताले यस प्रदेशमा निकै लामो समयसम्म राज्य सञ्चालन गरेका थिए । समयको अन्तरालमा यिनै खस राजाहरूले ‘मल्ल’ उपनामबाट राज्य सञ्चालन गर्न थाले । यिनीहरूले प्रयोग गर्ने भाषालाई पनि खस भाषा भनिन थालियो । खस जातिका राजाका रुपमा स्थापित नागराजका उत्तराधिकारीहरूले पनि आफूले प्रयोग गर्ने भाषालाई खस भाषा भन्न थालेका थिए । कालान्तरमा उनीहरूले प्रयोग गरेको खस भाषालाई राजभाषा अथवा राजकीय भाषा भनिन थालियो । नेपाली भाषाको प्रयोगका सन्दर्भमा वि. स. १०३८ को दामुपालको अभिलेखपश्चात् वि. स. १११४ तिरको संग्राम मल्लको अभिलेखमा पनि नेपाली भाषाको प्रयोग भएको पाइन्छ । तत्पश्चात् अशोक चल्लको हुम्ला जिल्लाको केलिङ्ग गुम्बामा वि. स. १३१२मा प्राप्त ताम्रपत्रले नेपाली भाषाको नमुना प्रस्तुत गरेको छ । यिनकै वि. स. १३१७–२७ तिरको दुल्लुको बुद्धमूर्तिमा उल्लिखित भाषाको नमुना फेला परेको थियो । यसरी जुम्लाको सिंजामा उत्पत्ति भएको नेपाली भाषा क्रमश: भाषिक वक्ताहरूको बसाइसराइ एवं राज्य विस्तारका क्रममा पूर्वतर्फ नेपालको सीमाभित्र तथा सीमाबाहिर भारतका विभिन्न भूभागसम्म र पश्चिमतर्फ महाकाली नदीसम्म तथा नदीपारि पनि नेपाली भाषाको विकास एवं विस्तार भएको कुरा इतिहास साक्षी छ ।

राजा पृथ्वीनारायाण शाहको नेपाल एकीकरणपश्चात् जब विशाल नेपाल निर्माण भयो तब नेपाली भाषाभित्र विविध कारणले विभिन्न भाषिक भेदहरूको पनि जन्म हुँदै गयो र नेपाल एउटा बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक एवं बहुधार्मिक स्वतन्त्र राष्ट्रका रुपमा चिनिन थाल्यो । विशाल नेपालका विभिन्न भूगोलमा बस्ने विभिन्न जातजातिहरूले मातृभाषाका रुपमा बोल्ने भाषामा विविधता देखा पर्यो । जब मुलुक बहुभाषिक हुन थाल्दछ तब केही प्रशासनिक एवं व्यवहारिक कठिनाईहरू आउने गर्दछन् । ती कठिनाईहरूलाई न्यूनीकरण गर्न विभिन्न भाषाहरूमध्येबाट कुनै एउटा भाषालाई वैज्ञानिक ढंगले मानक निर्धारण गर्नु पर्ने अवस्था आउँदछ । राज्यका प्रशासनिक निकाय सञ्चालन गर्न सरकारी कामकाजको भाषा, सम्पर्क भाषा, राष्ट्रभाषाका रुपमा प्रयोग व्यवहार गर्न सोही मानक भाषाले सहयोग पुर्याउने गर्दछ । राज्यले कुन भाषालाई राष्ट्रभाषा वा मानक भाषा, कुन भाषालाई राष्ट्रिय वा भाषिकाको मान्यता दिने भन्ने कुरा भाषावैज्ञानिक विधि र प्रकृयाबाट स्पष्ट नीति तथा योजना बनाउने गर्दछ । सोही बमोजिम भाषाले पनि संवैधानिक मान्यता प्राप्त गर्दछ ।

कुनै पनि देशमा राजनैतिक राज्यव्यवस्था परिवर्तन सँगसँगै हरेक क्षेत्रमा परिवर्तन आउनु स्वभाविक हो । नेपालमा पनि २००७ सालको राजनैतिक परिवर्तनले राज्यव्यवस्थामा परिवर्तन ल्यायो । २०१७ सालमा पञ्चायती व्यवस्थाले छुट्टै परिवर्तन ल्यायो । २०४६ सालको जनआन्दोलनबाट पनि राज्यव्यवस्था लगायत राज्यका विभिन्न निकाय एवं संयन्त्रमा परिवर्तन आयो । २०६२/६३ को दोस्रो जनआन्दोलनले राज्यव्यवस्थामा व्यापक परिवर्तन ल्याई लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । यी यावत् परिवर्तनले भाषालाई हेर्ने दृष्टिकोण लगायत भाषासम्बन्धी नित तथा योजनामा पनि परिवर्तन ल्याएको छ । नेपालमा भएको राजनैतिक परिवर्तनले अनेक पटक संविधान निर्माण भएका छन् । राज्यको शासन व्यवस्थालाई निश्चित विधि र प्रकृयाबाट सञ्चालन गर्ने उद्देश्यले वि. स. २००४ सालमा पहिलो पटक संविधान निर्माण भएको इतिहास छ । वि. स. २००४ देखि हालसम्म निर्माण भएका संविधानहरूले भाषालाई पनि व्यवस्थित गर्न संवैधानिक नीति अवलम्बन गरेको पाइन्छ । नेपाल सरकारको वैधानिक कानून २००४ले सरकारी कामकाज एवं प्रयोग व्यवहारका लागि नेपाली भाषालाई मात्र प्रयोगमा ल्याउने एकभाषा नीति अवलम्बन गरेको थियो । नेपालको अधिराज्यको संविधान २०१५ ले देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हुनेछ भन्ने कुरा उल्लेख गरी नेपाली भाषालाई राष्ट्रभाषाको मान्यता दिएको पाइन्छ । नेपालको अधिराज्यको संविधान २०१९ले पनि सोही कुरालाई दोहोर्याएको देखिन्छ । नेपालको संविधान २०४७ को धारा ६ उपधारा १मा देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो, नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ । धारा ६, उपधारा २मा नेपालमा विभिन्न भागमा मातृभाषाका रुपमा बोलिने भाषाहरू नेपालका राष्ट्रियभाषा हुन् भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । २०४७ पूर्वका संविधानले नेपाली भाषालाई मात्र प्राथमिता दिएर एकभाषिक नीति अवलम्बन गरेको भए तापनि २०४७ को संविधानले नेपाली भाषालाई माथिल्लो दर्जामा राख्दै मातृभाषालाई पनि मान्यता दिने नीति अवलम्बन गरेको थियो । यस आधारबाट नेपाली भाषालाई राष्ट्रभाषाको स्तरमा र नेपाली बाहेक अन्य मातृभाषालाई राष्ट्रिय भाषाको स्तरमा राखिएको पाइन्छ ।

यिनै संवैधानिक व्यवस्था एवं नीति तथा संवैधानिक भावना एवं मर्मका आधारमा नेपाली भाषाका विभिन्न विद्वान्हरूले नेपालमा बोलिने नेपाली भाषाको अध्ययन, विश्लेषण एवं वर्गीकरण गर्ने गरेको पाइन्छ । अधिकांश भाषाविद्हरूले नेपाली भाषालाई नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा, माध्यम भाषा, स्तरीय भाषा एवं मानक भाषाका रुपमा स्वीकार गरी अन्य विभिन्न क्षेत्रमा बोलिने मातृभाषाहरूलाई नेपाली भाषाका भाषिका/क्षेत्रीय भेद, उपभाषिका र स्थानीय भेद भनी उल्लेख गरेको पाइन्छ । यसै बमोजिम विभिन्न भाषिक अध्ययन एवं अनुसन्धान कर्ताहरूले शोधपत्र लेख्ने र अध्ययन अनुसन्धान गरेका छन् । नेपाली भाषा, भाषिका एवं उपभाषिका सम्बन्धी अध्ययन गर्ने केही भाषाविद्हरूको अध्ययनलाई निम्नानुसार उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ:
भाषाविद् बालकृष्ण पोख्रेलले आफ्नो कृति राष्ट्रभाषा(२०२२)मा नेपाली भाषा र यसका ५ वटा भाषिका/भाषिक भेद र उपभाषिकाको निर्धारण गरेका छन्:

१. पूर्वेली भाषिका (खसानी, पर्वती, गोर्खाली उपभषिका)
२. माझाली भाषिका (असिदराली, तिब्रीकोटी, हुम्ली, रासकोटी उपभाषिका)
३. ओरपश्चिमा भाषिका (बझाङी, अछामी, बाजुरेली उपभाषिका)
४. मझपश्चिमा भाषिका(डोटेली, डडेल्धुराली, डुम्राकोटी उपभाषिका)
५. परपश्चिमा भाषिका(सोराडी, बैतडेली, दुहुँ, मार्मा, लेकम, च्वाँगडी उपभाषिका) ।

शोधार्थी यज्ञश्वर निरौला (२०५०)ले नेपाली भाषाको अध्ययन गर्ने क्रममा नेपाली भाषाका १२ वटा भाषिकाहरूको उल्लेख निम्नानुसार गरेका छन्:

१. दार्चुलेली, २. बैतडेली, ३. डडेल्धुराली, ४. बझाङी, ५. डोट्याली, ६. बाजुरेली, ७. अछामी, ८. जुम्ली–सिंजाली, ९. दैलेख–कालीकोटे, १०. भेरी क्षेत्रीय, ११. गण्डकेली, १२. पूर्वेली ।

त्यसै गरी अर्का अनुसन्धान कर्ता लावण्यप्रसाद ढुंगाना (२०५३)ले नेपाली भाषाको अध्ययन गर्दै निम्नानुसार १३ वटा भाषिकाहरूको निर्धारण गरेका छन्:

१. दार्चुलेली क, २. दार्चुलेली ख, ३. बैतडेली, ४. बाजुरेली, ५. अछामी, ६. बझाङी, ७. हुम्ली, ८. डोटी–डडेल्धुराली, ९. मुगु–डोल्पाली, १०. जुम्ली–सिंजाली, ११. भेरी क्षेत्रीय १२ गण्डकेली, १३ पूर्वेली ।
ग्रियर्सनले नेपाली भाषाका भाषिका भनेर पाल्पा र दरै, राहुल सांस्कृत्यायनले पूर्वी, केन्द्रीय, मादी र पश्चिमी, टी. डब्लु क्लार्कले पूर्वी, केन्द्रीय र पश्चिमी, चूडामणि बन्धुले पूर्वी, केन्द्रीय र पश्चिमी नाम दिएर नेपाली भाषाका भाषिका/भाषिक भेदका रुपमा वर्गीकरण गरेका छन् ।

यस्तै प्रकारले अन्य विभिन्न भाषा विद्वान्हरूले नेपाली भाषाका भाषिका/भाषिक भेद सम्बन्धी धारणाहरू प्रस्तुत गरेका छन् । भाषिकाहरूको संख्याका विषयमा भने मत भिन्नता भए तापनि नेपालमा मातृभाषाका रुपमा बोलिने विभिन्न भाषिक रुपहरू नेपाली भाषाका भाषिका वा भाषिक भेद हुन् भन्ने कुरामा सबै विद्वान्हरू सहमत देखिन्छन् । यस कुरालाई स्वीकार गरिनुको कारण संवैधानिक व्यवस्था र भाषावैज्ञानिक व्यवस्था नै हो । २०४७ को संविधानमा व्यवस्थाले जुन भाषालाई जुन स्तरमा राखेको थियो सोही बमोजिम भाषिक अध्ययन कर्ताले भाषाको अध्ययन, विश्लेषण एवं वर्गीकरण गरेका छन् । तसर्थ सुदूरपश्चिम प्रदेशमा बोलिने सबै भाषाहरूलाई नेपाली भाषाको भाषिका वा भाषिक भेदका रुपमा स्वीकार गरिदै आएको थियो । त्यसैअनुसार प्राथमिक तहदेखि उच्च शिक्षाको तहसम्म सुदूरपश्चिममा बोलिने बझाङी, अछामी, बाजुरेली, बैतडेली, दार्चुलेली, डडेल्धुराली र डोटेली भाषालाई नेपाली भाषाका भाषिका वा भाषिक भेद हुन् भनी पठनपाठन हुँदै आएको सर्वविदितै छ । उदाहरणका लागि बझाङी भाषाको भाषिका डोटेली वा बैतडेली होइन र डोटेली/डोट्याली भाषाको भाषिका बझाङी वा अछामी होइन । यी सबै नेपाली भाषाका भाषिका हुन् भन्ने कुरा अध्ययनबाट प्रष्ट हुन्छ । अहिले आफूलाई भाषाको विद्वान् भन्न चाहने केही व्यक्तिहरूले डोट्यालीलाई भाषा मानेर त्यसका भाषिकाका रुपमा बझाङी, अछामी, बाजुरेली, डडेल्धुराली, दार्चुलेली, बैतडेली आदि समेट्ने कोसिस गरेको देखिन्छ । त्यस्ता भाषिक अध्ययन कर्ताले यो कुरालाई बुझ्न जरुरी छ कि डोट्याली भनिएको भाषा र बझाङी, अछामी लगायत अन्य भाषाको स्तर समान छ, जुन नेपाली भाषाका भाषिका वा भाषिक भेदको स्तरमा निर्धारण गरेको स्पष्ट छ ।

नेपालमा पछिल्लो पटकको राजनैतिक परिवर्तनपश्चात् निर्माण गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ जारी भइसकेपछि नेपालको राज्यव्यवस्थामा व्यापक परिवर्तन हुन पुग्यो । राज्यको पुनर्संरचना भएको सन्दर्भमा भाषा नीति तथा योजनामा समेत परिवर्तन आयो । लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ को भाग १, दफा ६मा नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रभाषा हुन् । दफा ७ (१)मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरिएको छ ।

लोकतान्त्रिक संविधानको भावना एवं मर्मलाई बुझ्दा नेपालमा बोलिने सबै मातृभाषाहरूलाई समान स्तरमा राखेको छ, तसर्थ सबै भाषाहरूको समान हैसियत छ भन्ने कुरा प्रष्ट हुन्छ । सबै मातृभाषी वक्ताहरूलाई आ–आफ्नो भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन एवं विकास गर्ने अधिकार पनि संविधानले प्रदान गरेको छ । कुनै भाषाका भाषिक वक्ता बहुसंख्यक र कुनै भाषाका भाषिक वक्ता अल्पसंख्यक हुन सक्छन् तापनि भाषिक दृष्टिकोणले ती भाषाहरू समान महत्वका छन् भन्ने आशय संविधानले प्रस्तुत गरेको छ । अहिलेको संवैधानिक व्यवस्था अनुसार नेपाली, डोटेली, बैतडेली, दार्चुलेली, बझाङी, अछामी, बाजुरेली, डडेल्धुराली सबै नेपालमा बोलिने भाषा हुन् । नेपाली मातृभाषालाई भाषा भनिए झैं अछामी, बझाङी, डोटेली आदिलाई पनि भाषा भनिन्छ ।

यति कुरा स्पष्ट हुँदाहुँदै पनि केही भाषिक अध्ययन कर्ताहरूले डोटेली/डोट्यालीलाई भाषाको स्तरमा राख्ने र बझाङी, अछामी, बाजुरेली, डडेल्धुराली, दार्चुलेली, बैतडेली आदि भाषालाई डोट्याली भाषाको भाषिकाको स्तरमा राख्ने दुस्साहस गर्न खोजेका छन् तर यो अन्य भाषिक वक्ताहरूका निम्ति स्वीकार्य हुन सक्दैन । २०७२ को संवैधानिक व्यवस्थालाई आत्मसात गर्ने हो भने यी सबै छुट्टाछुट्टै भाषा हुन् र यी भाषाहरूको वैज्ञानिक अध्ययन गर्दा एकापसमा उच्चरणगत, रुप/संरचनागत एवं अर्थगत भिन्नता रहेको पाइन्छ । तसर्थ संविधान र भाषावैज्ञानिक मान्यता विपरित कार्य गरी अन्य भाषाको अवमूल्यन गर्न कसैलाई छुट छैन भन्ने कुरा विद्वान् कहलिने व्यक्तिले बेलैमा बुझ्न जरुरी छ ।

यहाँ बझाङी भाषाका सम्बन्धमा चर्चा गर्ने प्रयत्न गरिएको छ । बझाङ जिल्लामा बसोबास गर्ने र बझाङ जिल्लाबाट अन्य जिल्लामा बसाइसराइ गरी बसोबास गर्दै आएका बझाङी मातृभाषा भएका, बझाङी भाषा बोल्ने र बुझ्ने व्यक्तिलाई बझाङी भाषी भनिन्छ । लामो कालखण्डदेखि भाषिक, सांस्कृतिक, राजनैतिक एवं सामाजिक इतिहास बोकेको बझाङ राज्य र थलारा राज्य नेपाल एकीकरणपश्चात् बझाङ जिल्लाका रुपमा चिनिन थालेको पाइन्छ । २०६८ को जनगणनानुसार नेपालको कूल जनसंख्यामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५,५२,५१७ अर्थात् ९. ६३% प्रतिशत रहेको छ । हाल यस जिल्लामा बझाङी भाषा बोल्ने जनसंख्या १९५१५९ रहेको छ । तर २०६८ को जनगणनाले बझाङी भाषिक वक्ताको जनसंख्या ६७५८१ (०. २५५%) देखाएको छ, जुन वास्तविक अर्थात् सत्यमा आधारित तथ्याङ्क नभई मिथ्याङ्क हो भन्ने स्पष्ट हुन्छ । राष्ट्रिय जनगणनाले गलत नतिजा दिएर पनि त्यसैलाई सत्य मान्न बाध्य बनाइएको छ । यसबाट स्पष्ट हुन्छ कि राष्ट्रिय जनगणनामा पनि राजनैतिक चलखेल र पूर्वाग्रह हुँदो रहेछ । अब आउँदै गरेको २०७८ को जनगणनामा सबै मातृभाषी वक्ताहरू चनाखो भई जनगणना फारममा आ–आफ्नो मातृभाषा उल्लेख गर्न जरुरी छ । बझाङ जिल्लामा पर्ने चिर–बुङल, थलारा, छान्ना, चैनपुर, धुली (काँडा) आदि क्षेत्रमा बझाङी भाषा बोलिन्छ तर यसमा पनि केही भाषिक भिन्नता रहेको पाइन्छ । यहाँ बोलिने बझाङी भाषा डोट्याली/डोटेली भाषासँग ठ्याक्कै मिल्छ भन्न सकिँदैन । बझाङी भाषाका आफ्ना हजारौं मौलिक शब्दहरू छन् । उदाहरणका लागि केही शब्दहरू निम्नानुसार छन्:

चिर–बुङल क्षेत्रमा बोलिने बझाङी भाषा: हिड्टा(हिंड्दछन्), मुकीलाखी(मेरो लागि), लस(ल्याऊ), अस(आऊ) आदि ।

थलारा क्षेत्रमा बोलिने बझाङी भाषा: तमे(तपाईं), झानु(जानु), छाइँ(मही), अल्की(झुटो), मुलामुली(छोराछोरी), छकाल(बिहान) आदि ।

छान्ना क्षेत्रमा बोलिने बझाङी भाषा: हर्प/हप्र(माथि), पति हाल्यो(गाली गर्यो), प्वाणी/प्वाडी(झुटो), बानु(जोत्नु), बार्खो(बाख्रो), कुर्क(कुकुर), छोर्याट्टी(केटी), हुर्न(गर्नु), पोरुखि(पर्सि), भुटो(झन्झट), खुइरुण्या(जुरेली), माल्वा(परेवा), छइँट्याल्लो(सारौं), कउणी(लोटा), पउला(जुत्ता), बाउस्या(बाउसो खन्ने मान्छे) आदि ।

धुली (काँडा) क्षेत्रमा बोलिने बझाङी भाषा: च्यो(दाजु), स्यो(दही), पिजा(छोरा), खुइसे(ससुरा), बे जोङ(म खान्छु), छिलु (दाल) आदि ।

यस्ता हजारौं मौलिक शब्दहरू बझाङी भाषामा बोलिन्छन् जुन उच्चारणगत, रुप/संरचनागत एवं अर्थगत रुपमा डोटेली भाषाभन्दा भिन्न छन् । तसर्थ बझाङी भाषा हो, डोट्याली/डोटेलीको भाषिका होइन । बझाङी भाषाको मानक डोट्याली हुन सक्ने अवस्था छैन बरु यसको मानक नेपाली भाषा भने हुन सक्दछ । यस भाषाको छुट्टै अस्तित्व र पहिचान छ । बझाङी भाषाले यहाँको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, चाडपर्व, भेषभूषा, लोक जीवन एवं जीवनशैलीलाई जीवित तुल्याएको छ । यस भाषाका विषयमा थुप्रै अध्ययन अनुसन्धान एवं साहित्य सिर्जना भएका छन् । यस भाषाको सामान्य शब्दकोश निर्माण भइसकेको छ र स्तरीय शब्दकोश निर्माण हुने क्रममा छ । तर पनि यस भाषाको संरक्षण, संवद्र्धन, विकास एवं विस्तार गर्न आवश्यक छ । संवैधानिक व्यवस्था, भाषावैज्ञानिक र प्रयोगका आधारमा बझाङी भाषा हो भन्ने कुरा स्पष्ट हुन्छ ।

अस्तु

लेखक: वेदप्रसाद जोशी
उपप्राध्यापक
सुदूरपश्चिम क्याम्पस धनगढी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *